ट्रेडमार्कसम्बन्धी करिब ६ सय आवेदनविरुद्ध उजुरी


फ्रान्सका तीन कम्पनीको पनि दाबी विरोध

काठमाडौं, १३ वैशाख-बौद्धिक सम्पत्तिअन्तर्गत ट्रेडमार्क चिन्हका लागि परेका पौने ६ सय आवेदनमा दाबी गर्दै उजुरी परेका छन् । टे«डमार्क, पेटेन्ट र डिजाइन शीर्षकमा अनुमति लिन चालू आवको चैत मसान्तसम्म दिइएका ५ सय ७३ आवेदनमा उजुरी परेको उद्योग विभागले जनाएको छ ।
सन् २००४ देखि ट्रेडमार्क माग गर्दै दर्ता भएका टेक्टाइल, बिस्कुट, मिठाई, गार्मेन्ट, पश्मिना र हस्तकलाका सामानका चिन्हमा बढी उजुरी छन् । क्वालिटी फुड इन्डस्ट्रिज, शारदा डिस्टिलरी, गोरखा टोबाको, गोर्खा ब्रुअरी, हिमाल डिस्टिलरी, नेपाल केमिकल सोप, गोयल मेटल इन्डस्ट्रिज र बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल गार्मेन्टविरुद्ध टे«डमार्क चिन्हको दाबी गर्दै उजुरी परेको विभागले जनाएको छ । आदित्य कस्मेटिक, माउन्टेन सर्फ केयर, शेर्पा एग्रोभेन्चरका ट्रेडमार्क चिन्हविरुद्ध फ्रान्सका तीन कम्पनीले उजुरी गरेका छन् ।
उत्पादनशील उद्योगमा उजुरी धेरै पर्ने गरेको विभागका बौद्धिक सम्पत्ति निर्देशक रामशरण चिमोरियाले बताए । उनका अनुसार विभागले ट्रेडमार्कका लागि परेका आवेदन सार्वजनिक गरेपछि विश्व बौद्धिक सम्पत्ति संगठन (वाइपो) सँग आबद्ध सबै मुलुकले दाबी विरोधसहित उजुरी गर्न पाउँछन् ।
विभागले प्रत्येक महिना दर्ता भएका ट्रेडमार्कविरुद्ध ९० दिनभित्र दाबी विरोधसहितको उजुरीका लागि  सूचना सार्वजनिक गर्छ । “विभागले सूचना जारी गरेपछि मात्र त्यस्ता उजुरी आउँछन्,” चिमोरियाले भने, “यस्ता उजुरीलाई आवश्यक परामर्शका आधारमा टुंगो लगाउँछौं ।”
दाबी विरोधको माग गर्दै गरिएका उजुरीमा धेरैजसो व्यक्तिको नाम छ । सामान्यता उजुरी गर्दा संस्थाको नाम र ब्रान्ड खुलाउनुपर्ने कानुनी प्रावधान छ । चिमोरियाले भने, “प्रतिवादीतर्फबाट उजुरी गर्दा संस्थाको नाम उल्लेख गर्नुपर्ने भनिए पनि व्यावहारिक कठिनाइका कारण धेरै उजुरी व्यक्तिका तर्फबाट परेका छन् ।”
विभागका अनुसार चालू आवको चैत मसान्तसम्म १ सय ९ ट्रेडमार्कविरुद्ध उजुरी परेका छन् । आव २०६७/६८ मा ६८ वटा र ०६६/६७ मा ९९ वटा र ०६४/०६५ मा ५८ वटा दाबी बिरोधसहितका उजुरी परेका थिए । २०६३/६४ मा ३९ वटा र त्योभन्दा अघि २ सय ८९ वटा उजुरी परेको विभागले जनाएको छ ।
चिमोरियाका अनुसार सामान्य औद्योगिक प्रतिष्ठान, शैक्षिक पाठशाला, म्यानपावर एजेन्सीलगायत आयात÷निर्यात गर्ने कम्पनी तथा बहुराष्ट्रिय कलकारखानाविरुद्ध उजुरी परेका छन् ।
विभागले व्यावसायिक प्रयोजनको अधिकारलाई शक्तिशाली बनाउन टे«डमार्क (व्यापारचिन्ह), पेटेन्ट (आविष्कारमाथिको अधिकार) र डिजाइन (आवरणात्मक सीप र कला) को चिन्ह प्रदान गर्दै आएको छ । संस्कृति मन्त्रालयको प्रतिलिपि रजिस्ट्रारको कार्यालयबाट प्रतिलिपि अधिकार र संवैधानिक मामिला अध्ययन केन्द्रले बौद्धिक विषयका चिन्ह वितरण गर्दै आएका छन् ।
कुनै कम्पनी, संस्था वा संघ–संगठनले ट्रेडमार्कका लागि आवेदन दिएको तीन महिनासम्म कुनै कम्पनी वा संघ–संस्थाबाट दाबी नआएको अवस्थामा चार महिनासम्म टे«डमार्क पाउने कानुनी व्यवस्था छ ।
एक ठाउँमा दर्ता भएको व्यापार चिन्हको प्रयोग विश्वका जुनसुकै ठाउँबाट प्रयोग गर्न सकिने व्यवस्था छ । विभागका अनुसार एक व्यक्ति वा सरोकारवाला निकायले प्रयोग गरेको व्यापार चिन्हको चोरी वा नक्कल (कपी) भएको अवस्थामा सम्बन्धित व्यक्ति वा सरोकारवाला निकायले आवेदन दिएको मितिले ९० दिनसम्म दाबी विरोध गर्न पाउँछन् ।
विभागमा चैत मसान्तसम्म ४३ हजार १ सय ३ वटा ट्रेडमार्क माग गर्दै आवेदन परेका छन् । विभागले अहिलेसम्म १७ हजार ७ सय २ वटा आन्तरिक र १४ हजार १ सय ७५ वटा विदेशी गरी ३१ हजार ८ सय ७७ ट्रेडमार्क अनुमति दिइसकेको छ । पेटेन्टको संख्या ६९ र डिजाइनको संख्या ७२ छन् ।
नेपालले औद्यिोगिक बौद्धिक सम्पत्तिको अधिकारलाई १९९४ देखि मान्यता दिँदै आएको भए पनि २००४ देखि विश्व बौद्धिक सम्पत्ति संगठनको सदस्यता लिएको हो । वाइपोको सदस्यता लिएपछि ट्रेडमार्क दाबी गर्ने संघसंस्था र कम्पनी वा जो–कोहीले आफ्नो ब्रान्डलाई विश्वभर स्थापित गर्न पाउँछन् । ट्रेडमार्क प्रयोगले औद्योगिक उत्पादन बढ्ने, व्यापार बढ्ने र ब्रान्ड स्थापित गर्न सहज हुने भएकाले बौद्धिक सम्पत्तिमाथिको अधिकारमाथि चेतना बढ्न थालेको निर्देशक चिमोरियाले बताए ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन