भारतीयभन्दा चिनियाँ लगानी ३ गुणा

निरु अर्याल काठमाडौं, २३ असार- नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भिœयाउने मुलुकमा सधैं पहिलो रहँदै आएको दक्षिणी छिमेकीराष्ट्र भारतलाई उत्तरी छिमेकी चीनले उछिनेको छ । चालू आर्थिक वर्षका १० महिनासम्म चिनियाँ लगानी भारतीयको तुलनामा ३ गुणा बढी छ । उद्योग विभागका अनुसार संख्यात्मक रूपमा चिनियाँ लगानी यसअघि नै भारतीयभन्दा बढी रहे पनि यो वर्ष परिमाणमा समेत अगाडि देखिएको हो । चिनियाँ लगानीमा चालू वर्ष १ सय ८ परियोजना स्थापना भएका छन्, जसको लागत २९ अर्ब ८० करोड रुपैयाँ छ । यो लगानी भारतको तुलनामा ३ गुणा बढी हो । तथ्यांकअनुसार सो अवधिमा भारतबाट ठूला, साना र मझौला गरी १८ परियोजनामात्रै स्थापना भएका छन्, जसको लागत ८ अर्ब २२ करोड रुपैयाँमात्र छ । अघिल्लो वर्ष भारत संख्यात्मक रूपमा मात्रै कमजोर थियो । “नेपालमा लगानी गर्न चिनियाँको चासो बढ्दो छ,” नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठ भन्छन्, “उनीहरूले संसारभर लगानी विस्तार गरिरहेका छन् । नेपालजस्तो छिमेकी देश उनीहरूको प्राथमिकतामा पर्नु स्वाभाविक पनि हो ।” कम्पनी दर्ता भए पनि सबै लगानी प्रतिबद्धता पूरा नहुने भन्दै उनले वातावरण बनाएर थप चिनियाँ पुँजी भिœयाउन सक्नुपर्ने बताए । नेपालमा हाल भाषाको समस्या र चीनसँग सम्बन्ध भएका बैंकको अभावका कारण लगानी विस्तार हुन नसकेको उनको भनाइ छ । विभागका अनुसार चीनबाट १० महिनामा सेवा क्षेत्रमा सबैभन्दा बढी ३२ उद्योग दर्ता भए पनि सबैभन्दा बढी लगानी ऊर्जा क्षेत्रमा भित्रिएको छ । ऊर्जाका ३ परियोजनामा १९ अर्ब ९३ करोड भित्रिएको छ भने सेवा क्षेत्रका ३२ कम्पनीबाट ६५ करोड ६० लाख आएको छ । पर्यटनका २६ कम्पनीबाट ६८ करोड ५० लाख, कृषिका २२ कम्पनीबाट ६३ करोड ५० लाख, उत्पादनमूलक क्षेत्रका १९ कम्पनीबाट ७७ करोड ९० लाख र खनिज क्षेत्रका ५ कम्पनीमार्फत १८ करोड चिनियाँ लगानी भित्रिएको तथ्यांक छ । चालू वर्षको जेठसम्म विभिन्न मुलुकबाट २ सय ४१ ठूला परियोजना स्थापना भएका छन् । यिनको कुल लागत १ खर्ब ९७ अर्ब रुपैयाँ रहेको विभागले जनाएको छ । मझौलातर्फ ३ सय २० र सानातर्फका २ हजार ३ सय ६१ गरी २ हजार ९ सय २२ परियोजना स्थापना भएका छन् । यी परियोजनाको कुल लागत २ खर्ब ५५ अर्ब रुपैयाँ छ । विभागका अनुसार अघिल्लो वर्ष भारतीय लगानीका ४१ परियोजना स्थापना भएका थिए, जसको लागत ९ अर्ब रुपैयाँ थियो । भारतीयको अधिकांश लगानी उत्पादन, सेवा, निर्माण र खनिज क्षेत्रमा बढी केन्द्रित छ । सरकारी तथ्यांकअनुसार नेपालमा चिनियाँ प्रान्त (हङकङ, ताइवान)बाट अहिलेसम्म ७ सय १६ परियोजना स्थापना भएका छन् । यी परियोजनाको कुल लागत ५५ अर्बभन्दा बढी छ । चीनले ऊर्जा, दूरसञ्चार, निर्माण, सेवा र पर्यटन क्षेत्रमा बढी लगानी गरेको विभागले जनाएको छ । चिनियाँ लगानीका उद्योगमा ३२ हजार ९ सय ३२ ले रोजगारी पाएका छन् । अहिलेसम्म भारतीय लगानीमा ५ सय ८४ परियोजना स्थापना भएका छन् । यी परियोजनाको लागत ८४ अर्ब रुपैयाँ छ । चालू वर्षको जेठ मसान्तसम्म यस्ता उद्योगमा ६३ हजार ६ सयलाई रोजगारी दिने प्रतिबद्धता जनाइएको छ । यद्यपि, प्रतिबद्धताअनुसार उद्योग स्थापना भए÷नभएको अनुगमन भने हुन सकेको छैन । हालसम्म ७९ मुलुकले नेपालको औद्योगिक क्षेत्रमा लगानी गरेका छन् । तीमध्ये लगानीका हिसाबले अगाडि आउने भारत, चीन, कोरिया, फ्रान्स, बंगलादेश, जापान, अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता मुलुकले यहाँका उत्पादन, सेवा, ऊर्जा, कृषि तथा खनिज क्षेत्रमा लगानी गरेका छन् । १० महिनामा एफडीआई क्षेत्र संख्या लगानी (रु.हजारमा) चीन भारत चीन भारत ऊर्जा ३ ३ १९९३०००० ७६५१००० पर्यटन २६ १ ६८५००० १६००० कृषि २२ १ ६३५००० ५००० उत्पादन १९ ४ ७७९००० ३८५००० खनिज ५ ५ १८०००० १०८००० सेवा ३२ ५ ६५६००० ६१०००

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक