उपत्यकामा उत्पादनभन्दा सेवा उद्योग धेरै


“कृषि तथा वनमा आधारित उद्योग दर्ता गर्न नपाइने व्यवस्था छ यसले सेवामूलक उद्योगमा चाप बढेको हो” काठमाडौं, २८ साउन
उपत्यकामा उत्पादनमूलक उद्योगभन्दा सेवामूलक उद्योग धेरै दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग विभागका अनुसार आव ०६७/६८ मा राजधानीमा मात्रै  १५ हजार ४ सय ७५ वटा सेवामूलक उद्योग दर्ता भएका छन् । यो संख्या उत्पादनमूलक उद्योगको तुलनामा ३ हजार ६ सय ४४ ले बढी हो । उपत्यकाका तीनवटै जिल्लामा गरी यो अवधिमा कुल ११ हजार ८ सय ३१ वटा उत्पादनमूलक उद्योग दर्ता भएका छन् ।
सरकारले उपत्यकाभित्रका महानगरपालिका तथा नगरपालिकाभित्र उत्पादनमूलक उद्योग दर्ता गर्न नपाउने व्यवस्था गरेअनुरुप राजधानीमा सेवामूलक उद्योगको चाप बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । उपत्यकाभित्र उत्पादनमूलक उद्योगले निश्चित मापदण्डका आधारमा मात्र उद्योग दर्ता तथा सञ्चालन गर्नुपर्ने भएकाले सेवामूलक उद्योग धेरै दर्ता हुनेगरेको कार्यालयका उद्योग अधिकृत पुरुषोत्तम शर्माले बताए ।
उनका अनुसार पछिल्लो समयमा कार्यालयमा होटल तथा रेस्टुराँ, ब्युटिपार्लर, ट्राभल्स एजेन्सी, परामर्शदात्री संस्था कलसेन्टरलगायतका उद्योग बढी मात्रामा दर्ता हँुदै आएका छन् । शर्मा भन्छन्, “केही समययता कृषि तथा वनमा आधारित उद्योग दर्ता गर्न नपाइने व्यवस्था छ यसले सेवामूलक उद्योगमा चाप बढेको हो ।”
विभागको तथ्यांकअनुसार ४६ सालयता मुलुकभर २ लाख २९ हजार ६ सय ८३ उद्योग दर्ता भएका छन् । यसमध्ये लगानीमैत्री वातावरण ऊर्जा संकट, मजदुर अभाव, चन्दाआतंक तथा कच्चा पदार्थको अभाव र उत्पादित वस्तुले बजारीकरण नपाएकाले १ लाख १८ हजार उद्योग खारेज भइसकेका छन् ।
उत्पादनमूलक उद्योगको हदबन्दीमा पटक–पटक नीति–नियमको फेरबदलका कारण उपत्यकाभित्रका उत्पादनमूलक उद्योगले समस्या झेल्नुपरेको घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । उत्पादनमूलक उद्योगका लागि उचित पूर्वाधार नभएको भन्दै महासंघका गुणस्तर तथा उत्पादकत्व अभिवृद्धि समितिका सभापति विष्णुबहादुर लुइँटेलले सरकारले उत्पादनमूलक उद्योगलाई नियमित रूपले व्यवस्थापन गर्न नसकेको गुनासो गरे ।
सरकारी निकाय र व्यवसायीसँगको सम्बन्ध उचित नभएको जनाउँदै उनले कुनै निश्चित ठाउँमा व्यवस्थापन गरी औद्योगिक ग्राम स्थापना गर्न आग्रह गरे ।
काठमाडौं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ताराप्रसाद भट्टराईले सरकारले घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा पारेको जनाउँदै भन्छन्  “उत्पादन मूलक उद्योगलाई औद्योगिक नीतिले भरपूर्ण सम्बोधन गरेको छ यो कार्यान्वयनमा आएपछि व्यवसायीले थप सुविधा पाउँछन् ।”
उनका अनुसार उत्पादनमूलक उद्योगले वातावरणमा असर पारेकाले सरकारले उपत्यकाका तीनवटै जिल्लाका महनगरपालिका तथा नगरपालिकाभित्र उत्पादनमूलक उद्योग दर्ता गर्न नपाउने व्यवस्था गरेको छ  । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार हालसम्म काठमाडौंमा मात्रै ११ हजार ६ सय ८६ वटा सेवामूलक उद्योग दर्ता भएका छन् ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन