भ्यालेन्टाइन डेका लागि ४० लाखको फूल बिक्री हुने



काठमाडौं, १ फागुन
यो वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) मा ४० लाख रुपैयाँबराबरको गुलाब फूलमात्रै बिक्री हुने व्यवसायीले अनुमान गरेका छन् । यो रकम अघिल्लो वर्षको तुलनामा १५ लाख बढी हो ।
अघिल्लो वर्षभन्दा फूलको मूल्यमा १० प्रतिशतभन्दा बढीले वृद्धि भएको तथा भ्यालेन्टाइनका उपभोक्ता उच्च दरमा बढ्ने भएकाले फूलको कारोबार बढ्ने उनीहरूको ठम्याइ छ ।
नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार अघिल्लो वर्षको प्रणय दिवसमा २५ लाखबराबरको कारोबार भएको थियो । “प्रत्येक वर्षको प्रणय दिवसमा उल्लेख्य रूपमा व्यापार बढ्ने गरेको छ,” महासंघका महासचिव दिलीप बादे भन्छन् । उनले यस वर्ष सहज वातावरण देखिएकाले २० प्रतिशत उपभोक्ता बढ्न सक्ने जिकिर गरे ।
भ्यालेन्टाइनको समयमा खपत हुने गुलाबमध्ये ४० प्रतिशत भारतबाट आयात गरिएका हुन् । सामान्य अवस्थामा २० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्छ । तर, भ्यालेन्टाइनमा गुलाबमात्रै धेरै खपत हुने भएकाले सो परिमाणमा आयात गर्नुपरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार गत वर्ष २५ प्रतिशत मात्र फूल आयात गरिएको थियो ।
यो वर्षको प्रणय दिवसमा ६० देखि ६५ हजार गुलाब बिक्री हुने अनुमान एसोसिएसनको छ । महासचिव बादे भन्छन्, “अघिल्लो वर्ष ५० हजार स्टिक गुलाब बिक्री भएको थियो यो वर्ष ६५ हजार स्टिक बिक्री हुने आपेक्षा छ ।”
थोक व्यापारीका अनुसार एउटा गुलाबको थुंगाको थोक मूल्य २५ देखि ३० रुपैयाँसम्म कायम गरिएको छ भने दुई थुंगा भएको स्टिकलाई ३५ देखि ५० रुपैयाँसम्म पर्छ । “माग बढ्यो भने फूलको मूल्य पनि बढ्न सक्छ नत्र ५० रुपैयाँसम्ममा उपभोक्ताले एउटा गुलाब पाउन सक्ने छन्,” कमलादीस्थित बाग्मती फ्लोरा पसलका सञ्जीव कार्की भन्छन् ।
उनले सामान्य अवस्थामा २० देखि २५ रुपैयाँ पर्ने फूलको मूल्य यो समयमा ३५ रुपैयाँसम्म पर्ने जानकारी दिए । भन्छन्, “खुद्रा व्यापारीले त्यसैलाई ५० रुपैयाँमा बेच्ने गरेको पाइन्छ ।” हरेक सामानमा भएको मूल्यवृद्धिको प्रभाव फूलमा पनि परेको उनको भनाइ छ । “अघिल्लो वर्षभन्दा गुलाबको मूल्य पनि १५ प्रतिशतले वृद्धि हुन्छ,” कार्कीले भने ।
उनले गत वर्षको भ्यालेन्टाइनमा ५० हजारबराबरको गुलाबको कारोबार गरेको बताए । “यस वर्ष ७० हजारसम्मको कारोबार हुने अपेक्षा गरेको छु,” उनले भने ।
प्रणय दिवसको फूल दुई दिनका लागि मात्र भएकाले आन्तरिक उत्पादनभन्दा आयातमा निर्भर रहनुपरेको त्रिपुरेश्वरस्थित युनाइटेड फ्लोरका सञ्चालक लोकमान गैरे बताउँछन् । व्यापारिक शैल एउटै भए पनि समयअनुसार फूलको मूल्यमा वृद्धि हुने उनको भनाइ छ । “प्रेम दिवसकै लागि भनेर २० हजार स्टिक फूल भारतबाट ल्याएको छु,” गैरेले भने ।
उपभोक्ताको माग बढेका कारण यो वर्ष अघिल्लो वर्षभन्दा बजार केही सकारात्मक हुने विश्वास उनको छ । भन्छन्, “अघिल्लो वर्ष व्यापार नहुँदा हामी अन्योलमा परेका थियौं ।” यस वर्ष व्यापार बढ्ने संकेत देखिएको उनको भनाइ छ ।
फूलको कारोबारबाट खुद्रा व्यापारी पनि आशावादी छन् । कमलादीको डेफोडेल फ्लावरमा गुलाब बेच्दै गरेकी सरिता लिम्बू भन्छिन्, “यस वर्षको भ्यालेन्टाइन डेमा केही आशा पलाएको छ तर परिणाम कस्तो हुन्छ त्यो दुई दिनपछि मात्र थाहा हुन्छ ।” उनले गत वर्षको प्रणय दिवसको अघिल्लो दिन ५ हजारको कारोबार गरेको जानकारी दिँदै यो वर्षको सोही दिनमा व्यापारमा दोब्बर वृद्धि भएको बताइन् ।
फूलको मूल्यमा १० प्रतिशत वृद्धि
६५ हजार गुलाब बिक्ने अनुमान
२० प्रतिशतसम्म उपभोक्ता बढ्ने
४० प्रतिशत भारतबाट आयात
गत वर्षभन्दा १५ लाख बढीको कारोबार हुने

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक