६० प्रतिशत पश्मिना पर्यटकमार्फत चीनतिर

निरु अर्याल
काठमाडौं, २० मंसिर- मुलुकमा उत्पादन हुने पश्मिनामध्ये आधाभन्दा बढीका ग्राहक चिनियाँ पर्यटक हुने गरेका छन् । नेपाल पश्मिना उद्योग संघका अनुसार कुल उत्पादनको ६० प्रतिशत चिनियाँ बजारमा पर्यटकमार्फत जाने गरेको छ । चिनियाँ व्यवसायीले प्रतीतपत्र (एलसी) खोलेर लैजाने परिमाण सानो भए पनि पर्यटकले ‘ह्यान्ड क्यारी’मार्फत लैजाने परिमाण उल्लेख्य रहेको संघले जनाएको छ ।
व्यवसायीले चीन र भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर निर्यात बढ्न नसकेको बताइरहेका बेला चीनतर्फ भने रहस्यमय ढंगले पश्मिना निकासी भइरहेको बताएका छन् । नेपाली पश्मिना चिनियाँको तुलनामा सस्तो भएको र अन्तर्राष्ट्रिय बजारमा महँगोमा बेच्न सकिने भएकाले पनि चिनियाँले अत्यधिक रुचाउने गरेको संघको दाबी छ ।
पश्मिनालाई नेपालबाट निकासी हुनेमध्ये प्रमुख वस्तुका रूपमा लिने गरिन्छ । संघका अनुसार नेपालबाट वार्षिक २ अर्ब रुपैयाँबराबरको पश्मिना ८१ मुलुकमा निकासी हुन्छ । गत आवमा १ अर्ब ५६ करोडबराबरको पश्मिना चीनमा मात्रै निर्यात भएको जानकारी दिँदै संघ अध्यक्ष पुष्पमान श्रेष्ठले भने, “अहिले नेपाली पश्मिनाको ६० प्रतिशत हिस्सा चीनले ओगटेको छ, यसलाई हामीले सकारात्मक नै मानेका छौं ।”
व्यवसायीले आफ्नो लागत मूल्य पाएको र बिक्रीका लागि खासै मेहनत गर्नु नपरेका कारण चिनियाँले लैजानुलाई नकारात्मक रूपमा लिएका छैनन् । “अन्तर्राष्ट्रिय बजारमा लैजाँदा अनेकौं झन्झट बेहोर्नुपर्छ तर चिनियाँले यहीँ आएर लैजाने भएकाले सजिलो भएको छ,” श्रेष्ठले भने ।
नेपाली खुद्रा बजारबाटै यसरी पश्मिना बिक्री हुँदा तथ्यांक संकलनमा भने समस्या भएको व्यवसायी बताउँछन् । श्रेष्ठका अनुसार पश्मिनाको वास्तविक बजार २ अर्बभन्दा बढी भए पनि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकमा गत वर्ष २ अर्बको मात्र निकासी भएको उल्लेख छ । त्यसमध्ये १ अर्ब ५६ करोडबराबरको निकासी चीनतर्फ भएको छ ।
संघले पश्मिना व्यवसायको प्रवद्र्धन तथा दिगो विकासका लागि नगद प्रोत्साहन, पुनर्कर्जा, प्रचारप्रसार तथा लेबल लगाइएका वस्तुलाई विशेष सुविधा माग गर्दै आएको छ । प्रतिस्पर्धी मुलुकमा उत्पादनको लागतभन्दा नेपालमा उत्पादन हुने पश्मिनाको लागत उच्च भएको बताउँदै अध्यक्ष श्रेष्ठले छिमेकी मुलुकसरह सुविधा पाए पश्मिनाको बजार बढ्ने बताए ।
“विश्वबजारमा छिटो–छिटो हुने फेसन परिवर्तनसँग नेपाली परम्परागत प्रविधिबाट निर्मित पश्मिनाजन्य वस्तुले प्रतिस्पर्धा गर्न सकेका छैनन्,” उनले भने, “हामी मिश्रित बजारमा पुग्न सक्यौं भने हाम्रो बजार सुरक्षित छ ।” तीबाहेक नेपाली पश्मिनाको बजार भारत र युरोपेली मुलुक पनि हुन् ।
व्यवसायीका अनुसार चीनले आधुनिक प्रविधिबाट कमसल पश्मिना उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा पु¥याउने र भारतले नेपाली भनेर आफ्नै उत्पादन बेच्ने गरेकोले नेपाली पश्मिानाको बजार बढ्न सकेको छैन । “हाम्रा मुख्य प्रतिस्पर्धी मुलुक चीन र भारत हुन्, उनीहरूसँग प्रतिस्पर्धा गर्न सकेनौं भने हाम्रो बजार कहिल्यै बढ्दैन,” श्रेष्ठले भने ।
संघका अनुसार पश्मिना व्यवासायमा निजी क्षेत्रको ६ अर्ब लगानी छ भने ३ सयभन्दा बढी उद्यमी आबद्ध छन् । यसै व्यवसायबाट सरकारलाई वार्षिक ४० करोड राजस्व बुझाउँदै आएका भन्दै श्रेष्ठले पश्मिना उद्योगले २० हजारलाई रोजगारी दिइरहेको जानकारी दिए । केही समयअघि नेपालीको नक्कल गर्दै छिमेकी मुलुकले कमसल पश्मिना बेचेको पाएपछि संघले ‘च्याङ्ग्रा पश्मिना’ नामक सामूहिक व्यापार चिह्न दर्ता गरिसकेको छ ।
पश्मिनालाई प्रतिस्पर्धी गराउन संघले नेपाललगायत ४१ राष्ट्रमा सामूहिक व्यापार चिह्न दर्ता गरिसकेको र ५ राष्ट्रमा दर्ता प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ ।
सन् २००१ मा चिनियाँ पश्मिना अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन थालेपछि नेपाली पश्मिनाको बजार निरन्तर खस्किँदै आएको हो । सरकारले करिब साढे ३ वर्षअघि सार्वजनिक गरेको नेपाल व्यापार एकीकृत रणनीति २०१० (एनटीआईएस)मा समेत निर्यात व्यापारमा नेपाललाई फाइदा हुने १२ वस्तुमध्ये पश्मिनालाई पनि समावेश गरेको छ । त्यसयता पश्मिनाको निर्यात बढाउने विषयमा सरकारी र निजी क्षेत्रबीच सहकार्य हुँदै आएको छ ।
संघका अनुसार चालू आवका पहिला ४ महिनामा पश्मिनाको निकासी २५ प्रतिशत बढेको छ तर यसको औपचारिक तथ्यांक भने आउन बाँकी छ । पश्मिनाको कच्चापदार्थ आयातमा समेत ठगिन थालेपछि संघले सरकारसँगको सहकार्यमा ऊन उत्पादनको तयारी गरिरहेको श्रेष्ठले बताए ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक