बढेन तयारी पोसाकको निर्यात

निकासी बढाउन तत्काल ९ विषय सुधार आवश्यक " निरु अर्याल काठमाडौं, १६ कात्तिक- अमेरिकी र युरोपेली बजारमा १ दशकअघिसम्म ‘हटकेक’ मानिने नेपाली तयारी पोसाकको निकासी बर्सेनि ओरालो लागिरहेको छ । व्यवसायीहरूका अनुसार दशकअघिसम्म वार्षिक १२ अर्बको निकासी हुने तयारी पोसाकको निकासी अहिले ५ अर्बमा झरेको छ । निकासी घटेसँगै यस क्षेत्रबाट आधाभन्दा बढी लगानीकर्ता बाहिरिइसकेका छन् भने हजारौं मजदुर कामको खोजीमा खाडी मुलुक र मलेसिया पुगेका छन् । व्यवसायीहरू भन्छन्, “निकासीको पर्याप्त सम्भावना हुँदाहुँदै यो क्षेत्र गम्भीर समस्यामा परेको छ र भोलिका दिनमा यसको असामयिक अवसान हुन सक्छ ।” सरकारी उदासीनताले तयारी पोसाकको निर्यात बढ्न नसकेको भन्दै निजी क्षेत्रले यस विषयमा तत्काल सम्बोधन गर्नुपर्ने माग गरेको छ । सरकारले निर्यातयोग्य उद्योगलाई प्रोत्साहन गर्ने बताए पनि तयारी पोसाकको निर्यातमा ठूलो गिरावट आएको भन्दै तयारी पोसाक उद्योग संघले विभिन्न ९ वटा विषयको तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको हो । नेपालबाट उल्लेख्य मात्रामा निकासी हुने तयारी पोसाक सन २००५ मा विश्व कपडा बजारमा कपडा निर्यातमा भएको कोटा खारेजीसँगै निकासीमा गिरावट हुँदै आएको छ । सरकारको अव्यावहारिक नीति, भन्सार मूल्यांकन, कच्चापदार्थको अभाव, विद्युत् अभाव, श्रम समस्या तथा कमजोर प्रतिस्पर्धात्मक अवस्थाले निर्यात बढ्न नसकेको संघको ठहर छ । संघले यसको निकासी बढाउन निर्यातमा नगद प्रोत्साहन, सहुलियत दरको ऋण उपलब्धता, बैंक ग्यारेन्टीमा अग्रिम जरिवाना लिने व्यवस्थाको खारेज, अन्तर्राष्ट्रिय मेलाहरूमा निःशुल्क सहभागिता, आयात निर्यातमा विशेष पारवाहन सुविधाको माग गरेको छ । यसैगरी लचिलो श्रम नीति, निर्वाध विद्युत् आपूर्तिको व्यवस्था, प्रतिस्पर्धात्मक क्षमता बढाउन सरकारले उचित पहल गर्नुपर्ने संघका महासचिव अशोककुमार अग्रवालले बताए । उनका अनुसार सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल नगरेका कारण निर्यातमा ठूलो कमी आएको हो । निर्यातमा नगद प्रोत्साहन नदिइएको तथा बैंक ग्यारेन्टीमा अग्रिम जरिवाना लिने व्यवस्था खारेज नभएकाले निर्यातमा समस्या आएको संघको दाबी छ । संघका अनुसार करिब १० वर्षअघि १२ अर्ब रुपैयाँको तयारी पोसाक निर्यात भएको थियो । अग्रवालले भने, “१० वर्षअघि १२ अर्ब रुपैयाँको निकासी भएको तयारी पोसाक अहिले आएर ५ अर्बमा सीमित छ । यो समस्याको समाधान गर्न सरकार उदासीन देखियो ।” छिमेकी मुलुकको तुलनामा नेपालको उत्पादन लागत बढी भएकाले निर्यातमा समस्या परेको उद्योगीहरूको भनाइ छ । तयारी पोसाक निर्माणका लागि आवश्यक पर्ने कच्चापदार्थ आयात गर्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर, १५ प्रतिशत भन्सारबाहेक १५ प्रतिशत थप महसुल कर लिने गरेकाले उत्पादन लागत बढेको संघका कार्यकारी प्रमुख राजेशचन्द्र लामिछाने बताउँछन् । उनले भने, “निर्यातमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने मान्यताविपरीत सरकारले भन्सार महसुलबाहेक अतिरिक्त महसुल पनि लिने गरेको छ ।” भन्सार मूल्यांकन व्यावहारिक र वैज्ञानिक नहुँदा व्यवसायीले अनेक समस्या भोग्नुपरेको उनको भनाइ छ । “उत्पादन लागत घटाउनु र निर्यातयोग्य उद्योगलाई सहुलियत उपलब्ध गराउनुको साटो सरकारले सबै कर लगाएको छ,” उनले भने, “यस्तो प्रक्रियाले तयारी पोसाकको निर्यात ठप्प हुने सम्भावना छ ।” यसमा सरोकारवाला निकायहरू उदासीन रहेको उनले बताए । “हामीले यस विषयमा विभिन्न निकायको ध्यानाकर्षण गराइसकेका छौं, तर यस विषयमा सबै उदासीन भएको पाएका छौं,” उनले भने । संघले तयारी पोसाकको निर्यात बढाउने सकिने सम्भावनाका विषयमा व्यापार तथा निकासी प्रवद्धन केन्द्र, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थमन्त्रालयमा समेत यसबारे जानकारी गराइसकेको छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक