५ अर्ब लगानीको सर्वोत्तम सिमेन्ट आजदेखि

भैरहवा, २४ मंसिर- सिमेन्ट उद्योगमा एकपछि अर्को लगानी थपिँदै गइरहेका बेला ५ अर्ब लगानीको सर्वोत्तम सिमेन्टले बिहीबारदेखि परीक्षण उत्पादन सुरु गर्दैैछ । उद्योगमा जगदम्बा सिमेन्टको प्रवद्र्धक सौरभ समूहको ५५ प्रतिशत र किस्न होल्डिङ कम्पनी हङकङको ४५ प्रतिशत लगानी छ । नवलपरासीको रामनगर वनकट्टीस्थित उद्योगले सबै प्राविधिक उपकरण जडान गरी परीक्षण उत्पादनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ । बिहीबार उद्योगले औपचारिक समारोह गरी परीक्षण उत्पादन थाल्ने सौरभ समूहका सञ्चालक तथा उद्योगका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले जानकारी दिए । उनका अनुसार नेपाली सिमेन्ट उद्योगमा यो नै अहिलेसम्मको ठूलो विदेशी लगानी हो । सौरभ समूहले जगदम्बा सिमेन्टमा पनि साझेदारी गरेको छ । जगदम्बा क्लिंकर आयात गरी नेपालमा ग्य्रान्डिङ हुँदै आएको उद्योग हो । सर्वोत्तमले पहिलो चरणमा क्लिंकरमात्रै उत्पादन गर्नेछ भने ६ महिनाभित्र ‘सर्वोत्तम’ ब्रान्डमा सिमेन्ट पनि उत्पादन गर्नेछ । उद्योगको क्षमता प्रतिदिन १,५०० टन छ । “हामीले उच्च प्रविधिसहित गुणस्तरयुक्त क्लिंकर उत्पादन गर्नेछौं,” न्यौपानेले भने, “यसबाट क्लिंकरका लागि आयातमा भर पर्नुपर्ने अवस्थामा कमी आउनेछ ।” हाल नेपाली उद्योगले भारतबाट क्लिंकर आयात गर्दै आएका छन् । सर्वोत्तमले करिब २५ देखि ३५ प्रतिशत आयात प्रतिस्थापन गर्ने दाबी उनले गरे । सर्वोत्तमका सञ्चालक तथा उद्योगका निर्देशक शशी न्यौपानेका अनुसार यो नेपालकै दोस्रो ठूलो क्लिंकर उद्योग हो । “अहिले क्लिंकर उत्पादनबाट सुरु हुन्छ, ६ महिनापछि प्रतिदिन १६ सय टनका दरले सिमेन्ट उत्पादन गर्नेछौं,” उनले भने । उद्योगले पाल्पाको खानीबाट चुनढुंगा उत्खनन् गरिरहेको छ भने क्लिंकरका लागि आवश्यक पर्ने बक्साइड र जिप्सम भारतबाट ल्याउनेछ । रेड क्ले (रातो माटो) भने नेपालकै प्रयोग गरिने व्यवस्थापनले जनाएको छ । उद्योगका सबै उपकरण कम्प्युटरकृत भएकाले कम जनशक्ति प्रयोग हुनेछन् । डेनमार्कको स्मिथ कम्पनीद्वारा उत्पादित प्रविधि जडान गरिएको छ । विष्णुका अनुसार स्मिथको प्रविधि भारतका ५ उद्योगले प्रयोग गरिरहेका छन् । यो प्रविधिबाट ऊर्जा खपत निकै न्यून रहन्छ । उद्योगले प्रदूषण नियन्त्रणका लागि अतिरिक्त प्रविधि जडान गरेको उनले बताए । उद्योगलाई वातावरणमैत्री बनाइएको दाबी कम्पनीको छ । “अरु उद्योगको तुलनामा ५० प्रतिशत विद्युत् खपत कम गर्ने गरी डिजाइन गरिएको छ,” शशीले भने, “यिनै विशेषताका कारण हाम्रो उद्योगलाई विश्वकै अत्याधुनिक क्लिंकर उत्पादन गर्ने उद्योग भनिएको छ ।” उनका अनुसार उद्योग परिसरमा ५ मेगावाटको थर्मल प्लान्ट जडान गरिएको छ । सर्वोत्तमले उत्पादन गर्ने क्लिंकर अन्य उद्योगमा पनि बिक्री गर्ने कम्पनीको लक्ष्य छ । उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ६ सयलाई रोजगारी दिने व्यवस्थापनले जनाएको छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक