Saturday, August 22, 2020

बजेट खर्च गर्न नसकेको भन्दै सरकारको आलोचना

बजेट खर्च गर्न नसकेको भन्दै सरकारको आलोचना

आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले सरकारको आलोचना गरेका छन् । राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा खासगरी मन्त्रालयहरुको योजना कार्यन्वयन गर्न मन्त्रीहरुले नसकेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले तीव्र असन्तुष्टि जनाएका हुन् । संसद रामनारायण विडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने बताउँदै साउनबाटै काम सुरु गर्ने भनेर असारमा बजेट ल्याएको स्मरण गराए । साउनबाट फटाफाट काम गर्न के ले रोक्यो, उनले मन्त्रीहरुलाई प्रश्न समेत गरे ।

सांसद विडारीले राष्ट्रियसभाबाट जति सुझाव दिए पनि बजेटमा कुनै परिवर्तन नहुने कुराको विरोध गर्दै बजेट संशोधन गर्दैमा सरकार तलमाथि नहुने पनि बताए । यस्तै, बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद मृगेन्द्रकुमार कुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौन धारण गरे । उनले सांसदहरुलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै विरोधस्वरुप १० सेकेण्ड मौनधारण गरेका थिए । बैठकमा सांसद जितेन्द्र नारायण देवले संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले कर्मचारी बैठक भत्ता २१ लाख रुपैयाँ छुट्याएको भन्दै विरोध पनि गरे ।

यस्तै, सरकारले संशोधित अनुमान अनुसार असार महिनामा प्रतिदिन ६ अर्ब ५१ करोड २४ लाख रुपैयाँ बराबर पुँजीगत बजेट खर्च गर्नुपर्ने भएको छ । ११ महिनासम्म प्रतिदिन ९७ करोड ८४ लाख ८० हजार रुपैयाँका दरले खर्च गरेको सरकारले असार महिनामा प्रतिदिन ६ अर्ब ५१ करोड २४ लाख रुपैयाँ पुँजीगत बजेट खर्च गर्नुपर्ने भएको हो । ११ महिनाको अवधिमा सरकारले करिब ३१ प्रतिशत अर्थात १ खर्ब २४ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ ।

सरकारले चालू आर्थिक वर्षका लागि ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकामा खर्चको गति निकै सुस्त भएपछि ८०.१ प्रतिशत अर्थात ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको थियो । तर, विश्व व्यापीरुपमा फैलिएको कोरोना संक्रमणका कारण ८२ दिनसम्म गरिएको लकडाउनका कारण विकास निमार्णको प्रायः ठप्प हुदा संशोधित अनुमान अनुसार पुँजीगत बजेट सक्न सरकार असफल हुने निश्चित देखिएको छ ।

 संशोधित अनुमान अनुसार ३१ दिनको अवधिमा सरकारले १ खर्ब १ अर्ब ८८ करोड ६८ लाख खर्च गर्नुपर्छ । त्यो भनेको ६ अर्ब ५१ करोड २४ लाख रुपैयाँ बराबर पुँजीगत बजेट खर्च हो । तर, असार महिनाको पहिलो दिन जम्मा १ खर्ब १३ करोड ९ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगत बजेट सक्न असफल हुने निश्चित देखिएपनि चालू खर्चले भने संशोधित लक्ष्य भेट्ने देखिएको छ । सरकारले ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख चालु खर्चमध्ये ९४.५ प्रतिशत खर्च हुने संशोधित अनुमान गरेकामा जेठ मसान्तसम्म ७० दशमलव शून्य छ प्रतिशत अर्थात ६ खर्ब ६५ अर्ब २६ करोड ४५ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...