मारिए ओसामाबिन लादेन.......................

लादेन युगको अन्त्य २००१ सेप्टेम्बर ११ बाट एउटा नाम संसारभरि चर्चामा आयो । त्यो नाम थियो- ओसामा बिन लादेन । बितेका १० वर्षमा जहाँ-जहाँ विश्व आतंकवादको चर्चा हुन्थ्यो, त्यहाँ पहिलो नाम लादेनकै लिइन्थ्यो । विश्वकै प्रभावशाली मुलुक अमेरिकाको भौतिक क्षतिमाथि धावा बोल्ने कोही व्यक्ति थियो भने उनी थिए- ओसामा बिन लादेन । उनको योजनामा १० वर्षअघि अमेरिकामाथि भएको आक्रमणले विश्व आतंकवादलाई नयाँ उचाइमा पुर्‍याइदियो र यही घटना अमेरिकाका लागि विश्वका विभिन्न देशमा आफ्नो प्रभाव जमाउने माध्यम बन्न पुग्यो । लादेनविरुद्ध १० वर्षदेखि गर्दै आएको अमेरिकी लगानी आइतबारको राति 'नाफा'मा परिणत भएको छ । लादेनको मृत्यु अमेरिकामा मात्र होइन, विभिन्न देशमा उत्सवमा परिणत भइरहेको छ । २००१ को सेप्टेम्बर ११ आक्रमणका प्रमुख योजनाकार लादेनको मृत्यु चर्चा दशकभरि नै भइरह्यो । सुरक्षित 'सेल्टर'को खोजीमा विभिन्न ठाउँ चहार्ने यी सर्वाधिक प्रभावशाली 'जेहादी'को यस्तो अन्त्यबारे भने कसैले परिकल्पना गरेको थिएन । १० वर्ष लामो प्रयास र सटिक गुप्तचरीले आखिर अमेरिका आफ्नो उद्देश्यको संघारमा उक्लेको छ । लादेन मारिनु आतंकवादको अन्त्य नभई खुड्किलो भएको राष्ट्रपति बाराक ओबामाले बताएका छन् । अमेरिकी सेनाले पाकिस्तानको अबोत्तावादमा अपरेसन सफल बनाएको औपचारिक खबर ओबामाले नै सन्देशमार्फत दिएका हुन् । उनले अमेरिकी गुप्तचर सूचनालाई आधार मानेर अमेरिकी सेनाले गरेको स्थलगत कारबाहीमा अलकायदाका यी शीर्ष पुरुष मारिएको बताउँदै गर्दा देशैभरि उत्सव सुरु भइसकेको थियो । न्युयोर्क र वासिङ्टनमा सेप्टेम्बर ११, २००१ मा भएको आक्रमणलगायत धेरै अपराधको आरोप लागेका लादेनलाई अमेरिकाले 'मोस्ट वान्टेड' सूचीको शीर्ष स्थानमा राखेको थियो । यो घटना अलकायदालाई हराउने अमेरिकी प्रयासको हालसम्मकै ठूलो उपलब्धि मानिएको राष्ट्रपति ओबामाले बताएका छन् । उनको मृत्युपछि अलकायदाले प्रतिरोध आक्रमण गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकाले विश्वभर रहेका आफ्ना दूतावासहरूलाई सचेत गराएको छ । आइतबार राति पाकिस्तानको अबोत्तावादमा अमेरिकाले अपरेसन चलाएको थियो । प्रत्यक्षदर्शीका अनुसार त्यस क्षेत्रलाई अमेरिकी सेनाले घेराबन्दी गरे पनि स्थानीयबासीलाई अपरेसनको तारो लादेन थिए भन्ने थाहा थिएन । तर, उनीहरूले समाचारमा लादेन मारिएको सुनेपछि विष्फोटनको उद्देश्य थाहा पाएका थिए । त्यसो त लादेन पाकिस्तानमा हुनसक्ने चर्चा यसअघि नै फैलिसकेको थियो । उनले मृगौलासम्बन्धी समस्याको उपचार रावलपिन्डी, कराँचीलगायतका ठाउँमा गराएका समाचार सार्वजनिक भएका थिए, यद्यपि ती समाचारहरूको आधिकारिक पुष्टि भने कहिल्यै भएन । यसरी मारिए लादेन लामो समयदेखि खोजी गरिएका लादेन पाकिस्तानको पूर्वी सहरमा रहेकोमा धेरै अघिदेखि अमेरिकी सुरक्षा संयन्त्र र खोजीकर्ताहरू ढुक्क थिए । लादेनको पहिचान भएको कैयौं महिना बितिसक्दा पनि उनी बसेको घरमा आक्रमण गर्ने/नगर्ने विषयमा ह्वाइटहाउसमा निकै बहस भएको थियो । लादेनको मृत्युले अलकायदालाई निकै ठूलो धक्का पुगेको त छ नै तर योभन्दा पनि अब स-साना तवरमा हुनसक्ने आक्रमणको खतरातर्फ सबै सचेत हुनुपर्ने विश्लेषकहरूले बताएका छन् । गएको अगस्तमै बिन लादेन कहाँ छन् भन्ने कुरामा अमेरिकी गुप्तचर संस्था सीआईए निश्चिन्त भइसकेको थियो । यसबारे राष्ट्रपति ओबामालाई जनाउ दिइए पनि उनले काम अघि बढाउने/नबढाउने विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सीआईएलाई नै सुम्पेका थिए । यसका लागि चाहिने आवश्यक नैतिक समर्थनका लागि ओबामा र अन्य सुरक्षा निकायका सीमित व्यक्तिहरूबीच बारम्बार संवाद भइरहने गर्दथ्यो । लादेन पाकिस्तानी राजधानी इस्लामावादबाट नजिकैको घना वस्तीयुक्त सहरमा ठूला-ठूला पर्खाल लगाइएको घरभित्र बस्ने कुरा निश्चित भइसकेपछि केही ह्याकरहरूलाई लादेनले उपयोग गरिरहेका टेलिफोन र इन्टरनेट वा कम्प्युटरभित्र छिर्ने प्रयास गर्न पनि लगाइएको थियो । तर, पछि थाहा भयो- उनले फोन, कम्प्युटर, इन्टरनेट कुनै पनि किसिमको सुविधा उपयोग गरिरहेका छैनन् । ओबामा मारिएको भनिएको पाकिस्तानी सहर अबत्तावाद । तस्बिरः गुगल अर्थ ह्वाइट हाउसले गएको सातामात्र लादेनका बारेमा यथेष्ट र भरपर्दा सूचना पाइसकेको थियो । यतिबेला आक्रमण नगरे स्थिति के हुने हो भन्ने कुरामा निश्चित भइसकेपछि राष्ट्रपति ओबामाले विशेष रूपमा प्रशिक्षित अमेरिकी सेनाका कमान्डोहरूलाई 'अपरेसन बिन लादेन हन्ट'मा जान आदेश दिएका थिए । यो अपरेसनमा लादेनसहित तीन जनाको मृत्यु भएको छ । लादेनका एक छोरा र एक महिला मारिएका छन् । अपरेसनका क्रममा अमेरिकी सेनातर्फ कसैको पनि ज्यान नगएको स्वयं राष्ट्रपति ओबामाले बताइसकेका छन् । अपरेसन सफल भएपछि ओबामाले अपरेसनमा भाग लिने सेनालाई बधाई दिँदै 'मानवताविरोधी' लादेनलाई न्याय गरिएको प्रतिक्रिया दिएका छन् । अपरेसनमा गोली हानाहान भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । गोली चलेको लामो समयसम्म पनि पाकिस्तानी सरकार र अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका थिएनन् तर बिहान अकस्मात पाकिस्तानको विदेश सचिवालयले घटनाको पुष्टि गरेको थियो । घटना भएको स्थान र पाकिस्तानी सेनाको सैनिक प्रशिक्षणकेन्द्र केही दूरीमा मात्र छन् । यही घटनाका क्रममा एउटा हेलिकप्टर दुर्घटनामा परेको तर त्यो प्राविधिक कमजोरी मात्र भएको जानकारी अमेरिकी सेनाका अधिकारीले दिएका छन् । एउटा सानो अमेरिकी सेनाको टोलीले घटनालाई पूर्णरूपमा सफल तुल्याएकोमा राष्ट्रपतिले खुसी प्रकट गरेका छन् । लादेन बस्ने घरको पर्खाल १८ फिट अग्लो र १२ फिट चौडा थियो । यो घर त्यो क्षेत्रकै पृथक रहेको समाचारमा जनाइएको छ । लादेन मारिएको रात... - हारून रसिद 'बीबीसी'का पाकिस्तानस्थित संवाददाता राति केही हल्लाचाहिँ थियो- अमेरिकी सेनाले पाकिस्तानी राजधानी इस्लामावादभन्दा अलि उत्तरमा रहेको अब्बोत्तावादमा केही गर्ने सम्भावना छ । यो अलि हल्ला नै हो कि भन्ने लागेको थियो । सेनाको हेलिकप्टर त्यहाँ दुर्घटनामा परेको हल्ला पनि आएको थियो तर कुनै पनि माध्यमले त्यो कुरालाई पुष्टि गर्न सकिरहेका थिएनन् । प्रत्यक्षदर्शीका अनुसार प्रहरी, सेना र अन्य सुरक्षा निकायले त्यो ठाउँलाई लगभग चारैतिरबाट बन्द गरिदिएका थिए । यस्तो अवस्थामा केही गोली चलेको आवाज सुनेको उनीहरू बताइरहेका थिए । यो सुरक्षा कारबाही ओसामा बिन लादेनविरूद्ध भएको कसैलाई पनि सुइँको थिएन । तर, लादेनलाई गरिने कारबाहीका विषयमा गम्भीरताका साथ अमेरिकी सेनाका गतिविधि हेर्ने जो-कोहीका लागि आश्चर्यको घटना भने थिएन । यतिबेला अमेरिकी सेनाले मुख्य सहरको घना आवादीयुक्त घरमै गएर लादेनलाई सफाया गर्नुलाई हिम्मतिलो कामका रूपमा हेर्नेहरूको कमी छैन । विगतका केही समाचार तयार गर्ने क्रममा म आफैंले पनि अपुष्ट समाचारहरू पाएको हुँ । जस्तो कि- लादेनलाई मृगौलाको उपचारका क्रममा रावलपिन्डी अस्पतालमा लगिएको र उनलाई त्यहाँ उपचार गरेर सुरक्षित स्थानमा पुर्‍याइएको । त्यस्तै, कराँची सहरमा पनि उनको स्वास्थ्य उपचार भएको कुरालाई स्थानीय पत्रिकाले लेखेका थिए । तर, पाकिस्तानी सरकारले यी कुरालाई आधिकारिक रूपमै अस्वीकार गरेको थियो । पछिल्लो समय अलकायदा र तालिवानी नेताहरूलाई पाकिस्तानी सहरहरूबाट धमाधम पक्राउ गरिँदै थियो । कुवेतमा जन्मिएका अलकायदाका नेता खालिद सेख मोहम्मदलाई रावलपिन्डीबाट पक्राउ गरिएको थियो । त्यस्तै, अफगान तालिवानी सैनिक कमान्डर मुल्लाह बरदारलाई कराँचीबाट पक्राउ गरिएको थियो । यी सबै घटनाक्रमपछि अब लादेन पक्राउ पर्ने वा मारिने सम्भावना रहेको कुरालाई नकार्न सकिने कुनै अवस्था थिएन । र, अन्ततः उनी मारिएको खबर पुष्टि नै भयो । अमेरिकामा हर्षोल्लास लादेन मृत्युको खबर अमेरिकामा भने उत्सवमा परिणत भएको छ । त्यहाँका जनताले सार्वजनिकस्थलमै खुसी मनाइरहेका छन् । पूर्वराष्ट्रपति बिल क्लिन्टनले भनेका छन्, "सेप्टेम्बर ११ र अलकायदाका विभिन्न आक्रमणमा मारिनेहरूको परिवारका लागि मात्र नभई शान्ति र स्वतन्त्रता चाहने संसारका सबै मानिसहरूका लागि यो ऐतिहासिक क्षण हो ।" "आतंकवादविरुद्धको लडाइँ जारी छ तर आजको रातले अमेरिकाका लागि बिर्सन नहुने सन्देश दिएको छ । त्यो हो- जति लामो समय किन नलागोस्, न्याय भएरै छाड्छ," अर्का पूर्वराष्ट्रपति जर्ज डब्लू बुसले भनेका छन् । विश्वका विभिन्न देशमा उनको मृत्युमा खुसीयाली व्यक्त भए पनि उनको मृत्यु हुँदैमा आतंकवाद समाप्त भइहाल्यो र मानिसहरूले न्याय पाइहाल्छन् भन्ने भनाइप्रति कैयौं मानिसहरू असहमत छन् । एउटा नेता मारिएकै भरमा अलकायदा समाप्त भयो भन्ने निष्कर्ष निकाल्नु धेरै नै चाँडो भएको उनीहरूको ठम्याइ छ । युद्धको मूल्य हामीलाई थाहा छ: ओबामा आजभन्दा १० वर्षपहिले २००१ सेप्टेम्बर ११ मा अमेरिकाको इतिहासमा सबैभन्दा खराब आक्रमण भयो । अपहरण गरिएका जहाजहरू बादलविहीन आकाशलाई छेड्दै न्युयोर्कका टि्वन टावरमा ठोक्किए । पेन्टागनबाट कालो धुँवा उड्यो । बालबालिकाहरू टुहुरा भए । करिब ३ हजार नागरिक हामीबाट सदाका लागि बिदा भए, जसले हाम्रो हृदय छेड्यो । सेम्टेम्बर ११ अमेरिकी जनताको दुःखको दिन थियो, जसले सबै अमेरिकीहरूलाई एकै ठाउँमा ल्यायो । हामी जहाँबाट आए पनि, जुन भगवानलाई माने पनि, जुन जातिको भए पनि हामी अमेरिकी परिवारको रूपमा एकबद्ध भयौं । हामी यो दुष्आक्रमणलाई न्यायमा बदल्ने र राष्ट्रलाई बचाउने प्रणका साथ एक भयौं । हामीले चाँडै थाहा पायौं कि बिन लादेनद्वारा नेतृत्व गरिएको अलकायदाले त्यो आक्रमण गरेको थियो । उसले अमेरिकाविरुद्ध युद्ध नै घोषणा गरेको थियो । त्यसैले हाम्रा नागरिक, मित्र र गठबन्धनहरूलाई बचाउन हामी अलकायदाविरुद्ध युद्धमा होमियौं । धन्यवाद छ ती थकानविहीन र साहसिक सैनिकहरूलाई र आतंकवादविरुद्ध जुध्नेहरूलाई । १० वर्षपछि हामीले ठूलो सफलता हासिल गरेका छौं । हामीले आतंकवादी आक्रमणहरूलाई अवरुद्ध गरेका छौं र स्वदेश रक्षा गर्ने कार्यलाई अझै मजबुत बनाएका छौं । हामीले अफगानिस्तानमा तालिवान सरकारलाई हटायौं, जसले अलकायदालाई संरक्षण दिइरहेको थियो र जहाँ सेप्टेम्बर ११ का महत्वपूर्ण षड्यन्त्र बुनिएका थिए । तैपनि ओसामा बिन लादेन अफगान सीमा हुँदै पाकिस्तानमा भागे र अलकायदाले त्यहीँबाट आफ्ना योजना र आक्रमण संसारभरि सञ्चालन गर्‍यो । म राष्ट्रपतिको हैसियतमा आइसके पनि लादेनको मृत्यु वा गिरफ्तारलाई उच्च प्राथमिकतामा राख्न सीआईएका निर्देशक लिओन पनेट्टालाई निर्देशन दिएँ । गएको अगस्टमा हाम्रो इन्टेलिजेन्स समुदायद्वारा मलाई लादेनमाथि कारबाहीको प्रगतिबारे बि्रफिङ गरिएको थियो । त्यसपछि म निरन्तर हाम्रो राष्ट्रिय सुरक्षा समूहसँग भेटघाटमा जुटें । हामीले सूचनाहरू पछ्याउँदै जाँदा लादेनलाई पाकिस्तानमा लुकिरहेको थाहा पायौं । र, अन्ततः गएको हप्ता कारबाहीका लागि हामीसँग प्रशस्त इन्टेलिजेन्स छ भन्ने निष्कर्षमा म पुगें । त्यसपछि लादेनलाई फेला पार्न र उनलाई न्यायको कठघरामा ल्याउने अनुमति मैले प्रदान गरें । आज मेरो निर्देशनमा अमेरिकाले पाकिस्तानको अब्बोत्तावादको कम्पाउन्डमा अपरेसन लन्च गर्‍यो । असाधारण साहसका साथ थोरै अमेरिकीहरूको समूहले यो काम गर्‍यो । उनीहरूले सर्वसाधारणलाई क्षति हुन नदिन सतर्कताका साथ काम गरे । कुनै अमेरिकीको क्षति हुन पाएन । एकछिनको लडाइँपछि उनीहरूले लादेनलाई मारे र उनको शरीरलाई कब्जामा लिए । दुई दशकदेखि लादेन अलकायदाको नेता र उपमा बन्दै आएका थिए र हामी, हाम्रा मित्र र गठबन्धनविरुद्धको षड्यन्त्रलाई निरन्तरता दिएका थिए । उनको मृत्यु अलकायदालाई हराउने हाम्रो राष्ट्रिय प्रयासमा आजसम्मकै सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । तर, उनको मृत्यु हाम्रो प्रयासको अन्त्य होइन । अलकायदाले आक्रमण जारी राख्छ, यसमा कुनै शंका छैन । यस विषयमा हामी स्वदेश र विदेशमा सचेत हुनपर्छ र छौं पनि । म पुनः दोहोर्‍याउन चाहन्छु- अमेरिका इस्लामविरुद्धको लडाइँमा कहिल्यै थिएन र हुनेछैन पनि । किनभने, लादेन मुस्लिमहरूका नेता थिएनन्, उनी मुस्लिमहरूको आमहत्यारा थिए । अलकायदाले धेरै देशका मुस्लिम र अमेरिकीहरूको घाँटी रेटेको थियो । त्यसैले उनको मृत्युलाई शान्ति र मानवीय सम्मानमा विश्वास गर्ने जोसुकैले पनि स्वागत गर्नुपर्छ । मैले भन्दै आएको छु-लादेन पाकिस्तानमा रहेको पाइए पाकिस्तानमा पनि हामीले कारबाही चलाउँछौं भनेर । त्यही भयो पनि तर लादेनलाई भेट्टाउनुमा पाकिस्तानको समन्वय महत्वपूर्ण थियो । वास्तवमा लादेनले पाकिस्तानमा पनि युद्धको घोषणा गरेका थिए । मैले आजै राष्ट्रपति आसिफ अली जर्दारीलाई फोन गरें र मेरो टिमले पाकिस्तानी समकक्षीहरूसँग भेट गर्‍यो । उनीहरूले यो कार्यलाई राम्रो र ऐतिहासिक भएको कुरामा सहमति जनाएका छन् । पाकिस्तानले अलकायदा र यसको गठबन्धनविरुद्ध लडाइँ गर्न हामीलाई साथ दिनु अपरिहार्य छ । अमेरिकीहरूले युद्धको मूल्य के हो भन्ने बुझेका छन् । हामीले हाम्रो सुरक्षामा आउने चेतावनी सहनेछैनौं । त्यसको प्रतिरक्षामा उत्रिरहनेछौं । हामी भन्नसक्छौं- आज अलकायदाको आतंकमा परी ज्यान गुमाउनेहरूका परिवारले न्याय पाएका छन् । हामी इन्टेलिजेन्स र आतंकवादको प्रतिकारमा उत्रनेहरूलाई धन्यवाद दिन चाहन्छौं । यो अपरेसन सम्पन्न गर्नेहरूलाई धन्यवाद दिन्छौं । सेप्टेम्बर ११ मा ज्यान गुमाउनेहरूहरूका परिवारलाई भन्न चाहन्छु- तपाईंको क्षतिलाई हामीले बिर्सेका छैनौं । सेप्टेम्बर ११ मा पैदा भएको एकताको हाम्रो संवेदनालाई फेरि स्मरण गरौं । आजको उपलब्धि हाम्रो देशको महानता र अमेरिकी प्रतिबद्धताको प्रमाण हो । बिन लादेन र आतंक ओसामा बिन लादेन सन् २००१सेप्टेम्बर ११ मा अमेरिकाको टि्वन टावर ध्वस्त पारिएपछि चर्चामा आएका हुन् । यो घटनामा अमेरिकामा ३ हजार मानिस मारिए भने हजारौं घाइते भए । पछिल्लो समय उनी संसारकै डरलाग्दा व्यक्तिका रूपमा उदाएका थिए र उनलाई घृणा गर्नेहरूको संसारभर कुनै कमी थिएन । अतिवादी इस्लामहरू भने उनलाई देवदूतसरह मान्थे । लादेन १९५७ मा जन्मिए । उनका बुवा मोहम्मद बिन लादेनका ५२ सन्तानमध्ये उनी १७ औं थिए । उनका बुवा साउदी अरेबियाका धनीमध्ये एक थिए र साउदीमा बनेका अधिकांश भौतिक निर्माणका कार्य ८० प्रतिशत उनले नै हेर्थे । सन् १९६८ मा उनका बुवा हेलिकप्टर दुर्घटनामा मारिए । यसपछि ओसामा नै बुवाको अकूत सम्पत्तिको हकदार भए । त्यतिबेला नै उनको कुल सम्पत्ति २ सय ५० मिलियन डलर रहेको अनुमान गरिएको थियो । मुजाहिद्दिन साउदी अरेबियाको जेदाहमा रहेको किङ अब्दुल अजिज युनिभर्सिटीमा सिभिल इन्जिनियरिङ पढिरहेका लादेन कलेजका अतिवादी इस्लामी शिक्षक र विद्यार्थीहरूको सम्पर्कमा आए । धार्मिक छलफल र अध्ययनमा बढीभन्दा बढी समय बिताउन थालेका उनी अतिवादी इस्लामहरूको प्रभावमा पर्न थाले । यहीँनेर उनी पश्चिमी देशहरूको थिचोमिचोका बारेमा जानकार भए । यही समयवरपर सन् १९७९ को डिसेम्बरमा सोभियत संघका सेनाले अफगानिस्तान छिरेर उपद्रो मच्चाउन थाले । यो घटनाले लादेनको जीवन सधैंका लागि परिवर्तन गरिदियो । मुजाहिद्दिन नामक संस्थासँग मिलेर उनले कम्युनिस्टविरोधी क्रियाकलाप उग्ररूपमा चलाए । एक दशक लामो संघर्षपछि बाध्य भएर रुसी सेना अफगानिस्तान छाड्न बाध्य भयो । गुप्तचर संस्थासम्बन्धी विशेषज्ञहरू त केसम्म विश्वास गर्छन् भने अमेरिकाको केन्द्रीय गुप्तचर संस्था -सीआईए)ले मुजाहिद्दिनलाई तालिम र हतियार दिने गर्दथ्यो । र, हतियार र तालिम पाउनेमा लादेन पनि एक थिए । सोभियत संघले यो युद्ध हारेपछि उनमा केही परिवर्तन आएको थियो । आतंकमाथि लगानी उनको घृणा अब मस्कोबाट वासिङ्टनतर्फ मोडियो । यसको कारण थियो- उनको देश साउदी अरबमा ३ लाखभन्दा बढी अमेरिकी सेनाको उपस्थिति । उनलाई यो चित्त बुझिरहेको थिएन । यसपछि सन् १९९१ मा इराकविरुद्ध खाडीयुद्ध भयो । यो खाडीयुद्ध अनावश्यक थियो भन्ने उनको धारणा बन्यो । र, उनले यो युद्धको बदला लिने निश्चय गरे । यसपछि नैरोबी (केन्या)को अमेरिकी दूतावासमा बम हमला भयो । यो बम हमलाको मुख्य योजनाकार लादेन भएको आशंका गरियो । यसपछि मध्यपूर्वी राष्ट्रहरूमा इस्लामिक गतिविधि भए, जसको तारो अमेरिका र अमेरिकी नै थिए । यही गतिविधि जारी रहेका कारण साउदी अरेबियाले लादेनको नागरिकता रद्द गर्नुपर्ने अमेरिकी अडान रह्यो । सन् १९९४ मा बाध्य भएर साउदीले उनको नागरिकता रद्द गर्‍यो भने सुडानले उनलाई दिँदै आएको सुविधा समाप्त पार्‍यो । त्यसपछि सन् १९९६ को जनवरीमा लादेन अफगानिस्तान छिरे । अफगानिस्तान युद्धले जर्जर भइरहेको थियो । विविध किसिमका इस्लामिक समूहका लागि यो परेड खेल्ने ठाउँका रूपमा स्थापित भइसकेको थियो । तालिवानका लागि यो जति गतिलो स्थिति के बन्न सक्थ्यो र Û नौ महिनापछि नै तालिवानीहरूले काबुल सहर कब्जामा लिए । भौगोलिक रूपमा सीमित भए पनि बिन लादेनको अकूत सम्पत्तिका कारण विश्वव्यापी आतंकवादमा लगानी गर्नेहरूको आँखा यहीँ गाडिएको थियो । उनले यतिबेला आफ्ना सेना र अलकायदाको नेटवर्क बढाउन परिश्रम गरे । कहिलेकाहीँ उनी एउटा दलालको जस्तो काम गर्थे । कहिले उनी आर्थिक लगानी गर्थे, कहिले चाहिँ उनले आफैं विभिन्न किसिमका आतंकवादी अभियान छेड्थे । यहीबीच सन् १९९८ को फेब्रुअरी महिनामा उनले फतवा जारी गरे । यो फतवा उनले यहुदी र क्रुसेडरहरूका विरुद्धमा जारी गरेका थिए । खासगरी अमेरिकीहरूको हत्या गर्नु मुस्लिमहरूको कर्तव्य भएको उनको निष्कर्ष थियो । मोस्ट वान्टेड ६ महिनापछि केन्या र तान्जिनियामा दुई वटा बम पड्किए । ती बम त्यहाँका अमेरिकी दूतावासमा केन्दि्रत थिए । घटनामा २ सय २४ मानिस मारिएका थिए भने ५ हजारभन्दा बढी घाइते भएका थिए । यतिबेला पनि लादेनलाई मुख्य योजनाकार रहेको आशंका गरियो भने अन्य १६ जना उनका मतियार भएको निक्र्योल निकालियो । यसपछि सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कस्थित सबैभन्दा व्यस्त र आर्थिक केन्द्र टि्वन टावरमा आक्रमण भयो । यो घटनालगत्तै लादेन अमेरिकाको प्रमुख तारो बने र रातारात उनी 'मोस्ट वान्टेड' मा दर्ता भए । उनलाई ज्युँदै वा मृत अवस्थामा फेला पार्नेहरूलाई २५ मिलियन अमेरिकी डलरको घोषणा गरियो । यसपछि अमेरिकी सेना अफगानिस्तान छिर्‍यो र पूर्वी क्षेत्रमा ७५ वटा मिसाइल हानियो । यो क्षेत्रमा लादेन लुकेर बसेको आशंका गरिएको थियो र उनी मारिए भनी प्रचार पनि गरियो । तर, एक घण्टाअघि नै लादेन त्यहाँबाट निस्किएकाले उनको मृत्यु सम्भव भएन । लादेनसँग गाँसिएका घटनाहरूमा सन् १९९३ मा न्युयोर्कमै बम विष्फोटन, १९९५ मा साउदी राजधानी रियादमा ट्रक बम विष्फोटन तथा साउदी ब्यारेकमा १९ अमेरिकी सेनाहरू हताहत हुने गरी हानिएको बम प्रमुख थिए । "म सधैं अमेरिकीहरूलाई निसाना लगाउँछु," उनले भनेका थिए, "हामी अमेरिकीबाहेक अरुलाई क्षति पुर्‍याउँदैनौं ।" तर नैरोबी र दार-ए-सलाममा गरिएको बम आक्रमणमा अमेरिकी परेनन्, बरु स्थानीय अपि|mकीहरू मुख्य निसानामा परेका थिए । धनको घमण्डले चूर लादेनले कजाकस्तानसित अर्बौं डलरमा परमाणु बम किन्ने प्रस्तावसमेत राखेका थिए । अमेरिकी र यहुदीहरूका लागि खतराको केन्द्र बनेका लादेनका पछाडि अमेरिकी सेना तीव्र घ्राणशक्ति लिएर उनको खोजीमा लाग्नु कुनै नौलो कुरा थिएन । सेप्टेम्बर ११ मा के भयो ? सन् २००१ को सेप्टेम्बर ११ मा दुई वटा अपहरण गरिएका हवाई जहाज टि्वन टावर भनिने न्युयोर्कको वल्र्ड ट्रेड सेन्टरमा ठोक्काइयो । अर्को एउटा जहाज वासिङ्टनस्थित पेन्टागनको अमेरिकी सुरक्षा निकायको मुख्यालयमा जोथियो । चौथो प्लेन चाहिँ पेन्सिलभेनियाको खुला खेतमा दुर्घटनाग्रस्त भयो । यी सबै घटनामा ३ हजार मानिस मारिए, जसले अमेरिकालाई तालिवानविरुद्धको युद्धमा उत्रिन बाध्य बनायो । अमेरिका र उसका सहयोगीहरूका सेना अफगानिस्तानमा सन् २००१ को अन्त्यतिर ओर्लिए । यही समयमा तोराबोरा भनिने ठाउँमा गुफामा लुकेर बसेका लादेन मारिए भन्ने विश्वास गरिएको थियो । तर, वास्तविकता त्यस्तो रहेन । लादेन खुला सिमानाको फाइदा उठाउँदै पाकिस्तान छिरे । अफगान सीमाछेउका पाकिस्तानी गाउँमा उनी कलाकार र गायकभन्दा माथिका सेलिबि्रटी बने । सन् २००३ को फेब्रुअरीमा लादेनको भाषण 'अल जजिरा' टिभीमा देखियो । भाषणमा उनले इराकविरुद्धको अभियानलाई लछार्नुका साथै सद्दाम हुसेन शक्तिमा रहिरहनुपर्ने धारणा राखेका थिए । "यतिमात्र होइन, सबै मुस्लिमहरूले र खासगरी सबै इराकीहरूले अमेरिकीविरुद्धको पवित्र युद्धमा साथ दिनुपर्छ," उनले आफ्नो टेपमा भनेका थिए । तर, यो आवाजलाई अमेरिकीहरूले नक्कली लादेनको भनी बताएको थियो । पछिल्लो समय लादेनलाई सन् २००१ को अन्तिमताका तोराबोरामा देखिएको थियो । र, त्यहाँ उनका जेहादीहरूको पनि ठूलै उपस्थिति थियो । पाकिस्तानमा शरण तोराबोरापछि उनी लुक्दै छिप्दै पाकिस्तानको पूर्वी क्षेत्रतर्फ लागेको आशंका गरिएको थियो । उनलाई पाकिस्तानका पास्तुन नागरिकहरूले नायक ठानेर सहयोग गरिरहेको अमेरिकी दृष्टिकोण बाहिर आएको थियो । पास्तुन आदिवासीले तालिवानप्रति नरम धारणा राख्ने गरेको पनि प्रकाशमा आएको थियो । कतिसम्म भने उनीहरूले आफ्नै देशका परवेज मुसर्रफको सरकारलाई विदेशी र तालिवानीहरूलाई मित्र ठान्थे । यसबीचमा लादेनले आफ्नो उपस्थिति बरोबर देखाउन थाले । लादेनको खोजीलाई तीव्र पार्ने काम सन् २००३ मा भयो । यहीबेला पाकिस्तानमा खालिद सेख मोहम्मद पक्राउ परेका थिए । लामो समयदेखि गुपचुप रहेका लादेनसँग उनको छुटेको समूहको विस्तारै भेटघाट सुरु भएको थियो । यहीबीच सन् २००४ को मे-जुलाईमा पाकिस्तानी सेनाले अफगान सीमाछेउ चलाएको तालिवानविरुद्धको युद्धमा लगभग छेउछाउ पुगिसकेको थियो । तर, पछि मुसर्रफ-तालिवान युद्ध चिसिँदै गयो । योबीचमा अलकायदाले आफ्ना भनाइहरू अडियो संवादका रूपमा बेलाबेला इन्टरनेटमा छर्ने गथ्र्यो । यसको जिम्मेवारी अलकायदाका दोस्रो वरियताका नेता एमान अल जवाहिरीको थियो । भिडियोमा लादेन देखिन छाडेका थिए । उनी मिडियामा नदेखिनुले अमेरिकी नेता र जनताबीच दूरी बढ्दै थियो । ँवार अन टेरर’को नारा दिने अमेरिकी नेताहरू जनताको नजरमा विस्तारै गिर्दै गइरहेका थिए । लादेनका सहयोगीका नजरमा उनी अमेरिकी र इजरायली आतंकविरुद्ध लड्ने क्रान्तिकारी थिए भने अधिकांश पश्चिमेलीहरूका नजरमा उनी एक आतंककारी थिए, हजारौंको हत्या गर्ने हत्यारा थिए ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक