लगानी सम्मेलन, १५ खर्बको ठूला परियोजना

काठमाडौः काठमाडौंमा आयोजना हुन लागेको ‘लगानी सम्मेलन' ठूला परियोजनामा विदेशी लगानी जुटाउन केन्द्रित हुने भएको छ । सम्मेलनमा प्रस्तुत गरिने ‘प्रोजेक्ट बैंक' मा आठवटा ठूला परियोजना अगाडि सारिँदैछ । यी परियोजनाको कुल लगानी झन्डै १५ खर्ब रुपैयाँ रहेको छ । उद्योग मन्त्रालय र लगानी बोर्डको सहकार्यमा फागुन १९ र २० गते लगानी सम्मेलन हुन लागेको हो ।
सरकारी तहबाट २५ वर्षपछि लगानी सम्मेलन हुन लागेको हो । यसअघि सन् १९९२ मा लगानी सम्मेलन भएको थियो । सम्मेलनका लागि लगानी बोर्डले ‘प्रोजेक्ट बैंक' तयार पारिरहेको छ । लगानी सम्मेलन सफल बनाउन उद्योग मन्त्रालय र लगानी बोर्ड लागिरहेका छन् । सम्मेलनमा विस्तृत सम्भाव्यता अध्ययन भएका, प्रारम्भिक अध्ययन भएका र कन्सेप्ट प्रोजेक्ट विदेशी लगानीकर्तामाझ प्रस्तुत गरिने बताइएको छ ।
लगानी बोर्डले अगाडि सारेका ठूला परियोजनामा रासायनिक मल कारखाना, पूर्वपश्चिम रेलमार्ग, रेलमार्गमा भारतसँग जोड्ने लिंक, काठमाडौं भ्याली मेट्रो, काठमाडौं-हेटौंडा सुरुङमार्ग, काठमाडौं-पोखरा रेलमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र तामाकोसी तेस्रो रहेका छन् । यी सबै परियोजनाको सम्भाव्यता अध्ययन भइसकेको लगानी बोर्डले बताएको छ ।
रासायनिक मल कारखानाको भारतीय परामर्शदाता कम्पनी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेसन (आईडेक)ले विस्तृत सम्भाव्यता अध्ययन गरिसकेको छ । परामर्शदाताले ढल्केवरमा कारखाना खोल्न सम्भाव्यता अध्ययन गरी लगानी बोर्डलाई प्रतिवेदन बुझाइसकेको छ । तर, उक्त प्रतिवेदन बोर्डले चित्त बुझाएको छैन । कारखानाबाट प्रतिवर्ष सात लाख मेट्रिक टन रासायनिक मल उत्पादन गर्ने प्रतिवेदनमा उल्लेख छ । रासायनिक मल कारखाना खोल्न ६० अर्बदेखि एक खर्ब ३० अर्ब रुपैयाँसम्म लाग्ने अनुमान छ । कारखानाको मोडालिटीअनुसार लगानी तय हुने बोर्डले जनाएको छ ।
पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि तीन खर्ब रुपैयाँ लगानी लाग्ने प्रारम्भिक अनुमान छ । विद्युतीय रेलमार्गमा भारतसँग ६ ठाउँबाट लिंक गरिने बोर्डले जनाएको छ । अत्तरिया, नेपालगन्ज, भैरहवा, वीरगन्ज, जनकपुर, विराटनगरमा पूर्वपश्चिम रेलमार्गसँग भारतीय रेलमार्ग लिंक गरिनेछ । यसका लागि २२ अर्ब ७० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
काठमाडौं उपत्यका मेट्रो परियोजना निर्माणका लागि पाँच खर्ब ४७ अर्ब २० करोड लगानी लाग्ने बोर्डले जनाएको छ । यो राजधानीको यातायात सेवा सुधारका लागि महत्ववपूर्ण परियोजना हो । निजी क्षेत्रले काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्ग बनाउन नसकेपछि सरकार आफैं कस्सिने भएको छ । यो परियोजना लगानी सम्मेलनमा प्रस्तुत गर्ने तयारीमा सरकार छ । यो परियोजना निर्माण सम्पन्न गर्न ३४ अर्ब ९० करोड लगानी लाग्ने प्रारम्भिक अनुमान छ ।
यसैगरी काठमाडौं-पोखरा रेलमार्गमा पनि लगानी जुटाउन सम्मेलनमा पहल गरिने भएको छ । यो रेलमार्ग निर्माण गर्न दुई खर्ब ८३ अर्ब रुपैयाँ लगानी आवश्यक हुन्छ । तामाकोसी तेस्रो निर्माणका लागि एक खर्ब लाग्ने अनुमान छ । यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि सम्मेलनमा लगानी जुटाउन प्रयत्न गरिने बताइएको छ । उल्लेखित सबै ‘ड्रिम प्रोजेक्ट' हुन् । यी परियोजनामा ठूलो लगानी आवश्यक हुने भएकाले विदेशी लगानी भित्वयाउनु आवश्यक देखिन्छ ।
उद्योग मन्त्रालयका उपसचिव विमल बरालका अनुसार लगानी सम्मेलनमार्फत नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई गराइनेछ । सम्मेलनमा सम्भावित परियोजना प्रस्तुत गरिनुका साथै नीतिगत सुधारका विषयमा पनि लगानीकर्तालाई जानकारी गराइनेछ । ‘यो सम्मेलन लगानी भिर्‍याउने पहिलो खुड्किलो हो', उनले भने, ‘सम्मेलनले मुलुकमा लगानीको माहौल सिर्जना गरिदिने विश्वास छ ।'
सम्मेलनमा १० वटा मुलुक सहभागी हुनेछन् । विभिन्न मुलुकका सरकारी अधिकारी र निजी
लगानीकर्ता गरेर तीन सयजना सम्मेलनमा सहभागी हुने उपसचिव बरालले जानकारी गराए । सम्मेलनको पहिलो दिन लगानी सम्भावना, नीतिगत सुधार र लगानीको वातावरणका विषयमा छलफल हुनेछ । दोस्रो दिन ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, पर्यटन, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा बनजन्य विषयमा प्यानल छलफल हुनेछ ।
सम्मेलनले नेपालमा लगानीमैत्री वातावरण बनेको सन्देश विश्वभर फिँजाउन सफल हुने आयोजकको विश्वास छ । सम्मेलनमार्फत न्यूनतम एक खर्बको विदेशी लगानी प्रतिबद्धता गराउने लक्ष्य राखिएको छ । बाँकी लगानी भित्वयाउन निरन्तर पहलकदमी गरिरहने उद्योग मन्त्रालयले जनाएको छ ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन