कोलकाता बन्दरगाहमा हजारौं कन्टेनर अलपत्र

भारतको कोलकाता बन्दरगाहमा नेपाली व्यवसायीका हजारौं मालवाहक कन्टेनर रोकिएका छन् । जाम हुने समस्या देखाउँदै भारत कोलकाताका पुलिस कमिसनरले लोड भएका कन्टेनर बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म बजार क्षेत्र हुँदै निकाल्न नदिएपछि कन्टेनरहरु अलपत्र परेका हुन् । पटकपटकको अवरोधबाट ठूलो नोक्सानी बेहोरेका नेपाली आयातकर्ताहरु अहिले फेरि मारमा परेका छन् ।
विभिन्न देशबाट आयात गरिएका वस्तुहरु कोलकातामै अलपत्र परेपछि व्यवसायीहरुले यस वर्ष पनि ठूलो क्षती बेहोर्नु पर्ने देखिएको छ । गत वर्ष भारतको नाकाबन्दीले पनि यस्तै समस्या देखिएको थियो । वीरगञ्जको सुख्खा बन्दरगाहसम्म रेलमार्फत आउने मालवाहक कन्टेनर खाली गरेर समयमा पुर्‍याउन नसक्दा विलम्ब शूल्क तिर्न बाध्य भएका छन् । 
नेपाली उद्योगी व्यवसायीहरुले अहिले खाली कन्टेनर कोलकाता बन्दरगाहसम्म पु¥याईएका खाली कन्टेनरको पनि जरिवाना तिर्नु परिरहेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले बताए । 
उनका अनुसार कोलकाता बन्दरगाहमा मालवाहक कन्टेनरको जामले गर्दा खाली कन्टेनर समेत राख्ने ठाउँ छैन । सिपिङ कम्पनीहरुले पनि प्रति कन्टेनर एक सय रुपैयाँ अमेरिकी डलर सर्ट चार्ज बढाएको छ ।
कतिपय कन्टेनरहरु हल्दिया बन्दरगाहमा पनि लगेर राखिदिएको छ । बन्दरगाहभित्र यताउता गाडी चलाउने ठाउँ समेत नरहेकोले लोड अनलोड गर्न समेत समस्या भएको छ । कार्गो समेत अस्तब्यस्त रहेको केडियाको भनाई छ । 
कोलकातास्थित नेपाली वाणिज्य दूतावासले समेत समस्या समाधानको लागि पहल गरिरहेको छ । तर, कुनै उपलब्धी भने भएको छैन । अध्यक्ष केडियाले भने, “वाणिज्य दूतावासबाट पहल भईरहेको छ । तर, समस्या समाधान हुन सकिरहेको छैन । 
यो समस्या धेरै दिन रहे गतवर्ष मधेस आन्दोलनमा नेपाली व्यावसायीहरुले बेहोर्नु परेको नोक्सानी भन्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था छ,” उनले अगाडि भने, “यसलाई नेपाल सरकारले भारतको केन्द्रीय सरकारसँग कुटनीतिक रुपमा वार्ता गरेर राज्य सरकारलाई दबाव दिनुपर्छ ।” होईन भने स्थिति भयावह नै हुन्छ । 
केडियाका अनुसार २ हजार मालवाहक कन्टेनरहरु कोलकाता बन्दरगाहमा रोकिएका छन् । नेपाल आउने मालवाहक कन्टेनर मात्र नभै भारतकै विभिन्न स्थानमा जाने कन्टेनरहरु समेत जामका कारण रोकिएका छन् । खाली कन्टेनरहरु समेत असंख्य रहेको अध्यक्ष केडियाको भनाई छ । 
अहिले पुलिस कमिसनरले लोड भएका कन्टेनरहरु दिउँसो १२ बजेदेखि ४ बजेसम्म र कहिले १ बजेदेखि ४ बजेसम्म मात्र निकाल्न नपाउने भनिए पनि त्यो अवधिको समेत कुनै यकिन छैन । बन्दरगाह प्राधिकरणलाई दबाब दिएर भए पनि यो समस्या चाँडै समाधान गर्नुपर्ने  नेपाली आयातकर्ता बताउँछन् ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक