Wednesday, March 11, 2020

संशोधित खर्चको लक्ष्य भेटाउने दाबी

निरु अर्याल
चालू आर्थिक वर्षमा खर्च बढाउने योजना कार्यान्वयन गर्न असफल भएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको बेला सरकारले संशोधित लक्ष्यअनुसार नै खर्च हुने दाबी गरेको छ । सात महिनासम्म २० प्रतिशत पनि विकास बजेट खर्च गर्न नसकेको सरकारले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार नै बजेट खर्च गर्ने दाबी गरेको हो । चालू आवमा सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड बजेट खर्च गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्यअनुसार बजेट खर्च हुन नसकेपछि अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार र राजस्वको लक्ष्य घटाएर लक्ष्यको ९०.४ प्रतिशत अर्थात १३ खर्ब ८५ अर्ब खर्च गर्ने लक्ष्य राखेको छ ।संशोधित खर्चको लक्ष्य भेटाउने  दाबी
लक्ष्य भेटाउन समेत चुनौती भइरहेको बेला अर्थमन्त्री डा. युवराज खतिवडाले विकास खर्च पहिले भन्दा अहिले कम नभएको दाबी गरे । उनले भने, “चालू आवको छ महिनाको तथ्यांक हेर्दा खर्च नभएको जस्तोे देखिन्छ,” उनले भने, “तर अघिल्ला वर्ष भन्दा कम खर्च भएको होईन, तथ्यांक आउन भएको ढिलाइले खर्च कम देखिएको हो ।” उनले अघिल्लो वर्ष प्रदेश र स्थानीय तहमा गएको बजेट त्यही स्थानीय र प्रदेश संञ्चित कोषमा गएको र ती सरकारहरूले त्यही बजेट खर्च गर्दा संघको बजेट कम खर्च भएको देखिएको स्पष्ट पारे । यद्यपि महालेखाको तथ्यांकमा भने अर्थमन्त्रीले भनेजस्तो स्थानीय र प्रदेश सरकारको खर्च बढेको छैन ।

महालेखाको तथ्यांकअनुसार पछिल्लो सात महिनामा प्रदेशको औसत खर्च पनि १५.५५ प्रतिशत मात्रै विकास खर्च भएको भएको छ भने स्थानीय सरकारको पनि अवस्था उस्तै छ । मन्त्री खतिवडाले एकीकृत तथ्यांक सन्तोषजनक रहेको दाबी गर्दै भने, “समग्रमा सबैको एकीकृत तथ्यांक हेर्ने हो भने खर्चको अवस्था राम्रो छ, सात महिनाको तथ्यांक हेर्दा पनि धेरै प्रगति भएको छ, विकास खर्च भनेर पुँजीगत खर्चलाई मात्रै नहेरौ ।”
खतिवडाले संशोधित अनुमान अनुसार नै बजेट खर्च हुने र सरकारले नतिजा देखिनेगरी काम गरेको बताए । “हामीले बजेटको संशोधित अनुमान ९० प्रतिशत भन्दा बढि खर्च गर्छांै भनेका छौं त्यो खर्च हुन्छ नै,” उनले भने । उनले सुरुका केही महिना हामीलाई व्यवासायसँग सम्बन्धित खरिद नियमावलीसँग सम्बन्धित समस्याले पनि खर्च हुन नसकेको र मनसुनका कारण पनि आपेक्षित रूपमा बढ्न नसकेकोमा भने खतिवडाले स्वीकार गरे । “अझै पनि ठेक्कापट्टा सम्बन्धित विवाद कायमै रहेको र ठूला आयोजनामा बजेट रोकिएकोेले विकास खर्च नभएको हो, अहहिले धेरै समस्या हल भएका छन्,” उनले भने, “हामी संशोधित अनुमान अनुसार नै खर्च गछौ, यसमा तपाईहरू ढुक्क भए हुन्छ ।” सामान्यतया आर्थिक विकासको कामलाई गति दिनुपर्ने प्रदेश सरकारहरूको पनि आवको ७ महिनामा गरेको खर्च अत्यन्तै निराशाजनक नै छ । तथापि दोश्रो चौमासिक र तेश्रो चौमासिकमा खर्च बढने पुरानै परिपाटी छ ।
महालेखाका अनुसार चालू आवको दोश्रो चौमासिक सकिन १५दिन बाँकि रहदा ४८.११ प्रतिशत बजेट खर्च भएको छ । जसमध्ये पुँजीगत तर्फ २१.१५ प्रतिशत, चालू तर्फ ४३.३७ प्रतिशत र बित्तिय तर्फ ३२.५९ प्रतिशत खर्च भएको छ । यसैगरि यो अवधिमा चालू आवमा करिब पाँच प्रतिशत राजस्वको लक्ष्य संशोधन गरेको सरकारले ४६.५१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । बजेट मार्फत सरकारले चालू आवमा ११ खर्ब १२ अर्ब राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । छ महिनासम्म पनि लक्ष्यमा पुग्न करिब १ खर्ब अपुग भएपछि सरकारले यसलाई संशोधन गर्दै १० खर्ब ५६ अर्ब राजस्व असुली गर्ने सरकारको लक्ष्य राखेको छ ।https://www.karobardaily.com/news/economy/29575

No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...