वाइन उद्योगमा लगानीकर्ताले चासो देखाएनन्

             काठमाडौं, ३ जेठ
सरकारले फलफूलजन्य वाइन उद्योगको दर्ता तथा सञ्चालन खुला गरे पनि लगानीकर्ताले चासो देखाएका छैनन् । घरेलु तथा साना उद्योग विभागका अनुसार गत वर्षको वैशाखदेखि चालू वर्षको वैशाख मसान्तसम्म नवलपरासीमा दुई र जुम्लामा एक गरी तीन वटामात्र यस्ता उद्योग दर्ता भएका छन् ।
सरकारले नेपालमा फलफूलबाटै पनि मदिरा उत्पादन गर्न सकिने भएकाले यसको माध्यमबाट मदिरा आयात प्रतिस्थापन गर्ने उद्देश्य राखी गत वर्षदेखि दर्ता खुला गरेको हो । अघिल्लो वर्ष असार ३ मा मन्त्रिपरिषद्ले त्यसअघि फलफूलजन्य मदिरा उद्योग दर्तामा लाग्दै आएको प्रतिबन्ध फुकुवा गरेको थियो । उद्यमीहरूले फलफूलमा आधारित वस्तुबाट उत्पादित ब्रान्डी वाइनमात्र उत्पादन गर्न पाउने व्यवस्था छ ।
देशभरका वाइन उद्योगको संख्या र तिनको प्रकृतिबारे एकिन विवरण नभए पनि सरकारले फलफूलको ब्रांन्डीमा प्रतिबन्ध फुकुवा गरेपछि मुलुकभर जम्मा तीन वटामात्र उद्योग दर्ता भएको विभागले जनाएको छ । ब्रान्डी वाइनका लागि जिल्लास्तरीय विभागमा दर्ता भएका उद्योगहरू केन्द्रीय तहमा आउने प्रावधान छ । सरकारले हालसम्म मदिरा निषेधित क्षेत्र घोषणा गरेका स्थानमा लगाइएको प्रतिबन्ध भने यथावत् राखेको विभागले बताएको छ ।
यसअघि सरकारले देशभर मदिराजन्य उद्योगले गैरकानुनी रूपमा मदिरा बिक्री गरेको भन्दै वि.सं. २०५८ सालमा रोक लगाएको थियो । त्यसबेला भएका वाइनजन्य उद्योगलाई अन्य उद्योगमा प्रतिस्थापन गर्ने र नयाँ व्यवस्था नभएसम्म कुनै पनि प्रकारका मदिरा उत्पादन गर्ने उद्योग खोल्न नपाउने भन्दै रोक लगाइएको थियो ।
मदिराजन्य वस्तुको आयात दैनिकजसो बढ्दै गएपछि आयात प्रतिस्थापन गर्न भन्दै सरकारले सात वर्षपछि ०६५ मा प्रतिबन्ध फुकुवा गरेको थियो । यो निर्णयसँगै कृषिजन्य वस्तुको उत्पादन बढ्दै गएको र भएका फलफूल सडेर जानेजस्ता समस्या हटेको विभागले बताएको छ । सँगसँगै, स्वदेशी ब्रान्डीको बजारीकरण गरेर आयात प्रतिस्थापन गर्न पनि सघाउ पुगेको उसको भनाइ छ ।
भौगोलिक अनुकूलता भए पनि आयातमै निर्भर हुनुपर्ने अवस्था आएको भन्दै विभागले यस्ता वस्तु तथा  तथा जडिबुटीको बजारीकरण गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । विभागका अनुसार नेपालमा स्याउ, सुन्तला, अदुवा, निबुवा, मौसम, जटामसी, जुनारलगायतका वस्तुबाट ब्रान्डी उत्पादन हुने गरेको छ ।
कृषिमा प्रचुर सम्भावना हँुदाहँुदै पनि सरकारको छिनछिनमा परिवर्तन हुने निर्णयका कारण यस्ता उद्योग फस्टाउन नसकेको विभागको ठहर छ । विभागको तथ्यांकअनुसार हालसम्म झन्डै ५ सयको हाराहारीमा मदिराजन्य वाइन उत्पादन गर्ने उद्योग छन् । यद्यपि फलफूलबाट उत्पादन हुने ब्रान्डी उत्पादन गर्ने उद्योग भने अत्यन्त न्यून छन् ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक