इजाजतबिना मदिरा वितरण गर्नेलाई कारबाही

सरकारले इजाजतपत्र नलिई मदिरा बिक्री–वितरण गर्ने पसलमाथि छानबिन र कारबाही सुरु गरेको छ । मदिरा बिक्री–वितरणका लागि छुट्टै इजाजतपत्र लिनुपर्ने व्यवस्था छ ।
आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. ३ ले काठमाडौंको चक्रपथ र त्यस वरपर क्षेत्रका केही रेस्टुराँबाट छानबिन थालेको हो । शुक्रबार गरिएको अनुगमनबाट सुकेधाराको रिजनेबल खाजा घर तथा संखपार्कका रोयल तन्दुरी फास्ट फुड, रोलिन क्याफे, रिङ अफ फायर रेस्टुराँ र धुम्बाराहीको न्यु चिनारी रुफ टप फेमेली रेस्टुराँ कारबाहीमा परेका छन् ।
प्रमुख कर अधिकृत राममणि दुवाडीका अनुसार ती रेस्टुराँबाट मदिरा जफत गरी कारबाही थालिएको छ । अन्तःशुल्क नियमावली २०५९ अनुसार स्वदेशी तथा विदेशी मदिरा बिक्री–वितरण गर्ने रेस्टुराँले ५ हजार रुपैयाँ दस्तुर तिरेर इजाजतपत्र लिनुपर्छ । गाविस क्षेत्रमा भने ३ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ ।
इजाजत नलिई बिक्री–वितरण गर्ने व्यक्ति वा फर्मलाई अन्तःशुल्क ऐन २०५८ अनुसार बिगो जफत तथा बिगो मूल्यको शतप्रतिशतसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । कार्यालयले अरु क्षेत्रमा पनि अनुसन्धान गर्ने जनाएको छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक