सार्क हस्तकला विकास केन्द्र स्थापनाको अन्तिम तयारी

काठमाडौंः सार्कस्तरीय हस्तकला विकास केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौंमा स्थापना गर्न लागिएको केन्द्रका लागि सरकारले चालू आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरेपछि काम अघि बढेको नेपाल हस्तकला महासंघले जनाएको छ ।
सरकारले हस्तकला विकास केन्द्रका लागि जग्गा उपलब्ध गराएपछि भवन निर्माण गर्न आवश्यक छलफल भइरहेको महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए । “केन्द्रको हब बनाउन घरेलु तथा साना उद्योग विभागकै परिसरमा २ रोपनी १५ आना जग्गा सरकारले उपलब्ध गराएको छ,” उनले भने, “सुविधासम्पन्न भवन बनाउन सार्क सचिवालयसँग सहकार्य गर्दैै छौं ।” उनले यसै महिनाभित्र भवनको शिलान्यास गर्ने तयारी भइरहेको जानकारी दिए । 
त्रिपुरेश्वरस्थित घरेलु तथा साना उद्योग विभाग परिसरमा बन्ने केन्द्रको कुल लगानी २१ करोड रुपैयाँ हुनेछ । यसमा लाग्ने ९० प्रतिशत लगानी सार्क सचिवालयले र बाँकी नेपाल सरकार तथा नेपाल हस्तकला महासंघले गर्ने सम्झौता भएको छ । 
महासंघका अध्यक्ष शाक्यका अनुसार जग्गाको स्वामित्व सरकारको हुने भए पनि स्वामित्वमार्फत विभागलाई दिने भाडाका बारेमा भने टुंगो लागेको छैन । सार्क सचिवालयले सदस्य राष्ट्रका हस्तकलाको विकास गर्ने उद्देश्यले अन्तरराष्ट्रिय सार्क हस्तकला विकास केन्द्र स्थापना गर्न लागेको हो । महासंघका अध्यक्ष शाक्यले सार्कस्तरीय हस्तकला डिजाइन सेन्टरको स्थापनाले नेपाली हस्तकलाका सामानको प्रवद्र्धनमा थप सहयोग पुग्ने बताए । 
सार्वजनिक निजी साझेदारीबाटै केन्द्र स्थापना गर्न लागिएको भन्दै उनले यसका लागि छिटोभन्दा छिटो काम सम्पन्न गर्न महासंघ प्रयासरत रहेको जानकारी दिए  । नेपाली हस्तकलाका सामानको माग बढी भएकाले निर्यात बढाउने खालका कार्यक्रमहरू ल्याउनु अनिवार्य रहेको भन्दै सरकारले ३ वर्षअघि हस्तकला डिजाइन सेन्टर स्थापना गर्ने घोषणा गरेको थियो ।
हस्तकला विकास केन्द्रको स्थापनापछि नेपाली कला र सिपको प्रवद्र्धन हुने र  नेपालीवस्तु आन्तरिक तथा बाह्य बजारमा प्रतिस्पर्धी हुने अपेक्षा सरकारको छ । वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाली उत्पादनको आन्तरिक बजार प्रवद्र्धन तथा निर्यात अभिवृद्धिका लागि एकीकृत पहल आवश्यक रहेको बताए । “सार्कस्तरीय हस्तकला ग्रामको निर्माण अन्तिम चरणमा पुगेको छ,” उनले भने “यो निर्माण भएलगत्तै हाम्रा वस्तुको बजार प्रवद्र्धनमा सघाउ पुग्नेछ ।”

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक