नेपालमा व्यवसाय गर्न झनै गाह्रो

दक्षिण एसियामा भने भुटानपछि नेपालकै सम्भावना राम्रो

काठमाडौंः पछिल्लो समयमा नेपालको व्यावसायिक वातावरण झनै खस्किएको छ । विश्व बैंक समूहले सार्वजनिक गरेको व्यापार गर्दा (डोइङ बिजनेस–डीबी) २०१७ मा नेपालको स्थिति विगत वर्षभन्दा खस्किएको हो । तर, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकभित्र भने नेपालको अवस्था अन्यको तुलनामा राम्रो छ । 
प्रतिवेदनले नेपाल व्यावसायिक वातावरणको हिसाबले विश्वमा १०७ औं स्थानमा रहेको उल्लेख गरेको छ । गत वर्ष नेपाल एक सयौं स्थानमा थियो । विश्व बैंकले अध्ययनमा समेटेका विभिन्न १० क्षेत्रमध्ये एउटा क्षेत्रमा सुधार भएको र अर्को एक गत वर्षकै स्थितिमा रहेको देखिएको छ । गत वर्ष ५९.३६ अंक प्राप्त गरेको नेपालले यस वर्ष ५८.८८ अंक पाएको छ । 
सूचक एक सय अंकनजिक हुँदा सम्बन्धित मुलुकको व्यावसायिक वातावरण राम्रो भएको र शून्य नजिक हुँदा स्थिति खराब हुँदै गएको भन्ने बुझिन्छ । यसले पनि नेपालको व्यावसायिक वातावरण सहज नभएको देखाउँछ । 
नेपाल सिमापार व्यापारमा मात्रै तीन स्थानले सुधारिएको छ भने अन्य परिसूचकहरु सबैमा घटेको छ । तर, दक्षिण एसियाली मुलुकहरुमा भने नेपालको स्थिति अन्य मुलुकको तुलनामा राम्रो छ ।
दक्षिण एसियामा व्यावसायिक वातावरणमा भुटानमा सबैभन्दा राम्रो छ भने त्यसपछि नेपाल छ । अघिल्लो वर्ष पनि नेपालभन्दा अगाडि व्यावसायिक वातावरणमा भुटान अग्रस्थानमा थियो । समग्र श्रेणीमा भुटान ७३ औं स्थानमा छ भने उसले ६५.३७ अंक पाएको छ । 
नेपाल र भुटानसहित श्रीलंका (११० श्रेणी), भारत (१३० श्रेणी) र माल्दिभ्स (१३५ श्रेणी) सार्क औसतभन्दा राम्रो स्थितिमा छन् । सार्क क्षेत्रको डोइङ बिजनेस औसत (१३२ श्रेणी) छ । 
सार्क क्षेत्रमा अफगानिस्तान सबैभन्दा कमजोर अवस्थामा छ । ऊ समग्रमा १८३ औं स्थानमा छ । अफगानिस्तानलाई पछ्याउँदै बंगलादेश (१७६ औं स्थान) र पाकिस्तान (१४४औं स्थानमा) छन् । छिमेकी मुलुक चीन ७८ औं स्थानमा छ ।
विश्व बैंकले व्यवसाय सुरु, निर्माण अनुमतिसम्बन्धी काम, विद्युत् प्राप्ति, सम्पत्ति दर्ता, ऋण प्राप्ति, अल्पसंख्यक लगानीकर्ताको संरक्षण, कर तिर्नुपर्ने, सीमापार व्यापार, करार लागू र टाट पल्टिएको समाधान (रिसल्भिङ इन्सल्भेन्सि)जस्ता १० विषयवस्तुमाथि अध्ययन गरी १४ औं प्रतिवेदन सार्वजनिक गरेको हो । 
सबैका लागि समान अवसरको नाराका साथ विश्व बैंक समूहले विश्वका १ सय ९० मुलुकको व्यवसाय गर्न आवश्यक नीति नियम कार्यान्वयनको स्थिति र सम्पत्ति अधिकारको सुरक्षालाई समेटेर प्रतिवेदन सार्वजनिक गरेको हो ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक