Saturday, July 30, 2011

अधिकांश उद्योग नियमविपरीत सञ्चालन

  
काठमाडौं, ११ साउन
राजधानीमा सञ्चालित अधिकांश उद्योग नियमविपरीत सञ्चालन हुनेगरेको पाइएको छ । उद्योग दर्ताका लागि मूल सडकदेखि एक किलोमिटर पर पुग्नुपर्ने भएकाले त्यस्ता स्थानमा सडक र विद्युत् अभाव हुने हुँदा अधिकांश उद्योग एक स्थानमा दर्ता गरी अर्को स्थानमा सञ्चालन गर्ने गरिएको हो ।
सरकारी नियमअनुसार कुनै पनि उत्पादनमूलक उद्योग सडक र वनको दूरीभन्दा एक किलोमिटर परमात्र सञ्चालन गर्न पाइने प्रावधान छ ।
इजाजत लिएको ठाउँबाट अर्को ठाउँमा उद्योग सञ्चालन गर्नुपरेमा औद्योगिक व्यवसाय ऐनको अनुसूची ३० र ३४ का आधारमा सरकारसँग उद्योग ठाउँसारीको स्वीकृति लिन गर्न सकिने व्यवस्था छ । तर, यो व्यवस्थाविपरीत राजधानीका प्लास्टिक, गार्मेन्ट, ग्रिल, तयारी पोसाक, फर्निचरलगायतका उद्योग दर्ता नगरी सञ्चालन हुने र दर्ता भएका उद्योग पनि एक ठाउँमा दर्ता गर्ने र अर्को ठाउँमा सञ्चालन गर्ने गरेको पाइएको छ ।
राजधानीका उद्योग दर्ता गर्ने अनुमति पाएको घरेलु तथा साना उद्योग कार्यालयले सरकारी अनुगमन नभएको तथा दर्ता प्रक्रिया झन्झटिलो भएकाले उद्योगहरु नियमविपरीत सञ्चालन भएको हुन सक्ने जनाएको छ ।
दर्ताको स्पष्ट खाका हुँदाहँुदै उद्योगीहरुले आफूखुसी उद्योग सञ्चालन गर्ने गरेको आरोप लगाउँदै कार्यालयका उद्योग अधिकृत पुरुषोत्तम शर्माले नियमविपरीत चलेका उद्योगलाई अनुगमन गरी कानुनको दायरमा ल्याइने बताए । “आन्तरिक कारणले प्रभावकारी अनुगमन हुन सकेको छैन,” उनले भने, “यस्ता उद्योगलाई कानुनको दायरामा ल्याएरै छाडिने छ ।”
यस्ता उद्योग सहरको कुनै कुनामा प्रक्रियागत रूपमा दर्ता गर्ने र बाक्लो बस्ती, बाटोघाटो र सुविधासम्पन्न ठाउँमा सञ्चालन गर्नेको संख्या दैनिकजसो बढ्दै गएको छ ।
औद्योगिक व्यवसाय ऐन २०४९ र औद्योगिक दिगदर्शन २०६६ अनुसार उपत्यका र महानगरपालिकाभित्र उत्पादनमूलक उद्योग दर्ता गर्न नपाउने प्रावधान छ ।  अधिकृत शर्माले वातावरणीय परीक्षणपछि मात्र उत्पादनमूलक उद्योग सडक र वनजंगलको दूरीदेखि एक किलोमिटर टाढा सञ्चालन गर्न पाउने जानकारी दिँदै यस्ता उद्योगमा भइरहेको काम कारबाहीलाई मूल सडकबाट नदेखिने गरी सञ्चालन गर्नुपर्ने प्रावधान रहेको बताए ।
प्राप्त जानकारीअनुसार ४ सय प्लास्टिक उद्योग, ६ हजार ग्रिल उद्योग, ३ सय इँटा उद्योग दर्ता नै नगरी सञ्चालन गरिएका छन् । यसैगरी, ५ हजार फर्निचर उद्योग, ५० प्रतिशत ब्युटिपार्लर र त्यतिकै संख्यामा सिलाइकटाइ केन्द्र पनि दर्ता नै नगरी सञ्चालनमा छन् ।
दर्ता भएका उद्योग पनि इजाजत लिएको ठाउँमा न्यून मात्रामा सञ्चालन हुने गरेको अनुगमन महाशाखाले जनाएको छ । शाखाका अनुसार औद्योगिक क्षेत्रमा समेत इजाजत नलिएका उद्योग सञ्चालित छन् । “एक ठाउँमा दर्ता गर्नु र अर्को ठाउँमा सञ्चालन गर्नु गैरकानुनी हो, हामी यथाशीघ्र यसलाई पारदर्शी बनाउँछौं,” उनले भने ।

No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...