महिला उद्यमशिलतामा संभावनै संभावना

Niru Aryal 
महिला अधिकारका दृष्टिले नेपालले पछिल्लो एक दशकमा निकै ठूलो उपलब्धि हासिल गरेको छ । राज्यका विभिन्न निकायमा महिलाको सहभागिता बढ्दै गएको छ भने गणतन्त्र स्थापनापछिको दोस्रो राष्ट्रपति तथा व्यवस्थापिका संसद्को सभामुखमा पनि महिला निर्वाचित हुनुभएको छ ।
यो समग्र नेपाली महिलाका लागि मात्र नभई समानताका पक्षधर आमनेपालीका लागि नै गर्वको विषय भएको छ । नेपालले छोटो समयमा महिला अधिकारका पक्षमा पाएको सफलताप्रति विश्व समुदाय नै चकित छ र आगामी दिनमा यसलाई निरन्तरता दिन तथा प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने महत्वपूर्ण जिम्मेवारी अहिलेको पुस्तामा छ ।
महिलाले पुरुषसँगै प्रतिस्पर्धा गरेर पाएको जिम्मेवारी सफलतापूर्वक बहन गर्न सक्नुले नै नेपाली महिलाको क्षमताको मूल्यांकन भएको छ । नेपालले राजनीतिक रूपमा महिला अधिकारका क्षेत्रमा उपलब्धि हासिल गरेर राज्यको नीति निर्माण तहमा सहभागिता बढाउन सफल भए पनि यसको दिगोपना अर्थात् निरन्तरताका लागि महिला सशक्तीकरण नै एकमात्र विकल्प हो ।
भोलिका दिनमा अहिलेको जस्तो आरक्षणबिना नै महिलालाई अघि बढाउनुपर्छ र त्यसको आधार भनेको शैक्षिक, सामाजिक, राजनीतिक तथा आर्थिक रूपमा महिलाको सशक्तीकरण जरुरी छ ।
उचित शिक्षादीक्षा र समान व्यवहारजस्ता विषयमा हिजोको दिनजस्तो समस्या अब देखिँदैन । तर, महिला उद्यमशीलताका दृष्टिले नेपाल अझै पनि पछाडि नै देखिन्छ । त्यसै पनि महिलाहरू आर्थिक रूपमा सबल र सक्षम नभएसम्म उनीहरूको सशक्तीकरणको प्रयासले सार्थकता पाउन सक्दैन ।
जबसम्म घरखर्च चलाउनसमेत पुरुषको भर पर्नुपर्ने अवस्था रहन्छ, तबसम्म महिला सशक्तीकरणका कुरा बौद्धिक बहसमा मात्र सीमित हुनेछन् । यसैले हरेक महिलालाई उद्यमशील बन्न प्रेरित गर्नु अहिलेको प्रमुख आवश्यकता हो । 
नेपालमा महिला उद्यमशीलताको इतिहास लामो छैन र ठूलो संख्यामा महिला उद्यमीहरू क्रियाशील रहेको अवस्था पनि छैन । साना र घरेलु उद्योगमा महिलाको उपस्थिति केही सुधारोन्मुख र आशालाग्दो भए पनि ठूला उद्योगमा महिलाको उपस्थिति ज्यादै न्यून छ ।
त्यसैले ठूला उद्योगमा महिलाको सहभागिता बढाउनका लागि हामी बल्ल आधार तयार गर्ने अवस्थामा पुगेका छौं । साना र मझौला उद्योग नै ठूला उद्योगको आधारशीला भएकाले नेपालले अहिले यिनै उद्योगमा महिलाको उपस्थिति बढाउन सकेमा महिलाले नै नेतृत्व गरेका ठूला उद्योग देख्न धेरै कुनु पर्दैन । हालको तथ्यांकअनुसार पनि जम्मा उद्यमीहरूमध्ये महिलाको हिस्सा ३० प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्षसम्म जम्मा उद्यमीको संख्या ३६ हजार ६ संख्या ४२ रहेकोमा त्यसमध्ये महिला उद्यमी १० हजार ७ सय ३८ छन् । घरेलु तथा साना उद्योग विभागले उपलब्ध गराएको यो तथ्यांक हेर्दा पछिल्लो ६ वर्ष अवधिमा महिला उद्यमीको हिस्सा १० प्रतिशतले वृद्धि भएको छ ।
महिलाको आर्थिक सशक्तीकरणका सन्दर्भमा हामी दक्षिण एसियाली क्षेत्रमा मध्यमस्तरमा छौं । एक अध्ययनअनुसार हामीभन्दा अगाडि श्रीलंका र भुटान छन् भने भारत र पाकिस्तानभन्दा हामी नै अगाडि छौं । बंगलादेश र हामी उस्तै–उस्तै अवस्थामा देखिन्छौं ।
दक्षिण एसियामा साना तथा मझौला उद्यमीको समग्र संख्या १० प्रतिशत रहेकोमा नेपालमा भने ३० प्रतिशत हुनुलाई कमजोर रूपमा हेर्न मिल्दैन । नेपालभन्दा प्रतिशतका आधारमा भुटानमा महिला उद्यमीको संख्या बढी हुनु र नेपाल–भुटानबीचको भौगोलिक अवस्थिति उस्तै रहेकाले नेपालमा अझै पनि महिला उद्यमीको संख्या बढ्न सक्छ भन्ने देखिएको छ ।
अर्कातर्फ नेपालले छिमेकी मुलुकका महिलासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था नै छैन । त्यसैले प्रतिस्पर्धा नभै सहकार्य गरेरै महिला उद्यमशीलताको गुणात्मक र संख्यात्मक वृद्धि गर्न सकिन्छ । नेपालमा यतिबेला महिला उद्यमीको संख्या बढाउने आवश्यकता छ भने अर्कातर्फ साना तथा मझौला उद्यमीलाई कसरी माथि ल्याउने भन्ने चुनौती पनि छ ।
महिला उद्यमशीलता विकासको अवरोधका रूपमा रहेको बजार, सीप विकास, लगानीलगायतका समस्या समाधान गर्न राज्यको भूमिका पनि अपेक्षित छ भने महिलामा थप चेतनाको विस्तार पनि उत्तिकै महŒवपूर्ण छ । हरेक वर्ष उद्यमशील हुनुपर्छ भन्ने महिलाहरूको भावना बढिरहेको अवस्था छ ।
तर, अहिले तथ्यांकमा महिलाले सञ्चालन गरेका उद्योगको संख्या कम देखिनु वा महिला उद्यमीकै संख्या कम देखिनुको मूल कारण भने महिलाहरू बढी मात्रामा अनौपचारिक रूपको उद्यममा व्यस्त रहनु नै हो ।
हालसम्म महिला उद्यमी वा लगानीकर्ताको संख्या के–कति छ भन्ने आधिकारिक तथ्यांक कुनै पनि निकायसँग नहुनु भने दुर्भाग्यपूर्ण छ । साना तथा घरेलु उद्योगमा महिला उद्यमीहरूको आकर्षण बढी छ र यसको आधुनिकीकरणमा पनि उहाँहरू लागिरहनुभएको छ । सरकारले औद्योगिक नीति, ०६७ मा महिला उद्यमीहरूका लागि छुट्टै व्यवस्था गरेपछि यो आकर्षण बढेको मान्न सकिन्छ ।
औद्योगिक नीतिले महिलाका नाममा दर्ता हुने उद्योगलाई ३५ प्रतिशतसम्म दर्ता छुट गर्नुपर्ने व्यवस्था गरेको छ । यसबाहेक सरकारले महिलाको नाममा घरजग्गा, उद्योग दर्ता गर्दा सरकारी दस्तुरमा छुटको व्यवस्था गरिएको छ । महिलाले दर्ता गरे २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । यस्ता सुविधाले पनि स्वाभाविक रूपमा आकर्षण बढाएको छ ।
महिला उद्यमशीलताको चर्चा गर्दा समग्र मुलुककै औद्योगिक तथा व्यावसायिक अवस्थाको चर्चा गर्नु उपयुक्त हुन्छ । मुलुकमा लगानीमैत्री वातावरण बन्ने गति निकै सुस्त छ । यस्तो बेला ठूला लगानीकर्ताको आकर्षण नरहे पनि मुलुकको आवश्यकता पूर्ति गर्न घरेलु तथा साना उद्योगहरूको महŒवपूर्ण हुन्छ ।
ठूला उद्योग सञ्चालन नहुँदा यस्ता खाले उद्योगको विकास र विस्तार जरुरी पनि छ । स्वदेशी श्रम, सीप, पुँजी र प्रविधिको प्रयोगले सञ्चालन हुने यस्ता उद्योगहरू महिलालाई उद्यमशील बनाउन मात्र नभई मुलुकको दिगो आर्थिक विकासका लागि पनि उत्तिकै उपयोगी हुन सक्छन् । सरकारले पनि महिला उद्यमी विकास कोष स्थापना गरेको छ भने यो हाम्रा लागि ठूलो अवसर पनि हो ।
यसबाट प्राप्त हुने बिनाधितो ऋणलगायत यस्ता थुप्रै अवसरको उपयोग गर्नु जरुरी छ । नेपालको आर्थिक विकासका लागि महत्वपूण मानिएका कृषि, पर्यटन र जलस्रोत तीन क्षेत्रमध्ये जलस्रोतबाहेकका क्षेत्रमा महिलाको उपस्थिति लोभलाग्दो छ ।
अधिकांश युवा कामको खोजीमा बिदेसिएकाले नेपालको कृषिक्षेत्र महिलाले नै धानेका छन् भन्दा पनि फरक पर्दैन भने नेपालको आतिथ्य संस्कारमा आधारित पर्यटन क्षेत्रमा पनि महिलाको उपस्थितिले यो क्षेत्रको दिगो विकासमा उल्लेख्य सहयोग गरेको पाइन्छ ।
दुर्गम क्षेत्रमा समेत महिलाले होटल र रेस्टुँरा सञ्चालन गरेर आपूmलाई स्वावलम्बी सावित गरिरहेका छन् । यस्तै, महिलाले घरमै बसेर गलैंचा, पस्मिना, फेल्टजस्ता व्यवसायको मूल्य अभिवृद्धिका लागि पु¥याइरहेको योगदानको जति प्रशंसा गरे पनि कम हुन्छ । 
समग्रमा नेपालको जैविक तथा सामाजिक र सांस्कृतिक विविधताअनुसार कुनै पनि वस्तुको व्यापक उत्पादनभन्दा स्थानीय आवश्यकताअनुसारका मौलिक वस्तुहरू उत्पादन पनि उत्तिकै जरुरी छ ।
यसका लागि लघु घरेलु उद्योगको विकास र विस्तार तथा यसको आधुनिकीकरणका माध्यमले महिला सशक्तीकरण अघि बढाउन सकिन्छ । महिला उद्यमी महासंघसहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघलगायतमा पनि महिला उद्यमीको उत्साहजनक उपस्थिति रहेकाले मुलुकको नीतिगत व्यवस्थालाई महिला उद्यमशीलतामैत्री बनाउन हामीले कुनै कमजोरी हुन दिनेछैनौं ।
महिला उद्यमी महासंघले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको पनि छ भने महिला उद्यमशीलताको वकालत पनि गरिरहेका छौं । यस्तै, आर्थिक अवस्था कमजोर तर उद्यमशीलता गर्न चाहने महिलाको विषयमा काम गरिरहेका छौं ।
उनीहरूका लागि वित्तीय पहुँच बढाउने, सहुलियतपूर्ण ऋण उपलब्धताका लागि प्रक्रिया थाल्नेलगायतका काम महासंघले गरिरहेकाले महिला उद्यमशीलताका क्षेत्रमा भइरहेका कामलाई एकत्रित गरी अगाडि बढाउन सकियो भने आउँदो दशकसम्ममा हामीले उत्साहजनक नतिजा पाउन सक्छौं । नेपाल महिला उद्यमशीलताका लागि संसारकै उर्वर भूमि हो भन्ने सत्यलाई स्थापित गर्न हाम्रो सत्प्रयास निरन्तर रहनेछ । 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक