सहकारीमार्फत नयाँ औद्योगिक क्षेत्र स्थापना गर्दैछौं

अहिलेसम्म जे–जति औद्योगिक क्षेत्र सञ्चालनमा छन्, सबै पञ्चायतकालमा खुलेका हुन् । ०४६ सालयता नयाँ औद्योगिक छेत्र खोल्ने कुरा नारामा मात्रै सीमित देखिएको छ । हाम्रो देशमा ‘रुल अफ ल’ नै छैन । एजाज आलम
अध्यक्ष, रुपन्देही उद्योग संघ
मुलुकको समग्र औद्योगिक क्षेत्र धराशायी बन्दै गइरहेका बेला पश्चिम नेपालका उद्योगहरू पनि संकटमुक्त छैनन् । पश्चिम क्षेत्रमा खोलिएका उद्योगहरू धमाधम बन्द हुन थालेका छन्, नयाँ उद्योग खोल्ने क्रम ह्वात्तै घटेको छ । यस्तो जटिल अवस्थामा पनि बुटवल औद्योगिक करिडोरका उद्योगहरूले उत्पादनमा ३० देखि ३५ प्रतिशतसम्म वृद्धि गर्दै आएका छन् । उद्योग–व्यवसाय सञ्चालन गर्न सरकारले कुनै चासो नदेखाएपछि यहाँका उद्योगी–व्यवसायीले छुट्टै औद्योगिक विकास सहकारी दर्ता गरेका छन् । यसैको सेरोफेरोमा रहेर करिब १५ वर्षसम्म औद्योगिक करिडोरमा उद्योग सञ्चालन गरिरहेका तथा पाँच वर्षदेखि निरन्तर रुपन्देही उद्योग संघमा आबद्ध प्रतिष्ठित व्यवसायी एजाज आलमसँग बुटवल क्षेत्रको औद्योगिक अवस्था तथा हालसम्म यहाँका उद्यमीहरूले भोग्दै आएको चुनौतीका बारेमा निरु अर्याल र टोपराज शर्माले गरेको कुराकानीको प्रमुख अंशः
बुटवले औद्योगिक क्षेत्रका अवस्था अहिले कस्तो छ ?
मुलुकका अन्य ठाउँजस्तै यहाँका उद्योगहरू लोडसेडिङकै कारण संकटमा छन् । सरकारी तवरबाट पनि उद्योग सञ्चालन गर्ने सहज वातावरण बनेको छैन । राजनीतिक अस्थिरता अझै कायम छ । चन्दा आतंक, लोडसेडिङ त सामान्यजस्तै भइसके । तर पनि पछिल्लो समयमा बन्द, हड्तालका कार्यक्रम रोकिएका छन्, जसले गर्दा उद्योग सञ्चालनमा केही सहज भएको छ । यद्यपि उद्योग सञ्चालन गर्ने वातावरण भने बनिसकेको छैन ।
त्यसो हो भने उद्योग सञ्चालनको प्रमुख समस्या के हो त ?
अहिलेको प्रमुख समस्या त लोडसेडिङ नै हो । यो यहाँको मात्रै होइन, समग्र मुलुककै जटिल समस्या हो । लोडसेडिङका कारण धेरै उद्योग बन्द भइसकेका छन् । यो विषयमा निजी क्षेत्रले सरकारसँग बारम्बार आवाज उठाउँदै आएको छ । बन्दको प्रवृत्तिमात्र फेरिएको हो । पहिले राजनीतिक दलले उद्योग खोल्न दिँदैनथे, अहिले बिजुलीका कारण उद्योग सहज रूपमा सञ्चालन गर्ने अवस्था छैन । अर्कोतर्फ युवा जनशक्ति बिदेसिएको छ । देशका लागि आवश्यक जनशक्ति बाहिरबाट ल्याउनुपर्ने आवश्यकता छ । समस्यै समस्याका बाबजुत उद्योगहरू धन्न बाँचिरहेका छन् ।
लोडसेडिङका कारण मुलुकभरका उद्योगहरू तहसनहस भइरहेका बेला बुटबल औद्योगिक करिडोरलाई लोडसेडिङमुक्त बनाउनुभएको छ, यो कसरी सम्भव भयो ?
औद्योगिक करिडोरमा विद्युत् कटौती गर्न नहुने भन्ने कुरा हाम्रोमात्र माग होइन । सबैले आ–आफ्नै ठाउँबाट सहयोग गरे असम्भव भन्ने केही हुन्न । यो सबै यहाँका उद्यमी–व्यवसायीको पहलबाट सम्भव भएको हो । पहिले विद्युत्बिना करिडोर नै बन्द गर्नुपर्ने अवस्था थियो । यस्तो अवस्थामा पनि सरकारीका तर्फबाट कुनै वास्ता भएन । यसका बाबजुद यहाँको सम्पूर्ण निजी क्षेत्रले यो विषयलाई निकै प्राथमिकता दियो । यसका साथै करिडोरमा विद्युत् पु¥याउने सवालमा हामीले यहाँको विद्युत् प्राधिकरणसँग मिलेर अनुसन्धान पनि ग¥यौं । विद्युत् प्रसारणको ट्रान्समिटर लाइन सुरक्षा निकायको नजिक भएको तथा औद्योगिक करिडोरमा बिजुली दिँदा कहीँ कतै असर नपर्ने देखियो । निश्चित मापदण्डका आधारमा हामीले करिडोरमा विद्युत् माग पु¥याएका हौं । यद्यपि करिडोरबाहिरका उद्योगले भने लोडसेडिङबाट मुक्ति पाउन सकेका छैनन् ।
यसका लागि पनि कुनै रणनीति ल्याउनुभएको छैन ?
यो समस्या हामीले मात्र गरेर समाधान हुने होइन । रुपन्देहीमा मात्रै साना–ठूला गरी ४ हजारभन्दा बढी उद्योग छन् । यसैलाई ध्यानमा राखेर हामीले जिल्लाभरि रहेका उद्योगलाई एकै ठाउँमा राख्न मिल्नेगरी नयाँ औद्योगिक क्षेत्रको माग गर्दै आएका छौं तर सरकारले यो विषयमा कत्ति ध्यान दिएको छैन ।
नयाँ औद्योगिक क्षेत्रबारे प्रष्ट पारिदिनुहोस् न ।
हाम्रो मागलाई सरकारले वास्ता गरेन, त्यसैले यहाँका उद्यमी–व्यवसायीका विभिन्न संघसंगठनहरू बसेर सहकारीमार्फत औद्योगिक क्षेत्र विस्तार गर्ने लक्ष्य लिएका छौं । निजी क्षेत्रको पहलमा औद्योगिक विकास सहकारी पनि दर्ता भइसकेको छ । अहिलेसम्म जे–जति औद्योगिक क्षेत्र सञ्चालनमा छन्, सबै पञ्चायतकालमा खुलेका हुन् । ०४६ सालयता नयाँ औद्योगिक छेत्र खोल्ने कुरा नारामा मात्रै सीमित देखिएको छ । हाम्रो देशमा ‘रुल अफ ल’ नै छैन । सरकारले ध्यानै नदिएपछि हामी चुप लागेर बस्नु हुँदैन जस्तो लाग्यो अनि यो प्रक्रियालाई अघि बढायौं ।
यस्तो चरम संकटका बेला नयाँ औद्योगिक क्षेत्र खोलेर उद्योग–व्यवसाय फस्टाउन सक्छ भन्ने के ग्यारेन्टी दिनुहुन्छ ?
औद्योगिक क्षेत्र परिसरमा विशेष सुविधा पु¥याउनुपर्छ भन्ने हाम्रो मान्यता हो । यसमा हाम्रो कुनै स्वार्थ छैन । मुलुकको अर्थतन्त्रलाई राहत दिने भनेको उद्योग क्षेत्रले नै हो । श्रम, पुँजी र जनशक्ति नभएर हामीले देशमा भएको स्रोत–साधन उपयोग गर्न सकेका छैनौं । यिनै समस्या निराकरण गर्ने काम नयाँ औद्योगिक क्षेत्रले गर्नेछ भन्ने हाम्रो विश्वास हो । बाहिर भएका उद्योगलाई पनि करिडोरभित्र राखेर सबैलाई एकैखालको सेवा–सुविधा पाउने अवस्था सिर्जना भयो भने उद्योगहरू फस्टाउन सक्छन् । त्यसका साथै सरकारी स्तरबाट खोलिएका उद्योग धराशायी हुँदै गएका छन्, निजीकरणको आवधारणाअनुरूप उद्योग–व्यवसाय, कलकारखानालाई राज्यले निजी क्षेत्रलाई सुम्पिदिने हो भने मुलुकको अर्थतन्त्रले काँचुली फेर्नेछ ।
संघमा तेस्रो कार्यकाल पार गर्दै हुनुहुन्छ । करिब दुई दशकदेखि आफैं उद्योग सञ्चालन गर्दै आउनुभएको छ । यो अवधिमा के–कस्ता उपलब्धिमूलक काम गर्नुभयो ?
म यो क्षेत्रमा लागेदेखि हालसम्म उद्योग–व्यवसायमा धेरै सुधारात्मक काम भएका छन् । तर पनि यो क्षेत्रमा सुधार गर्न धेरै बाँकी छ । रुपन्देही जिल्लामा मात्रै १ हजारभन्दा धेरै उद्योग छन् । यहाँका समस्या एक जनाको पहलले मात्रै समाधान हुँदैन । केही महिनाअघि मात्रै हामीले उद्योग–व्यवसायलाई स्वस्फूर्त वातावरणमा चल्न दिनुपर्छ भन्ने मान्यता राखेर औद्योगिक करिडोरभित्रका उद्योगलाई चौबीसै घण्टा विद्युत् उपलब्ध गराएका छौं । करिडोरभित्र काम गर्ने मजदुरलाई निःशुल्क स्वास्थ्य जाँचका लागि स्वास्थ प्रयोगशाला सञ्चालन गरेका छौं । त्यतिमात्र होइन, सम्पूर्ण उद्योग क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्छ भन्ने मान्यताले करिडोरभित्र राजनीति बन्द राख्ने प्रयास भएको छ । यीबाहेकका थुपै्र सुधारात्मक काम भएका छन् । यहाँ जे भएको छ, निजी क्षेत्रकै कारणबाट सम्भव भएको हो । यहाँको निजी क्षेत्रले औद्योगिक सुव्यवस्था कायम गर्न निकै सकारात्मक पहल गरेको छ । उद्यमीहरूलाई सही परामर्श दिने तथा उनीहरूका बस्तुभाउलाई बजारीकरण गर्ने काम हामीले नै गरेका हौं । पछिल्लो केही वर्षयता अन्य संघसस्थाको सहयोगमा हामीले विभिन्न किसिमका तालिमहरू समेत दिँदै आएका छौं ।
यहाँका उद्यमी–व्यवसायीलाई कसरी आश्वस्त पार्नुहुन्छ ?
म पनि एउटा उद्यमी नै हुँ । म आबद्ध भएको संघमा मात्रै १ हजारभन्दा धेरै उद्योग–व्यवसाय आबद्ध छन् । मुलुकको अर्थतन्त्रको प्रमुख आधार उद्योग–व्यवसाय नै हो । घर–घरमा उद्योग नखोलिएसम्म जति नै नारा घन्काए पनि अर्थतन्त्र फस्टाउन सक्दैन । त्यसका अतिरिक्त नयाँ औद्योगिक क्षेत्र स्थापना गर्नेदेखि लिएर करिडोरबाहिरका उद्योगलाई समेत लोडसेडिङमुक्त गराउने करिडोरभित्र रहेका उद्योगी–व्यवसायीलाई सहज रूपमा जग्गा उपलब्ध गराउने काम विचाराधीन अवस्थामा छन् । संघको अध्यक्षको हैसियतले भन्नुपर्दा हालसम्म जे जति काम भएका छन्, यी सबै निजी क्षेत्रबाट मात्रै सम्भव भएका हुन् र आगामी दिनमा पनि उद्यमीका हरेक समस्यासँग सहकार्य गर्ने र तिनको निराकरणका गर्ने सवालमा संघ कत्ति पनि चुक्दैन ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक