साना उद्योगको दर्ता उत्साहजनक, २७ जिल्लामा १६ हजार घरेलु उद्योग

काठमाडौं : राजनीतिक अस्थिरताका कारण ठूला लगानी प्रभावित भए पनि साना तथा घरेलु उद्योगमा भने आकर्षण देखिएको छ । गत आर्थिक वर्षमा घरेलु तथा साना उद्योग विभागमार्फत २७ जिल्लामा करिब १६ हजार उद्योग दर्ता भएका छन् ।
दर्ता भएका उद्योगमध्ये सेवा क्षेत्रमा सबैभन्दा बढी ५ हजार ८ सय छन् भने खनिज क्षेत्रमा एउटा पनि छैन । दर्ता हुने उद्योगको संख्या बढे पनि आधाभन्दा कम मात्रै सञ्चालनमा आउने सरोकारवाला बताउँछन् । 
लघु, घरेलु तथा साना उद्योगको दर्तामा विभागले २७ जिल्ला हेर्दै आएकोमा बाँकी ४८ जिल्ला भने घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता हुन्छन् । लघु, घरेलु तथा साना उद्योग दर्ता गर्दा सरकारी तथा गैरसरकारी सुविधा प्राप्त गर्न सकिने भएकाले यस्ता उद्योगमा दर्ता संख्या बढ्दो छ ।
आव ०७२/७३ मा दर्ता भएकामध्ये ९० प्रतिशत उद्योग सहरकेन्द्रित छन् । साना उद्योगसमेत सहरकेन्द्रित हुँदा थोरै कमाइ भएका व्यक्ति सहरको महँगो बसाइमा बस्न बाध्य हुनुपरेको छ ।
विभागको तथ्यांकअनुसार आव ०७२/७३ मा दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ७ सय ५ छन् । यस्तै, रूपन्देही, ललितपुर, चितवन, कास्कीलगायत जिल्लामा धेरै उद्योग दर्ता भएका छन् । 
सरकारी तथा गैरसरकारी संघसंस्थाको अनुदान र सेवा–सुविधाका लागि उद्योग दर्ता गर्ने संख्या बढे पनि त्यसको प्रतिफल भने अपेक्षाकृत छैन ।
आफूले सञ्चालन गर्न लागेको उद्योग व्यवसायको भविष्य र त्यसका सम्भावनाको विषयमा राम्रोसँग जानकारी नलिई उद्योग दर्ता गर्ने प्रचलन बढ्दै गइरहेको छ ।
घरेलु उद्योगमा दर्ता भएकामध्ये के कति उद्योग सञ्चालनमा छन् भन्ने जानकारी सरकारी निकायले पनि राखेको छैन ।
दर्ता गरी सरकारी सेवा–सुविधा लिएका तर दर्ता भएको सञ्चालन गर्न नसक्दा बन्द भएका उद्योगको अनुगमन गरी त्यस्ता उद्योगलाई अनुगमन गर्ने सरकारी संयन्त्र नहुँदा सरकारी सेवा–सुविधाको दुरुपयोग भएको छ । 
घरेलु तथा साना उद्योग सुरक्षा, बजारीकरण तथा यातायातको सुविधालगायत विभिन्न सुविधा सहजै प्राप्त गर्न सकिने क्षेत्रमा दर्ता हुने गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंह बताउँछन् ।
“बैंकले दिने कर्जा सुविधा बढ्नुका साथै मुलुक शान्तिको बाटोमा अगाडि बढेका कारण दर्ता हुने उद्योगको संख्या बढेको छ,” कार्यवाहक अध्यक्ष सिंह भन्छन्, “तर, नेपालमा कुल दर्ता भएका साना उद्योगमध्ये आधाभन्दा कम मात्र सञ्चालनमा आउँछन् ।”
दर्ता भएका उद्योग दुर्गम जिल्लाकेन्द्रित नभई सहरकेन्द्रित छन्, जसले गर्दा ग्रामीण विकासमा समेत असर गर्ने उनको भनाइ छ । पछिल्लो समय उद्योग दर्ता गरेर सेवा–सुविधा लिने तर सोहीअनुसारको उत्पादन भने नहुने गरेको उनी बताउँछन् ।
साना उद्योगहरुमा विदेशीको समेत मोह देखिन्छ । स्थानीय कच्चा पदार्थको प्रयोग गरि प्रशस्त फाइदा गर्न सकिने भएकाले विदेशी लगानीको पनि यस्ता उद्योगमा आकर्षण बढेको हो । 

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन