विदेशी लगानी प्रतिबद्धतामा कमी


काठमाडौं: गत वर्ष प्रत्येक्ष वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । लगानी बोर्डमा विदेशी लगानी प्रतिबद्धता शून्य रह्यो । उद्योग विभागमार्फत आउने प्रतिबद्धता पनि आधा घटेको छ । वर्षभरि १७ अर्ब ८७ करोड रुपैयाँमात्र लगानी प्रतिबद्धता आएको छ । अघिल्लो वर्ष उद्योग विभाग र लगानी बोर्डमार्फत दुई खर्ब ४४ अर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । विदेशी लगानीका लागि २०१६ शुभ रहेन ।
सरकारले लगानीमैत्री वातावरण बनेको दाबी गर्दै आएको छ । तर, विदेशी लगानी भने बर्सेनि ओरालो लाग्दैछ । सन् २०१४ मा झन्डै तीन खर्ब ४६ अर्ब लगानी गर्ने प्रतिबद्धता आएको थियो । त्यसयता उद्योग विभाग र लगानी बोर्डमा लगानी प्रतिबद्धता घट्दै गइरहेको देखिन्छ । सन् २०१५ भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीले अशान्त रह्यो । प्रतिकूल अवस्थामा पनि लगानी बोर्डमा तीनवटा ठूला परियोजनामा विदेशी लगानीको प्रस्ताव आएको थियो । उद्योग विभागमा पनि ३३ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको थियो । तर, २०१६ शान्त रहँदा पनि बोर्डले कुनै परियोजनामा लगानी तान्न सकेन । लगानी बोर्ड शिथिल भएको भन्दै गत साता संसद्को अर्थ समितिमा व्यापक आलोचना भएको थियो ।
नेपालमा विदेशी लगानी भित्र्याउन उपयुक्त वातावरण तयार नभइसकेको विज्ञको बुझाइ छ । लगानी भित्र्याउन नीतिगत सुधारसँगै राजनीतिक स्थिरता आवश्यकपर्ने उनीहरूको तर्क छ । मुलुकले नयाँ संविधान पाए पनि राजनीतिक उतारचढाब जारी छ । लगानीकर्ता 'पर्ख र हेर' को अवस्थामा छन् । तर, उद्योगमन्त्री नवीन्द्रराज जोशी मुलुकमा लगानीको वातावरण बन्दै गइरहेको दाबी गर्छन् । 'सरकारका तर्फबाट नीतिगत सुधार भइरहेको छ', स्वदेशी विदेशी उत्साहित देखिएका छन्, एक्कासी लगानी भित्रिने होइन, छिट्टै नतिजा देख्न पाइनेछ', उनले अन्नपूर्णसँगको कुराकानीमा भने । उद्योग विभागका अनुसार २०१६ मा सातवटा क्षेत्रमा १७ अर्ब ८६ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ । तीन सय ७१ परियोजनामार्फत भित्रिने लगानीले १२ हजार तीन सय ६० जनालाई रोजगारी दिनेछ । सबैभन्दा ठूलो लगानी सेवा क्षेत्रमा आएको छ । सेवा क्षेत्रमा आठ अर्ब २४ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।
यस अवधिमा कृषि तथा वनजन्य परियोजनामा २२ करोड रुपैयाँ, निर्माण क्षेत्रमा एक करोड, ऊर्जामा एक अर्ब ८२ करोड रुपैयाँ, उत्पादनमूलक परियोजनामा तीन अर्ब रुपैयाँ, खनिजमा तीन करोड रुपैयाँ र पर्यटनमा चार अर्ब ५० करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ ।
बोर्डमा आएको प्रतिबद्धता
लगानीको वातावरण बनाएर ठूला परियोजनामा स्वदेशी र विदेशी लगानी जुटाउने उद्देश्यसहित २०११ मा लगानी बोर्ड गठन भएको थियो । तर, उद्देश्यअनुरुप प्रगति भएको देखिँदैन । बोर्ड गठन भएको दुई वर्षपछि २०१३ मा नाइजेरियाको डंगोटे कम्पनीले सिमेन्ट उत्पादनमा ५५ करोड अमेरिकी डलर लगानी गर्ने प्रस्ताव गर्‌यो । त्यतिबेला उद्योग विभागमा २४ अर्ब ५४ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको थियो ।
बोर्डले २०१४ मा पाँचवटा ठूला कम्पनीलाई लगानीको स्वीकृति दियो । तीनवटा भारतीय र एउटा फिनल्यान्डको कम्पनीबाट तीन खर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको थियो । भारतको रिलायन्स कम्पनीले सिमेन्टमा ४० करोड डलर, एसजेवीएनले अरुण तेस्रोमा एक अर्ब ४० करोड डलर, जीएमआरले अपर कर्णालीमा एक अर्ब १६ करोड डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै, फोहोर व्यवस्थापनमा भारतीय कम्पनीले ८० लाख डलर र फिनल्यान्डको कम्पनीले चार करोड ९० लाख डलर लगानी स्वीकृति लिइसकेका छन् ।
लगानी बोर्डमा २०१५ मा तीनवटा कम्पनीले लगानीको प्रस्ताव गरे । चीनको होङ्सीले सिमेन्ट उद्योगमा ३६ करोड ९० लाख डलर, चीनकै हुवाजीनले सिमेन्ट उद्योगमा १४करोड डलर, चीनकै थ्री गोर्जेज इन्टरनेसनलले पश्चिम सेती जलविद्युत् परियोजनामा एक अर्ब ६० करोड डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । होङ्सी कम्पनीले नेपालको शिवम् सिमेन्टसँग सहकार्य गरेर लगानी भित्र्याइसकेको छ । होङ्सी र शिवमको संयुक्त लगानीमा नवलपरासीमा ठूलो सिमेन्ट उद्योग निर्माण सुरु भइसकेको छ । अरु कम्पनीको लगानी भित्रिने प्रक्रियामा छ ।
तीव्र आर्थिक विकास गरेको चीन लगानी गर्ने ठाउँ खोजिरहेको छ । भारतीय पनि विभिन्न मुलुकमा ठूलो लगानी गर्न थालेका छन् । नेपालमा सबैभन्दा बढी लगानी आउने भारत र चीनबाटै हो । कहिले भारत अगाडि हुन्छ, कहिले चीन अगाडि हुन्छ । तर, २०१६ मा दुवै मुलुकबाट लगानी प्रतिबद्धता घट्यो । चीनबाट आएको अधिकांश प्रतिबद्धता साना होटेल तथा रेस्टुरेन्टमा केन्द्रित छ ।
नेपाल भर्खरै विकासको बाटोमा अगाडि बढेको छ । प्राकृतिक स्रोतमा धनी नेपालमा लगानीको सम्भावना उच्च छ । लगानीका लागि नेपाल भर्जिन मुलुक मानिन्छ । ऊर्जा, कृषि, पर्यटन, पूर्वाधार, सूचनाप्रविधिलगायतमा लगानीको सम्भावना छ । उपयुक्त वातावरण बनाएर विदेशी लगानी भित्र्याउनुपर्ने विज्ञ सुझाउँछन् । नेपालमा प्रशस्त भारतीय र चिनियाँ लगानी बढी भित्र्याउन सकिने सम्भावना छ ।
नेपालमा फागुनको १९ र २० गते लगानी सम्मेलन हुँदैछ । सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता सहभागी हुने मन्त्री जोशीले बताए । सम्मेलनमार्फत नेपालमा लगानी सम्भावना र वातावरणको बारेमा लगानीकर्तालाई जानकारी गराइने भएको छ । सोही अवसरमा लगानीका लागी आह्वान गरिने उनले जानकारी दिए ।
नेपालमा सबैभन्दा बढी लगानी आउने भारत र चीनबाट हो । कहिले भारत अगाडि हुन्छ, कहिले चीन अगाडि हुन्छ । तर, २०१६ मा दुवै मुलुकबाट लगानी प्रतिबद्धता घट्यो ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक