Sunday, April 19, 2020

कोरोना महामारीले गरिबी झन् बढ्ने

कोरोना महामारीले गरिबी झन् बढ्ने
कोरोनाभाइरस (कोभिड–१९) का कारण नेपालमा गरिबीको दर झन बढ्ने भएको छ । कोभिड–१९ को प्रकोपले उत्पादन कमजोर बनेको र रेमिट्यान्स आप्रवाहमा समेत गिरावट आउँदा गरिबी दर झन बढ्ने निश्चित देखिएको हो ।
विश्वव्यापी रूपमै महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालले समेत तीन सातादेखि लकडाउनको सामाना गरिरहेको छ । जसकाकारण उद्योग धन्दा कलकारखाना प्रायः बन्द छन् भने हजारौं श्रमिक रोजगारविहीन बनेका छन् । त्यतिमात्र होइन, लकडाउनले रोजगारदातालाई बैंकको कर्जा तिर्न र श्रमिकलाई पारिश्रमिक दिन हम्मे परेको छ । केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांक अनुसार हाल कुल जनसंख्याको १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी छन् ।
नेपाल राष्ट्र बैकका पूर्वगभर्नर समेत रहेका अर्थशास्त्री दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, “विश्वव्यापी रूपमा देखिएको मन्दीले नेपालमा गरिबी दर झन बढ्छ नै यसको मारमा सबैभन्दा बढी मध्यम वर्ग पर्ने देखिएको छ ।” उनले मध्यम वर्गले रोजगारी पाउने सम्भावना पनि कम देखिएको, सञ्चित गरेर राखेको पैसाले जीविका निर्वाह गर्नुपर्ने अवस्था आएको र महामारीका कारण मूल्यवृद्धि बढ्दा त्रयशक्तिमा ह्रास आउनसक्ने भय देखिएको बताए ।
तेश्रो श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा काम गर्ने उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजारमध्ये ९० लाख ८० हजार बेरोजगार छन् । १७ लाख ६९ हजार दैनिक ज्यालादारी श्रमिक छन् । दैनिक ज्यालादारी र गरिब मानिसबाहेक कोरोनाले असर गर्ने अर्थतन्त्रका अन्य प्रमुख क्षेत्रहरूमध्ये पर्यटन, वैदेशिक रोजगार, र उद्योग हुन् । पर्यटन आवागमन सुचारु अहिले मात्र होइन निकट भविष्यमा पनि हुने देखिँदैन । उद्योगधन्दा बन्द छ । तर यी दुवै क्षेत्रको ठूलो स्थिर लागत छ । यदि यो स्थिर लागतलाई व्यवस्थित गर्न नसक्ने हो भने कोरोनाको कारणले धेरै होटेल, रिसोर्ट, रेस्टुरेन्ट, र उद्योग बन्द हुनेछन् ।
 कोरोनाको कारणले नेपालको वैदेशिक रोजगारीका प्रमुख गन्तव्यहरू, जस्तै मलेसिया, र गल्फ देशहरू नराम्ररी प्रभावित भएका छन् । जसकाकारण गरिबीको दर झनै बढने देखिएको पुर्ब प्रशासक रामेश्वर खनालको तर्क छ । उनी भन्छन्, “कोभिड–१९ को महामारीले वित्तीय मध्यस्थता, खुद्रा तथा थोक व्यापार, यातायात, हवाई उड्डयनजस्ता सेवा क्षेत्र र अन्य सेवा क्षेत्र स्वास्थ्य, शिक्षाका क्षेत्र समेत नराम्ररी प्रभावित भएका छन् यसले नेपाल मात्रै नभएर सबै मुलुकमा गरिबी बढ्ने देखिन्छ ।” उनले साना तथा मझौला उद्योग स्वरोजगारजन्य उद्योगहरू ठूलो मारमा परेको यीनका कारण कयांै मानिस रोजगारविहीन हुने अवस्था देखिएको बताए । “कोभिड–१९ को प्रकोप अलि उच्च भयो भनेपनि उनीहरूलाई फर्केर आउन गाह्रो देखिएको छ, उनीहरूलाई आपूर्ति संकटका अतिरिक्त वासलात संकट पनि परेको छ,” उनी भन्छन्, “तिर्नुपर्ने साँवाको दायित्व छँदैछ, त्यसमा ऋणको ब्याजको भार थपिने सम्पत्तिको मूल्य घट्दै जाने त्यसपछि बैंकको परिमाण चै थपिरहने दोहोरो भार साना ब्यवसायमा देखिन थालेको छ ।” यो अवस्थाले हजारौं रोजगारविहीन हुने र लाखौं मानिस गरिबीतिर धकेलिने संकेत सुरु भइसकेको खनालको तर्क छ ।
संयुक्त राष्ट्रसंघले केही दिनअघि सार्वजनिक गरेको अध्ययनमा कोरोना भाइरसको महामारीका कारण विश्वका ८१ प्रतिशत सक्रिय कामकाजीले आफ्नो काम पूर्ण वा आंशिक रूपमा गुमाएको देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विश्वका विभिन्न देशमा गरिएको लकडाउनलेधेरै कम्पनीहरू बन्द भएको र उनीहरूले कर्मचारी कटौती गरेका कारण संसारभर अर्बौ मानिस गरिबीतिर धकेलिएको बताएको छ ।
आईएमएफले विश्वको अर्थतन्त्र ९० वर्षयताकै कमजोर हुने भन्दै यस वर्ष नेपालको आर्थिक वृद्धिदर साढे दुई प्रतिशतमा सीमित रहने प्रक्षेपण समेत गरेको छ । नेपालमा जिडिपीको करिब ३० प्रतिशत हिस्सा रेमिट्यान्सबाट चलेको र बिश्वब्यापी आर्थिक मन्दीले बैदेशिक रोजगारीमा गएका युवाहरूको रोजगारी खोसिने हुँदा नेपाल झन गरिबीतिर धकेलिने संकेत देखिएको अर्थशास्त्री डा.चन्द्रमणि अधिकारीको बुझाइ छ ।
“नेपालको अर्थतन्त्र चलायमान बनाउन रेमिट्यान्सको महत्वपूर्ण भूमिका छ, हाम्रो देशका युवालाई श्रम गर्न विदेश पठाएर हामीले देश धानिरहेका छौँ, सरकारको अहिलेसम्मको नीति पनि विदेशमा युवा पठाउने र त्यसको लागि धेरैभन्दा धेरै श्रम गन्तव्य खोज्ने देखिएको छ, तर अब हिजोको जस्तो गरी चल्दैन,” उनले नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स आउने ती देश नै आर्थिक संकटकोे भूमरीमा पर्न शुरु गरेको बताए । “कुल रेमिट्यान्सको ५० प्रतिशत हिस्सा ओगट्ने खाडी देश पनि समस्यामा कोरोना माहामारीको संकटमा छन्,” उनी भन्छन्, “ती देशले हाम्रा कामदार फर्काउने र नयाँ कामदार नलैजाने मनस्थितिमा पुगेको देखिन्छ युरोप, अस्ट्रेलिया, जापान र कोरियालगायतका देश गएका धेरै नेपाली बेरोजगार हुने सम्भावना त्यतिकै बढेर गएको छ ।” वाह्य मुलुकबाट आउने रेमिटयान्स घटने देशमा रोजगारीका अवसरहरू नहुँदा गरिबी बढ्ने निश्चित रहको बताए । कोरोना महामारीले बिश्व अर्र्थतन्त्र नै संकटमा पर्ने देखिएको छ उल्लखे गर्दै उनी भन्छन्, “यसले हाम्रो अर्थतन्त्रमा ठूलो चुनौती थपिदिएको छ ।

No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...