औद्योगिक क्षेत्रका सोरुम र म्यानपावर हटाइने

औद्योगिक क्षेत्रका सोरुम र म्यानपावर हटाइने
वर्ग: बिजनेस
प्रस्तुति:
कारोबर सम्बाददाता
info@karobardaily.com
मिति: Monday,12th May 2014 02:51 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
निरु अर्याल
काठमाडौं, २८ वैशाख- औद्योगिक क्षेत्रभित्र स्थापित व्यापारिक र सेवामूलक उद्योग हटाइने भएका छन् । औद्योगिक क्षेत्रमा उत्पादनशील उद्योगभन्दा व्यापारिक कम्पनी बढ्दै गएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले  मापदण्डविपरीत सञ्चालित सबै उद्योग हटाउने तयारी गरेको हो । यसको गृहकार्य सुरु भइसकेको उद्योगमन्त्री कर्णबहादुर थापाले बताए ।
औद्योगिक क्षेत्रमा हाल अटो सोरुम, होटल, म्यानपावर कम्पनीजस्ता व्यवसाय सञ्चालनमा छन् । यसबाहेक रेकर्डिङ स्टुडियो, कोल्ड स्टोरेज कम्पनी तथा सेक्युरिटी कम्पनीलगायत सेवाप्रदायकसँगै बहुराष्ट्रिय कम्पनीका सम्पर्क कार्यालय पनि छन् ।
औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन विनियमावलीअनुसार औद्योगिक क्षेत्रभित्र सेवामूलक उद्योग खोल्न पाइँदैन । विनियमावलीले औद्योगिक क्षेत्रभित्र उत्पादनमूलक, कृषि तथा वन पैदावारमा आधारित, खानी तथा खानिजजन्य उद्योगलाई प्राथमिकतामा राखेको छ । वस्तु उत्पादन गरी विदेश निर्यात गर्ने निर्यातमूलक, ऊर्जामूलक उद्योग स्थापना हुन सक्ने विनियमावलीमा छ ।
औद्योगिक क्षेत्रभित्र उत्पादनमूलक उद्योगलाई मात्रै प्राथमिकता दिइने मन्त्री थापाको भनाइ छ । “औद्योगिक क्षेत्रमा व्यवसायीको मनपरी देखियो,” उनले भने, “अब त्यस्ता व्यवसायलाई हटाएरै छाड्छौं ।”
विनियमावलीअनुसार सेवामूलक क्षेत्रअन्तर्गत यान्त्रिक कार्यशाला (वर्कसप), छापाखाना तथा छपाइ उद्योगमात्र स्थापना गर्न सकिन्छ । यान्त्रिक कार्यशालाको नाममा सवारी मर्मत केन्द्र नपर्ने भए पनि औद्योगिक क्षेत्रभित्र मर्मत केन्द्रका नाममा ठूला–ठूला गाडीका सोरुम स्थापना भएका छन् । कर्मचारी र सञ्चालकसमेत त्यहीँ बसोबास गर्छन् । उनीहरूले बाहिरका सामान ल्याएर औद्योगिक क्षेत्रमै भण्डारण गर्छन् । कतिपय उद्योग नचलाई जग्गा अधिग्रहण गरेरमात्रै पनि बसेका छन् ।
औद्योगिक क्षेत्र स्थापनाका बेला व्यवस्थापन बोर्डले हल्का पेयपदार्थ, मैदा, बिस्कुट, निर्माण सामग्री, दुग्घ पदार्थलगायतका उद्योग स्थापना गर्न पाउने व्यवस्था गरेको थियो । त्यस्तै, आइसक्रिम उत्पादन, रबर उद्योग, पशुपंक्षीका दाना, प्लास्टिकका सामान, फुटवेयरजस्ता उत्पादनमूलक उद्योग चलाउन दिने र यिनले औद्योगिकीकरणमा टेवा पु¥याउने भन्दै औद्योगिक क्षेत्र स्थापना भएको हो ।
औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष तिलप्रसाद भट्टराईले औद्योगिक क्षेत्र व्यवस्थापन गर्न पछिल्लो सरकारले देखाएको अग्रसरता सकारात्मक भएको बताए । “व्यापारिक क्षेत्रलाई जग्गा दिइएको भन्दै धेरै साथीले गुनासो गर्नुभएको छ, यी उद्योगलाई राख्न दिने या हटाउने विषयमा आन्तरिक गृहकार्य गरिरहेका छौं,” उनले भने ।
आयआर्जन तथा रोजगारी उत्पादन गर्ने उद्देश्यले स्वदेशी तथा विदेशी कच्चापदार्थ प्रयोग गरी वस्तु उत्पादन गर्ने उद्योग स्थापनाका लागि औद्योगिक क्षेत्र खोलिएको हो । यसैअनुरूप व्यवस्थापनले उद्योग सञ्चालनका लागि जमिन तथा भवन, पानी, बिजुली, यातायातजस्ता सुविधा उपलब्ध गराउँदै आएको छ । मुलकभर अहिलेसम्म ११ वटा औद्योगिक क्षेत्र स्थापना भएका छन् भने १० वटा सञ्चालनमा छन् । अन्य १३ ठाउँमा स्थापनाका लागि व्यवस्थापनले प्रारम्भिक सर्वेक्षण गरिसकेको छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक