Sunday, April 19, 2020

कोरोना नियन्त्रणमा खर्च जुटाउन १४ शीर्षकका बजेट रोक्का

कोरोना नियन्त्रणमा खर्च जुटाउन १४ शीर्षकका बजेट रोक्का
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले विभिन्न १४ शीर्षकमा उपलब्ध बजेट रोक्का गर्न परिपत्र गरेको छ । अर्थ मन्त्रालयले कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्रोत परिचालन गर्नुपर्ने भएपछि ती शीर्षकका बजेट रोक्का गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भन्दै सामान्य प्रशासन मन्त्रालयले आफू मातहतका निकायलाई परिपत्र गरेको हो ।
यसअघि अर्थमन्त्री डा.युवराज खतिवडाले फागुन मसान्तसम्म काम सुरु नगर्ने आयोजनाको बजेट रोक्का गर्ने बताएका थिए । कोरोना महामारीका कारण सर्वत्र असर देखिन थालेपछि स्रोत जुटाउन सरकारले विभिन्न १४ शीर्षकको बजेट रोक्का गर्ने निष्कर्षमा पुगेको अर्थले जनाएको छ ।
अर्थसचिव शिशिरकुमार ढुंगानाका अनुसार सेवा तथा परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अत्यावश्यकबाहेक अनुगमन तथा मूल्यांकन खर्च र भैपरी आउने चालू खर्च रोक्का हुनेछ । महालेखा नियन्त्रकलाई पत्र लेख्दै सचिव ढुंगानाले सवारीसाधन खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्यरटर सफ्टवेयर निर्माण तथा खरिद खर्च रोक्का गर्न भनेका छन् ।

जसअनुसार बौद्धिक सम्पत्ति प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति खर्च र भैपरी आउने पुँजीगत खर्चसमेत रोक्का हुने छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायमा विनियोजित बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रणलगायतका प्राथमिकताप्राप्त अन्य क्षेत्रमा समेत उपयोग गरी स्रोत व्यवस्थापन गर्नुपर्ने भएकाले रोक्का गरिएको पत्रमा उल्लेख छ ।
अर्थले पत्रमार्फत कोरोनाको महामारीले मुलुकको आर्थिक गतिविधिसमेत प्रभावित भएको भन्दै विनियोजन ऐन २०७६ बमोजिम चालू आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम हालका लागि स्थगित गर्ने निर्णय गरेको स्पष्ट पारेको छ । उसले आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन, २०७६ को दफा २१ (१) मा रहेको व्यवस्था बमोजिम यही चैत २० सम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको बाहेक बाँकी रहेको बजेट तत्काल लागु हुनेगरी रोक्का गर्ने निर्णय गरेको बताएको छ ।
अर्थ मन्त्रालयको निर्देशनलाई परिपत्रका रूपमा लिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि आफु मातहतका निकायलाई बजेट रोक्का गर्न निर्देशन दिएको छ ।
सामान्य प्रशासन मन्त्रालयले पनि विनियोजन ऐन २०७६ बमोजिम चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय गरेको स्पष्ट पारेको छ । बजेट रोक्का राख्नेसम्बन्धी अर्थ मन्त्रालयको च. नं. ६८७ को निर्णयअनुसार पालना गर्न र गराउन पनि आफू मातहतका निकायलाई परिपत्र गर्दै उसले उल्लेखित १४ वटा शीर्षकमा बजेट रोक्का गर्न भनेको छ । यी शीर्षकमा उपलब्ध बजेट स्थानीय सरकार प्रदेश सरकारहरूले समेत गर्न पाउने छैनन् ।
सरकारले आइतबार कोरोनाबाट प्रभावितहरूका लागि राहत प्याकेज ल्याएको थियो । त्यसमा श्रमिकदेखि उद्योगी र व्यवसायीसम्मलाई राहत दिने उल्लेख छ । कोरोना नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यकताअनुसार रकम निकासा गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण पछिल्लो समय मुलुकका आर्थिक क्रियाकलापहरू ठप्प भएपछि सरकारले आर्थिक दायित्व बढ्ने सक्ने आकलन गर्दै यी क्षेत्रको खर्च कटौतीमा लागेको छ ।
karobardaily.com/news/economy/30772


No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...