५५ अर्ब आन्तरिक ऋण उठाइँदै


सरकारले कोरोना भाइरसका कारण उत्पन्न समस्या सामाधान गर्न स्रोत नपुग्ने भएपछि आन्तरिक ऋण उठाउने तयारी गरेको छ । कोरोना भाइरसको समस्या दिनहुँ बढ्दै गएपछि अर्थमन्त्रालयले तालिका बनाएर १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन भन्दै नेपाल राष्ट्र बैंकलाई परिपत्र गरेको छ । सोही परिपत्रका आधारमा नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै यही चैत मसान्तभित्र ५५ अर्ब ४० करोड रुपैयाँ ऋण उठाउने बताएको हो ।
कार्यतालिका अनुसार सरकारले बाँकी रकम भने चौथो त्रैमास अर्थात बैशाखदेखि असार मसान्तसम्ममा १ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ । राष्ट्र बैंकले यो साता उठाउन लागेको ऋणमध्ये ५५ अर्ब ४० करोड रुपैयाँ आन्तरिक ऋण, २५ अर्ब रुपैयाँ ट्रेजरी बिल्स हो । यस्तै विकास ऋणपत्रमार्फत ३० अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रमार्फत ४० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको अर्थमन्त्रालयले जनाएको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेटले यस वर्ष १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने बताएको छ । विकास खर्च नभएर सरकारको पैसा खर्च नभएको भन्दै ऋण नउठाएको सरकारले कोरोना भाइरसको कारण राजस्व नउठेपछि बजेटमा उल्लेख गरे अनुसारको सबै आन्तरिक ऋण उठाउने निश्कर्षमा पुगेको हो ।
बाँकी रहेको १ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋणमध्ये ६५ अर्ब रुपैयाँ ट्रेजरी बिल्सबाट र ७० अर्ब रुपैयाँ विकास ऋणपत्रबाट र ४ अर्ब रुपैयाँ नागरिक बचतपत्रबाट उठाइने उल्लेख छ ।
यस्तै ४० करोड रुपैयाँ वैदेशिक रोजगार बचतपत्र हुने राष्ट्र बैंकले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा २० अर्ब १ सय ८२ दिने र ५ अर्ब ३ सय ६४ दिने गरी ट्रेजरी बिल्स रहेको उल्लेख छ ।
यसअघि सरकारको खर्च नभएकाले बजेटमा निर्धारण गरिएको लक्ष्य अनुसारको आन्तरिक ऋण गतवर्ष समेत उठाएको थिएन । गत वर्षसमेत लक्ष्य अनुसारको खर्च नभएपछि सरकारले आन्तरिक ऋण नउठाएको सरकार कोरोना महामारीबाट जुध्न श्रोत जुटाउन आन्तरिक ऋण उठाउने निश्कर्षमा पुगेको हो ।
“यो वर्षपनि आन्तरिक ऋण उठाउने अवस्थामा सरकार थिएन, तर कोरोना भाइरसका कारण सरकारलाई स्रोत अपुग हुने देखियो त्यसपछि आन्तरिक ऋण उठाउने तयारीमा जुटेको हो” अर्थ मन्त्रालय स्रोतले भन्यो ।
कोरोनाको कारण आर्थिक क्रियाकलाप ठप्प भएसँगै ऋणको अनुपात बढ्ने भएको छ । अर्थमन्त्रालयका अनुसार माघ मसान्तसम्ममा नेपालले तिनुपर्ने ऋण रकम ११ खर्ब १४ अर्ब छ । जसमा आन्तरिकतर्फ ४ खर्ब ५१ अर्ब रुपैयाँ र वैदेशिक ऋण ६ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो । सरकारले कोरोना भाइरस रोकथामका लागि स्थापना गरेको राहात कोषमा करिब २ अर्ब रकम जम्मा भएको छ भने दात्रृ निकायबाट २५ अर्ब ऋण सहयता आउने निश्चित भएको छ । कोरोना कहरबाट लामो समय लकडाउन हुँदा अर्थतन्त्र थलिएपछि सरकार आर्थिक प्याकेज ल्याउने तयारीमा छ ।


Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर