हस्तकला निकासी ६ अर्ब पुग्ने

निरु अर्याल
काठमाडौं, ११ जेठ- चालू आर्थिक वर्षमा नेपाली हस्तकलाको निकासी बढेर झन्डै ६ अर्ब रुपैयाँ पुग्ने भएको छ । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकलाको माग ३५ प्रतिशतले बढेका कारण नेपाल हस्तकला महासंघले यो प्रक्षेपण गरेको हो ।
गत आवमा ४ अर्ब ३६ करोड रुपैयाँबराबरका नेपाली हस्ताकला सामग्री निकासी भएका थिए । यो वर्ष ३५ प्रतिशत निकासी बढेकाले त्यसमा १ अर्ब ५२ करोड थपिने अनुमान छ ।
नेपालमा उत्पादन गरिने ४२ प्रकारका हस्तकला सामग्री संसारका ८२ मुलुकमा निर्यात हुन्छन् । महासंघ अध्यक्ष हेमरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सरकारी तथ्यांकले ४ अर्ब ३६ करोडको मात्रै निकासी देखाए पनि नेपाल आउने पर्यटकले गर्ने खरिदसमेत जोड्दा अहिले नै ५ अर्बभन्दा बढीको निकासी भइरहेको छ । यसबाहेक आन्तरिक बजारमा समेत नेपाली हस्तकलाको माग उत्तिकै बढी छ ।
गत वर्ष भएको निकासीमध्ये २ अर्ब रुपैयाँबराबरको टेक्सटाइल र २ अर्ब ३६ करोडको गैरटेक्सटाइल छन् ।
“चालू आवका ६ महिनाको तथ्यांक हेर्दा यो वर्ष ३५ प्रतिशतसम्म निकासी बढ्न सक्ने अनुमान गरेका छौं,” शाक्य भन्छन्, “नेपाली हस्तकलाका वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा अत्यधिक रुचाइने भएकाले माग र निकासी दुवै बढेका हुन् ।” स्वदेशी व्यापार पनि उत्साहजनक रहेकाले वार्षिक करिब ८ अर्ब रुपैयाँबराबरको कारोबार हुने महासंघको दाबी छ ।
महासंघका अनुसार नेपालबाट पश्मिना, थाङ्का, चाँदीका गहना, धातुजन्य र अल्लोबाट निर्मित वस्तु अत्यधिक निर्यात हुन्छन् । हातेकागज, प्लास्टिक सागम्री, सेरामिकजन्य उत्पादन, बेतबाँसका सामान, खनिजजन्य वस्तु, काठका सामग्री पनि भारतलगायत तेस्रो मुलुकमा निर्यात हुने गरेका छन् ।
सरकारले घरेलु तथा हस्तकलाजन्य उद्योगलाई उत्साहित गर्न नीतिगत प्रोत्साहन दिएकोले निर्यात बढ्न थालेको शाक्य बताउँछन् । उनका अनुसार केही वर्षयता महासंघले अन्तर्राष्ट्रिय स्तरमा समेत भाग लिने क्रम बढ्दै गएकाले निर्यातमा सकारात्मक प्रभावसँगै नेपाली वस्तुको बजार उल्लेख्य देखिएको हो । नेपालमा मात्रै ११ लाखभन्दा धेरै व्यक्ति हस्तकला व्यवसायमा संलग्न भएको तथ्यांक महासंघसँग छ । “मुलुकमा आयात प्रतिस्थापन गर्न र घर–घरमा रोजगारी सिर्जना गर्न यो व्यवसाय उपयुक्त माध्यम बनेको छ र बन्ने पनि छ,” शाक्य भन्छन् ।
क्रियाशील हस्तकलाजन्य उद्योग तथा लघुउद्योग स्वरोजगार अभिवृद्धिका लागि अत्यन्त उपयोगी बन्दै गएको महासंघका उपनिर्देशक ऋषि सुवेदी बताउँछन् । हालको तथ्यांक हेर्दा सकारात्मक देखिए पनि आन्तरिक समस्याका कारण नेपाली हस्तकला सामग्रीको निकासी बजारअनुरूप बढ्न भने नसकेको उनको भनाइ छ ।

आव    निर्यात रकम
०६५÷६६    ३ अर्ब २९ करोड
०६६÷६७    २ अर्ब ७८ करोड
०६७÷६८    ३ अर्ब ११ करोड
०६८÷६९    ४ अर्ब ११ करोड
०६९÷७०    ४ अर्ब ३७ करोड

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक