चाँदीजन्य वस्तुको निर्यातमा सुधार आएन

९ महिनामा ३२ प्रतिशत गिरावट
कारोबार संवाददाता
काठमाडौं, १४ जेठ- सरकारले चाँदीजन्य वस्तुको गुणस्तर मापन गर्ने क्याडमियम टेस्टिङ ल्याबको स्थापना गरे पनि यस्ता वस्तुको निर्यात बढ्न सकेको छैन । कच्चा पदार्थको अभाव, उच्चदरको परीक्षण शुल्क र उपभोक्तालाई गुणस्तरमा विश्वस्त गराउन नसकेकाले चाँदीको वस्तुको निर्यातमा कमी आएको हो ।   
नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार चालू आवको ९ महिनासम्म १६ करोड ७९ लाख ५८ हजार रुपैयाँबराबरको चाँदीका गहनाहरू निर्यात भएका छन् । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ३२.१७ प्रतिशतले कम हो । गत वर्षको चैतसम्म 24 करोड ७६ लाख ४० हजार रुपैयाँबराबरको सामान निर्यात भएको थियो ।
हस्तकलाको मुख्य बजार रहेका युरोपियन युनियनअन्तर्गतका  आयात कर्ताहरूले चाँदीजन्य वस्तुको गुणस्तरीयतामाथि प्रश्न उठाएपछि चाँदीका वस्तुको निर्यातमा गिरावट आउन थालेको महासंघले जनाएको छ ।
केही समयदेखि युरोपियन युनियन (इयु) अन्तर्गतका मुलुकहरूले नेपालमा उत्पादन हुने चाँदीजन्य वस्तुहरूमा क्याडमियमको मिसाबट देखिएको भन्दै २०१२ पछि आयात गर्न बन्देज लगाउने चेतावनी दिएका थिए । मिसावट जाँच गर्न ल्याब स्थापना गरिए पनि मनोवैज्ञानिक रूपमा त्यसको असर परेकाले निर्यातमा गिरावट आएको नेपाल हस्तकला महासंघका अध्यक्ष विकास रत्न धाख्वाले बताए ।  निर्यात प्रवद्र्धनका लागि तयार गरिएको नेपाल व्यापार एकीकृत रणनीति सन् २०१० ले नेपालमा बन्ने चाँदीका गहनालाई प्रमुख निर्यातित वस्तुका रूपमा छनोट गरेको छ । नेपालमा बन्ने चाँदीजन्य वस्तुको मुख्य बजार युरोपियन युनियनअन्तर्गतका मुलुकहरूको आलावा अमेरिका, क्यानाडा, चीन, तथा जर्मनी, बेलायत, इटली, नेदरल्यान्डलगायतका मुलुकहरू हुन् ।
“हामीले हर प्रयत्न गरेको छौं, तर पनि अन्य वस्तुको तुलनामा चाँदीका वस्तुको निर्यातमा सुधार आउन सकेन,” धाख्वाले भने । महासंघले हालै सार्वजनिक गरेको ९ महिनाको तथ्यांक अनुसार चालू आवको साउनदेखि चैतसम्म नेपाली हस्तकलाको निर्यात ४० प्रतिशतले बढेको छ । तर चाँदीजन्य वस्तुको खरिद गर्ने उपभोक्तालाई मिसावटबारे विश्वस्त पार्न नसकेपछि यस्ता वस्तुको निर्यातमा सुधार आउन नसकेको हो । महासंघका अनुसार नेपालबाट निर्यात हुने हस्तकलाका वस्तुमध्ये चाँदीजन्य वस्तुले कुल निर्यातको ११ प्रतिशत हिस्सा ओगटेको छ  ।
धाख्वाले युरोपियन मुलुकहरूले गत वर्ष दिएको चेतावनीले गर्दा चाँदीको वस्तुको निर्यात बढ्न नसकेको भन्दै महासंघको पहलमा क्याडमियम टेस्टिङ ल्याब स्थापनाको अन्तिम चरणमा पुगेको बताए ।
प्रयोगशाला सञ्चालन गर्न नेपाल हस्तकला महासंघ, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले त्रिपक्षीय सम्झौता गरे पनि परीक्षण व्यवस्थित बन्न नसक्दा चाँदीका वस्तुको निर्यात उच्च दरले घटेको हो । ल्याब स्थापनाको विषयमा व्यावसायिक क्षेत्रमा राजनीतिक खिचातानी बढी देखिएपछि दुई वर्षदेखि स्थापना गर्ने भनिएको क्याडमियम (रसायन) ल्याब अहिलेसम्म स्थापना हुन सकेको छैन । धाख्वाले ल्याब स्थापना गरिए पनि प्राविधिक समस्याले गर्दा सुचारु गर्न नसकिएको बताए । उनले भने, “निर्यात भएका चाँदीका वस्तुमा अन्तर्राष्ट्रिय निर्यातकर्मीले विश्वास गर्न नसकेकाले यो अवस्था आएको हो, राजनीतिक स्थिरता भएलगत्तै सबै समस्या हटेर जानेछन् ।”

Comments

Post a Comment

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक