अर्थतन्त्रमा कोरोना प्रभावबारे अध्ययन सुरु

निरु अर्याल
अर्थतन्त्रमा कोरोना प्रभावबारे अध्ययन सुरु
कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रसँगै नेपालमा असर देखिन थालेपछि अर्थमन्त्रालयले अध्ययन सुरु गरेको छ । अर्थ एवम् सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने क्रममा कोरोना भाइरसले अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा अर्थमन्त्रालले अध्ययन अघि बढिसकेको जानकारी दिए । कोरोनाले बजारमा कृतिम अभाव देखिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको बताउँदै मन्त्री खतिवडाले भने, “कोरोनाकै कारण बजारमा यतिबेला कृतिम अभाव हुन थाल्यो भन्ने अफवाह फैलिएको छ, त्यसतर्फ पनि सरकार सचेत छ कोरोनाको प्रभाव नेपाली अर्थतन्त्रमा पनि छ, त्यसमा सरकारले अध्ययन सुरु गरिसकेको छ” सरकारका प्रवक्ता समेत रहेको मन्त्री डा. खतिवडाले भने “कोरोना भाइरसको लक्षणजस्तै यसले अर्थतन्त्रमा पार्ने लक्षण अहिले देखिएको छ, पर्यटन, व्यापार, लगानीको अवसर, जहाँ विदेशी कामदार छन् ती निर्माण क्षेत्र, बजारको आपूर्ति विषयमा लक्षण देखिएको छ ।”
बुधबार दोश्रो पटक मन्त्री भएर पदभार सम्हालेलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दैै मन्त्री खतिवडाले कोरोनाबाट अर्थतन्त्रमा क्षति भएको भन्दै अध्ययन गर्ने बताएका थिए । मन्त्री खतिवडाले कोरोनका कारण विश्व अर्थतन्त्र पनि प्रभावित हुन थालेको र त्यसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने बताए । सो अवसरमा उनले भ्रमण वर्षका सबै कार्यक्रम स्थागित नभएको दावी गरे । उनले भने, “विश्व समुदायमा देखिएको प्रतिकुल स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै देश बाहिरका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हो, देश भित्रका कार्यक्रम यथावत नै छन् ।” कोरोनाको प्रभावले नेपालको सेवा क्षेत्रलाई असर गर्न थालेको भन्दै नेपाल राष्ट्र बैंकले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पर्यटन र व्यापारिक गतिविधि प्रभावित हुने जोखिम बढेको प्रतिवेदन नै सार्वजनिक गरिसकेको छ ।

उसले विश्वका केही देशहरुमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा पर्ने सक्ने असर तथा वर्षे बाली धानको उत्पादनमा आएको कमीले आर्थिक वृद्धि नै प्रभावित हुने देखिएको प्रक्षेपणसमेत गरेको गरेको छ । अर्थमन्त्री खतिवडाले विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण अर्थतन्त्रलाई प्रभाव पार्ने संकेत देखिएको यसतर्फ सचेत र सावधानी हुन सबैलाई आग्रह गरेका छन् ।
उनले कच्चा पदार्थ उत्पादन नहुँदा भोलिको आपूर्ति व्यवस्था प्रभावित भएर समग्र विश्वको आर्थिक प्रणाली प्रभावित हुँदा नेपालमा यसको प्रभाव बढी पर्ने बताए । यो हाम्रो अर्थतन्त्रका लागि चुनौती बनेर आएको भन्दै मन्त्री खतिवडाले सबै मिलेर सामाना गर्नुपर्ने बताए । पछिल्लो समय कोरोनाका कारण विदेशी कामदार रहेका परियोजना त्यसमा पनि चीनका कामदार रहेका परियोजनाका कामहरु प्रभावित हुन थालिसकेको छ ।
त्यहाँको अर्थतन्त्रमा प्रभाव देखिएलगत्तै रेमिटेन्स आय घटेर विदेशी विनिमय सञ्चितिमा कमी आउने देखिएपछि राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत प्रभावित हुन सक्ने उद्योगका लागि राहत प्याकेज ल्याउने घोषणा गरिसकेको छ । जसमा सेवा तथा उद्योग क्षेत्रको असरलाई मध्यनजर गर्दै पुनर्कर्जा दिनेदेखि ऋण पुनर्संरचना र पुनर्तालिकीकरण गर्नेसम्मको घोषणा उल्लेख गरिएका छन् तथापि दुई महिनाअघि चीनबाट फैलिएको कोरोनाले निजी क्षेत्रमा त्रास बढेको छ ।
अहिलेसम्म संसारभरका करिव ८० मुलुकमा कोराना फैलिएको छ भने विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई संवेदनशिल सूचिमा राखेको छ । कोरोनाबाट त्रास फैलिन नदिन र सचेतना अपनाउन भन्दै सरकारले प्रत्येक दिन ताजा जानकारी दिने तयारी पनि गरेको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले त्रास फैलिन नदिन मन्त्रालयले हरेक दिन अपडेट सार्वजनिक गर्ने र हरेक साता पत्रकार सम्मेलन गर्ने जानकारी दिए । सरकारले अर्थमन्त्रालय आन्तरिक राजस्व विभागअन्तर्गतका कार्यालयहरूको कार्य क्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने पनि निर्णय गरेको छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर