Sunday, August 23, 2020

विकास खर्च सुस्त, चालू खर्च ह्वात्तै

 बजेट कार्यान्वयनको फेरिँदो प्रवृत्ति

विकास खर्च सुस्त, चालू खर्च ह्वात्तै

आर्थिक वर्षको अन्तिमतिर विकास बजेट ठूलो परिमाणमा खर्च हुने परम्परा चालू आर्थिक वर्षमा रोकिएको छ । खर्चको प्रवृत्ति हेर्दा यस वर्ष उल्टो अवस्था देखिन्छ । कोरोना महामारीले अर्थतन्त्र शिथिल भएपछि चालू आर्थिक वर्षमा सरकारको विकास खर्च न्यून देखिएको छ भने चालू खर्च हवात्तै बढेको छ । सरकारी आय व्ययको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको असार पहिलो साता (आठ गते) सम्म सरकारको चालू खर्च ६ खर्ब ९१ अर्ब पुगेको छ । यो खर्च सरकारले बजेटमार्फत लिइएको लक्ष्यको ७२.२६ प्रतिशत हो ।

बजेटले चालू आर्थिक वर्षमा ९ खर्ब ५७ अर्ब चालू खर्च गर्ने लक्ष्य लिएकोमा मध्यावधि समीक्षामार्फत अनुमानित लक्ष्य घटाएर ९ खर्ब ४ अर्ब खर्च हुने अनुमान गरेको छ । संशोधित अनुमान अनुसार सरकारले चालू आर्थिक वर्षमा संशोधित लक्ष्यकोे ९४.५ प्रतिशत अर्थात ७ खर्ब १ अर्ब खर्च गर्ने सरकारको लक्ष्य छ । 
यही अनुपातमा खर्च भएमा चालू खर्च अझै बढ्न सक्ने निश्चित छ । विगतका वर्षहरूमा अन्तिम महिनामा आएर विकास बजेट खर्च हुने देखिए पनि चालू आर्थिक वर्षमा बजेट खर्चको अवस्था उल्टो देखिएको अर्थशास्त्री केशव आचार्य बताउँछन् ।आचार्य भन्छन्, “विगतमा चालू खर्च कम हुन्थ्यो, विकास बजेट बढी हुने परम्परा थियो अहिले बजेट खर्च उल्टो देखिएको छ ।” उनले स्रोतहरू सुकेको बेला सरकारले मितव्ययिता अपनाउनु पर्नेमा फजुल खर्चमा ध्यान दिएकोमा चिन्ता व्यक्त गरे । “कोरोना महामारीले अर्थतन्त्र सुस्त हुँदा यसको असर सर्वत्र छ,” आचार्य भन्छन्, “यस्तो बेला सरकारले बजेट खर्चमा एकदमै मितव्ययिता अपनाउनु पर्ने हो, तर त्यो देखिएन, फजुल खर्चमा बढी ध्यान दिइयो ।” 
अर्थ मन्त्रालयले राजस्वमा चाप परेपछि गत चैतमा १४ ओटा शिर्षक मार्फत जाने रकममा कटौती गरेको थियो । खर्चमा कटौती गरिरहेको बताए पनि अनिवार्य दायित्वका कारण चालू खर्चमा तात्विक भिन्नता आउन नसकको मन्त्रालयले जनाएको छ । नेपालका कोरोनाको प्रभाव देखिनु पहिले नै अर्थमन्त्री डा.युवराज खतिवडाले असारे विकासमा रोक लगाउने भुक्तानी नगर्ने ठेक्कापट्टाका काम रोक्ने बताएका थिए । तर कोरोनका कारणले खर्च हुन नसकेर राज्यलाई वित्तीयभार थपिएपछि सरकारले आफ्नै निर्णयलाई कार्यान्वयन गर्न सकेको छैन । चालू आर्थिक वर्षमा सरकारले बजेटमार्फत ४ खर्ब ८ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । 
आर्थिक वर्षको शुरुवाती समयदेखि नै पुँजीगत खर्चमा सुस्तता आएपछि मध्यावधि समीक्षा मार्फत खर्चको लक्ष्य घटाएर ३ खर्ब ३६ अर्बमा झारेको छ । संशोधित लक्ष्यको ८० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएको सरकारले अन्तिम महिनाको पहिलो सातासम्म जम्मा करिब ३२ प्रतिशत अर्थात १ खर्ब ३० अर्ब मात्रै खर्च भएको छ ।
सामान्यतया जेठ महिनामा चालू खर्च बराबरकै पुँजीगत खर्च र असारमा चालू खर्चभन्दा पनि पुँजीगत खर्च बढी हुने गरेको अवस्था छ । आम्दानी नभएपछि चालू आर्थिक वर्षमा खर्च घटाउनु पर्ने अर्का अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउँछन् । देशलाई संकट परेको बेला फजुल खर्च गर्न नहुने र ढुकुटी बचाउन सरकार गम्भिर हुनुपर्ने उनको तर्क छ । “लकडाउनका कारण अर्थतन्त्र सुस्त छ, यस्तो अवस्थामा खर्च कटौतीमा सरकारले ध्यान दिनु पर्ने थियो त्यतातिर सरकारको ध्यान पुगेन,” उनी भन्छन् । महालेखाका अनुसार आर्थिक वर्ष ०७३÷०७४ को जेठ मसान्तमा एक दिनमै १ दिन साढे ४ अर्ब रुपैयाँ खर्च भएको थियो भने ०७४÷०७५ को जेठ मसान्तको अन्तिम दिन ५ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको थियो । गत वर्ष ०७५÷०७६ मा जेठ मशान्तमा एकै दिनमा साढे ५ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत खर्च भएकोमा चालू आवको जेठ महिनामा जम्मा १२ अर्ब रुपैयाँको पुँजीगत खर्च भएको छ । 
महालेखाका अनुसार चैत, वैशाख र जेठमा भएको खर्चमा पुँजीगत खर्चको हिस्सा ११ प्रतिशतमात्र छ । गतवर्ष वैशाख र जेठमा भएको खर्चमा पुँजीगत खर्चको हिस्सा ३८ प्रतिशत छ भने चालू आर्थिक वर्षको सोही अवधिमा चालू खर्च भने २ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।
लकडाउनको करिब ३ महिनाको अवधिमा राजस्व भने १ खर्ब रुपैयाँबराबरको मात्र उठेको छ । जसमा चैत १ देखि १० गतेको बीचमा १७ अर्ब रुपैयाँ र लकडाउनपछिका ८२ दिनमा ८३ अर्ब रुपैयाँ मात्र राजस्व उठेको महालेखाले जनाएको छ । “चालू खर्च घटाउन सक्ने अवस्था छैन,” आचार्य भन्छन्, “अन्य अतिरिक्त खर्च घटाएर भुक्तानी मिलाउनुको पनि विकल्प छैन ।” महालेखाका अनुसार असार पहिलो सातासम्मको सरकारको कुल आम्दानी लक्ष्यको ६१.१० प्रतिशत अर्थात ६ खर्ब ७९ अर्ब पुगेको छ । चालू आर्थिक वर्षमा बजेटमार्फत ११ खर्र्ब १२ अर्बको लक्ष्य लिएकोमा यसलाई मध्यावधि समीक्षामार्फत संशोधन गर्दै यस वर्ष १० खर्ब ५६ अर्ब राजस्व उठाउने लक्ष्य राखिएको छ ।

Saturday, August 22, 2020

संकट टार्न थप राहत प्याकेज

कोरोनाभाइरस (कोभिड–१९)ले प्रभावित क्षेत्रमा पर्न गएको संकट टार्न सरकारले थप राहत प्याकेज ल्याउने तयारी गरेको छ । कोरोना महामारीबाट बच्न करिब चार महिनादेखि जारी लकडाउन र त्यसबाट पर्न गएको मानवीय र वित्तीय संकलटलाई मध्यनजर गर्दै सरकार थप राहत प्याकेज ल्याउने तयारीमा जुटेको हो ।

कोरोनाले नेपालको समग्र क्षेत्रमा पारेको असरबारे पत्ता लगाउन विज्ञहरूको समूह गठन गरेर विस्तृत अध्ययन भइरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । अध्ययनपछि कुन क्षेत्रमा के कति असर परेको छ र कुन क्षेत्रलाई वर्गलाई समूहलाई के कस्तो राहत दिने निक्र्योल हुने छ । आयोगका अनुसार सरकारको चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिले समावेश गर्ननसकेका क्षेत्र र वर्गलाई लक्षित गरी आवश्यकताका आधारमा थप राहतका कार्यक्रहरू आउने छन् । त्यससँगै नेपालमा कोरोनाले पारेको असरको बिस्तृत खाँका तयार हुने छ । सरकारले गर्नुपर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनालाई समावेश गरी गरिएको अध्ययन र ढाँचासहितको प्रतिवेदन आगामी साता सार्वजनिक गर्ने सरकारको तयारी छ । “हामीले बजेटअघि नै प्रतिवेदन तयार गर्नेगरि काम सुरु गरेका थियौं, तर कोरोनाका कारण हामीलाई पर्याप्त तथ्यांक उपलब्ध हुन सकेनन्,” अध्ययनमा संलग्न एक उच्च अधिकारीले कारोबारसँग भने, “साउन १५ सम्म प्रतिवेदन सार्वजनिक गर्नेगरि काम भइरहेको छ ।” ती अधिकारीका अनुसार गत वर्षको वार्षिक रिपोर्ट आइसकेको र विगतका रिपोर्टहरूसँग तुलना गर्न समेत सहज हुने भएकोले केही दिनभित्रै प्रतिवेदन तयार हुने छ । विज्ञहरूको टोलीले तयार पारेको अध्ययन प्रतिवेदन आयोगले यही साउन १५ भित्र सार्वजनिक गर्ने अनौपचारिक कार्यतालिका रहेको छ । यसरी गरिएको अध्ययनलाई मूर्त रूप दिन र त्यसलाई यथाशक्य छिटो कार्यान्वयनमा लैजाने सरकारको रणनीति छ । निक्कै महत्वकांक्षी र रणनीतिक तरिकाले गरिएको अध्ययनमा कोरोनाका कारण सामाजिक मानव र वित्तीय संकटको अलवा शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद लगायतका यावत क्षेत्र समेटिएका छन् ।

“कोभिड १९ ले अर्थतन्त्रको सामाजिक आर्थिक क्षेत्रमा के प्रभाव पारेको छ, त्यो प्रभावलाई सम्बोधन गर्न के कस्तो उपायहरू तत्कालै एक वर्षभित्र, तीन वर्षभित्र र पाँच वर्षभित्रमा अवलम्बन गर्नुपर्छ र ती उपायहरूको कार्यान्वयन गर्दा के कुराहरू अपनाउनु पर्छ भन्ने कुरालाई बिश्लेषण गर्नेगरि हामी अध्ययनमा लागेका हौं,” ति अधिकारीले भने “असार मसान्तसम्मको तथ्यांकलाई आधार मानेर गर्ने हो ।” उनले अधिकांश विकासे मन्त्रालयलबाट तथ्यांक पाउन कठिन हुँदा अध्ययनमा ढिलाई भएको समेत बताए ।

 करिब तीन महिना अघि सरकारका प्रवक्ता एवं अर्थ तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पनि कोरोनाबाट प्रभावित क्षेत्रको लगत संकलन गर्ने कार्य शुरु भइसकेको बताएका थिए । “बजेट र मौद्रिक नीति आउनु पहिले सरकारलाई ठूलो दबाब थियो त्यही भएर छिटो भन्दा छिटो लगत तथ्यांक आएमा बजेटमा समावेश गर्न सकिएला भन्ने थियो तर त्यो संभव भएन,” ति अधिकारीले भने, “महामारी अनिश्चित भए पनि असार मसान्तसम्मका प्रगति विवरणहरूका आधारमा अलिकति तथ्यपरक प्रतिवेदन तयार गर्न सकिएला भनेर हामीले साउन १५ सम्मको समय लिएका हौं ।” उनले प्रतिवेदन सार्वजनिक भएसँगै सरकारलाई लय समाउन सहज हुने र कोरोनाको क्षतिको आँकडा पत्ता लगाउन सहज हुने पनि बताए ।

नेपालमा कोरोनका कारण यत्तिनै क्षति भयो भन्ने यकिङ विवरण हालसम्म नआएपनि बिभिन्न निकाय तथा क्षेत्रहरूले आ–आफ्नै तरिकाले अध्ययन गरि तथ्याँक सार्बजनिक गरेका छन् । अध्ययनबाट सरकारको आधिकारिक तथ्यांक समेत आउने भएकोले सरकारलाई योजना तर्जुमा र कार्यान्वयनमा सघाउ हुने छ । विश्व बैंकले कोरोना महामारीले निम्त्याएको असरपछि दक्षिण एसियाको आर्थिक वृद्धि ४० वर्षयताकै कमजोर हुने आँकलन गर्दै संसारका थुप्रै राष्ट्रहरूको आर्थिक बृद्धिदर सन ०१९÷०२० मा ऋणात्मक हुने प्रक्षेपण गरेको छ जसका कारण तीन करोड नागरीक गरिबीततर्फ धकेलिने आकलन गरिएको छ तर नेपालमा कोरोनाको प्रभावले सबै क्षेत्र जर्जर भएको भनिएपनि औपचारिक तथ्यांक बाहिर आउन सकेको छैन । नेपालमा कोरोनका कारण ४० जनाले ज्यान गुमाइसकेका छन् ।

https://www.karobardaily.com/news/economy/34113


सरकारको ढुकुटी ऋणात्मक

सरकारको ढुकुटी ऋणात्मक

कोरोना महामारीका कारण लक्ष्यअनुसार राजस्व असुली नभएपछि सरकारको ढुकुटी ऋणात्मक देखिएको छ । सरकारी हिसाब राख्ने महालेखाको तथ्यांकअनुसार चालू आर्थिक वर्ष सकिन ९ दिन बाँकी रहँदा सरकारको ढुकुटी ९ अर्ब ऋणात्मक अवस्थामा छ । यो समाचार तयार पार्दासम्म सरकारको राजस्व आम्दानी ७ खर्ब ६ अर्ब रहेको छ । यस्तै विदेशी अनुदान र ऋण गरी कुल ६२ अर्ब पुगेको छ भने आन्तरिक ऋण १ सय ९३ असुली गरिसकेको छ ।

अर्थविद् राजु नेपाल भन्छन् “यति गर्दा सरकारको जम्मा स्रोत ९ अर्ब ६१ अर्ब हुन आउँछ, जब कि चालू खर्च ७३५ अर्ब, विकास खर्च १४१ अर्ब र वित्त ब्यवस्थापनतर्फ ९४ अर्ब गरी ९७० अर्ब खर्च भएको छ, यसरी हेर्दा पनि सरकार अहिले ९ अर्ब घाटामा छ ।” उनकाअनुसार विगतका वर्षहरूमा जस्तो सहज अवस्था अहिले छैन । सरकारले बाँकी दिनमा उठाउने भनेको २० देखि २५ अर्ब मात्रै हो । यसरी हेर्दा सरकार यस वर्ष ६० देखि ७० अर्ब घाटामा जाने देखिने उनले बताए । गत वर्ष अन्तिम तीन दिनमा १ खर्बको चेक जारी भएको थियो ।

कोरोना महामारीले पछिल्लो तीन महिना काम हुन नसकेपछि यस वर्ष त्यो सम्भावना पनि टुटेको छ । जसले गर्दा सरकारको कुनै पनि लक्ष्य पूरा हुने अवस्था देखिँदैन । नेपाल भन्छन्, “अहिले नै यस्तो हुन्छ भने अर्को आर्थिक वर्ष लागेपछि शुरुमै राजस्व उठने अवस्था छैन ।” वर्षको सुरुवातमा लकडाउनका कारण व्यापार व्यवसाय चौपट हुँदा भन्सार राजस्व उठ्ने सम्भावना पनि कम छ ।

सबै गाडीहरू नचलेकोले पनि पेट्रोलियम पदार्थको आयात बढ्ने देखिदैन । यसबाहेक आयकर, अन्तशुल्क पनि नउठने र बजेटरी सिस्टमबाट दाताहरूसँग पैसा ल्याउन पनि सक्ने अवस्था छैन । नेपाल भन्छन्, “सर्वोच्चले समेत लकडाउन पूरा खुलिसकेको १ महिनापछि मात्रै कर तिर्नु भन्ने आदेश दिएको छ, यी कारणले अर्को आर्थिक वर्षको सुरुवातमै सरकारलाई तलब खुवाउनै गारो देखिन्छ ।” यद्यपि यही अवधिमै पनि ६० देखि ७० अर्बको राजस्व संकलन गनसक्ने नेपालको आकलन छ ।

पूर्व अर्थसचिव डा. शान्तराज सुवेदी पनि विगतका वर्षहरूमा जस्तो सहजै लक्ष्य पूरा हुनेमा विश्वस्त छैनन् । यद्यपि आयकरको अन्तिम किस्ता बुझाउने समय भएको र कल कारखाना, उद्योग ब्यवसाय चलेका कारण वर्षको अन्तिम दुई दिनमा उल्लेख्य राजस्व असुली हुनेमा भने उनी आशावादी छन् । “यदी ढुकुटी धेरै नै ऋणात्मक भयो भने ओभरड्राफ्ठ लिनु पर्ने हृुन्छ अन्यथा सामान्य अवस्थामा हो भने त्यसले खासै फरक पार्दैन, अर्को वर्षमा लयमा फर्किन्छ,” उनी भन्छन्, “लक्ष्य त पूरा नहुने नै देखियो ।”

सरकारले चालू आर्थिक वर्षका लागि ११ खर्र्ब १२ अर्ब राजस्व असुलीको लक्ष्य राखेर १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो । बजेटले चालू आर्थिक वर्षमा ९ खर्ब ५७ अर्ब चालू खर्च गर्ने लक्ष्य लिएकोमा मध्यावधी समिक्षा मार्फत अनुमानित लक्ष्य घटाएर ९ खर्ब ४ अर्ब खर्च हुने अनुमान गरेको छ । संशोधित अनुमान अनुसार सरकारले चालू आर्थिक वर्षमा संसोधित लक्ष्यकोे ९४.५ प्रतिशत अर्थात ७ खर्ब १ अर्ब खर्च गर्ने सरकारको लक्ष्य छ । यही अनुपातमा खर्च भएमा चालू खर्च अझै बढ्न सक्ने निश्चित छ । बिगतका वर्षहरूमा अन्तिम महिनामा आएर बिकास बजेट खर्च हुने देखिए पनि चालू आर्थिक वर्षमा बजेट खर्चको अवस्था बढ्न सक्ने अवस्था छैन । महालेखाका अनुसार आइतबार मात्रै सरकारले ८ अर्बको चालू खर्चको चेक इस्यू गरेको छ । कतिपय विकास खर्चको चेक इस्यू अझै हुनै बाँकी छ । यति मात्रै होइन पर्याप्त राजस्व उठन नसकेपछि सरकारले बजेट मार्फत दिने भनेको १५० अर्बको भुक्तानी दिन सकेको छैन । कोरोनापछिको अर्थतन्त्र सुधार गर्न भन्दै सरकारले बजेट मार्फत बैकहरूलाई पुनर्कर्जाका लागि भनेर १५० अर्ब छुट्याएको छ ।

चालू आर्थिक वर्षमा सरकारले बजेटमार्फत लिइएको लक्ष्यमा संशोधन गर्दै ८२७ अर्ब राजस्व असुली गर्ने लक्ष्य लिएको छ । यस्तै ३ अर्ब वैदेशिक अनुदान र १२१ बैदेशिक ऋण लिने लक्ष्य लिएको सरकारको बिकास खर्च नहुदा बजेटरी प्रणालीबाट आउने ऋण र अनुदान पनि अत्यन्तै कमजोर छ । यद्यपि १९५ अर्ब आन्तरीक ऋण असुली गर्ने लक्ष्य लिएको सरकारले १९३ अर्ब यस्तो ऋण लिइसकेको छ ।
अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहाकार भइसकेका योजना आयोगका पूर्व सदस्य प्रा .डा. गोविन्द नेपाल पनि खर्च कटौतीमा सरकारले ध्यान दिनु पर्ने सुझाव दिन्छन् । सामान्यतया जेठ महिनामा चालू खर्च बराबरकै पुँजीगत खर्च र असारमा चालू खर्चभन्दा पनि पुँजीगत खर्च बढी हुने गरेको इतिहाँस छ । “लकडाउनका कारण अहिले यो अवस्था छैन, सबैजसो अर्थतन्त्र सुस्त छ”उनी भन्छन् “यस्तो अवस्थामा खर्च कटौतीमा सरकारले मितब्ययीता अपनाउनु जरुरी छ ।

बजेट खर्च गर्न नसकेको भन्दै सरकारको आलोचना

बजेट खर्च गर्न नसकेको भन्दै सरकारको आलोचना

आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले सरकारको आलोचना गरेका छन् । राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा खासगरी मन्त्रालयहरुको योजना कार्यन्वयन गर्न मन्त्रीहरुले नसकेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले तीव्र असन्तुष्टि जनाएका हुन् । संसद रामनारायण विडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने बताउँदै साउनबाटै काम सुरु गर्ने भनेर असारमा बजेट ल्याएको स्मरण गराए । साउनबाट फटाफाट काम गर्न के ले रोक्यो, उनले मन्त्रीहरुलाई प्रश्न समेत गरे ।

सांसद विडारीले राष्ट्रियसभाबाट जति सुझाव दिए पनि बजेटमा कुनै परिवर्तन नहुने कुराको विरोध गर्दै बजेट संशोधन गर्दैमा सरकार तलमाथि नहुने पनि बताए । यस्तै, बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद मृगेन्द्रकुमार कुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौन धारण गरे । उनले सांसदहरुलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै विरोधस्वरुप १० सेकेण्ड मौनधारण गरेका थिए । बैठकमा सांसद जितेन्द्र नारायण देवले संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले कर्मचारी बैठक भत्ता २१ लाख रुपैयाँ छुट्याएको भन्दै विरोध पनि गरे ।

यस्तै, सरकारले संशोधित अनुमान अनुसार असार महिनामा प्रतिदिन ६ अर्ब ५१ करोड २४ लाख रुपैयाँ बराबर पुँजीगत बजेट खर्च गर्नुपर्ने भएको छ । ११ महिनासम्म प्रतिदिन ९७ करोड ८४ लाख ८० हजार रुपैयाँका दरले खर्च गरेको सरकारले असार महिनामा प्रतिदिन ६ अर्ब ५१ करोड २४ लाख रुपैयाँ पुँजीगत बजेट खर्च गर्नुपर्ने भएको हो । ११ महिनाको अवधिमा सरकारले करिब ३१ प्रतिशत अर्थात १ खर्ब २४ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ ।

सरकारले चालू आर्थिक वर्षका लागि ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकामा खर्चको गति निकै सुस्त भएपछि ८०.१ प्रतिशत अर्थात ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको थियो । तर, विश्व व्यापीरुपमा फैलिएको कोरोना संक्रमणका कारण ८२ दिनसम्म गरिएको लकडाउनका कारण विकास निमार्णको प्रायः ठप्प हुदा संशोधित अनुमान अनुसार पुँजीगत बजेट सक्न सरकार असफल हुने निश्चित देखिएको छ ।

 संशोधित अनुमान अनुसार ३१ दिनको अवधिमा सरकारले १ खर्ब १ अर्ब ८८ करोड ६८ लाख खर्च गर्नुपर्छ । त्यो भनेको ६ अर्ब ५१ करोड २४ लाख रुपैयाँ बराबर पुँजीगत बजेट खर्च हो । तर, असार महिनाको पहिलो दिन जम्मा १ खर्ब १३ करोड ९ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगत बजेट सक्न असफल हुने निश्चित देखिएपनि चालू खर्चले भने संशोधित लक्ष्य भेट्ने देखिएको छ । सरकारले ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख चालु खर्चमध्ये ९४.५ प्रतिशत खर्च हुने संशोधित अनुमान गरेकामा जेठ मसान्तसम्म ७० दशमलव शून्य छ प्रतिशत अर्थात ६ खर्ब ६५ अर्ब २६ करोड ४५ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

अर्थमन्त्रीको सम्बोधनभन्दा बजेटका अंक फरक

 अर्थमन्त्रीको सम्बोधनभन्दा बजेटका अंक फरकजेठ १५ मा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत गर्दै राजस्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्चमा पर्ने चापलाई ध्यान दिएर प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै बजेट कटौतीको घोषणा गरे । अर्थमन्त्रीले बजेट भाषणमा खर्च घटाएको भनिएका कतिपय शीर्षकमा भने बजेट थप भएर आएको पाइएको छ । बजेट यथावत राखेको र बढी विनियोजन भएको भनिएको शीर्षकमा बजेट नै छैन ।

यस्तो भेटिएपछि मितव्ययिता अपनाएर बजेट ल्याएको भनेर प्रतिपक्षबाट समेत कम आलोचना खेपेका अर्थमन्त्रीको कार्यशैलीको विश्वसनियतामा गम्भीर प्रश्न उठेको छ । बजेट भाषणमा अर्थमन्त्रीले कार्यालय सञ्चालन, इन्धन, मर्मत, आन्तरिक र वैदेशिक भ्रमण, गोष्ठी, सेमिनार, परामर्श, सहायता, भैपरी खर्च, फर्निचर, सवारीसाधन खरीद र मर्मत खर्चमा उल्लेख्य कटौती गरेको उल्लेख गरेका थिए । तिनै अधिकांश शीर्षकमा बजेट थप भएर आएको छ ।

कोरोनाभाइरस महामारीका कारण आन्तरिक र वाह्य आवागमन कहिले सामान्य अवस्थामा फर्किने हो भन्ने अनिश्चय कायम रहे पनि कर्मचारीको भ्रमणका लागि भने खर्च बढाइएको छ ।अर्थ मन्त्रालयका अनुसार कर्मचारीले आन्तरिक र वैदेशिक भ्रमण गर्दा गर्ने खर्चका लागि चालू आर्थिक वर्षमा १ अर्ब ५८ करोड रुपैयाँ छुट्याइएकोमा आगामी आर्थिक वर्षमा त्यसलाई बढाएर १ अर्ब ६६ करोड पु-याइएको छ । यस्तै, कर्मचारीले पाउने वैदेशिक भत्ता पनि चालू आर्थिक वर्षमा ७५ करोड ५५ लाख विनियोजन गरिएकोमा आगामी वर्षमा त्यसलाई १० प्रतिशतले बढाएर  ८२ करोड ८९ लाख पु-याइएको छ । त्यस्तै भैपरी आउने कार्यक्रम शीर्षकमा बजेट विनियोजन आगामी आर्थिक वर्षमा १८ प्रतिशत बढेको छ । 

चालू आर्थिक वर्षमा कार्यक्रम बजेट शीर्षकमा ३४ अर्ब ४० करोड विनियोजन गरिएकोमा आगामी वर्ष ४० अर्ब ५७ छुट्याइएको छ । सरकारले गर्ने सेमिनार, गोष्ठी लगायतका कतिपय कार्यक्रम अनावश्यक र खर्चिलो हुने गरेको भनी आलोचना हुने भएकोले सरकारले यस्तो रकम विनियोजन पनि बढाएको छ । अर्थमन्त्रीले दिँदै फर्निचर र फिक्चर्सको खर्च कटौती गरिएको घोषणा गरे पनि बजेटमा रकम विनियोजन भने बढेको छ ।

 फर्निचर र फिक्चर्समा खर्च गर्न चालू आर्थिक वर्षमा १ अर्ब ३० करोड छुट्याएकोमा आगामी आर्थिक वर्षका लागि १ अर्ब ३७ करोड पु-याइएको छ । यो शिर्षकमा अर्थशास्त्री डा. डिल्लीराज खनाल संयोजकत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगले फर्निचर र फिक्चर्समा जथाभावी खर्च भइरहेको भन्दै यसको नियन्त्रणका लागि सरकारलाई सुझाव दिएको थियो ।राष्ट्रपति कार्यालयले १ करोडको गलैंचा खरीद गर्न लागेको विषय पनि अहिले विवादमा परेको छ । तर, सरकारले आगामी वर्षका लागि पनि फर्निचर र फिक्चर्समा रकम विनियोजन बढाएको पाईएको छ ।यता फजुल खर्च कटौतीमा निर्मम बन्न नसके पनि सरकारले कतिपय सामाजिक क्षेत्रको बजेट भने कटौती गरेको छ । तर चालू आर्थिक वर्षमा सवारीसाधन खरीद नगर्ने निर्णय गरेको अर्थमन्त्रालयले यो शिर्षकमा आगामी आर्थिक वर्षका लागि रकम छुट्याइएको छ 1आगामी आर्थिक वर्षका लागि सवारीसाधन खरीद गर्न ८८ करोड ४० लाख विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा सवारी साधन किन्न  १ अर्ब ६८ करोड छुट्याइएको थियो ।मन्त्री खतिवडाले संघीय सरकराको स्रोतमा संकुचन हुने अनुमान भए पनि वित्तीय संघियता कार्यान्वयनलाई प्राथमिकता दिएको बताउँदै प्रदेश र स्थानीय तहमा बित्तिय हस्तान्तरण भई जाने समानीकरण समपुरक र विशेष अनुदानको रकम यथाबत राखेको बताएक थिए । तर प्रदेशको लागि समग्रमा चालू वर्षभन्दा ३ करोड बढी अनुदान विनियोजन गरेको बताएपनि याथार्थमा चालू आर्थिक वर्षको तुलनामा ९ अर्ब रुपैयाँभन्दा पनि कम रकम मात्रै विनियोजन गरिएको छ ।

विशेष र समपूरक अनुदानको लागि प्रदेश र स्थानीय तहलाई गरी चालू वर्षमा १०-१० अर्ब रुपैयाँ विनियोजन गरिएकोमा आगामी बर्षकालागि ९ अर्ब ९६ करोड र ९ अर्ब ९७ करोड गरि ७ करोड रुपैयाँ घटाइएको छ ।सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेर १४ खर्ब ७४ अर्बको बजेट सार्वजनिक गर्ने बेलामा मन्त्री खतिवडाले कार्यालय सञ्चालन इन्धन मर्मत, सहज अवस्था आएपछि हुने आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी सेमिनार परामर्श, साहायता भैपरि खर्च र फर्निचर सवारीसाधन खरिद तथा मर्मत खर्चमा उल्लेख्य बजेट कटौती गरेको दाबी गरेका थिए । अर्थमन्त्रीले ८ खर्ब ८९ अर्व ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेर गत साता सार्वजनिक गरिएको बजेटमाथि संसदको दुवै सदनमा विभिन्न शिर्षकमा दफावार छलफल भइरहेको छ । यो बजेट साउनदेखि कार्यान्वयनमा आउने छ ।

https://www.karobardaily.com/news/economy/32656


सार्वजनिक खर्च र आम्दानी गर्दा पारदर्शीता हुनुपर्छ : मैनाली

 

सार्वजनिक खर्च र आम्दानी गर्दा पारदर्शीता हुनुपर्छ : मैनाली

सार्वजनिक खर्चलाई कसरी व्यवस्थित, पारदर्शि बनाउने र हालको अवस्थाका विषयमा भएको छलफलमा महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनाली, पूर्व महालेखा नियन्त्रक सुरेश प्रधान, पेफा सचिवालयका संयोजक रमेशप्रसाद शिवाकोटीसहित आर्थिक पत्रकारहरु सहभागी रहेको थियो ।

कार्यक्रममा महालेखा नियन्त्रक मैनालीले सार्वजनिक खर्च र आम्दानी गर्दा कर्मचारीले विवेकसिल मन प्रयोग गर्नुपर्ने बताए । सार्वजनिक खर्च र आम्दानीमा पारदर्शिता रहेको दाबी गर्दै उनले पहिलो गोपनियतालाई प्राथमिकता दिने गरेकोमा अहिले पारदर्शितालाई प्राथमिकता दिने गरिएको बताए । खर्च भएपनि पारदर्शि रुपमा भएन भन्ने गुनासो सधैं आउने गरेको भन्दै उनले पछिल्ला दिनमा पारदर्शितामा निकै सुधार आएको जिकिर गरे । “पारदर्शी छौं, पारदर्शितामा कमजोर छैनौं ।” उनले भने ।
उनले विकास खर्चको समीक्षा प्रणाली रहेको भन्दै उनले भुक्तानी प्रक्रियामा पनि कुनै समस्या नरहेको बताए । अनलाइनमार्फत समेत भुक्तानी प्रक्रिया सुरु भइसकेको उनले बताए ।

सरकारको आम्दानी र खर्चको अवस्था
चालू आर्थिक वर्षको जेठ २१ गतेसम्मको तथ्यांक अनुसार सरकारको कुल प्राप्ति ६ खर्ब ८२ अर्ब ५७ करोड रहेको कार्यालयले जनाएको छ । कुल प्राप्तिमा करतर्फबाट ५ खर्ब ७० अर्ब, गैरकर ५७ अर्ब र अनुदान एवं अन्य आम्दानी ५५ अर्ब रहेको मैनालीले बताए । यो लक्ष्यको तुलनामा करिब ५८ प्रतिशत हो ।
यस्तै हालसम्म ८ खर्ब २७ अर्ब कुल खर्च भएको छ । त्यसमध्ये ६ खर्ब २२ अर्ब चालू र १ खर्ब २० अर्ब पुँजीगत रहेको छ भने वित्तीय व्यवस्थातर्फ ८४ अर्ब खर्च भएको जनाइएको छ ।
महालेखा नियन्त्रक मैनालीले कतिपय आयोजनाको भुक्तानी भएपनि रिर्पोटिडमा ढिलाई हुँदा विकास खर्चको आकार बढ्न सक्ने बताए ।
संघीय लेखा समूहबाट स्थानीय तहमा कर्मचारी गए सहज हुने मैनालीले बताए । यस विषयमा विभिन्न नगरपालिका एवं गाउँपालिका प्रमुखसँग कुरा गर्दा उनीहरुको चाहना पनि सोही रहेको भन्दै संघीय लेखा समुहबाट कर्मचारी स्थानीय तहमा पठाउँदा सहज हुने उनले बताए ।
कार्यक्रममा पूर्वमहालेखा नियन्त्रक प्रधानले बजेट बनाउँदा कार्यान्वयनको समेत प्रभावकारी योजना बनाइए खर्च हुन कुनै समस्या नहुने बताए । उनले सार्वजनिक खरिद योजनालाई प्रभावकारी ढंगले परिचालन गरिनुपर्नेमा जोड दिए । उनले खरिद व्यवस्थाका कारण खर्च हुन नसकेको बताए । एकल खाता कोषमा सुधार गर्दै जाँदा पारदर्शिता पनि बढ्दै जाने उनको भनाई छ ।
पेफाका संयोजक शिवाकोटीले पेफा सचिवालयबाट विभिन्न ९ वटा निकायमा सुधारको काम गरिरहेको बताए । उनले बजेट र राजस्व, सार्वजनिक लेखा समिति, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय योजना आयोगलगायत ९ निकायमा सुधारका लागि समन्वयको काम गरिरहेको उनले बताए । उनले सार्वजनिक खर्च तथा व्यवस्थापनका विषयमा बजेट अडिटलगायत ७ वटा डाइमेन्सनका ३१ वटा इन्डिकेटरको आधारमा मूल्यांकन गरेर अगाडि बढेको उनले जानकारी गराए ।


 
कोरोना रोकथामका लागि ९ अर्ब ८६ करोड खर्च

महालेखा नियन्त्रक मैनालीले हालसम्म कोरोना रोग उपचार, रोकथाम तथा नियन्त्रणका लागि ९ अर्ब ८६ करोड खर्च भएको बताए । यो संघीय, प्रदेश र स्थानीय तहसमेत जोड्दा रहेको उनले बताए ।
संघीय कोरोना कोषमा २ अर्ब २१ करोड रुपैयाँ संकलन भएको, प्रदेश कोरोना कोषमा १ अर्ब ९९ करोड र स्थानीय तहमा ४ अर्ब रुपैयाँ जम्ममा भएको उनले जानकारी दिए ।

एक दर्जन बढी वस्तुमा अन्तःशुल्क घट्यो

 

एक दर्जन बढी वस्तुमा अन्तःशुल्क घट्यो

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत हवाई इन्धन र एलपी ग्यासबाहेकका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहनामा लाग्ने भन्सार महसुल वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बिहीबार बजेट सार्वजनिक गर्दैै धुम्रपान र मध्यपानमा कर वृद्धि गरिएको जानकारी दिएका हुन् । “एक दर्जन बढी वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाएको छु” मन्त्री खतिवडाले भने, “चुरोट, सिगार, गुट्खा, पान मसलामा स्वास्थ्य जोखिम कर सामान्य वृद्धि गरेको छु ।” विदेशबाट आयात हुने मदिराको कच्चा पदार्थमा भन्सार शुल्क बढाएको मन्त्री खतिवडाले जानकारी दिए । उनले उद्योगले पैठारी गर्ने औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको भन्दा कम्तीमा एक तह कम गर्न थप केही वस्तुको कच्चा पदार्थको भन्सार महसुल घटाएको बताए । “औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापना हुने विशेष उद्योगलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने आयकरमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु” उनले भने । यस पटकको बजेटमा सवारीसाधनको करहरुमा परिवर्तन गरेको छैन ।

व्यक्तिगत आयकर यथावत
सरकारले व्यक्तिगत तर्फ आयकरमा दिने छुटको सीमामा भने परिवर्तन गरेको छैन । अहिले व्यक्तिगत आयकर तर्फ अविवाहित व्यक्तिले ४ लाख र विवाहितले साढे ४ लाखसम्मको आम्दानीमा १ प्रतिशत कर तिर्नुपर्छ । त्यसपछिको थप १ लाख आम्दानीमा १० प्रतिशत कर लाग्छ । त्यसपछि ५ लाखसम्मको आम्दानीमा ५ प्रतिशत कर लाग्छ । ५ देखि ७ लाखसम्मको आम्दानीमा २० प्रतिशत कर लाग्छ । ८ देखि २० लाखसम्मको २० प्रतिशत कर लाग्छ । २० लाखभन्दा बढीको आम्दानीमा ३६ प्रतिशत कर लाग्छ ।
स्थानीय सरकारमा सहकारी कर
बजेटले नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कारोबार गर्ने सम्पूर्ण सहकारीलाई क्रमश ५, ७ र १० प्रतिशत आयकर लगाएको छ । अर्थमन्त्री डा.खतिवडाले व्यक्तिगत तर्फ आयकरमा दिने छुटको सीमामा भने परिवर्तन गरेको छैन ।
औषधीलाई भ्याट छुट
मन्त्री खतिवडाले औषधि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको पैठारीमा मूल्य अभिवृद्धि कर छुट दिएको बताए । उनले भने, “त्यस्तो वस्तु स्वदेशी उद्योगबाट खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्था मिलाएको छु ।” आयुर्वेदिक औषधीको कच्चा पदार्थको भन्सार महसुल घटाएको छु सेनिटाइजरको कच्चा पदार्थको रूपमा प्रयोग हुने आन्तरिक उत्पादनको इथानोल तथा पिपिईमा अन्तःशुल्क छुट दिएको छु ।”

साना उद्यमलाई राहात
मन्त्री खतिवडाले वार्षिक २० लाखसम्म कारोबार गर्ने साना करदाताले आय विवरण र कर मोबाइल एप्स लगायत अन्य विद्युतीय माध्यमबाट बुझाउन सक्ने र बैंक मार्फत कर भुक्तानी गर्दा आय विवरण समेत बुझाउन सक्ने व्यवस्था मिलाईएको बताए । “लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा वार्षिक २० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, २० लाख देखि . ५० लाख सम्म कारोबार गर्ने करदातालाई ५० प्रतिशत छुट दिने ब्यवस्था मिलाएको छु ” उनले भने “ ५० लाख देखि १ करोड सम्म कारोबार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु ।”
बजेटले लघु उद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी सात वर्ष र महिला उद्यमीद्वारा सञ्चालित लघु उद्यमलाई तीन वर्ष थप गरी दश वर्ष र्पुयाएको छ भने लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाएको छु ।”

साना उद्यमले पैठारी गर्ने मेसिनरी तथा कच्चा पदार्थ एवं कृषि फार्म तथा कम्पनीले पैठारी गर्ने कृषि यन्त्र उपकरण तथा धान, मकै, गहुँ र तरकारीको वीउ पैठारी गर्दा लाग्ने भन्सार महसुल घटाएको मन्त्री खतिवडाले बताए । प्राथमिक कृषि उपजको पैठारीमा लाग्दै आएको भन्सार महसुल तथा कृषि सुधार शुल्क वृद्धि गरेको बताउदै उनले भने “बक्यौता नरहेका करदाताले पेश गरेको आय विवरण अनुसारको कर चुक्ता प्रमाणपत्र स्वचालित प्रणालीबाट करदाता स्वयंले लिन पाउने व्यवस्था मिलाएको छु” । उपभोक्ताले वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय उपकरण मार्फत गर्दा प्रोत्साहन स्वरूप प्राप्त हुने रकममा अग्रिम कर कट्टी गर्नु नपर्ने व्यवस्था जानकारी दिए । “हवाई इन्धन र एल.पि. ग्याँस बाहेकको पेट्रोलियम पदार्थ सामुदायिक वनले साल र खयर जातका काठ उपभोक्ता समूह बाहिर बिक्री गर्दा लाग्दै आएको १५ प्रतिशत वन पैदावार शुल्क आजैका मिति देखि खारेज गरेको छु उनले भने “स्वदेशी फर्निचर उद्योगको संरक्षण गर्न सबै किसिमका फर्निचरको पैठारीमा अन्तस्शुल्क लगाएको छु ।”
कोरोना संक्रमणबाट बढी प्रभावित भएका हवाई सेवा, यातायात सेवा, होटेल, ट्राभल तथा ट्रेकिङ व्यवसायीलाई आर्थिक वर्ष २०७६÷०७७ को आय विवरण अनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको मन्त्री खतिवडाले बताए । “पर्यटन, ढुवानी व्यवसायी तथा चलचित्र घरलाई मूल्य अभिवृद्धि कर विवरण तथा कर दाखिला गर्ने अवधि बढाई चौमासिक कायम गरेको छु उनले भने ।

https://www.karobardaily.com/news/economy/32425


सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...