सुकिलुम्बा विमानस्थल विवादमा

काठमाडौं, १२ वैशाख
प्रधानमन्त्री झलनाथ खनालद्वारा गत महिना शिलान्यास गरिएको इलामको सुकिलुम्बा विमानस्थल प्राविधिक तथा व्यावहारिक दृष्टिले अनुपयुक्त रहेको विज्ञहरूले बताएका छन् । प्रधानमन्त्री खनाल र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गृहजिल्लामा पर्ने भएकाले उनीहरू दुवैको दबाबमा यो विमानस्थलको शिलान्यास गरिएको नागरिक उड्डयन प्राधिकरणका अधिकारीको भनाइ छ ।
इलाम जिविसको सक्रियतामा विमानस्थल शिलान्यास गरिए पनि विमानस्थल निर्माणसम्बन्धी आधिकारिक निकाय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणलाई जानकारीसम्म दिइएको छैन ।
सुकिलुम्बा स्थलमार्गबाट सहज यातायात पहुँच भएको क्षेत्र पनि हो । विमानस्थलका लागि आवश्यक जमिनको समेत उपलब्धता नहुँदै हतारमा शिलान्यास गरिएको र निर्माणका लागि बजेट स्रोतको पनि टुंगो नभएको प्राधिकरणका अधिकारी बताउँछन् ।
झापाको चन्द्रगढी विमानस्थलबाट छोटो दूरीमा रहेकोले समेत यसको व्यावसायिकतामा प्रश्न उठेको छ । सञ्चालनका लागि पनि विशेष आधार अभाव हुनुले यो विमानस्थल निर्माण गर्न खोज्नु राज्यलाई आर्थिक भार थप्नुमात्र हुने अधिकारीहरूको भनाइ छ । ग्राभेल धावनमार्ग, एउटा टर्मिनल भवनसहित विमानस्थल सञ्चालन गर्न न्यूनतम ७ देखि ८ करोड रुपैयाँ खर्च लाग्छ ।
“त्यहाँ स्थल यातायातको सेवा पनि पुगिसकेको छ, सँगै चन्द्रगढी विमानस्थल रहेकाले सुकिलुम्बा क्षेत्रबाटै विमानस्थल सञ्चालन हुनसक्ने आधार देखिँदैन,” प्राधिकरणअन्तर्गतको सिभिल मर्मत तथा निर्माण विभागका निर्देशक मुरारीराज भण्डारीले भने । उनका अनुसार विगत केही समयदेखि स्थानीयस्तरबाट विमानस्थलको माग हँुदै आएको थियो ।
विमानस्थलको सर्भे सम्पन्न भइसके पनि सम्भाव्यता प्रतिवेदन आउन बाँकी छ । निजी क्षेत्रले विमानस्थल सञ्चालनको जिम्मेवारी सम्हाले पनि प्राविधिक तथा नियमनकारी भूमिका प्राधिकरणले निभाउन सक्ने उनले बताए ।
सामान्यतः यातायातको पहुँच नभएको पर्यटकीयस्थल, धार्मिक तथा सामरिक दृष्टिकोणले महत्वपूर्ण स्थान तथा व्यावसायिक दृष्टिले प्रतिफलयुक्त क्षेत्र नै विमानस्थल निर्माणका आधार मानिन्छन् । सामाजिक उत्तरदायित्वका नाममा विगतका सरकारद्वारा दुर्गम क्षेत्रका विमानस्थलमा गरिँदै आएको करोडौं लगानी अहिले ‘बालुवामा पानी खनाए’ सरह भइरहँदा अर्को ‘अनुत्पादक’ विमानस्थल स्थापना गर्नु उपयुक्त नहुने प्राधिकरण अधिकारीको भनाइ छ ।
“हचुवाका भरमा विमानस्थल निर्माण गर्न खोज्नु राज्यको ढुकुटी सक्नेबाहेक अरु केही हुन सक्दैन,” नाम उल्लेख नगर्ने सर्तमा एक उच्च अधिकारीले भने ।
प्राधिकरण स्वामित्वमा रहेका देशभरका ५३ मध्ये ३१ वटा विमानस्थलमात्र हाल सञ्चालनमा छन् । यीमध्ये पाँच वटा निर्माणाधीन छन् भने केहीमा विमानले उडान भर्न छाडिसकेका छन् । स्थलमार्गबाट सस्तो मूल्यमा सर्वसाधारण सहजै गन्तव्य पुग्ने भएपछि महँगो भाडामार्फत यात्रा गर्ने हवाई यात्रुको संख्या घट्दै गएकाले विशेषगरी पहाडी क्षेत्रका विमानस्थलमा उडान संख्या घटेका हुन् ।
अहिले पनि दुर्गम पहाडी क्षेत्रका विमानस्थलमा निजी वायुसेवा कम्पनीले उडान भर्न छाडेपछि प्राधिकरणले आर्थिक भार खेप्नुपरेको छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक