ललितपुरमै बसेर भीआईपीहरूले यहाँको विकासलाई उपेक्षा गरिरहेका छन्


अजरमान जोशी
 अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघ 
ललितपुर उद्योग वाणिज्य संघमा दोस्रोपटक अध्यक्ष बनेका अजरमान जोशी व्यावसायिक तथा सामाजिक क्षेत्रका अगुवा हुन् । पुरानो मुद्रण व्यवसायी परिवारका जोशी हाल हस्तकला र सञ्चार व्यवसायमा पनि संलग्न छन् । ललितपुर नगरभित्र व्यावसायिक सुरक्षाका लागि सीसीटिभी राखेर लोकप्रिय भएका उनी हस्तकला, पर्यटन तथा कृषि उत्पादनका लागि यो जिल्ला संसारकै नमुना क्षेत्र बन्न सक्ने बताउँछन् । मच्छिन्द्र क्याम्पसबाट व्यवस्थापनमा स्नातक उनी पुरातात्विक तथा परम्परागत कला संस्कृति अध्ययन गर्न होमस्टे प्रवद्र्धनमा पनि उत्तिकै अग्रसर छन् । दोस्रो कार्यकालमै आफ्ना योजना पूरा गर्ने र भावी नेतृत्वलाई आधार तयार गर्ने उनको योजना छ । उनी रोटरी क्लब अफ पाटन दरबार स्क्वायरको प्रेसिडेन्टसमेत रहिसकेका छन् । करिब २ दर्जनभन्दा बढी सामाजिक एवं व्यावसायिक संघसंस्थामा आबद्ध उनी ललितपुर महोत्सवले यस क्षेत्रको लोकप्रियता बढाएका कारण यसलाई निरन्तरता दिनुपर्ने बताउँछन् । नेपालले ब्रान्डिङ गर्न नसक्दा ‘एक गाउँ एक उत्पादन’को अवधारणा जापानबाट भिœयाउनुपरेको तर ललितपुरमा पहिल्यै स्थापित ‘एक टोल एक उत्पादन’ लाई चिनाउन चुकेको बताउने उद्योगी जोशीसँग गरिएको कुराकानी  
ललितपुर जिल्लाको आर्थिक तथा व्यावसायिक क्षेत्रको विकास अहिले कसरी अघि बढिरेहको छ ?
ललितपुर औद्योगिकका साथै कला–संस्कृतिको नगरी पनि हो । पाटन औद्योगिक क्षेत्र यहीं छ । परम्परागत सीपमा आधारित उद्योग पनि यही छन् । अधिकांश घरेलु र परम्परागत तथा सीपमूलक उद्योग पनि छन् । घरेलु रूपमा मात्रै हस्तकलाको विकास भइरहेको अवस्था छ । यहाँका गाउँ–गाउँमा पनि धेरै उद्योग छन् ।  हस्तकलाजन्य वस्तु भनौं वा परम्परागत सीप भएका वस्तु यही पाइन्छन् । विभिन्न गाविसमा आफ्नै हिसाबका उत्पादन छन् ।  धेरै सम्भाव्यता भएका वस्तु तथा क्षेत्र पनि छन् । त्यसकारण हामीले ललितपुरलाई सम्भावना बोकेको जिल्लाका रूपमा लिएका छांै ।

मुलुकमा ललितपुरको छुट्टै विशेषता छ, यहाँका मौलिक उत्पादनदेखि परम्परागत उद्योगको व्यावसायिक विकास गर्न के गर्दै हुनुहुन्छ ?
हाम्रो काम प्रवद्र्धन गर्ने नै हो । हामीले प्रवद्र्धनात्मक काम गर्दै आएका पनि छौं । यसका लागि हामीले महोत्सवबाट काम सुरु गरेका छौं । यसले हरेक उत्पादनलाई पहिचान दिन सहयोग गर्छ । ललितपुर भौगोलिक विविधता भएको जिल्ला पनि हो । दुर्गम गाविस यही छन् र सुगम पनि छन् । उपमहानगर र नगरपालिका पनि छन् ।  संघको नाताले सबैलाई समेटनुपर्छ र समेट्न खोजेका छांै । तर, भौगोलिक जटिलताका कारण सबैलाई एकै ठाउँमा समेट्न कठिन हुने देखेर हामीले आफैं जानुभन्दा प्रत्यक्ष शाखाका वस्तुगत संघमार्फत पहिचान दिन क्रियाशील बनाउने र यसैगरी प्रवद्र्धन गर्न खोजेका छांै ।

ललितपुर पर्यटकीय नगरका रूपमा पनि चिनिन्छ । यहाँ पर्यटकको संख्यात्मक वृद्धि कत्तिको छ ?
यहाँका कला, संस्कृति, हस्तकला तथा पर्यटन परिपूरकजस्तै हुन् । ललितपुर जुन हिसाबले पृथक छ त्यसको मौलिक पहिचान पनि त्यत्तिकै महत्वको छ । यहाँ आफ्नै मौलिकता बोकेका हेरिटेज होम छन् । तर, दुःखको कुरा यहाँ अहिलेसम्म पनि ठूला होटल छैनन् । स्टार होटल बनिसकेका छैनन् । तर, जुन आधारमा ललितपुरलाई यहाँ युनेस्कोले हेरिटेज होमका रूपमा विकास गर्न खोजेको छ, त्यसपछि भने यहाँको विकासमा उत्साह मिलेको छ । सफलता पनि मिल्दै गएको छ ।  स्वस्फूर्त रूपमा आफ्नै लगानीमा हेरिटेज होम बनाउने क्रम जारी छ ।
यहाँको आर्थिक विकासको माध्यम पर्यटन प्रवद्र्धन पनि हो । पर्यटन प्रवद्र्धनको माध्यमबाट आर्थिक रूपान्तरण गर्न आवश्यक छ । यसले समग्र मुलुकको आर्थिक विकासमा ठूलो टेवा दिन्छ । पछिल्ला दिनमा पर्यटकको आगमनमा समेत वृद्धि भएको हामीले महसुस गरेका छौं ।

पर्यटन र हस्तकलालाई पर्यायवाची भन्नुभयो, यी क्षेत्रहरूको सँगै विकास गर्ने अर्थात पर्यटन र हस्तकलालाई जोडने कुनै योजना छ ?
पक्कै पनि छ । हामीले प्रत्येक ३ वर्षमा ललितपुर महोत्सव गर्दै आएका छौं । महोत्सव भनेको पर्यटनदेखि लिएर मौलिक पहिचान बोकेका वस्तुहरूको प्रवद्र्धन, बजारीकरण गर्ने अनि लुकेका वस्तु देखाउने र तिनको पहिचान खोज्ने हो । हामीले त्यसलाई बृहत् र पृथक रूपमा सञ्चालन गर्न खोजका छौं । समुदायमा आधारित विभिन्न कार्यक्रम गर्ने योजना पनि अघि सारेका छौं । स्थानीय समुदायलाई नसमेटी विकास सम्भव छैन । त्यसैले बढीभन्दा बढी स्थानीयलाई समेटेर यहाँको विकास र प्रवद्र्धनमा हामीले कदम चालिसकेका छौं । यसले पक्कै हस्तकलादेखि लिएर यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्नेछ ।

यसमा स्थानीय सहयोगको पाटो पनि होला, सहयोग पाइरहनुभएको छ ?
कुनै पनि ठाउँको विकासका लागि स्थानीयको सहभागिता आवश्यक छ । संयुक्त रूपमा जागरण आवश्यक छ । हाम्रो काम प्रवद्र्धन गर्ने र आवश्यकताअनुसार सहजीकरण गर्ने हो । त्यसैले संघकै अगुवाईमा विभिन्न महोत्सव गर्ने योजना बनाएका छौं । यसमा हामीले सहयोग पाइरहेका पनि छौं । स्थानीय चुनाव नहुँदा हामीमाथि नै धेरैको भरोसा रहेको पाएको छु मैले । हामीले समग्र नगरको विकासका लागि पनि समन्वय गर्दै आएकाले सहकार्य छ ।

ललितपुर भौगोलिक रूपमा ठूलो छ, यहाँ सुगम सहरदेखि दुर्गम गाउँ पनि छन् । तपाईंहरूले कसरी उपस्थिति जनाइरहनुभएको छ ?
सबै ठाउँमा पुग्न सम्भव छैन । त्यही कारण हामीले नगरपालिकाभन्दा बाहेकको गाउँलाई समेटेर शाखा उपशाखा र सम्पर्क कार्यालय खोल्ने कार्यक्रम छ । जो धेरै पहिलेदेखिको योजना थियो । शाखा विस्तार गर्न नसक्ने ठाउँमा उपशाखा विस्तार गर्ने योजना छ भने एकदमै दुर्गममा सम्पर्क कार्यालय विस्तार गर्ने सोच छ ।

ललितपुरमा धेरै परम्परागत उद्योग छन् । यी उद्योगलाई आधुनिकीकरणतर्फ लैजाने योजना छैन ?
महासंघमार्फत सरकारले ‘एक गाउँ एक उत्पादन’को अवधारणा ल्याएको छ । त्यसलाई हामीले जापानबाट आएको मोडेल हो भनेर चिन्ने गरेका छौं । दुःखको कुरा, हामीले बोल्न नजानेर या लेख्न नजानेको हो, यो मोडेलमा हामी त पहिलेदेखि नै परिचित हौं । ललितपुरमा टोल–टोलको आफ्नै पहिचान छ । भन्नै पर्दा यहाँ ‘एक टोल एक उत्पादन’ छ । त्यो इतिहास हामीले कोर्न सकेनौं ।
च्यासल माटाका भाडा बनाउने, सुकुल परालजन्य वस्तु बनाउने क्षेत्र, उखुबाली र नागबाल मुर्तिकलाका लागि परिचित छ । गाविसका आफ्नै विशेषता छन् । लुबुको टेक्सटाइल भनौं या चापागाउँको दूधजन्य परिकार या बुङमतीको उडकार्पेट या त खोकनाको तेल । कुनै ठाउँमा चिया कुनै ठाउँमा कफी छ । तरकारीको त्यस्तै पहिचान छ ।
हामीले यसलाई पनि इतिहासमा कोर्न आवश्यक छ । जापानबाट होइन नेपालबाटै उत्पत्ति भएको छ । हामी यसलाई प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढेका छौं । हाम्रो विधानमा पनि छ । अबको सामूहिक प्रयास संघले गर्ने र शाखा कार्यालयहरूलाई क्रियाशील बनाउने हो । क्षेत्रगत संघहरूलाई पनि सहभागी बनाउन खोजेका छौं ।

विभिन्न वस्तुगत संघ र जिल्ला उद्योग वाणिज्य संघबीच विवाद हुँदैन ?
हामी कुनै पनि तालिम आफैंभन्दा वस्तुगत संघमार्फत नै गर्छौं । हस्तकला, सुनचाँदी तालिमजस्ता कार्यक्रम उनीहरूमार्फत नै समन्वयात्मक रूपमै सञ्चालन भइरहेको छ । हामी वस्तुगत संघसँग मात्र होइन कि स्थानीय चुनाव नभएको परिस्थितिमा हामीले सामाजिक दायित्व निर्वाह गर्नुपर्ने अवस्था पनि छ । सीसीटिभी यसैको उपज हो । यसका लागि ललितपुर सेफड भनेर खडा गरेका छौं । र, यसमा अरू पनि निक्कै उत्साहित भएर लागेका छन् ।

तपाईंले ललितपुरमा अहिले समस्याचाहिँ के देख्नुभएको छ ?
समस्या त धेरै छन् । फुटपाथ, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापनलगायत अरू तिरका जस्तो लगानीमैत्री वातावरणका समस्या यहाँ पनि छन् । हामीले आफैं पनि सक्रियताका साथ यसको व्यवस्थापन गर्दै आएका छौ । प्रेसर ग्रुपका हिसाबले पनि काम गरिरहेका छौं ।
तपाईं आफ्नो दोस्रो कार्यकालको अन्तिमतिर हुनुहुन्छ, यसपटक निर्वाचित भएपछि के उल्लेख्य काम गर्नुभयो ? तपाईंले व्यवसायी र स्थानीयवासीको रेस्पोन्स कस्तो पाउनुभएको छ ?
सबै साथीभाइको सहयोगले राम्रै काम गरेजस्तो लाग्छ । तर, यसको मूल्यांकन म आफैंलेभन्दा अरूले गर्नु उचित हुन्छ । मिडियाले पनि मेरो दोस्रो कार्यकालको मूल्यांकन गरोस् भन्ने चाहन्छु । म सामाजिक कामका लागि यहाँ आएको हो, सक्दो गरेको छु । मैले जे गरें त्यसले हाम्रो संस्थाको गरिमा बढाएको छ । ललितपुरलाई चिनाउने, यहाँको निकासी बढाउने अनि उत्पादनको प्रवद्र्धन गर्ने काममा म हिजो पनि लागेको थिएँ, आज पनि लागिरहेछु । भोलिका दिनमा संस्थामा रहँदा या नरहँदा पनि मैले ललितपुरको प्रवद्र्धन गर्न पहल गर्नेछु ।
अर्को कुरा, बजार प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार आवश्यक छ । मैले २ कार्यकालमा सम्बन्ध विस्तार र यो नगरलाई चिनाउनमा अथक प्रयास गरें । भियतनाम, पाकिस्तान, भुटानमा समग्र ललितपुरको प्रवद्र्धन गर्नमा केन्द्रित रह्यौं । यसलाई थप विस्तार जरुरी छ । सीसीटिभीको सुरुवात पनि भएको छ । फुटपाथको व्यवस्थापन गर्न खोजिएको छ ।

सरकार र निजी क्षेत्रले सञ्चालनमा ल्याएको ‘ए कगाउँ एक उत्पादन’को कार्यक्रम ललितपुरमा अहिलेसम्म लागू हुन सकेन नि !
‘एक गाउँ एक उत्पादन’ कृषिमा आधारित छ । तर, यहाँ उत्पादनमूलक क्षेत्र बढी छन् । बडिखेल क्षेत्रमा पहिले अर्किड र सुनाखरी थियो तर त्यो ५ वर्षपछि फेजआउट भयो । निर्यात प्रवद्र्धनका लागि हामीले पर्याप्त उत्पादन गर्न सकेनौं । अहिले नेपाल उद्योग वाणिज्य महासंघको सक्रियतामा ‘एक गाउँ एक उत्पादन’को कुरा आएको छ । सरकारी निकायमा समन्वय अभाव हुुँदा ललितपुरमा यो कार्यक्रमले प्राथमिकता पााउन सकेन । विशेष रूपमा यो गैरकृषि भएकाले ओझेलमा परेको छ । ललितपुर परम्परागत रूपमा परिचित छ । त्यसकारण हामीले ललितपुरलाई हस्तकलाको जिल्लाका रूपमा परिचित बनाउन आग्रह गर्दैै आएका छांै ।

गैरकृषि भएकाले कार्यक्रम कार्यान्वयन भएन भन्न खोज्नुभएको हो ?
हो, अधिकांश ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रम कृषि मन्त्रालयसँग सम्बन्धित छन् । तर, हस्तकला गैरकृषिजन्य उत्पादन भयो । गैरकृषि हुने बित्तिकै यसको जिम्मा उद्योगलाई दिइयो कृषिलाई दिइएन । यही कारण यो कार्यक्रम हाम्रो जिल्ला ओझेलमा परेको छ । उद्योग मन्त्रालयले कसरी कार्यान्वयन भन्ने कुरामा ध्यान दिन सकेको छैन । यहाँका उत्पादनले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने देखेर हामीले हस्तकला नगरीका रूपमा चिनाउन आग्रह गरेका हौं । परम्परागत सीपको प्रवद्र्धन गरे हस्तकलाको निकासी बढाउन सकिन्छ भन्ने हाम्रो आशय हो ।

कतिपय जिल्लामा सरकारी सहयोग नपाउँदा विकासका महत्वपूर्ण कार्यक्रम प्रभावित भए भन्ने सुनिन्छ । तपाईंहरूलाई सरकारी सहयोग कत्तिको छ ?
हामीले सरकारी सहयोग त्यति पाएका छैनौं । सरकारले दिने तालिम हो, त्यसमा पनि तालिमको नाममा कनिका छर्ने काम भएको छ । यो एकद्वार प्रणालीबाट हुनुपर्छ भन्ने हाम्रो माग हो । महासंघमातहतका वस्तुगत संघमार्फत कार्यक्रम गराउँछौं । हामीले परम्पराको जगेर्ना गर्न खोजेका हौं । रोजगारी अभिवृद्धि गर्ने हिसाबले गर्न सकिन्छ । हस्तकला संघलाई के–के चाहिन्छ त्यसतर्फ जान सकिन्छ अर्बौ रूपमा खर्च हुन्छ तर त्यसको उपलब्धि प्रमाणपत्रबाहेक केही देखिँदैन । कसलाई के चाहिन्छ त्यसको आधारमा स्वरोजगार त्यहाँबाट विकास हुन्छ ।

यहाँका धेरै उत्पादन निर्यातको सम्भावना बोकेका छन्, के सुविधा भयो भने निर्यात बढाउन सकिएला ?
हाम्रो सरोकार हस्तकला मात्रै नभएर अन्य पनि छन् । भएकालाई प्रवद्र्धन गर्न जरुरी छ । लुुभुको टेक्सटाइल निर्यात भएको छ एरोबिक जातिको कफी पनि निर्यात हुन्छ । हस्तकलाका पनि नयाँ–नयाँ उत्पादन आइरहेका छन् । विस्तार भइरहेका छन्, जसले घरेलु महिलालाई स्वरोजगारको अवसर छ । हामी शाखामार्फत प्रवद्र्धन गराउँछौं कहिले विभिन्न वस्तुगत रूपमा गर्न खोजेका छौं । मेला महोत्सवका साथै भुटान, चीन, भियतनाममा पनि बजार खोजिरहेका छौं । युरोप, अमेरिका पनि जान खोजेका छौं । अझ पृथकरूपमा जान खोजेका छौं । हाम्रा उत्पादनको बजारीकरण गर्नु अहिलेको आवश्यकता पनि हो ।

सरकारका विशिष्ट व्यक्ति (भीआईपी)हरू प्रायः ललितपुरमा बस्छन् । ललितपुरको समग्र विकासमा उनीहरूको भूमिका कस्तो पाउनुभएको छ ?
राजनीतिक दलका नेता, सभासद, बुद्धिजीवी, योजना आयोगका पूर्व उपाध्यक्षदेखि लिएर महासंघका अधिकांश पूर्वअध्यक्ष पनि यही बस्छन् । यति मात्र होइन, मन्त्री क्वाटर पनि यही छ । उहाँहरूले ललितपुरको पहिचान देखाउनुपर्ने हो तर त्यसमा ध्यान दिनुभएको छैन, उपेक्षा गर्नुभएको छ । हामी पनि त्यसमा धेरै चुकेका छौं । धेरै हदसम्म हामी बोलेका छांै, तर यहाँ सभागृह छैन, बाटोघाटोको अवस्था कमजोर छ । समग्रमा सन्तुष्ट हुने अवस्था छैन । कान्ती राजपथ फास्ट ट्रयाकको कुरा छ । सबैको सरोकारको कुरा पनि हो । सडक बत्ती छैन । सार्कमा सोलार आए तर ललितपुरमा ल्याइएन । अब भने सबैलाई घचघच्याउने बेला आएको छ ।

तपाईंहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको पछिल्लो घटनाक्रमलाई कसरी हेर्नुभएको छ ?
यो महासंघको इतिहासमै दुर्भाग्यपूर्ण घटना हो । यस्ता घटना दोहोरिनुहुँदैन । हामी सबै व्यवसायी एक हुनुपर्छ । संस्था नरहे हामी व्यवसायी रहँदै नौं ।  महासंघलाई अझ सशक्त रूपमा लैजानुपर्छ भन्ने मेरो राय छ । त्यसका लागि मैले आफ्नो ठाउँबाट हर प्रयत्न गर्नेछु ।
तपाईंहरूकै सक्रियतामा १ वर्षअघि ललितपुरका मुख्य–मुख्य सहरमा सीसीटिभी जडान भएको थियो । यो कत्तिको प्रभावकारी देखियो ?
सीसीटिभीको कुरा गर्दा हामीले वस्तुगत संघका सदस्यलाई सहभागी बनाएर जिविस नगरपालिका उवासंघको सानो बजेटबाट काम सुरु गरेका हौं । जावलाखेल परिसरमा मोनिटरिङ रुम राखेर जाउलाखेल कुमारीपाटी लागनखेल गाबहालमा ससिीटीभी जडान गरेका छौं । अब यसलाई थप क्षेत्रमा विस्तार गर्दैछौं । सीसीटीभीको प्रभाव सकारात्मक छ । सीसीटीभी राखेको छ भनेपछि स्वतः सचेत हुने रहेछन् । हामीले प्रशंसा पनि पाएका छौं । दोस्रो चरणमा सबैले मिलेर गरांै भन्ने नै भएको छ । यसले व्यावसायिक सुरक्षादेखि सबैलाई सहयोग गरेको छ । यसले सामाजिक सुरक्षामा ठोस योगदान पु¥याउँछ भन्नेमा हामी विश्वस्त छांै । यसमा हाम्रो संस्थागत, निजी व्यवसायी र स्थानीय निकाय ३ पक्षबाटै बजेट परिचालन गर्ने योजना छ । अबका दिनमा यसलाई पाटनढोका, एकान्तकुनातिर विस्तार गर्छाैं । स्थानीयलाई सहयोग गर्ने कोही इच्छुक छ भने त्यसमा सहभागी बनाउने मोडालिटी बनाउन लगेका छौं ।
गत वर्ष आयोजित ललितपुर महोत्सव राष्ट्रिय चर्चाको विषय बनेको थियो, यो कसरी सम्भव भयो ?
हामीले निकै तयारी गरेर मात्रै महोत्सब आयोजना गरेका थियौं । यसमा सबैलाई सहभागी बनाएका थियौं । त्यसमा विभिन्न जातीय समुदायलाई पनि सहभागी गराउन खोजेका थियांैं । अर्कोतर्फ, राजनीतिक अन्योलका बेला पनि तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई उद्घाटन गर्न आमन्त्रण गरेर धेरै मन्त्री तथा सचिव आउनुभयो । त्यसैको परिणाम हुनसक्छ ।
अन्तर्राष्ट्रिय मेला तथा महोत्सवमा सहभागिताको उद्देश्य के हो ?
हामीले ललितपुरका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन र प्रदर्शन गर्न खोजेका छौं । भुटान, भियतनाममा पनि हामी मेला, महोत्सवमा सहभागी हुँदै छौं । भुटानामा हरेक वर्ष ३० देखि ४० स्लट लान्छौं । एजुकेसनल फेयरमा पनि ललितपुर (हामी) लाई जिम्मेवारी दिइएको छ । प्रमोसनल क्रियाकलापमा हामी बामे सर्दै छौं । यसको एउर्ट उद्देश्य ललितपुरको विकासमा टेवा पु¥याउनु हो ।
तपाईंले बाँकी कार्यकाललाई कसरी अघि बढाउनुहुन्छ ?
मैले यस जिल्लाको छवि उज्यालो बनाउन कोसिस गर्नेछु । व्यक्ति एक्लै कहिल्लै सफल हुँदैन, त्यसका लागि टिम वर्क चाहिन्छ । ललितपुर महोत्सवबाट पनि हामीले धेरै समस्या उजागर गर्न खोजेका छौं । सुरुमा हामीलाई प्रमुख अथिति खोज्न समस्या थियो, पछि आफैं सक्रियता देखाउनुभयो । त्यसबाट हामी उत्साहित भयौं । हेरिटेज वाकको रूपमा धेरै राजदूतहरू आउनुभयो । अग्रजले पूरा गर्न नसकेका तथा मेरै कार्याकालमा सुरु भएका कामलाई निरन्तरता दिनेछु ।
केही मौलिक योजना पनि छन् कि ?
हामी मूलतः सबैलाई एकै थलोमा राख्नुपर्छ भन्नेमा छौं । ललितपुरको पाटन दरबारमा लाइट राख्ने तयारी गरिरहेका छौं । यो एकदमै मौलिक हुनेछ । यसमा लगानी गर्न सरकारी निकाय हिचकिचाइरहेको अवस्था छ । एउटाले नसके हातेमालो गरेर भए पनि अघि बढ्ने योजना छ ।
-

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन