चार महिनामा २ खर्ब ७७ अर्ब व्यापार घाटा

सरकार र व्यावसायी एकअर्कालाई दोष दिँदै

काठमाडौँः निर्यातजन्य उद्योगलाई प्रवद्र्धन गर्ने सरकारी नीति रहेपनि निर्यात भने बर्सेनि घट्दै  गएको छ । 
पछिल्लो तीन वर्षको अवधिको तथ्याङ्कले निर्यात घट्दै गएको देखाएको हो । निर्यात घटेसँगै आयात निर्यातको अनुपात बढेर १ बराबर १२ पुगेको छ ।
१५ वर्ष पहिले १३ अर्ब रुपैयाँको गार्मेन्ट निर्यात हुने गरेको तथ्य अब इतिहास बनेको छ । 
२०५८ सालयता गार्मेन्टको निर्यात बर्सेनि घट्दै गएको छ । अमेरिकी डलरको भाउ बढ्दा पनि गार्मेन्टको निर्यात अहिले साढे ५ अर्ब रुपैयाँमा सीमित छ ।
१८ वर्ष पहिले १० अर्ब रुपैयाँ भन्दा बढीको पश्मिना निर्यात हुने गरेकोमा अहिले वार्षिक ३ अर्ब रुपैयाँमा चित्त बुझाउनुपर्ने अवस्था छ । 
निर्यात खस्किएका यी केही प्रतिनिधि उदाहरण हुन् । पछिल्ला वर्षहरूमा निर्यात घट्दै गएको छ । निर्यात घट्दै जाँदा मुलुकको व्यापार घाटा भने नराम्ररी बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्र मुलुकले २ खर्ब ७७ अर्ब १३ करोड रुपैयाँको व्यापार घाटा व्यहोर्नुपरेको छ । 
निर्यात बर्सेनि घट्दै जानु तथा व्यापार घाटा बढ्नुमा सरकार दोषी रहेको व्यवसायीहरुको आरोप छ । 
शुक्रवार पहिलो निर्यात दिवस मनाउन भेला भएका व्यवसायीहरुले सरकारले निर्यात बढाउनका लागि कुनै पहल नगरेको आरोप लगाए । 
उनीहरूले उत्पादन लागत धेरै भएका कारण विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर नेपाली वस्तुको निर्यातमा कमी आएको तर यसतर्फ सरकारले कुनै वास्ता नगरेको गुनासो गरे । 
सरकारले निर्यातकर्तालाई ६ वर्षदेखि दिँदै आएको २ प्रतिशतसम्म नगद अनुदानलाई बढाउनुपर्ने आवश्यकता रहेको बताउँछन् नेपाल निर्यात परिषद्का अध्यक्ष  सुरेन्द्रकुमार श्रेष्ठ ।
निर्यात बढाउनका लागि सरकारले नगद अनुदान बढाएर १५ प्रतिशत पु¥याउनुपर्ने माग निर्यात प्रबद्र्धन समितिका सभापति अनुप मल्लको छ । 
‘व्यवसायीहरुलाई निर्यात अनुदान नबढाएसम्म व्यापार घाटा रोकिन्न’, उनले भने, ‘नगद अनुदानमा वृद्धि नगरेसम्म निर्यात बढाउन सकिने अवस्था छैन ।’
व्यावसायीहरुले छिमेकी मुलुक चीनले आफ्ना निर्यातकर्तालाई् १७ प्रतिशतसम्म नगद अनुदान दिँदै आएको बताएका छन् । 
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक इश्वरीप्रसाद घिमिरे भने निर्यात बढाउन उद्योगी व्यवसायीले गुणस्तरीय सामान उत्पादनमा ध्यान दिनुपर्ने बताउँछन् । 
मुलुकभित्र उत्पादन घट्दा आयातले प्रोत्साहन पाएको छ । चालु आवको पहिलो चार महिनामा ३ खर्ब १ अर्ब ६६ करोड रुपैयाँका सामान आयात भएका छन् । तर निर्यात भने जम्मा २४ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ । 
वस्तुको उत्पादन घट्नुमा पहिले ऊर्जालाई समस्या देखाउँदै आएका उद्योगी व्यवसायीले अब कामदारको अभाव समेत देखाउन थालेका छन् । 
एकले अर्कोमाथि दोष थोपरेर उम्किने प्रवृत्ति मौलाउँदा व्यापार घाटा भने कहालीलाग्दो रूपमा बढिरहेको छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक