नेपालका शीर्ष अर्थशास्त्रीहरुले कोरोना प्रभाव र आर्थिक नीतिको अध्ययन गर्ने

गणेशमान सिंह प्रतिष्ठानले कोरोना प्रभाव र आर्थिक नीतिको अध्ययन गर्ने
गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरसबाट नेपाली अर्थतन्त्रमा पार्ने प्रभाव एवं सरकारले ल्याउनुपर्ने राहत र आर्थिक प्रवद्र्धनको प्याकेजका विषयमा अध्ययन गर्ने भएको छ । प्रतिष्ठानका अनुसार आर्थिक प्याकेज घोषणाका लागि सरकारलाई सुझाव दिने र ती प्याकेजको वितरण प्रणालीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन हुनेछ ।
कोरोनाको असर कुन कुन क्षेत्रमा कसरी पर्नेछ र कोरोना प्रभावको सन्दर्भमा आगामी आर्थिक नीति कस्तो हुनु पर्दछ भनेर नेपालका शीर्ष अर्थशास्त्रीहरुको अध्ययन तथा विश्लेषणको आधारमा सरकारलाई सुझाव पेश गर्ने र यो दिशामा सरकारलाई उपयुक्त कदम चाल्न दवाव दिने उद्देश्यले कांग्रेस नेता एवं प्रतिष्ठान अध्यक्ष नविन्द्रराज जोशीको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा पृथ्वीराज लिगल, डा. जगदिशचन्द्र पोख्रेल, प्रा. डा. गोविन्दराज पोख्रेल, डा. स्वर्णिम वाग्ले, प्रा.डा. पुष्कर बज्राचार्य, डा. अरविन्द मिश्र, प्रा. डा. विजया श्रेष्ठ, डा. दधि अधिकारी महेन्द्र यादव, र वसन्ती आचार्य सदस्य रहेका छन् । समितिको सदस्यसचिव डा. दधि अधिकारी रहने र समितिले नेपालमा कोरोना संक्रमणको कारणले सबैभन्दा बढी असर परेका भौगोलिक क्षेत्र तथा सबैभन्दा बढी पीडित समुदायको पहिचान तथा आगामी आर्थिक कार्यदिशाका बारेमा पनि अध्ययन गरेर सुझाव पेश गर्ने छ ।
समितिले वैशाख १ गतेदेखि काम सुरु गरेर ३ हप्ता भित्र अध्ययन समाप्त गर्ने जनाइएको छ । अध्ययनलाई प्रभावकारी बनाउनका लागि समितिलाई सहयोग, सल्लाह र सुझाव दिन प्रतिष्ठानले आग्रह गरेको छ । विश्वव्यापी रुपमा कोरोना संक्रमित तथा यसबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेकाले नेपालमा संक्रमितको संख्या कम र स्थिर हुनु साकारात्मक भएपनि यसलाई रोक्नका लागि सरकारले अझै प्रभावकारी कदम चाल्नुपर्ने प्रतिष्ठानको ठहर छ ।
विगत तीन हप्तादेखिको लकडाउनले आर्थिक गतिविधि लगभग शून्य रहेको र त्यसभन्दा अघिदेखि बन्द गरिएका अन्तर्राष्ट्रिय उडान र अन्य निवारक क्रियाकलापले अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएका छन् । छिमेकी र विश्वका अन्य देशमा परेको कोरोनाको आर्थिक असरको प्रभाव पनि नेपालमा पर्ने निश्चित देखिएकाले तत्कालै प्रभावित व्यक्तिहरुलाई विशेष सहयोग गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।
तेश्रो श्रमशक्ति सर्वेक्षण अनुसार नेपालमा काम गर्ने उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजारमध्ये ९० लाख ८० हजार बेरोजगार छन । १७ लाख ६९ हजार दैनिक ज्यालादारी श्रमिक छन् । दैनिक ज्यालादारी र गरिब मानिस बाहेक कोरोनाले असर गर्ने अर्थतन्त्रका अन्य प्रमुख क्षेत्रहरुमध्ये पर्यटन, बैदेशिक रोजगार, र उद्योग हुन् । पर्यटन आवागमन सुचारु अहिले मात्र होइन निकट भविष्यमा पनि हुने देखिँदैन । उद्योग धन्दा बन्द छ । तर यी दुवै क्षेत्रको ठूलो स्थिर लागत छ । यदि यो स्थिर लागतलाई व्यवस्थित गर्न नसक्ने हो भने कोरोनाको कारणले धेरै होटेल, रिसोर्ट, रेस्टुरेन्ट, र उद्योग बन्द हुनेछन् । कोरोनाको कारणले नेपालको वैदेशिक रोजगारीका प्रमुख गन्तव्यहरु, जस्तै मलेसिया, र गल्फ देशहरु नराम्ररी प्रभावित भएका छन् ।


Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर