धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

काठमाडौं, १ असार
ललितपुर हस्तकला संघले धातुजन्य वस्तुको सामान उत्पादन गर्ने भ्याकुम कस्टिङ मेसिन सञ्चालनमा ल्याउने भएको छ । हस्तकला सामानको अन्तर्राष्ट्रियस्तरमा दैनिकजसो माग बढ्दै गएको भन्दै संंघले नयाँ मेसिन ल्याउन लागेको हो ।
धातुका मूर्ति ढलाइ एवं चाँदीका वस्तु उत्पादन गर्ने उद्यमीलाई परम्परागत प्रविधिभन्दा वस्तुको उत्पादनमा छिटोछरितो र सूक्ष्म तथा डिजाइनसमेत सफासँग निकाल्न सकिने संघले जनाएको छ । यो मेसिनको माध्यमबाट न्यूनमात्रामा कामदारको प्रयोग सामान उत्पादनमा भारी वृद्धि र कम ऊर्जाको खपत तथा वातावरणमैत्री रूपमा काम गर्न सकिने संघको दाबी छ ।
संघका अनुसार उल्लिखित प्रविधि सञ्चालनबाट उद्योगको उत्पादन क्षमतामा वृद्धि भई उत्पादकत्व पनि बढ्नेछ । यसैगरी कम समयमा बढी उत्पादन गरी हस्तकलाका धातु, मूर्तिकला र सुनचाँदीका गरगहनाको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहज हुने मेसिनका आविष्कारक अर्थात् ललितपुर हस्तकला संघका सदस्य किरण शाक्यले जानकारी दिए ।
उनले मेसिनबिना सामान तयार गर्दा धुलो, धुवाँ र वातावरणमा धेरै असर गर्ने गरेको जानकारी दिँदै मेसिनले यस्ता खालका कुनै समस्या नआउने बताए । “पाँचजनाले गर्ने काम एकजनाले गर्न सकिन्छ,” उनले भने ।
हालसम्म नेपालमा ढलाइ प्रविधिमा गोल दाउरा र मटितेल प्रयोग गरी यस्ता सामान उत्पादन गरिँदै आएका छन् । शाक्य भन्छन्, “अहिले हस्तकलाजन्य वस्तुको माग अन्तर्राष्ट्रियस्तरमा समेत बढ्दो छ, यसले विदेशी मुद्रा आर्जनमा समेत थप टेवा पुग्नेछ ।”
संघका अनुसार यो मेसिनबाट एकपटकमा ५ सयभन्दा धेरै धातुका सामान उत्पादन गर्न सकिन्छ । करिब ५ लाख बजार मूल्य तोकिएको यो मेसिनबाट धातुजन्य सामान उत्पादन गर्न कास्टिङ पाउडर, मैन र रबरको आवश्यकता पर्छ । “कोइला र डिजेलको काम सबै मेसिनले गर्छ त्यसमा पनि ऊर्जा कममात्र खपत हुन्छ,” शाक्यले भने ।
 नेपाल सरकार अन्र्तगतको औद्योगिक उर्जा व्यवस्थापन आयोजनाका कार्यक्रम प्रमुख कमल मानन्धरले मुर्ती र गहनाका ब्यवसायीहरुका लागि यो मेसिन अत्यत्त उपयोगी हुने बताए । परंपरागत गहनाहरु समेत मसिनको माध्यमबाट बनाउन सकिने जानकारी दिदै उनले बाताबरणमैत्रि र थोरै बिद्युतमा सामानहरु बनाउन सकिने दाबी गरे । “यो मसिन मुर्तिकला उद्यमीहरुका लागि ल्याईएको हो, यसले कम लागतमा धेरै मुर्ती बनाउन सकिन्छ ।”
नेपालमा पाईने अधिकाँश परंपरागत धातुजन्य गहनाहरु  ललितपुरको पाटनमा बन्ने गरेका छन् । मानन्धर भन्छन् “नेपाली परंपरागत ज्वेलरी पाटनमा बन्छन् नयाँ डिजाइन गर्नु परेमा बैंकक तथा थाइल्याण्डबाट आयातित हुने गरेका छन् ।” बिश्वमा प्रदुषणरहितको काम धेरै रुचाइने गरेको बताउदै उनले आगामी दिनमा समेत यस्ता खालका प्रबिधि भित्र्याउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

Comments

Popular posts from this blog

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन