सिमेन्ट उद्योगमा लगानी आकर्षित

काठमाडौं, ३१ जेठ – व्यवसायीहरूले भूकम्प र नाकाबन्दीपछि नेपालमा लगानीमैत्री वातावरण नभएको बताइरहेका बेला सिमेन्ट उद्योगमा भने विदेशी तथा स्वदेशी लगानी आकर्षित भएको पाइएको छ । उद्योग विभागका अनुसार स्वदेशी तथा विदेशी गरी ८ दर्जन उद्योगले सञ्चालन इजाजत लिएका छन् । ०७२ सालमा मात्रै अरनिको, शुभ लक्ष्मी, नेपाल अल्ट्रा टेक, अर्घाखाँची र सनसाइज सिमेन्ट उद्योगले सञ्चालन अनुमति लिएका छन् ।
हालसम्म ८३ वटा ब्रान्डका सिमेन्टले नापतौल तथा गुणस्तर विभागबाट मान्यता पाइसकेका छन् । स्वदेशीमात्र नभएर भारत, चीन र नाइजेरियाका ४ बहुराष्ट्रिय उद्योगले नेपालमा आउने २ वर्षमा दैनिक २२ हजार टन सिमेन्ट उत्पादन गर्न लगानी बोर्डबाट स्वीकृति लिएका छन् । सरकारले सिमेन्ट उद्योगलाई बाटो र बिजुली जस्ता पूर्वाधार पुर्याउने प्रतिबद्धता जनाएको छ । सिमेन्टमा आत्मनिर्भर बनाएर ०७४ सालदेखि आयात रोक्ने अवधारणा सरकारको छ । सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले सिमेन्टमा भन्दा अरू क्षेत्रमा विदेशी लगानी ल्याउनुपर्ने बताए । “सिमेन्ट उद्योगमा विदेशी लगानी आवश्यक छैन,” उनी भन्छन्, “सरकारले बाटो र बिजुली पुर्याउनुपर्यो स्वदेशी लगानी नै पर्याप्त छ ।” सरकारले बाटो र बत्ती सम्बन्धित उद्योगसम्म पुर्याउने हो भने पनि ५/७ वर्षसम्म नपुग्ने तर लगानीकर्ताले बढीमा २ वर्षमा उद्योग सञ्चालनमा ल्याउने गरेको उनले बताए ।
भूकम्पले नेपालमा निजी आवास तथा सार्वजनिक सम्पदा मात्र नभएर विकासका काममा क्षति पुगेको छ । सरकारले आगामी आर्थिक वर्षमा पुनर्निर्माणलाई प्राथमिकता दिएका कारण सिमेन्ट माग अझ बढ्ने देखिएको छ । पीपीसी सिमेन्टका ४०, ओपीसी सिमेन्टका ३३ र पीएससी सिमेन्टका १० गरी कुल ८३ वटा ब्रान्डले गुणस्तर प्रमाण चिह्न लिएर उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् । हालको सिमेन्ट खपत वार्षिक झन्डै ३५ लाख मेट्रिक टन छ । नेपालमा स्थापित उद्योगको कुल क्षमता भने ५५ लाख मेट्रिक टन पुगिसकेको छ । ऊर्जा संकटले अधिकांश उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् ।
उद्योगीका अनुसार दैनिक २२ हजार टन सिमेन्ट उत्पादन गर्न २१५ मेगावाट बिजुली चाहिन्छ । सिमेन्टले ठूलो परिमाण विद्युत् खपत गर्ने भएकाले उद्योगलाई ऊर्जा व्यवस्थापना गर्न समस्या पर्ने देखिन्छ । विदेशी लगानीमा खुल्ने लागेको रिलायन्सलाई ६०, हुवाजिनलाई २५ होन्सीलाई ८० र डाङोटेलाई ५० मेगावाट बिजुली आवश्यक पर्नेछ । नेपालमा सबैभन्दा पहिले सिमेन्ट उद्योगका लागि लाइसेन्स लिएको पञ्च रत्न सिमेन्ट हो । पछिल्लो पटक चैत दोस्रो साता सनराइज सिमेन्टले सञ्चालन अनुमति लिएको छ ।
नेपालमा सिमेन्ट उद्योग सञ्चालनमा रहे पनि जलविद्युत्, सडक, सिँचाइलगायत ठूला आयोजनाले सिमेन्टको माग धान्न सकेका छैनन् । निर्माणधीन माथिल्लो तामाकोसी, रसुवागढी, सान्जेन, त्रिशूली–३ ‘ए’ लगायत ठूला आयोजनामा भारतीय सिमेन्टको प्रयोग हुदै आएको छ । भारतबाट आयात गर्दा भन्सार शुल्क तिर्नु नपर्ने भएपछि आयातीत सिमेन्ट सस्तो हुदा ठेकेदारले विदेशी सिमेन्ट प्रयोग गर्दै आएका हुन् ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक