व्यापारी ट्रम्पले चीनसँगको व्यापार रोक्न सक्दैनन्

राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको विजयले तयारी अवस्थामा नबसेका विश्वभरिका लगानीकर्तालाई अप्ठेरोमा पारेको छ । व्यापारीहरूले समायोजन हुने प्रयास गरिरहेको अवस्थामा बजारले रोलर कोस्टरको अवस्था सहन ग¥यो ।
राजनीतिका भर्खरका खेलाडी र व्यापारी ट्रम्पले कसरी राष्ट्रपतिको निर्वाचन जिते भनेर प्रश्न गरिरहेका छन् । यसको चिनियाँ अर्थतन्त्र र बजारमा पनि कस्तो प्रभाव पर्ला भन्ने प्रश्न उनीहरू गरिरहेका छन् ।
२०१६ को राष्ट्रपतिको निर्वाचन र ट्रम्पको विजयले विश्वभरिका मुलुकमा आधुनिक राजनीतिक जीवनको यथार्थ प्रतिविम्बित गरेको छ । २००८ को विश्वव्यापी वित्तीय संकटदेखि धेरै मुलुकले श्रृंखलाबद्ध प्रोत्साहन र ऋणमुक्ति योजना अंगीकार गरे ।
उनीहरूले परिमाणात्मक सहजीकरणको कार्यक्रमको माध्यमबाट बजारमा ठूलो परिमाणमा पैसा प्रवाह गरे । यद्यपि यी कार्यक्रमले पनि विश्व अर्थतन्त्रलाई समस्याबाट बाहिर ल्याउन सकेन । यसको सट्टा विश्व अर्थतन्त्रलाई झनै ठूलो खाडलमा धकेल्यो ।
यस खालको वित्तीय प्रोत्साहनका गम्भीर नतिजा भनेको सामाजिक सम्पत्ति थोरैको हातमा केन्द्रित गरायो । न्यून र मध्य आम्दानी भएका नागरिकले थोरै मात्र आर्जन गर्न सके । सम्पत्तिमा भएको बढ्दो विभाजनका कारण अवस्थाप्रति बहुसंख्यक मानिस असन्तुष्ट रहे ।
उनीहरूले अवस्था र परम्परागत संस्थाहरूलाई मतको माध्यमबाट परिवर्तन गर्ने इच्छा व्यक्त गरे । ब्रेक्जिटको नतिजाले पनि यो समस्या प्रतिविम्बित गरेको छ ।
अमेरिकी राष्ट्रपतिको निर्वाचनले ट्रम्पको विजयको मात्रै प्रतिनिधित्व गरेको छैन । यसले अमेरिकाको न्यून र मध्यम आम्दानी भएका मानिसको पनि प्रतिनिधित्व गरेको छ ।
ट्रम्पले कार्यकाल सुरु गरेपछि के प्रभाव पर्ला ? सबैभन्दा पहिले ट्रम्प राजनीतिका लागि भर्खरका मानिस हुन् र उनी व्यवसायी हुन् । व्यवसायीले सधैं नाफालाई हेर्ने गर्छ र उनीहरूको राजनीतिक प्रवृत्ति कमजोर हुन्छ । ट्रम्पले कार्यकाल सुरु गरेपछि उनको आर्थिक नीति अनुमान गर्न नसकिने किसिमको हुने अपेक्षा गर्न सकिन्छ ।
यद्यपि आर्थिक नीतिहरू अमेरिकी अर्थतन्त्रको लाभका लागि मिलान गर्न सकिन्छ । त्यसैले उनको निर्वाचन घोषणापत्र र प्रतिबद्धतालाई केही महत्व दिन सकिन्छ । ट्रम्पले बदलिँदो परिस्थितिलाई कसरी मिलाउँछन् भन्ने विषयलाई नजिकैबाट नियाल्नुपर्छ ।
न्यूनदेखि मध्यम आम्दानीका मतदाताहरूले ट्रम्पको ह्वाइट हाउसको यात्रालाई सम्भव बनाएका भए पनि धनी व्यवसायीले जनसंख्याको यो वृत्तलाई लाभ हुने किसिमबाट नीति ल्याउलान् त भन्ने विषय अझै अनिश्चित बनेको छ ।
ट्रम्पले चुनावी अभियानमा व्यक्त गरेका प्रमुख प्रतिबद्धताहरूमा कर कटौती गर्ने योजना अघि सारेका थिए । यसमा आम्दानी, कर्पोरेट, पुँजीगत लाभ र सम्पत्ति कर पनि परेका छन् ।
यी कटौतीले लगानीलाई प्रोत्साहित गर्ने, वृद्धि बढाउने र रोजगारी सिर्जना गर्ने तथा धेरै मानिसलाई रोजगारी दिलाउने लक्ष्य लिएको छ । यसबाट देशको उपभोग र लगानीलाई वृद्धि गर्न सक्नेछ ।
तर, कर कटौतीले सर्वाधिक धनी १ प्रतिशतले मात्रै लाभ लिन सक्ने विश्लेषकहरूले बताएका छन् । त्यसैले नीतिको कुनै पनि प्रभावकारिता अनिश्चित छ । यसले थप असन्तुष्टिका लागि भूमिका खेल्न सक्छ ।
चिनियाँ अर्थतन्त्र र बजारमा पर्ने प्रभावलाई हेर्ने हो भने सतर्क हुनुपर्ने तीन पक्षहरू छन् । पहिलो त विश्वव्यापीकरणविरुद्धको ट्रम्पको प्रवृत्ति वास्तविक नीतिमा जान्छ भन्ने हो ।
के उनले आन्तरिक अर्थतन्त्रलाई मात्र जोड दिनेछन् वा अरूका लागि अमेरिकाको ढोका बन्द गर्नेछन् ? अमेरिकाको ढोका बन्द गर्ने सम्भावना छैन । ट्रम्प प्रशासनको मातहतमा चीन र अमेरिकाबीचको व्यापार घर्षण लगातार बढ्नेछ । ट्रम्पले व्यावहारिक दृष्टिकोणबाट चीनसँगको व्यापार व्यवसायलाई निरन्तरता दिने सम्भावना छ । यी दुई मुलुकबीचको व्यापार अझै विस्तार हुनेछ र यसमा अमेरिकाले पनि लाभ लिनेछ । जे होस्, ट्रम्प व्यापारी हुन् ।
दोस्रो फेडको मौद्रिक नीति कसरी परिवर्तन हुन्छ र अमेरिकी डलरको प्रधानता कसरी कायम हुन्छ ? आगामी महिना नै ब्याजदर वृद्धिसम्बन्धी विषयले निष्कर्ष पाउनेछ । अमेरिकाले अत्यन्त खुकुलो मौद्रिक नीतिको छायालाई पनि कम पार्ने कदम चाल्नेछ ।
यदि यसो हो भने डलरको श्रेष्ठता कायम रहनेछ । ट्रम्पले कार्यालय सुरु गरेपछि अमेरिकी अर्थतन्त्रको सुधारले गति लियो भने डलर लगातार बलियो हुनेछ । यस किसिमको अवस्थाले युआनको विनियम दरमा ठूलो प्रभाव पार्नेछ र युआनको अवमूल्यनको जोखिम अझै बढ्नेछ ।
अन्तिममा ट्रम्पले चीनलाई मुद्रा तोडमोडको आरोप लगाउँदै आएका छन् । यसले युआनको विनिमय दरमा ठूलो असर पार्दैन । यद्यपि युआनमाथिको बाह्य दबाब कायमै रह्यो भने युआनको दरमा सोचनीय प्रभाव पर्नेछ ।
यो अवस्था २००५ को जुलाईमा युआनको विनिमय दरमा सुधार गर्नुभन्दा पहिले पनि कायम भएको थियो । यो युआनलाई बढी तलमाथि हुने कारण मात्रै बन्ने छैन कि युआनको विनिमय दरप्रतिको अपेक्षामा पनि प्रभाव पार्न सक्नेछ ।
अवश्य पनि ट्रम्पको आर्थिक नीतिले विश्व र चिनियाँ अर्थतन्त्रलाई प्रभाव पार्नेछ । यसका अतिरिक्त व्यापारीको उनको स्वभावले जो जहिले पनि नाफाको पछि मात्रै लाग्छ, यसले उनको नीतिमाथिको अनिश्चितता थप्नेछ । तर, यसको प्रभाव विशाल हुनेछैन । लगानीकर्ताले कुनै कदम चाल्नुपूर्व बजारलाई नियाल्दा सावधान हुनु आवश्यक छ ।
(लेखक क्विङडाओ युनिभर्सिटीको कलेज अफ इकोनोमिक्सका प्राध्यापक हुन् ।)
ग्लोबल टाइम्सबाट अनूदित

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक