अर्थमन्त्रीको सम्बोधनभन्दा बजेटका अंक फरक

 अर्थमन्त्रीको सम्बोधनभन्दा बजेटका अंक फरकजेठ १५ मा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत गर्दै राजस्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्चमा पर्ने चापलाई ध्यान दिएर प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै बजेट कटौतीको घोषणा गरे । अर्थमन्त्रीले बजेट भाषणमा खर्च घटाएको भनिएका कतिपय शीर्षकमा भने बजेट थप भएर आएको पाइएको छ । बजेट यथावत राखेको र बढी विनियोजन भएको भनिएको शीर्षकमा बजेट नै छैन ।

यस्तो भेटिएपछि मितव्ययिता अपनाएर बजेट ल्याएको भनेर प्रतिपक्षबाट समेत कम आलोचना खेपेका अर्थमन्त्रीको कार्यशैलीको विश्वसनियतामा गम्भीर प्रश्न उठेको छ । बजेट भाषणमा अर्थमन्त्रीले कार्यालय सञ्चालन, इन्धन, मर्मत, आन्तरिक र वैदेशिक भ्रमण, गोष्ठी, सेमिनार, परामर्श, सहायता, भैपरी खर्च, फर्निचर, सवारीसाधन खरीद र मर्मत खर्चमा उल्लेख्य कटौती गरेको उल्लेख गरेका थिए । तिनै अधिकांश शीर्षकमा बजेट थप भएर आएको छ ।

कोरोनाभाइरस महामारीका कारण आन्तरिक र वाह्य आवागमन कहिले सामान्य अवस्थामा फर्किने हो भन्ने अनिश्चय कायम रहे पनि कर्मचारीको भ्रमणका लागि भने खर्च बढाइएको छ ।अर्थ मन्त्रालयका अनुसार कर्मचारीले आन्तरिक र वैदेशिक भ्रमण गर्दा गर्ने खर्चका लागि चालू आर्थिक वर्षमा १ अर्ब ५८ करोड रुपैयाँ छुट्याइएकोमा आगामी आर्थिक वर्षमा त्यसलाई बढाएर १ अर्ब ६६ करोड पु-याइएको छ । यस्तै, कर्मचारीले पाउने वैदेशिक भत्ता पनि चालू आर्थिक वर्षमा ७५ करोड ५५ लाख विनियोजन गरिएकोमा आगामी वर्षमा त्यसलाई १० प्रतिशतले बढाएर  ८२ करोड ८९ लाख पु-याइएको छ । त्यस्तै भैपरी आउने कार्यक्रम शीर्षकमा बजेट विनियोजन आगामी आर्थिक वर्षमा १८ प्रतिशत बढेको छ । 

चालू आर्थिक वर्षमा कार्यक्रम बजेट शीर्षकमा ३४ अर्ब ४० करोड विनियोजन गरिएकोमा आगामी वर्ष ४० अर्ब ५७ छुट्याइएको छ । सरकारले गर्ने सेमिनार, गोष्ठी लगायतका कतिपय कार्यक्रम अनावश्यक र खर्चिलो हुने गरेको भनी आलोचना हुने भएकोले सरकारले यस्तो रकम विनियोजन पनि बढाएको छ । अर्थमन्त्रीले दिँदै फर्निचर र फिक्चर्सको खर्च कटौती गरिएको घोषणा गरे पनि बजेटमा रकम विनियोजन भने बढेको छ ।

 फर्निचर र फिक्चर्समा खर्च गर्न चालू आर्थिक वर्षमा १ अर्ब ३० करोड छुट्याएकोमा आगामी आर्थिक वर्षका लागि १ अर्ब ३७ करोड पु-याइएको छ । यो शिर्षकमा अर्थशास्त्री डा. डिल्लीराज खनाल संयोजकत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगले फर्निचर र फिक्चर्समा जथाभावी खर्च भइरहेको भन्दै यसको नियन्त्रणका लागि सरकारलाई सुझाव दिएको थियो ।राष्ट्रपति कार्यालयले १ करोडको गलैंचा खरीद गर्न लागेको विषय पनि अहिले विवादमा परेको छ । तर, सरकारले आगामी वर्षका लागि पनि फर्निचर र फिक्चर्समा रकम विनियोजन बढाएको पाईएको छ ।यता फजुल खर्च कटौतीमा निर्मम बन्न नसके पनि सरकारले कतिपय सामाजिक क्षेत्रको बजेट भने कटौती गरेको छ । तर चालू आर्थिक वर्षमा सवारीसाधन खरीद नगर्ने निर्णय गरेको अर्थमन्त्रालयले यो शिर्षकमा आगामी आर्थिक वर्षका लागि रकम छुट्याइएको छ 1आगामी आर्थिक वर्षका लागि सवारीसाधन खरीद गर्न ८८ करोड ४० लाख विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा सवारी साधन किन्न  १ अर्ब ६८ करोड छुट्याइएको थियो ।मन्त्री खतिवडाले संघीय सरकराको स्रोतमा संकुचन हुने अनुमान भए पनि वित्तीय संघियता कार्यान्वयनलाई प्राथमिकता दिएको बताउँदै प्रदेश र स्थानीय तहमा बित्तिय हस्तान्तरण भई जाने समानीकरण समपुरक र विशेष अनुदानको रकम यथाबत राखेको बताएक थिए । तर प्रदेशको लागि समग्रमा चालू वर्षभन्दा ३ करोड बढी अनुदान विनियोजन गरेको बताएपनि याथार्थमा चालू आर्थिक वर्षको तुलनामा ९ अर्ब रुपैयाँभन्दा पनि कम रकम मात्रै विनियोजन गरिएको छ ।

विशेष र समपूरक अनुदानको लागि प्रदेश र स्थानीय तहलाई गरी चालू वर्षमा १०-१० अर्ब रुपैयाँ विनियोजन गरिएकोमा आगामी बर्षकालागि ९ अर्ब ९६ करोड र ९ अर्ब ९७ करोड गरि ७ करोड रुपैयाँ घटाइएको छ ।सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेर १४ खर्ब ७४ अर्बको बजेट सार्वजनिक गर्ने बेलामा मन्त्री खतिवडाले कार्यालय सञ्चालन इन्धन मर्मत, सहज अवस्था आएपछि हुने आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी सेमिनार परामर्श, साहायता भैपरि खर्च र फर्निचर सवारीसाधन खरिद तथा मर्मत खर्चमा उल्लेख्य बजेट कटौती गरेको दाबी गरेका थिए । अर्थमन्त्रीले ८ खर्ब ८९ अर्व ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेर गत साता सार्वजनिक गरिएको बजेटमाथि संसदको दुवै सदनमा विभिन्न शिर्षकमा दफावार छलफल भइरहेको छ । यो बजेट साउनदेखि कार्यान्वयनमा आउने छ ।

https://www.karobardaily.com/news/economy/32656


Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर