Wednesday, May 11, 2011

गोल्छा अर्गनाइजेशन

९० वर्षअघि २३ वर्षको कलिलो उमेरमा सानो पूँजी लिएर रामलाल गोल्छा सुनसरीको देवानगञ्ज आई बसोबास शुरू गरेका थिए । उनी त्यस आसपासका किसानका घरघरबाट जुट (सनपाट) सङ्कलन गरी भारतीय व्यापारीहरूलाई विक्री गर्थे । किसानको खेतमा गएर सनपाटको मुठा कस्थे र जोख्न लगाई आफै काँधमा बोकेर गोरुगाडामा राख्ने काम गर्थे । बिहारका व्यापारीलाई उनीहरूको गोदामसम्म लगेर आफै विक्री गर्ने गर्थे । स्वर्गीय रामलाल गोल्छाको त्यसबेलाको एक्लो मिहिनेतले सिर्जन गरेको गोल्छा अर्गनाइजेशन अहिले मुलुकको प्रतिष्ठित औद्योगिक घराना भएको छ । यसका देशभर दर्जनौं औद्योगिक प्रतिष्ठानहरू सञ्चालनमा छन्, जसमा १६ हजारभन्दा बढीले रोजगारी पाएका छन् । स्व. रामलालको पनाति पुस्तासमेत अहिले व्यवस्थापन सम्हाल्न सक्ने भइसकेको छ ।

गोल्छा परिवारको नेपाल आगमन
गोल्छा परिवारको पुख्र्यौली थलो भारतको राजस्थान हो । तर, राजस्थानबाट आसाममा व्यापार गर्दै आएका रामलालका बुबा तनसुखदास गोल्छा विसं १९३५ मा परिवारसहित पूर्वी बङ्गाल (हालको बङ्गलादेश)को सुन्दरगञ्ज पुगे । तनसुखदासका सातवटी छोरीपछिका आठौं सन्तानका रूपमा विसं १९५५ मा रामलालको जन्म भएको थियो । तनसुखदास बङ्गलादेशमा जुटको व्यापार गर्दथे । बुबालाई जुटको व्यापारमा बालककालदेखि नै सघाउँदै आएका रामलालले १५ वर्षको उमेरमा आफ्ना बुबालाई गुमाए । त्यसपछि रामलालले केही समय कलकत्तामा नोकरी गरे । नयाँ कर्मथलोको खोजी गर्दै विसं १९७८ मा उनी नेपाल आएका थिए ।
शुरूमा देवानगञ्ज आएर बस्न थालेका रामलाल केही वर्षछि व्यापारिक सुविधाका लागि विराटनगर सरे । विराटनगर बस्न थालेपछि उनले विसं १९८७ मा हंसराज हनुमान मिलको स्थापना गरे । जुटको व्यापार गर्दागर्दै उनले विसं १९९४ मा नेपालको पहिलो उद्योगका रूपमा विराटनगर जुट मिलको स्थापना गरेका हुन् । उनकै मूल हिस्सेदारीमा विसं २००३ मा विराटनगरको रानीमा 'रघुपति जुटमिल'को समेत स्थापना भयो ।

रामलाल गोल्छाले विसं २००४ देखि नेपालबाट कच्चा जुट समुद्रपार निकासी गर्न शुरू गरेका थिए । नेपाल बैङ्क लिमिटेडबाट निर्यातका लागि नेपालकै पहिलो प्रतीतपत्र -एलसी) खोलेर समुद्रपार जुट निर्यात थालेका रामलालको प्रयासलाई तत्कालीन सरकारले स्वीकृति प्रदान गरेको थियो । विसं २०१६ मा नेपालमा पहिलो जुटप्रेसको सञ्चालन पनि रामलाल गोल्छाले नै गरेका हुन् । नेपालको व्यापार र औद्योगिक प्रवर्द्धनमा योगदान पुर्याएका रामलाल गोल्छाले कर्मवीरका रूपमा प्रसिद्धि कमाएका थिए ।

लगानी विविधीकरण
विसं २०१६ मा रामलालले जर्मनीमा निर्मित प्लाण्ट जडान गरी पहिलो स्वचालित चामल कारखानाको स्थापना गरेका थिए । उनले विसं २०१९ सालदेखि औद्योगिक उत्पादनलाई विविधीकरण गर्न शुरुआत गरेका हुन् ।

रामलालले सन् १९६२ मा नेपालमै पहिलो भाँडावर्तन कारखानाको स्थापना गरेर गैरकृषि उद्योगको क्षेत्रमा हात हाले । विसं २०२० मा विदेशसँग नेपालको प्रथम आधुनिक बार्टर ब्यापार (सामानको साटासाट गर्ने) प्रणालीको शुरुआत गरेका थिए । विसं २०४० मा गोल्छा अर्गनाइजेशनको पहिलो ठूलो उद्योगका रूपमा नेपालकै पहिलो सिट ग्याल्भनाइजिङ तथा ककर्टपाता उद्योगको स्थापना भयो ।

सन् १९८३ मा निधन हुनुअघि रामलालले आफ्ना दुइ छोरा हंसराज र हुलासचन्दलाई आफ्ना उत्तराधिकारीका रूपमा सशक्त बनाइसकेका थिए । नातिहरू लोकमान्य, दिवाकर, चन्द्रकुमार, महेन्द्र, दिनेशलगायत पनि सक्षम बनिसकेका थिए ।  

रामलालपछिको गोल्छा अर्गनाइजेशन
रामलाल गोल्छाका जेठा छोरा इन्द्रचन्द्र र साहिँला हनुमानमलको बालककालमै मृत्यु भएको थियो । माइला हंसराज र कान्छा हुलासचन्दले रामलालको व्यवसाय प्रवर्द्धन गर्दै आए । गोल्छा अर्गनाइजेशनको उन्नयनमा सक्रिय सहभागी हंसराज र हुलासचन्द दुवैको अहिले निधन भइसकेको छ । हाल गोल्छा अर्गनाइजेशनको सञ्चालनको जिम्मेवारी रामलालका नौ जना नाति र चार पनातिको काँधमा छ ।

हाल गोल्छा अर्गनाइजेशनको अध्यक्षको जिम्मेवारी रामलालका जेठा नाति तथा हंसराजका छोरा लोकमान्य गोल्छाले सम्हालिरहेका छन् । उनले भूदेव टे्रडिङमार्फ सवारी साधन, मलखादलगायतको आयत र विक्रीवितरणको जिम्मेवारी सम्हालेका छन् ।

दिवाकर गोल्छाले अर्गनाइजेशनको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । उनले हुलास टीएमटी र राइसमिलहरूको कारोबार हेर्ने गरेका छन् । हुलास वायरको जिम्मेवारी सम्हाल्दै आएका महेन्द्रको गत वर्ष निधन भएपछि त्यसको जिम्मेवारी पनि दिवाकरकै काँधमा छ ।

दिनेश गोल्छाले अरुण वनस्पति उद्योग, हुलास मेटल र ट्रेडिङको काम हेर्दै आएका छन् । उनी हाल उद्योग सङ्गठन मोरङको अध्यक्षसमेत हुन् । हंसराजका कान्छा छोरा राजकुमारले अरिहन्त मल्टिफाईबर्स, रघुपति जुटमिल र अरिहन्त पोलिप्याक  उद्योग सञ्चालनको जिम्मेवारी लिएका छन् । उनी ती उद्योगका निर्देशक हुन् । हुलासचन्दका जेठा छोरा चन्द्रकुमार पनि गोल्छा अर्गनाइजेशनका उपाध्यक्ष छन् । उनी हुलास स्टील उद्योगका साथै पुल तथा टावर निर्माणको ठेक्कापट्टाको काम सम्हाल्दै छन् । माइला सुरेन्द्रले हुलास मोर्टस र खाद्यन्न उद्योग हेर्दछन् । हुलास मोटर्स कम्पनी नेपालमा नै सवारी साधन उत्पादन गर्ने पहिलो र एक मात्र कम्पनी हो । साहिँला शेखरले हिम इलेक्ट्रोनिक्स (टेलिभिजन उद्योग) र बजाज मोटरसाइकलको नेपालको मुख्य डिलरको जिम्मेवारीका साथै ट्रेडिङको काम पनि हेर्दै आएका छन् । कान्छा सञ्जयले भने हुलास बिस्कुट उद्योग, नोकिया मोबाइल तथा कम्प्युटर  हार्डवेयर र सफ्टवेयरको जिम्मेवारी सम्हालेका छन् ।

रामलालका पनातिहरूमा हेमन्तले रेमिट्यान्स र 'बिल्डिङ कन्ष्ट्रक्सन', आकाशले फोर्ड गाडीको एजेन्सी र पार्टस्को डिलरको काम गर्दै आएका छन् । हेमन्त र आकाश लोकमान्यका छोरा हुन् । उपाध्यक्ष दिवाकरका छोरा हितेशले भृकुटी कागज उद्योगको साथै नेपाल बोर्डस् नामक फर्निचर उद्योगको जिम्मेवारी सम्हालेका छन् । अर्का उपाध्यक्ष चन्द्रकुमारका छोरा भरतले जेनेरेटर, सोलार र इन्भर्टर/यूपीएसको काम गर्दै आएका छन् । अहिले गोल्छा अर्गनाइजेशनअन्तर्गत १७ ओटा कृषिजन्य उत्पादनमा आधारित, मेशिन औजार, निर्माण सामग्री आदिका १० र वित्त एवम् सेवा क्षेत्रमा ६ ओटा गरी ३३ ओटा ठूला उद्योग एवम् व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा छन् । यस्तै ६ ओटामा ठूलो शेयर लगानी वा साझेदारी छ । अर्गनाइजेशनले उदयपुरमा सिमेण्ट उद्योग स्थापनाको तयारी गरिरहेको छ । उसले जलविद्युत्को क्षेत्रमा लगानी गर्न अध्ययन गरिरहेको बताएको छ ।

गोल्छा अर्गनाइजेशनमा महिला
व्यापार र समाजसेवामा मात्र गोल्छा परिवारका महिलाहरूको सहभागिता रहँदै आएको छ । स्वर्गीय महेन्द्र गोल्छाकी श्रीमती राजलक्ष्मी गोल्छाले कृतिका फाउण्डेशनअर्न्तर्गत विराटनगरमा बोर्डिङ स्कूल सञ्चालन गरिरहेकी छन् । शेखर गोल्छाकी श्रीमती सीमाले काठमाडौंमा सामसुङ टेलिभिजनको सोरुम सम्हाल्दै आएकी छन् । दिनेश गोल्छाकी श्रीमती मीना हाल रोटरी क्लब अफ विराटनगर, डाउन टाउनकी अध्यक्ष हुन् । दिनेश भन्छन्, 'हजुरबुबा रामलाल गोल्छाको महिलाको संलग्नताविनाको व्यवसाय भन्ने सिद्धान्तअनुसार महिला सदस्यहरू उद्योगमा कम संलग्न भएका हुन् ।

गोल्छा अर्गनाइजेशनको निर्यात
अरिहन्त मल्टिफार्इवर्स र रघुपति जुट मिल्सले जुटजन्य उत्पादन भारत निर्यात गर्छन् । यी उद्योगका ९५ प्रतिशतभन्दा बढी उत्पादन निर्यात हुने गरेका छन् । अरिहन्त पोलिप्याकले उत्पादन गर्ने प्लाष्टिक बोरा पनि निर्यात हुने गरेको छ । हुलास वायरबाट उत्पादन हुने जीआई तार, कपरवायर, कपरसिट, हुलास स्टील इण्डष्ट्रिजका उत्पादनहरू रङ्गीन तथा सादा जस्तापाताको मूल बजार पनि भारत हो । गोल्छा अर्गनाइजेशनले मुसुरो दाल भने भारतको साथै तेस्रो मुलुकमा पनि निर्यात गर्ने गरेको छ । गोल्छा अर्गानाइजेशनले केही वर्षअघिसम्म वनस्पति घ्यूसमेत निर्यात गर्दै आएको थियो ।

समाज सेवामा गोल्छा अर्गनाइजेशन
गोल्छा अर्गनाइजेशनअर्न्तर्गतका सामाजिक संस्थाहरूमा रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, परोपकार श्रीहंसराज गोल्छा अस्पताल लालबन्दी, सर्लाही , गोल्छा ज्ञानमन्दिर र रामलालजी धापीदेवी गोल्छा च्यारिटी ट्रष्ट रहेका छन् । गोल्छा अर्गनाइजेशनले विराटनगरस्थित महेन्द्रमोरङ क्याम्पसमा रामलाल गोल्छा छात्रावास, कोशी अञ्चल अस्पतालमा सर्जिकल ब्लक तथा प्रसुती गृह भवन निर्माण गरिदिएको छ । २०४५ सालको भूकम्पले क्षति पुर्याएको धनकुटाका विभिन्न स्थानका स्थानीयबासी र विद्यालयहरूका लागि गोल्छा अर्गनाइजेशनले १५ लाख रुपैयाँभन्दा बढीको सहयोग गरेको थियो । उसले कोशी तटबन्धबाट विस्थापितहख्का लागि पनि उल्लेख्य सहयोग पुर्याएको थियो ।

''उद्योग व्यवसायबाट देश विकासमा मद्दत गर्दैछौं'' - लोकमान्य गोल्छा
अध्यक्ष, गोल्छा अर्गनाइजेशन

यो हाम्रो पुख्र्यौली पेशा हो । त्यसैले म व्यवसायमा रमाउँछु । खासगरी रोजगारी सिर्जना गर्न, पूँजीको वृद्धि गर्न र कर तिरेर देशलाई टेवा दिन पनि व्यवसाय गर्र्छौं । उद्योग-व्यवसाय बढेपछि देश विकासलाई मद्दत पुग्छ भन्नेमा हामी विश्वास गर्र्छौं । व्यवसायबाट उपार्जन भएको पूँजीलाई पुनः लगानी गर्र्छौं । साथै धार्मिक, सामाजिक र सेवाका क्षेत्रमा पनि लगानी गर्दै आएका छौं ।

''हजुरबुबाको मार्गदर्शन सफलताको आधार हो'' - राजकुमार गोल्छा
निर्देशक, गोल्छा अर्गनाइजेशन तथा अरिहन्त मल्टीफाईबर्स र रघुपति जुट मिल
हाम्रा कर्मवीर हजुरबुबा स्वर्गीय रामलाल गोल्छाको मार्गनिर्देश, आचारसंहिता र अनुशासन नै गोल्छा अर्गनाइजेशनको सफलताको जड हो । गोल्छा अर्गनाइजेशनअन्तर्गत कुनै नयाँ उद्योग खोल्दा होस् वा नयाँ क्षेत्रमा प्रवेश गर्दा होस्, हामी सबै दाजुभाइ बसेर छलफल गर्छौं । राइसमिल, जुट, स्टील, वायरलगायतका उद्योग सफल उद्योगको सूचीमा छन् । कोशी मेटल र वनस्पति उद्योग असफल छन् ।

''सम्पत्ति र नाफाको कुरा खुल्दैन'' - दिनेश गोल्छा
निर्देशक, गोल्छा अर्गनाइजेशन    
गोल्छा अर्गनाइजेशनको हालको पूँजी कति छ र सरकारको राजस्वमा योगदान के कति छ भन्ने जानकारी पाउन गाह्रो छ । किनभने हाम्रा प्रत्येक उद्योग र ट्रेडिङको छुट्टाछुट्टै हिसाब हुन्छ । सबैको एकीकृत गरेर हिसाब हेरिएको छैन । त्यसैले मैले मात्र होइन, कसैले पनि यस विषयमा बताउन सक्दैनन् । अर्गनाइजेशनअर्न्तर्गतका सबै उद्योगमा परिवारका सबैको शेयर हुन्छ । कुनै उद्योग रेखदेखको जिम्मेवारी तोकिएको सदस्यमा भए पनि शेयरको आधारमा सबैको संलग्नता हुन्छ ।

''सबै सदस्यको बराबरी त्याग'' - शेखर गोल्छा
निर्देशक, गोल्छा अर्गनाइजेशन
कुनै पनि कम्पनीको सबभन्दा ठूलो सम्पत्ति भनेको त्यसमा काम गर्ने मान्छेहरु हुन् भन्ने मैले मेरा अग्रजहरुबाट सिकेको हुँ । परिवारका सबै सदस्यहरुको बराबरी 'त्याग'का कारण हाम्रो पारिवारिक तथा व्यावसायिक एकता कायम रहेको छ ।

''व्यवसायमा हामी त्यति आक्रामक छैनौं'' - दिवाकर गोल्छा
उपाध्यक्ष, गोल्छा अर्गनाइजेशन
हामीले हजुरबुबा रामलाल गोल्छाले तयार पार्नुभएको 'पारिवारिक अनुशासन र आचारसंहिता' पालना गर्दै आएका छौं । गोल्छा अर्गनाइजेशनको व्यावसायिक गतिलाई पनि त्यसैले सम्हालिरहेको छ । पारिवारिक एकता एउटा शक्ति हो । यही अवधारणाले हामीबीचको एकता कायम भएको छ । हामीमा भएको व्यावसायिक संस्कार र व्यवसाय विविधीकरणमा नयाँ पुस्ता जोडिँदै आएका छन् । यो पारम्परिक व्यवसायमा हामी त्यति आक्रामक (एग्रेशिभ) छैनौं ।

''हुलास मोर्टस देशकै गौरव हो'' - सुरेन्द्र गोल्छा
निर्देशक, गोल्छा अर्गनाइजेशन  प्रबन्धक, हुलास मोटर्स प्रालि
गोल्छा अर्गनाइजेशनले सञ्चालन गरेको हुलास मोटर्स उद्योग नेपालकै पहिलो र एक मात्र गाडी उद्योग हो । त्यसैले यो उद्योग गोल्छा अर्गनाइजेशनको मात्र नभएर देशकै गौरव हो । यो उद्योग खुलेको एक दशकभन्दा बढी अवधिमा हामीले करीब ८ सय गाडी उत्पादन गरिसकेका छौं । हामीले उत्पादन गरेका गाडीहरू 'हुलास शेर्पा ' र 'हुलास मुस्ताङ' हुन् । यी गाडी नेपालको पहाडी क्षेत्रमा चलाउन निकै उपयुक्त छन् । तर, विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्ने ठूलो चुनौती यससँग छ । सरकारी संरक्षण नभएकाले मोटर उद्योग चलाउन मुश्किल परिरहेको छ ।

''छलफल गरेर अघि बढ्ने संस्कार'' - हेमन्त गोल्छा
निर्देशक, गोल्छा अर्गनाइजेशन
मैले अग्रजहरूबाट व्यावसायिक प्रतिबद्धता र नैतिकता सिकेको छु । व्यवसायको निरन्तरता र विविधीकरणमा गर्नुमा हामी नयाँपुस्ताको योगदान छ । स्वाभाविक रूपमा अघिल्लो पुस्ता र हाम्रो विचारमा फरक हुन्छ । आजको द्रुत परिवर्तनको गति समात्न उहाँहरूलाई समय लाग्छ । तर, हामी हरदम सहकार्य र पारिवारिक छलफलबाट अगाडि बढ्ने संस्कार बसाएका छौं ।

''नैतिकता, इमानदारी र सिद्धान्त सिकें'' - हितेश गोल्छा
निर्देशक, गोल्छा अर्गनाइजेशन
अग्रजहरूबाट व्यावसायिक सिद्धान्त, नैतिकता, इमानदारी र कडा परिश्रम गर्नुपर्छ भन्ने कुरा सिकेँ । हतारमा कमाएको सम्पत्ति त्यत्तिकै चाँडो सकिन्छ, त्यसैले व्यवसायमा सम्यम अपनाउनुपर्छ भन्ने कुरा पनि उहाँहरूबाटै सिकेँ ।

No comments:

Post a Comment