हस्तकलाको निकासी बढाउन भरपर्दो संयन्त्र बन्ने आपेक्षा

काठमाडौं, ४ मंसिर- नेपाली हस्तकलाको विकास प्रवद्र्धन गर्न र आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्ने उद्देश्यले बिहीबारदेखि राजधानीमा १२ औं सार्क हस्तकला व्यापार मेला–२०१४ सुरु भएको छ । सार्क क्षेत्रमा हस्तकला विकासको लागिसमेत उपयोगी हुने विश्वासका साथ १८ औं शिखर सम्मेलनको पूर्वसन्ध्यामा ५ दिने मेला आयोजना गरिएको नेपाल हस्तकला महासंघले जनाएको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको मेलमा सार्क राष्ट्रका समेत गरी २ सय ९ स्टल राखिएका छन् । मेलाबाट सार्क स्तरीय हस्तकलाको भरपर्दो संयन्त्र बनाउन सहजीकरण गर्ने आपेक्षा गरिएको छ । सार्क राष्ट्रहरूको सहभागिता रहेको मेलाको उद्घाटन उद्योगमन्त्री महेश बस्नेतले गरे । मेलाको उद्घाटनको अवसरमा मन्त्री बस्नेतले नेपाली कला, सीप र संस्कृतिलाई पहिचान गराउन सफल भएकाले यसको प्रवद्र्धन जरुरी भएको बताए । उनले भने, “अर्थतन्त्रलाई चलायमान बनाउन र नेपाली परम्पराको जगेर्ना गर्न यो क्षेत्र अत्यन्त सक्षम छ, यसको विकासका लागि राज्यले आवश्यक पहल गर्नेछ । “हस्तकलाको व्यवसायले मुलुकमा रोजगारी सिर्जना गर्न र गरिबी निवारणमा ठूलो योगदान रहेको उनको भनाइ थियो । “हस्तकलाको निर्यातको प्रशस्त सम्भावना रहेकाले यसको विकासमा सरकारले आवश्यक सहयोग गर्नेछ,” उनले भने, “हस्तकलाको विकास गर्न ५ विकास क्षेत्रमा १÷१ वटा हस्तकला ग्राम र काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण कार्यलाई अगाडि बढिसकेको छ ।” कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मुलुकमा हस्तकला ग्राम निर्माण गर्न सकेमा यस क्षेत्रको विकास तथा प्रवद्र्धनमा सहयोग पुग्ने आपेक्षा गरे । उद्योग मन्त्रालयले जुझारु र उद्योगी व्यवसायी बुझेको मन्त्री पाएको जिकिर गर्दै उनले औद्योगिक विकासमा मन्त्री बस्नेतको उल्लेखनीय भूमिका रहने बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरले हस्तकला क्षेत्रको विकासका लागि दक्ष प्राविधिक तयार गर्नुपर्नेमा जोड दिए । “अहिले देखिएको सीमित बजार बढाउन दक्ष कामदारहरू तय गर्न र प्रविधि भिœयाउन अब बिलम्ब गर्नु हुँदैन,” उनले भने, “हस्तकलाको नयाँ–नयाँ बजारको खोजी गर्नु आवश्यक छ ।” कार्यक्रममा हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्यले विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हस्तकला उत्पादन तथा व्यापारलाई प्रवद्र्धन गर्नुपर्ने बताए । सार्क क्षेत्रभन्दा बाहिरको अथाह विदेशी बजारको सानो हिस्सा मात्र ओगटेको नेपाली हस्तकलाको उत्पादन बढाउन सकेमा हामीलाई बजारको कमी हुने छैन । उनले भने, “यसतर्फ आवश्यक संयन्त्र बनाउन मेलाले सहयोग गर्नेछ ।” उनले हस्तकलाको बजार विस्तार गर्न सकेमा देशको अर्थतन्त्र बलियो हुने र यसबाट यथेष्ट ग्रामीण रोजगारी सिर्जना गर्न सकिने विश्वास व्यक्त गरे । सार्क हस्तकला प्रदर्शनीअन्तर्गत ४० जना शिल्पीको सहभागिता छ । काष्ठकला र चाँदीका परम्परागत सजावटका वस्तुको हस्तकला प्रतियोगितामा नेपालका २१ जना कलाकारले भाग लिएका छन् । उनीहरूमध्ये उत्कृष्ट कलाकारलाई पुरस्कृत गरिने कार्यक्रम छ । अध्यक्ष शाक्यले विश्व बजारमा सार्क क्षेत्र हस्तकलाको लागि महत्वपूर्ण क्षेत्रको रूपमा रहेको स्पष्ट पारे । प्रदर्शनीमा सार्क राष्ट्रहरूले आ–आफ्नो देशमा उत्पादित हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् । “नेपाली हस्तकला निकासी आवश्यक पर्ने पूर्वाधारहरू निर्माण र निकासीकर्ताहरूलाई दिइने सुविधा बढाउन राज्यले पहल गर्नुपर्छ,” उनले भने । प्रदर्शनीमा सार्क राष्ट्रसँगै नेपालका २५ भन्दा बढी जिल्लाका सामानहरू राखिएको छ । सो अवसरमा गत आवमा ५ करोड रुपैयाँभन्दा बढीको हस्तकला निर्यात गर्ने उत्कृष्ट निकासकिर्तालाई ट्रफी र सम्मानपत्र प्रदान गरिएको थियो । मेला सोमबार सकिनेछ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक