Saturday, March 4, 2017

आर्थिक नीति बनाउन सुझाव संकलन गरिँदै

निरु अर्याल
काठमाडौं: सरकारले पहिलो पटक बनाउन लागेको आर्थिक नीतिका विषयमा सरोकारवालाहरूसँग सुझाव संकलन सुरु गरेको छ । संविधानको मर्म र भावनाअनुसार नयाँ आर्थिक नीति निर्माण गर्न सुझाव संकलन सुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षको चैत मसान्तभित्रै नीतिको मस्यौदा तयार गरिने भएको छ ।
नीति निर्माणका लागि सार्वजनिक रूपमै सबै सरोकारवाला निकाय, विज्ञ र निजी क्षेत्रसँग राय लिन सुरु गरेको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा. डा. पुन्यप्रसाद रेग्मीले जानकारी दिए ।
मन्त्रालयले नयाँ नीति तर्जुमा गर्न प्रा. डा. रेग्मीको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव, सहसचिवसहित राष्ट्र बैंकका डेपुटी गभर्नरसमेत रहेको टोली गठन गरेको छ । टोलीमा अर्थशास्त्री हरि रोका, पुरञ्जन आचार्य, सुरेन्द्रलाल कर्ण र रमेश पौडेल छन् ।
“नीतिका लागि सुझाव संकलनको काम सुरु भइसकेको छ,” रेग्मीले भने, “नयाँ संविधानको मर्मअनुसार आर्थिक नीति परिमार्जन गर्नुपर्ने भएकाले यसको प्रक्रिया अघि बढाइएको हो ।”
“नयाँ संविधानको मर्मअनुसार आर्थिक नीति परिमार्जन गर्नुपर्ने भएकाले यसको प्रक्रिया अघि बढाइएको हो ।”

नेपालको संविधान २०७२ को प्रस्तावनामा नेपालको आर्थिक नीति समाजवाद उन्मुख हुने उल्लेख छ । तर, समाजवाद उन्मुख अर्थतन्त्र भनिए पनि कस्तो नीति आवश्यक छ भन्ने अहिले पनि बहसकै विषय बनेको छ ।
“नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भए, तर आथिक नीतिबारे स्पष्ट परिभाषा अहिलेसम्म भएका ऐन काुननले गर्न सकेका छैनन्,” रेग्मीले भने । उनले त्यही आवश्यकतालाई महसुस गरेर नै आर्थिक नीतिको तर्जुमा गर्न खोजिएको बताए ।
अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख तथा सहसचिव लक्ष्मण अर्यालले सरकारको वित्त नीति, मौद्रिक नीति तथा क्षेत्रगत नीतिलाई दिशाबोध गर्न नयाँ आर्थिक नीति निर्माणको कामलाई अघि बढाइएको बताए ।
“विज्ञ समूहले नयाँ आर्थिक नीतिको मस्यौदा तयार गरी छलफलका लागि बाहिर ल्याउनेछ,” उनले भने । उनका अनुसार अर्थले नागरिकस्तरबाट नयाँ आर्थिक नीतिका लागि सुझाव माग गरिसकेको छ ।
स्पष्ट आर्थिक नीति भएमा सरकारले अपेक्षा गरेको आर्थिक समृद्धिलाई कुन रुपबाट अघि बढाउने भन्ने बाटोसमेत निर्धारण गर्ने छ । ठूला र विकसित मुलुकले समेत राजनीतिक परिवर्तनपछि आर्थिक नीतिमा पुनरावलोकन गर्ने गरेका छन् ।
त्यही नीतिअनुुसार ती मुलुकको अर्थव्यवस्था चलायमान हुने गरेको छ । “नेपालको संविधानले खुला बजार अर्थनीति अंगिकार गरेको छ,” अर्यालले भने, “जसअनुसार सार्वजनिक, निजी र सहकारीलाई आर्थिक विकासको मूल खम्बा मानिएको छ ।”
हालको नीतिले सहकारीलाई अर्थतन्त्रको मूल खम्बा मानेको छैन । नयाँ नीतिले एउटा आर्थिक विकासको मार्गदर्शन दिने हालको नीतिमा परिमार्जन हुन सक्ने देखिएको अर्यालको भनाई छ । उनका अनुसार आउँदो वैशाखसम्म नयाँँ नीति तयार गर्ने गरी विज्ञ समूहलाई कार्यादेश दिइएको छ ।
नीति तयार भएपछि पारितका लागि मन्त्रिपरिषद्मा पेस गरिने उनले जानकारी दिए । “यही नीतिका आधारमा नयाँ बजेट तथा मौद्रिक नीति आउनेछ,” उनले भने ।

Wednesday, March 1, 2017

अनलाइन सर्भेबाटै आर्थिक गणना हुँदै

८ हजार कर्मचारी परिचालन गर्ने सरकारको तयारी 

निरु अर्याल
काठमाडौंः सरकारले पहिलोपटक प्रविधिको माध्यमबाट राष्ट्रिय आर्थिक गणना गर्ने भएको छ । केन्द्रीय तथ्यांक विभागले २०७५ वैशाख १ गतेदेखि असार १६ सम्म राष्ट्रिय आर्थिक गणना गर्ने भएको हो ।
गणनाको तयारीस्वरूप चालू आर्थिक वर्ष प्रश्नावली र निर्देशिका निर्माण, पूर्वपरीक्षण, नमूना आर्थिक गणना लगायतका काम गर्दैछ । मुलुकको एक सय वर्ष लामो तथ्यांकीय इतिहासमा विभागले पहिलोपटक अनलाइनमार्फत उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफैं भर्नसक्ने तथा गणकमार्फत ट्याब प्रयोग गरी गणना गर्ने विधि प्रयोग गर्न लागेको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । 
गणनामा औद्योगिक उत्पादन, निर्माण, यातायात, घरजग्गा कारोबार, शिक्षा, सूचना तथा सञ्चार लगायतका १७ क्षेत्र समेटिने छन् । आर्थिक गणनाबाट प्रतिष्ठानको संख्या, तिनमा कार्यरत कर्मचारी, प्रमुख आर्थिक क्रियाकलाप, वैदेशिक पुँजीको अनुपातलगायतका महत्वपूर्ण सूचकहरू प्राप्त हुने विभागले जनाएको छ ।
“यसले हाम्रो अर्थतन्त्रमा जीडीपीको आकार कति छ भन्ने तथ्यांकसमेत प्रस्तुत गर्न सहज हुनेछ,” अर्यालले भने । जापान सरकारको प्राविधिक सहयोगमा गर्न लागिएको आर्थिक गणनामा ८ हजार कर्मचारी परिचालन गर्ने सरकारको तयारी छ ।
महानिर्देशक अर्यालले नेपालमा पहिलोपटक इन्टरनेटको माध्यमबाट गणना सुरु गर्न लागिएको जानकारी दिए । “प्रविधिको माध्यमबाट गणना गर्दा तथ्यांक अझै प्रभावकारी हुनेछ भन्ने हामीले विश्वास गरेका छौं,” उनले भने, “उत्तरदाताले आफ्नो व्यवसायको विवरण अनलाइनमार्फत आफैं भर्नसक्ने व्यवस्थाले हामीलाई ‘ग्लोबलाईज’ हुन सहजीकरण हुने छ ।”
विभागले अर्थतन्त्रको सबै परिसूचकहरूको तथ्यांक मितव्ययी तथा पारदर्शी बनाउने उद्देश्यसहित पहिलोपटक आर्थिक नेपालमा आर्थिक गणना सुरु गर्न लागेको हो ।
महानिर्देशक अर्यालले संविधानको कार्यान्वयनका लागि समेत महत्वपूर्ण भएको र अर्थतन्त्रसँग सम्बन्धित सबै परिसूचकहरूको तथ्यांक संकलन गरिने जानकारी दिए ।
विभागले राष्ट्रिय आर्थिक गणनाको तयारीका लागि सुझाव लिन सुरु गरिसकेको छ । तयारीका लगि सुझाव संकलन गर्न मंगलबार आयोजित एकदिने कार्यशाला गोष्ठीमा विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले नयाँ प्रविधिमार्फत गणना सुरु गरिने जानकारी दिए ।
“मंगलवारदेखि औपचारिक रूपमा हामीले कसरी गर्ने भनेर सुझाव संकलन सुरु गरेका छौं,” उनले भने । उनका अनुसार गणनाको पहिलो चरणमा प्रमुख सहरी क्षेत्र हुने छन् । त्यसैगरी इन्टरनेटको पहँुच रहेका मुख्य क्षेत्रहरूमा अध्ययन गरिने छ ।
त्यसपछि अन्तिम चरणमा बाँकी रहेका स्थानहरूमा गणना गरिने विभागले जनाएको छ । “अत्याधुनिक प्रविधिबाट गणना गर्न लागिएकोले लामो समय लाग्दैन, तीन महिनासम्म प्रारम्भिक प्रतिवेदन आउनेछ,” उनले भने । 
मुलुकको आर्थिक क्रियाकलाप मुल्यांकन गर्न तथा उपयुक्त आर्थिक नीति तर्जुमाका लागि आर्थिक गणना महत्वपूर्ण हुने राष्ट्रिय योजना आयोगका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए ।
“गणनामा प्रविधिको प्रयोग पहिलोपटक हुन लागेकोले यसले अर्थतन्त्रका सबै परिसूचकहरूलाई यथार्थ चित्रण गर्नेछ,” उनले भने । तयारीमा कमजोरी नहुन सुझाव आवश्यक भएको भन्दै उनले पन्ध्रांै योजनाको तयारी पूर्वगणनाको प्रारम्भिक विवरण तयार गर्न विभागलाई सुझाव दिए ।

Tuesday, February 28, 2017

नगद कारोबारको सीमा १० लाख

निरु अर्याल
काठमांडौः सरकारले अनौपचारिक अर्थतन्त्रलार्ई नियन्त्रण गर्न भन्दै पहिलो पटक नगद कारोबारको सीमा निर्धारण गरेको छ । गतसाता बसेको मन्त्रिपरिषद्को बैठकले १० लाख रुपैयाँभन्दा माथिको नगद कारोबार गर्न नपाइने प्रावधानसहितको अर्थ मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो । 
अनौपचारिक लेनदेनले अर्थतन्त्रमा नकारात्मक असर पुगेको निष्कर्ष निकाल्दै अर्थमन्त्रालयले १० लाखभन्दा माथिको कारोबार नगदमा गर्न नपाइने प्रावधानसहितको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको थियो ।  
अनौपचारिक अर्थतन्त्र नियन्त्रण गर्न बनेको यो व्यवस्था आगामी साउनदेखि लागू हुने अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार केही दिनमै राजपत्रमा सूचना प्रकाशित गर्ने गरी उक्त निर्णय आइतबार कानुन मन्त्रालयमा पठाइएको छ । 
“मन्त्रिपरिषद्को निर्णयसँगै व्यक्ति, संस्था, व्यावसायिक फर्म लगायत जुनसुकै निकायले पनि १० लाख माथिको कारोबार नगदमा गर्न पाउने छैनन्,” अर्थमन्त्रालयका आर्थिक विश्लेषण महाशाखा प्रमुख लक्ष्मण अर्यालले कारोबारसँग भने ।
  •  साउनदेखि लागू हुने 
  •  वित्तीय अपराध नियन्त्रण गर्न मद्दत पुग्छ : अर्थमन्त्रालय
उनले पहिलोपटक नगद कारोबारको सीमा तोकिएकोेले बित्तिय अपराधमा न्यूनिकरण हुने बताए । अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकको परामर्शका आधारमा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ४४ ग बमोजिम उक्त प्रस्ताव गरेको थियो ।
सीमा निर्धारणले राजस्व तथा भ्याट छली, अस्वभाविक आम्दानी, सम्पत्ति शुद्धीकरण जस्ता वित्तीय अपराधबाट आर्जन गरेको रकम नियन्त्रण गर्न पनि  सघाउपुग्ने अर्थको दावी छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार कुनै पनि वित्तीय सस्था वा बैंकिङ उपकरणमार्फत कारोबार गर्नुपर्ने व्यवस्था छ । “यसले अनौपचारिक अर्थतन्त्र औपचारिकतामा आउँछ र समग्र अर्थतन्त्रमा अनुशासन कायम हुने विश्वास छ” उनले भने ।
बैंकिङ कारोबारसम्बन्धी बाध्यकारी प्रावधान लागू हुन नसक्दा ढुकुटी, हुन्डी, सापटी, मिटरव्याजी जस्ता अनौपचारिक कारोबारबाट हुने वित्तीय अपराध नियन्त्रण प्रमुख चुनौतीका रुपमा देखा परेको छ । 
अर्यालले पहिलोपटक नगद कारोबारको सीमा तोकिएको जानकारी दिए । “आर्थिक कारोबारलाई बैंकिङ च्यानलमा अनिवार्य गर्नसके पारदर्शीता, औपचारिक माध्यम र आम्दानी वृद्धिका साथै अर्थतन्त्रको समग्र आकार विस्तार हुने छ,” उनले भने, “यसबाट मुलुकले बेलाबेलामा भोग्नुपरेको तरलता अभावको पनि अन्त्य हुने अपेक्षा छ ।”
उनका अनुसार कर कानुनले दिएको छुटबाहेक अन्य अवस्थामा यो व्यवस्था लागू हुने छ । “कर कानुनमा व्यवस्था भएअनुसार बाहेक हुन्छ भनिएको छ,” उनले भने “अरु प्रयोजनमा भने १० लाखभन्दा माथिको कारोबार नगदमा गर्न पाउने छैनन् ।”
 खासगरी आप्रवासी कामदार, वैदेशिक अध्ययन र व्यापार÷व्यवसायका क्रममा विदेशमा रहेका नेपालीले संगठित गिरोहमार्फत हुन्डीको प्रयोग गर्ने गरेको अर्थमन्त्रालयकै अधिकारीहरू स्वीकार्छन् । व्यापार/व्यवसाय तथा व्यक्तिबाट हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन पनि यसले मद्दत गर्ने उनको भनाइ छ । 
पछिल्लो तथ्यांकअनुसार करिब ४० लाख नेपाली विदेशमा छन् । हुन्डी अनौपचारिक कारोबारको प्रमुख माध्यम पनि हो । संगठित तथा आर्थिक अपराधमा संलग्न व्यक्ति तथा गिरोह अनौपचारिक कारोबार गर्नेमा अगाडी रहेको नेपाल प्रहरीको अनुसन्धानबाट पनि देखिन्छ ।
अपहरण तथा फिरौती असुल, हातहतियार खरिद तथा ओसारपसार, लागूऔषध तथा विदेशी मुद्रा तस्करी, गुण्डागर्दी लगायतमा राज्यको पहुँच भन्दा बाहिरको ठूलो रकम खर्च हुँने गरेको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारी बताउँछन् । 

Tuesday, February 21, 2017

डब्ल्यूटिओको सदस्य पछि निर्यात निरन्तर ओरालो

काठमाडौं: १३ वर्षअघि विश्व व्यापार संगठन (डब्लूटीयो) मा प्रवेश गरेपछि नेपालले निर्यातमा फड्को मार्ने अपेक्षा गरिएको थियो, तर अवस्था त्यसको ठीक उल्टो भएको छ । नेपाल डब्लूटीओको सदस्य हुनुअघि र पछिको तथ्यांक हेर्ने हो भने आयात बढ्दो छ भने निर्यात तुलनात्मक रूपमा घट्दो छ ।
सन् २००४ अघि आयात निर्यातको अवस्था ७२ः२८ को अनुपात रहेकोमा अहिले  ९२ः८ को स्थितिमा पुगेको छ । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका अनुसार सन् १९७५ मा मुलुकमा आयात–निर्यातको अवस्था ६०ः४० को अनुपातमा रहेकोमा २०१५/१६ मा आएर ९२ः८ मा पुगेको छ ।
डब्लूटीओको सदस्य हुनुअघि नेपालको निर्यात बढ्दै गए पनि पछिल्लो समय आयातको तुलनामा निर्यात बढ्न नसकेको केन्द्रको तथ्यांक छ । डब्लूटीओका अल्पविकसित सदस्य मुलुकले विभिन्न सुविधा पाउँदै आए पनि नेपालले त्यसको उपयोग गर्न नसक्दा निर्यात बढाउन नसकेको सरोकारवालाको भनाइ छ ।
गुणस्तरीय उत्पादन नहुनु, स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्नु, व्यावसायिक विकास कम हुनु, स्थानीय उत्पादन क्रमशः घट्दै जानु, अविकसित मुलुकलाई दिएका सुविधा उपभोग गर्न नसक्नुले पछिल्लो समय नेपालको निर्यात घट्दै गएको हो । 
केन्द्रका अनुसार सन् २००१ मा ५५ अर्ब २५ करोडको सामान निर्यात भएकोमा २००४ मा आएर निर्यातमा सामान्य वृद्धि भई ५८ अर्ब ४४ करोड पुगेको थियो । सोही अवधिमा १ खर्ब १८ अर्बको आयात भएकोमा स्न २००४ मा बढेर १ खर्ब ४८ अर्ब पुगेको थियो ।
केन्द्रका अनुसार १३ वर्षको अवधिमा डेढ खर्ब रुपैयाँबाट आयात बढेर ७ खर्ब ८१ अर्ब पुगेको छ । तर सो अवधिमा निर्यात भने ५८ अर्बबाट बढेर ७१ अर्ब रुपैयाँ मात्र पुगेको छ ।
बाणिज्य मन्त्रालयका पूर्वसचिव एवं व्यापार विज्ञ पुरुषोतम ओझा विश्व व्यापार संगठनको सदस्य बनेसँगै भन्सार दर खुकुलो भई विश्वबजारमा सबै देशका सामान जाने हुँदा स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा आयातको तुलनामा निर्यात बढाउन नसकिएको बताए ।
“डब्लूटीओको सदस्यपछि जुनुसुकै मुलुकमा भन्सार दर खुलुकलो हुँदा नेपालमा आयात दर बढ्दै गएको छ,” उनले भने, “स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा निर्यात बढ्न नसकी मुलुकको व्यापार घाटा भयावह बन्दै गएको छ ।”
सन् २००४ अघि आयात निर्यातको अवस्था ७२ः२८ को अनुपात रहेकोमा अहिले  ९२ः८ को स्थितिमा पुगेको छ ।

अविकसित मुलुकलाई दिइने सुविधा प्रयोग गर्न नसक्दा निर्यात बढाउन नसकिएको भन्दै उनले व्यापार घाटा कम गर्न गुणस्तरीय उत्पादनसँगै निर्यातमा जोड दिनुपर्ने बताए ।
रेमिट्यान्सका कारणले विलासिता बढ्दै जानु, निर्यात प्रबद्र्धनका लागि तयार गरिएका नीति कार्यान्वयनमा नआउनु, आर्थिक कूटनीति कमजोर हुनु, स्थानीय उत्पादन कम हुनले पनि पछिल्लो समय निर्यात बढाउन सकिएको छैन ।
केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरे स्वदेशी उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, निर्यातका लागि विभिन्न देशले दिएका सुविधा प्रयोग गर्न नसक्नुले पनि निर्यात बढाउन नसकिएको बताउँछन् ।
“अमेरिकाले ६६ र चीनले ८ हजार ३१ वस्तु निर्यातमा दिएको सुविधा अहिलेसम्म प्रयोगमा आउन सकेको छैन,” उनले भने, “जसका कारण पनि निर्यात आयातको तुलनामा घट्दो क्रममा छ ।” डब्लूटीओको सदस्य भएपछि जुनसुकै मुलुकलाई विश्वबजारमा सामान आयात–निर्यात गर्न कुनै अवरोध हुँदैन ।
डब्लूटीओको सदस्य हुनुअघि १ सय ५ मुलुकसँग व्यापार गर्दै आएको नेपालले अहिले १ सय ९० मुलुकसँग कारोबार गर्दै आएको छ । १ सय ३६ मुलुकमा निर्यात गर्दै आएको नेपालले आयात भने १ सय ७६ मुलुकबाट गर्ने गर्छ ।
डब्लूटीओको सदस्य नहुँदा सामान आयात निर्यात गर्न भन्सार दर महंगो रहेकोमा पछिल्लो समय सो अवरोध हट्दै गए पनि गैरभन्सार अवरोधका कारणले निर्यात बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।
 

नक्कली ट्रेडमार्कविरुद्ध उजुरी बढ्दै

निरु अर्याल
काठमाडौंः  सरकारले बौद्धिक सम्पत्तिको अधिकार सुरक्षित गर्न नसक्दा नक्कली ट्रेडमार्कविरुद्ध उजुरी बढ्दो छ । कमजोर प्रशासनिक क्षमता, समय अनुसारका ऐनकानुनको अभाव र नीति निर्माताहरूमा समेत विषयवस्तुबारे पर्याप्त ज्ञान नहुँदा मुलुकमा बौद्धिक सम्पत्तिको मुद्दा ओझेलमा परेको हो ।
जसका कारण २० वर्षदेखिका २ हजारभन्दा बढी उजुरीको टुंगो लाग्न सकेको छैन भने उजुरीको संख्या बर्सेनि बढ्दो क्रममा छ । सरकारी निकायको तथ्यांकअनुसार चालू आवको माघ मसान्तसम्ममा ट्रेडमार्क (व्यापार चिन्ह) सम्बन्धमा मात्रै ४ सयभन्दा बढी उजुरी परेका छन् ।
उजुरी पर्नेमा औद्योगिक प्रतिष्ठान, शैक्षिक पाठशाला, म्यानपावर एजेन्सीलगायत आयात निर्यात गर्ने कम्पनी तथा बहुराष्ट्रिय कलकारखाना छन् । यस्तै, गार्मेन्ट उद्योगदेखि बिस्कुट, गुट्खा, चिया, कफीलगायत उत्पादनशील वस्तुहरूविरुद्ध बढी उजुरी आउने गरेका छन् । 
राष्ट्रिय योजना आयोगका एक अधिकारी भन्छन्, “नेपालमा बौद्धिक सम्पत्तिबारे जनचेतना नै बढ्न सकेन जसका कारण २० वर्षदेखिका उजुरीको सम्बोधन हुन सकेको छैन ।”
उनले बौद्धिक सम्पत्तिको अधिकारबारे चेतनाको अभावले अर्थतन्त्रमा समेत नकारात्मक असर परेको बताए । उनले भने, “यो अत्यन्त गम्भिर विषय हो, यसबारे हामो सरकार, राजनीतिक दल, आम जनता, निजी क्षेत्र कसैले चासो दिएका छैनन् ।”
अन्तर्राष्ट्रिय प्रचलनअनुसार एक ठाउँमा दर्ता भएको व्यापार चिन्हको प्रयोग विश्वको जुनसुकै ठाउँबाट पनि गर्न सकिन्छ । त्यस्ता कम्पनी, संस्था वा संघसंगठनले सामान्यतया व्यापार चिन्हको लागि आवेदन दिएको तीन महिनासम्म कुनै कम्पनी वा संघसंस्थाबाट व्यापार चिन्हको दावी नगरेको अवस्थामा आवेदन दिएको मितिले चार महिनासम्म व्यापार चिन्ह (ट्रेडमार्क) पाउने कानुनी व्यवस्था छ ।
एक व्यक्ति वा सरोकारवाला निकायले प्रयोग गरेको व्यापार चिन्हको चोरी भएको वा कपि भएको अवस्थामा सम्बन्धित व्यक्ति वा सरोकारवाला निकायले आवेदन दिएको मितिले ९० दिनसम्म दावी विरोध गर्नपाउने कानुनी व्यवस्था छ ।
नेपालमा टे«डमार्कबारेको चेतना अत्यन्तै न्यून रहेको अर्थशास्त्री प्रा.डा. पुष्कर बज्राचार्य बताउँछन् । “हामी उत्पादनमुखी नहुनुका पछाडि हामीले बौद्धिक सम्पत्तिमाथिको अधिकार संरक्षणमा ध्यान दिन सकेनौं,” उनी भन्छन्, “यसले पनि हाम्रो अर्थतन्त्रलाई ठूलो धक्का दिएको छ ।” 
व्यापार चिन्हको प्रयोगले औद्योगिक उत्पादन बढ्ने, व्यापार बढ्ने र ब्राण्ड स्थापित गर्न सहज हुने भएकोले नेपालमा नेपालमा बौद्धिक सम्पत्तिमाथिको अधिकारमा चेतना नहँुदा यो विषय ओझेलमा परेको उनको भनाई छ ।
“समयसापेक्ष ऐन कानुन परिमार्जन हुनुपर्ने थियो, हामीकहाँ यो बिषयमा चेतनाको विकास हुन नसक्दा नेपालले लाभ लिन सकेन,” उनले भने । बौद्धिक सम्पत्तिको विषयमा पटकपटक अध्ययन अनुसन्धान भए पनि अन्तरमन्त्रालय समन्वय अभावले एकीकृत बौद्धिक सम्पत्तिसम्बन्धी नीति ओझेलमा परेको छ ।
नेपालमा २०२२ मा आएको पेटेन्ट डिजाइन तथा टे«डमार्क ऐन मात्रै प्रचलनमा छ । हाल उद्योग मन्त्रालय अन्तर्गतको उद्योग बिभागले व्यावसायिक प्रयोजनको अधिकारलाई सम्पन्न र शक्तिशाली बनाउन टे«डमार्क (व्यापार चिन्ह) पेटेन्ट (आविष्कारमाथिको अधिकार) र डिजाइन (आवरणात्मक सीप र कला)  को चिन्ह प्रदान गर्दै आएको छ ।
संस्कृति मन्त्रालय अन्तर्गतको प्रतिलिपी रजिष्ट्रारको कार्यालयबाट प्रतिलिपी अधिकार र संवैधानिक मामिला अध्ययनले बौद्धिक बिषयका चिन्हहरू  वितरण गर्दै आएको छ ।
उद्योग बिभागका आइपी शाखा प्रमुख दिपक घिमिरे भन्छन्, “पछिल्लो समयमा ट्रेडमार्कबिरुद्ध उजुरी बढ्दो छ, व्यवस्थापनको कार्य आरम्भ भएकोले यो सकिएलगत्तै उजुरीको एकिन संख्या आउने छ ।”
उनले एकिकृत बौद्धिक सम्पत्तिकौ मस्यौदा अन्तिम चरणमा पुगेकोले नयाँ कानुनी व्यवस्था भएमा काम गर्न सहज हुने बताए । “अहिलेसम्म ४ सय उजुरी परेको तथ्यांक विभागसँग छ तर धेरै पुराना उजुरी भएकोले फस्र्यौैट गर्न पनि विभागलाई हम्मेहम्मे छ,” उनले भने ।
नेपालले औद्यिोगिक बौद्धिक सम्पत्तिको अधिकारलाई बि.स. १९९४ देखि मान्यता दिदै आएको भएपनि सन् २००४ देखि विश्व बौद्धिक सम्पत्ति संगठन (वाइपो) को  सदस्यता लिएर विश्व बजारमा प्रवेश गरेको छ । 

Saturday, February 18, 2017

संघीयता व्यवस्थापनमा राज्यलाई २ खर्ब भार थपिदै

निरु अर्याल 
काठमाडौंः मुलुक संघीय संरचनामा जाँदा यसको व्यवस्थापनका लागि मात्रै २ खर्बभन्दा बढी रकम खर्चनुपर्ने देखिएको छ । गत वर्ष जारी भएको संविधानअनुसार मुलुकलाई संघीय संरचनामा लैजाने हो भने राज्यलाई २ खर्ब भार थपिने भएको छ ।
संघ प्रदेश र स्थानीय तहको संरचना एकैपटक निर्माण गर्नुपर्ने भएकोले यो परिमाणमा रकम आवश्यक देखिएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको प्रारम्भिक अनुमानअनुसार संघीयताको संस्थागत विकासका लागि मात्रै २ खर्ब खर्च लाग्ने देखिएको छ । मन्त्रालयका सचिव केदार बहादुर  अधिकारीले संविधानअनुसार संघीयता कार्यान्वयमा आएमा सुरुका वर्षमै २ खर्ब रुपैयाँ लाग्ने जानकारी दिए । उनले भने “जग्गा प्राप्ति, भवन निर्माण, सवारी साधन खरिदलगायत संस्थागत विकास गर्न २ खर्ब रुपैयाँ भयो भने राम्रैसँग व्यवस्थापन गर्न सकिन्छ ।” उनले ठोस अध्ययन नभए पनि मन्त्रालयले प्रारम्भिक अध्ययन गरेअनुसार ठूलो परिमाणमा रकम आवश्यक रहको बताए । 
“सबै प्रदेशमा समानखालका निकायहरूको स्थापनादेखि सुविधाहरूको व्यवस्थापन गर्नुपर्ने देखिन्छ, यसले पनि राज्यलाई एकैपटक मोटो रकम आवश्यक भएकोले राज्यलाई ठूलो भार पर्ने देखिएको हो,” उनले तत्काल धेरै खर्च गर्नुपर्ने देखिए पनि सकारात्मक नतिजा आउने बताए । 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय संघीयता कार्यान्वयनको सम्पर्क निकाय हो । संविधानको भाग २६, धारा २५० मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको व्यवस्था छ । वित्त आयोग स्थापना भए संविधान र कानुनबमोजिम संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँड गर्ने उल्लेख छ । 
यस्तै बाँडफाँडको विस्तृत, आधार र ढाँचा निर्धारण गर्ने, संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सकारकालाई गरिने समानीकरण अनुदान सम्बन्धमा सिफारिस गर्नेलगायत ९ वटा अधिकार तोकिएको अधिकारीले बताए ।
संविधान बनेयताका कार्यहरू संघीयता कार्यान्वयन केन्द्रित भए पनि अहिलेसम्म यसको व्यवस्थापनमा लाग्ने खर्च औपचारिक रुपमा बाहिर ल्याइएको छैन । संविधानमा तल्ला सरकारको व्यवस्थासहित राजनीतिक, आर्थिकलगायत अन्य अधिकारहरू उनीहरूलाई प्रवाह गर्ने उल्लेख भएबमोजिम संघीयता व्यवस्थापनमा तत्काल ठूलै आकारको बजेट प्रवाह गर्नुपर्ने छ । 
अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले संघीयता कार्यान्वयनमा लाग्ने खर्चको अध्ययन भैरहेपनि टुंगोमा ल्याउन नसकेको बताउदै आएका छन् । अर्थमन्त्रालयका एक उच्च अधिकारी भन्छन्, “संघीय बजेटको अध्ययन गर्ने भनेर छुट्टै महाशाखाको व्यवस्था गर्न लागिएको छ तर यत्ति नै बजेट लाग्छ भनेर अध्यन गर्न कठिन भइरहेको छ ।”
सामान्यतया प्रदेश र स्थानीय तहको संस्थागत विकासमा सुरुका वर्ष भारी बजेट लाग्ने देखिन्छ । प्रदेशका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, सदस्य, प्रदेशसभाको सचिवालय, कर्मचारी व्यवस्थापन, संवैधानिक निकाय व्यवस्थापन गर्नुपर्नेछ । 
स्थानीय तहका नगरपालिका, गाउँपालिकाका जग्गा, भवन र सवारी साधनजस्ता पहिलो चरणका न्युनतम कार्यालय व्यवस्थापनको लागि खर्बौ रुपैयाँ लगानी गर्नुपर्ने भएकोले पनि अध्ययनका लागि कठिन भएको ती अधिकारीले बताए ।
संविधानको धारा ६० को राजस्व स्रोतको बाँडफाँडमा प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणमा पनि आयोगको सिफारिस चाहिने उल्लेख छ । 
पूर्व–अर्थसचिव रामेश्वर खनालले संविधानका सबै तह कार्यान्वयनमा जानुपर्ने भएकोले कार्यान्वयनमा नआउँदासम्म यकिन गर्न कठिन हुने बताए । उनले भने “संघीयताभित्र पनि धेरै विषयहरूले पूर्णता पाउन सकेका छैनन्, यसैले यति नै बजेट चाहिन्छ भनेर अध्ययन गर्नु धेरै गाह्रो छ ।” 
संविधानअनुसार प्रदेश सरकारको मन्त्रालय, विभाग, कार्यालय, समिति, प्रतिष्ठानजस्ता निकायगत संरचनाका कार्यालय र अन्य पूर्वाधार बनाउनु पर्नेछ ।  “यसले पनि केमा कति खर्च लाग्छ भनेर तथ्य बाहिर आउन कठिन छ,” खनालले भने, “निवासदेखि कार्यालय भवनसम्म बनाउनु पर्नेछ भने सवारी साधन खरिद गर्नुपर्ने छ ।”
संघीय शासनका विज्ञ डा. खिमलाल देवकोटा भने सरकारले प्रादेशिक सामथ्र्यको विश्लेषण गर्नुपर्ने बताउँछन् । विद्यमान अवस्थामा प्रदेशभित्रका विभिन्न कार्यालय र क्षेत्रमा हुने प्रशासनिक खर्च कटाएर विश्लेषण गर्दा प्रदेशको मात्रै प्रशासनिक खर्च ५५ अर्ब ७७ करोड रुपैयाँ हुने देखिएको देवकोटाले बताए ।
“साझा सूचीसहित प्रदेशको आम्दानी २६ अर्ब ८४ करोड रुपैयाँ मात्र छ,” उनले भने, “सबै प्रदेशको प्रशासनिक खर्च सञ्चालन गर्न आधाभन्दा वित्तीय सहयोग संघले गर्नुपर्छ ।” 
 

सिस्टमले काम नगर्दासम्म महिलालाई प्रसासनिक क्षेत्रमा समेत काम गर्न कठिन छ

यामकुमारी खतिवडा 
क्षेत्रीय प्रशासक, पोखरा 
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी यामकुमारी खतिवडा अहिले पश्चिमाञ्चल क्षेत्रीय प्रशासक छिन् । निजामती सेवामा प्रवेश गरेको २२ वर्षपछि कायम–मुकायम सचिवको जिम्मेवारी सम्हालेकी उनी नेपालबाट उच्च श्रेणीमा पुग्ने महिलाको अग्रणी सूचीमा पर्छिन् ।
२०५१ सालमा संसद् सेवाबाट सरकारी सेवा सुरु गरेकी उनी खुला प्रतिस्पर्धाबाटै उपसचिव, सहसचिव हुँदै क्षेत्रीय प्रशासकसम्म पुगेकी छन् । त्रिभुवन विश्वविद्यायलबाटै सार्वजनिक प्रशासनमा स्नातकोत्तर र कोरियाबाट पब्लिक पोलिसी अफ म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी खतिवडासँग प्राइभेट बीएल गरेको अनुभव पनि छ । प्रशासनिक क्षेत्रमा अब्बल र निडर मानिने खतिवडा महिला सशक्तीकरणकोे अभियानमा पनि सक्रिय छिन् ।
आफ्नै नेतृत्वमा महिलाका लागि महिला उद्यमशीलता कोष ल्याएर चर्चा कमाएकी खतिवडाले लघुउद्यम विकास कार्यक्रम (मेडेप) को राष्ट्रिय कार्यक्रम निर्देशक, विशेष आर्थिक क्षेत्र (सेज) को आयोजना प्रमुख र घरेलु तथा साना उद्योग विकास समितिको अध्यक्ष, नेपाल व्यावसायिक मञ्च (एनबीएफ) को संयोजक हँुदै विभिन्न संघसस्थामा रहेर काम गरिसकेकी छन् ।
प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालय, कारागार व्यवस्थापन विभागको महानिर्देशक हुँदै खतिवडाले पछिल्लो सात वर्ष उद्योग मन्त्रालयमा विभिन्न महाशाखामा बसेर काम गरिसकेकी छन् ।
Add caption
खतिवडा हालै पारित भएको औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी नीति र अन्तिम चरणमा रहेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, कम्पनी ऐन, एकीकृत बौद्धिक सम्पत्ति नीति तथा विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐनको मस्यौदाकारसमेत हुन् ।
सामाजिक संरचना र संस्कारले गर्दा महिलालाई अघि बढ्न कठिन हुने र अगाडि आउन चाहने महिलालाई पनि इन्फर्मल रिलेसनले प्ले गर्ने ब्युरोक्र्यासीमा सहजै विश्वास नगर्ने प्रचलन रहेको उनको अनुभव छ ।
प्रशासनिक क्षेत्रमा देखिने गरी हडल्सहरू नभए पनि महसुस हुने खालका विभेद कायम रहेको बताउने उनी अध्यययन–अनुसन्धान नगरी अन्तर्राष्ट्रिय मुलुकसँग सन्धि–सम्झौतामा हस्ताक्षर गर्दा नीति नियमको तर्जुमा गर्न कठिन हुने र कार्यान्वयनमा जान नसक्ने तर्क राख्छिन् ।
उनै खतिवडासँग निजामती सेवामा महिलाको उपस्थिति, अनुभव, महिलामाथि हुने विभेद, महिला उद्यमशीलता र प्रशासनिक क्षेत्रमा देखिएका चुनौतीलगायतका विषयमा केन्द्रित रहेर कारोबारकर्मी निरु अर्यालले गरेको कुराकानी :

केही दिनअघिसम्म तपाईं नीति–निर्माता तर्जुमा गर्ने ठाउँमा हुनुुहुन्थ्यो, अब १६ वटा जिल्लाको जिम्मेवारी निर्वाह गर्ने ठाउँमा आउनुभएको छ, कस्तो अनुभव भइरहेको छ ?
त्यति धेरै खुसी पनि छैन र त्यति धेरै दुःखी पनि छैन । जिम्मेवारी बोध भएको छ । नर्मल प्रक्रिया हो, सिस्टमबाटै भएकाले त्यति दुःखी हुने कारण पनि छैन । यो भनेको टप लेभलको प्रतिस्पर्धा हो ।
जहाँसम्म कामको कुरा छ, अहिले गरेको भन्दा अझै बढी काम गर्नुपर्छ भन्ने बोध भएको छ । फरक खालको काम त्यहाँ बसेर गर्नुपर्नेछ । मन्त्रालयभन्दा फरक खालको कार्यशैली छ । 
तपार्इं सहसचिवको हैसियतमा उद्योग मन्त्रालयमा बस्दा निकै व्यस्त हुनुहुन्थ्यो । सात वर्षसम्म एउटै मन्त्रालयमा बस्दा के–कस्ता उपलब्धि भए ?
म एक्लैले त केही गर्न सक्ने कुरा हँुदैन, तर पक्कै पनि म त्यहाँ रहँदा नीतिगत कुरा अघि बढाउने अवसर पाएँ । केही नीतिगत सुधार भएका छन् । सबैभन्दा ठूलो उपलब्धि त हालै मात्र औद्योगिक व्यवसाय ऐन आएको छ । अहिले त्यसको नियमावली तर्जुमा हँुदै छ ।
गत वर्ष मात्रै विदेशी लगानी नीति आयो । महिलालाई उद्यमशीलतामा प्रेरित गर्ने उद्देश्यले महिला उद्यमशीलता विकास कोष आएको छ । नेपाल व्यवसाय मञ्चको एकाउन्ट अप्रेसन गाइडलाइन तयार गर्ने अवसर पाए ।
लघुउद्यम विकास कार्यक्रमलाई आन्तरिकीकरण गर्ने उद्देश्यसहित मेड्पा रणनीतिक योजना कार्यान्वयनमा आएको छ, जसले २०७५ जिल्लामा मेडेप फेजआउट गर्ने सरकारको तयारी छ ।
मेड्पा कार्यान्वयन निर्देशिका जारी भएको छ । एकीकृत बौद्धिक सम्पत्ति नीति अन्तिम चरणमा पुगेको छ । लामो समय सेजमा पनि बसेर काम गरें, सेज ऐन पनि कार्यान्वयनको चरणमा छ । 
अधिकांश सरकारी निकायले समयमै गर्छु भनेर प्रतिबद्धता जनाएका काम सम्पन्न हुन सक्दैनन्, तपार्इं आफंै पनि यसको विज्ञ हुनुहुन्छ, समयमै सम्पन्न गर्न नसक्नुका पछाडि प्राविधिक समस्या के रहेछ ?
हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उठ्ने विषयबारे अध्ययन नै नगरी छिटो हस्ताक्षर गर्छौं, तिनका बारेमा हामीसँग प्राविधिक ज्ञानसमेत हुँदैन, जसले गर्दा नियम–कानुन तर्जुमा गर्न समय लाग्ने हो ।
अर्को कुरा, नीतिगत परिवर्तन भनेको सहजै हुने होइन । लामो समयसम्म अध्ययन गरेर सरोकारवाला निकायसँग राय लिएर मात्रै तर्जुमा गर्नुपर्ने हुन्छ । त्योसँगै यतिबेला हामी दोस्रो चरणको नीतिगत सुधारमा छौं ।
हामीलाई संरचनागत सुधारको पनि त्यत्तिकै खाँचो रहन्छ । न्यून जनशक्तिले पनि धेरै काम गर्नुपर्ने अवस्था रहन्छ । पछिल्लो समयमा सरोकारवालाहरूको कन्सर्न पनि धेरै नै रहन्छ, निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर छलफल गरेर गर्नुपर्ने भएकाले पनि समयमा सकिन नसकेको हुन सक्छ । 
अन्तरमन्त्रालयबीच समन्वय नहुँदा पनि समस्या आएको हो भन्ने सुनिन्छ नि ?
संरचनागत सुधारको आवश्यकता रहेकाले प्रक्रियागत समस्या हो । अन्तरमन्त्रालय बीचमा पनि थुप्रै समस्या छन् । कर्मचारीतन्त्रमा छिटो–छरितो गर्नुपर्छ भन्ने खालको उच्च तहको कुनै मोटिवेसन छैन ।
कतिपय मन्त्रालय कर्मचारीको आकर्षणभित्र पर्दैन । भए पनि माथिल्लो निकायले त्यहाँ भएको जनशक्तिलाई सँगसँगै हिँडाउनु ठूलो चुनौती छ । साथै, कहीँ–कतै टिम वर्कमा पनि समस्या देखिन्छ ।
टिम र कुरा मिलेन भने समस्या हुन्छ । छिटो–छिटो नेतृत्व परिवर्तन हुने र महŒवकांक्षा बढी हुनुले पनि समस्या बढी देखिने गरेको छ । सबै सरोकारवालालाई समावेश गर्न नसक्नु पनि समस्या हो ।
त्यसो भए हामी कहाँनेर चुकेका छौं ?
हामीकहाँ अधिकारका कुरा धेरै भए, तर कर्तव्यका कुरा अलि कम हुने गरेका छन् । मैले यसो भनिरहँदा अन्यथा लाग्न सक्छ । पुरानो संरचना, सीमित जनशक्ति छ तर सरकारका सेक्टरहरू बढेका छन् ।
विभिन्न इन्टरभेन्सनका कुरा बढेका छन्, नयाँ–नयाँ विषय आएका छन्, तिनीहरूलाई समावेश गर्नु हाम्रो सामु चुनौती छ । अर्को कुरा, नियम कानुन मात्रै बनाएर भएन । कार्यान्वयन गर्ने निकायको सहभागिता गर्न नसक्नु चुनौती छ ।
त्यसका अतिरिक्त निजी क्षेत्र र सरकार एक सिक्काका दुई पाटाजस्तै हो । काम गर्ने संयन्त्र निजी क्षेत्र र सरकारको कार्यान्वयन गर्ने संयन्त्रबीच सहकार्य हुनु जरुरी छ । कतिपय तहमा दुवैलाई सहभागी बनाउन नसक्दा पनि समस्या भएको हुन सक्छ । 
यहाँले निजी क्षेत्रको कुरा गर्नुभयो, तर हाम्रो ब्युरोक्र्यासीको कार्यशैलीप्रति निजी क्षेत्र सन्तुष्ट भएको देखिँदैन । के निजी क्षेत्रलाई तपार्इंहरूले विश्वास गर्न नसकेको हो ?
त्यसरी व्याख्या गर्न मिल्दैन । मैले निजी क्षेत्रको अभिभावकत्व मन्त्रालयमा सहसचिवको हैसियतमा बसेर सात वर्ष काम गरें । त्यहाँ रहँदा हरेक ऐन–कानुनको तर्जुमा गर्दा निजी क्षेत्रलाई आह्वान गराएका छौं । निजी क्षेत्रबीच पनि एकमत देखिँदैन । सरकारले आफ्ना हिसाबले गरिरहेको हुन्छ ।
सरकारको पोलिसी बनाउँदा निजी क्षेत्रलाई समावेश गराइरहेकै हुन्छ, निजी क्षेत्रले एउटै आवाज आओस् भन्ने हाम्रो भनाइ हो, तर निजी क्षेत्रका पनि धेरै संघ संगठन छन्, निजी क्षेत्रको एउटै आवाज नआउँदा सन्तुष्ट नदेखिएको हुन सक्छ । क्रस कटिङ विषयमा निजी क्षेत्रमा अभिभावकत्व महसुस नहुन सक्छ ।
यहाँले महिला भईकन पनि धेरै मन्त्री, सचिवहरूसँग बसेर काम गर्नुभयो । फरक–फरक विचारधारा भएका व्यक्तिसँग उपल्लो ओहदामा बसेर काम गर्दाको अनुभव कस्तो रह्यो ?
कुनै मन्त्रीको पालामा त्यस्तो समस्या आएन । महिला भएकै कारण सूचनाको पहुँच कम देखिने रहेछ । अनौपचारिक रिलेसनमा महिलाहरू बस्न चाहँदैनन्, जसले सोर्सको कमी हुने भयो नै । इन्फर्मल रिलेसन भनेको पावर अफ ग्याप हो । हामीकहाँ सिस्टम छैन ।
हाम्रो संस्कारले गर्दा हुन सक्छ, इन्फर्मल रिलेसनले प्ले गर्ने ब्युरोक्र्यासीमा महिलालाई सहजै विश्वास गरेको पाइँदैन, महिलाहरू स्वाभिमानमा विश्वास गर्छन्, महिलाले स्वाभिमान गुमाउन चाहँदैनन् । आफूले एप्रोच गर्न नसक्ने ठाउँमा महिलाले महिला भएकै कारणले बढी मेहनत गर्नुपर्छ, त्यो पक्कै हो । 
तपाईं किन सात वर्षसम्म एउटै मन्त्रालयमा बस्नुभयो ? 
म सहसचिव भइसकेपछि सुरुको एक वर्ष गृह मन्त्रालयअन्र्तगत रहेको कारागार व्यवस्थापन विभागको डिजी भएर काम गरें । आर्थिक क्षेत्रमा काम गर्ने रुचिले म उद्योग मन्त्रालयमा प्रवेश गरेकी थिए ।
उद्योगमा सेवा गरेको दुई वर्षपछि धेरैको प्रायोरिटीमा पर्ने ठाउँमा मलाई सरुवाको अफर आएको थियो । तर, त्यो ठाउँ मेरो प्रायोरिटीमा परेन । यदि हामीकहाँ सिस्टम थियो भने सहज हुने थियो, जहाँ सरुवा भए पनि काम गर्न जान सहज हुन्थ्यो ।
एउटै मन्त्रालयमा यति लामो समय बस्दा किन बस्यो भन्नु स्वाभाविक हो र राख्ने र बस्नेलाई नि गा¥हो हुन्छ नै । त्यसपछि म पटक–पटक सरुवा मागेको छु, त्यतिबेला पनि अन्य ठाउँमा सरुवा मिलाइदिनु भनेको थिए ।
मेरो ठूलो महŒवाकांक्षा केही थिएन । सायद मेरो सवालमा मिलाउन गा-हो भयो होला, अहिले एक वर्षको बीचमा पनि मैले सम्बन्धित ठाउँमा पटक–पटक गएर सरुवा मागें, तर मेरा लागि सरुवा मिलेन । साथसाथै मैले जति पनि मन्त्री र सचिवहरूसँग काम गर्ने अवसर पाएँ, उहाँहरूले पनि मलाई पठाउन चाहनुभएन ।
त्यही ठाउँमा अर्को मान्छे पठाउने तर मेरो सरुवा हुन सकेन । मेरो प्रोफोमेन्सले गर्दा पनि हुन सक्छ, मलाई पठाउन चाहनुभएन । जहाँ बसे पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो । कहीं जान नचाहेर यहाँ बसेको होइन, तर त्यतिबेला मिलेन ।
तपार्इं एउटा महिला, निजामती सेवामा प्रवेश गरेपछि यहाँसम्म आउँदा के–कस्ता चुनौतीको सामना गर्नुप-यो ?
सरकारी सेवामा प्रवेश गरेपछि पदले पाउने सुविधा स्वतः पाइन्छ । पोलिसी लेभलमा आइसकेपछि विभेद गर्न मिल्दैन, तर पनि व्यावहारिक समस्या आउने रहेछन् ।
खुला प्रतिस्पर्धाबाट सरकारी सेवामा प्रवेश गरेकाले पनि हुन सक्छ, मेरो व्यक्तिगत सवालमा अहिलेसम्म देखिने गरी विभेद भएकै छैन । हामी पुरुषप्रधान समाजमा छौं ।
काम गर्ने सवालमा मनोविज्ञानका कुराले असर पार्न सक्छन् । तर, पुरुष साइकोलोजी व्यवहारमा देखिन्छ र त्यो महसुस हुने कुरा हो । भनेर हुने कुरा होईन । अर्को कुरा, कार्यक्षमता हुँदाहँुदै पनि कतिपय अवस्थामा प्रश्न उठाइन्छ । त्यो पनि व्यवहारिक रूपमा महसुस हुन्छ नै । 
पछिल्लो समयमा महिला हिंसाका कुरा पनि बढी आउने गरेका छन्, तपार्इं आँफैले पनि महसुस गर्ने गरी हडल्सहरू हुन्छन् भन्नुभयो, यस्ता समस्याको निराकरण कसरी होला ?
हो, सबैभन्दा ठूलो कुरा सिस्टम हो । महिलाहरू सिस्टममा काम गर्न चाहन्छन् र म यो पनि भन्छु कि महिलाहरू स्वाभिमान गुमाउन चाहँदैनन् । महिलाहरू मेहनती र जिम्मेवार भएर काम गर्न सक्षम छन् । तर, सबै कुराका पछाडि सिस्टम चाहिन्छ ।
सिस्टम भयो भने महिलालाई काम गर्न सहजै हुन्छ, यस्ता समस्याको निराकरण हुन सक्छ । जबसम्म हाम्रो सोच र मानसिकतामा परिवर्तन हुँदैन, तबसम्म महिलाहरू पछि नै पर्छन् । सायद कतिपय समस्या संस्कारले पनि होला, महिलालाई अघि आउन निकै चुनौती छ ।
ब्युरोक्रेसीमा महिलालाई काम गर्न कत्तिको सहज वा गा-हो के हुँदो रहेछ ?
महिलाहरू एकआपसमा प्रतिस्पर्धी भएर आउनैपर्छ । कतिपय अवसर व्यक्तिमा पनि भर पर्छ । काम राम्रो हुँदाहुँदै पनि सिस्टम भएन भने केही हुँदैन । सिस्टमले सपोर्ट नगरेसम्म केही हुँदैन भन्ने मेरो बुझाइ हो ।
महिला हो, यसलाई प्रायोरिटी दिनुपर्छ भनेर त्यसरी महिलालाई व्यावहारिक रूपमा विशेष प्राथमिकता दिएको पाइँदैन । कानुनले दिनेबाहेक विशेष प्राथमिकता दिएको लाग्दैन । फेरि आरक्षण भनेको निश्चित समयका लागि मात्रै हो, जहाँ सिस्टम छ त्यहाँ महिलामाथि न्याय नै भएको छ । सिस्टममा भए स्वीकार्य हुन्छ । 
यो क्षेत्रमा प्रवेश गर्न चाहने महिलालाई के सुझाव दिनुहुन्छ त ?
महिलाका विभिन्न भूमिका हुन्छन्, कतिपय प्राकृतिक भूमिका हुन्छन्, त्यसले गर्दा महिलालाई बढी लोड छ, बढी बोझ छ । महिलाले कसैलाई पनि दोष नदिई थप समय मेहनत गर्नुपर्छ । त्यो भयो भने महिला सफल हुन सक्छन् । सामाजिक रोल बढी हुन्छ । 
बढी मात्रामा महिला सहभागिता चाहिन्छ । यी कुरालाई पार गर्दै अघि बढ्ने भएकाले महिलाहरू बढी मेहनत गर्नुपर्छ । विभिन्न समस्याका बाबजुत पनि चुलोचौकोदेखि हरेक सामाजिक भूमिकामा महिलाको उपस्थिति हुन्छ, पुरुषसरह हुनका लागि पनि महिलाले बढी मेहनत गर्नुपर्छ ।
परिवारिक सपोर्ट त्यत्तिकै महत्वपूर्ण हुन्छ । प्रवेश भइसकेपछि पनि धेरै चुनौती हुन्छन्, समान लेभलमै मेहनत बढी चाहिन्छ र जिम्मेवारीका लागि पनि थप मेहनत हुनुपर्छ । त्यही खालको जिम्मेवारी दिने सवालमा पुरुषलाई सहज रूपमा दिइन्छ, तर महिलालाई सहजै जिम्मेवारी दिने सक्ने अवस्था छैन । 
महिलाका लागि आरक्षणका कुरा पनि उठेका छन्, के छ तपाईंको धारणा ?
महिला हुँ, मलाई यो सुविधा देऊ भन्नु उचित हुँदैन । सिस्टममा सुधार ल्याउन सकियो भने सबैलाई सहज हुनेछ । हाम्रो ब्युरोक्र्यासीसमेत जेन्डर सेन्सेटिभ छैन । एकले अर्कोलाई रेस्पेक्ट गर्ने प्रशंसा गर्ने चलन छैन ।
महिलालाई सुरुमै हेर्ने नजर फरक हुन्छ । नचाहिने कुरा प्रायोरिटीमा राख्ने राम्रो काम गर्न खोज्दा ब्याक बाइटिङ गर्नु जस्तो देखिन्छ । अर्को कुरा, ब्युरोक्रेसीमा टे«डिसनल सोसाइटी पनि अलि बढी छ कि जस्तो पनि देखिन्छ ।
प्रशासनिक क्षेत्रमा मात्रै नभएर उद्यमशीलताका विषयमा तपार्इं राम्रो दख्खल राख्नुहुन्छ । तपार्इंको विचारमा महिला सशक्तीकरणका लागि उद्यमशीलता र प्रशासनिक क्षेत्रमध्ये कुन क्षेत्र उपयुक्त होला ?
यसमा सबैभन्दा ठूलो कुरा इच्छा हो । हामीकहाँ जागिरे मानसिकता छ, उद्यमशीलता भनेको सीप हो । महिलाहरूले आफ्नो हातले पैसा कमाएर परिवार सम्हाल्नु भनेको ठूलो कुरा हो । त्यसको क्षेत्रै फरक प-यो ।
त्यसमाथि पनि पोलिसीका कुरा गर्ने सरकार हो । उद्यमशीलतामा लाग्दा महिला अझै सक्षम हुन सक्छन् । सुरक्षा नभएका कारण पनि जागिरे मानसिकताको विकास भएको हुन सक्छ । हाम्रो जस्तो सोसाइटीमा महिलालाई सरकारी जागिर पनि राम्रो मानिन्छ । त्यो व्यक्ति र उसको चाहनामा भर पर्छ । 
महिला सशक्तीकरणका लागि संस्कार नै बाधक हो भन्न खोज्नुभएको हो ?
महिलालाई रेस्पेक्ट गर्ने कल्चर परिमार्जन हुनुपर्छ । ऐन–कानुन हामीकहाँ महिलामैत्री नभएका होइनन्, व्यावहारिक र मानसिक रूपमा महिलालाई हेर्ने दृष्टिकोणमा फरक हुनुपर्छ ।
तर, कतिपय सवालमा पहुँचका भरमा पनि महिलालाई ल्याइने गरेको पाइन्छ, त्यसरी आउँदा पनि महिलाले जिम्मेवारी बहन गर्नैपर्छ । महिला भएकै कारणले प्राथमिकतामा राखिन्छ भन्ने मानसिकतामा परिवर्तन ल्याउनु जरुरी देख्छु ।
सार्वजनिक प्रशासनमा देखिएका चुनौती
सार्वजनिक प्रशासन परिवर्तनको संवाहक हो । जस्तोसुकै राजनीतिक परिवर्तन किन नहोस्, सार्वजनिक प्रशासनले आत्मसात् गरी अनुसरण र कार्यान्वयनमा खरो रूपमा उत्रिनुको विकल्प छैन । राजनीति र प्रशासनबीच लक्ष्मणरेखा नै कोर्नुभन्दा पनि क्षेत्राधिकार हस्तक्षेप भयो कि भनेर संयमित भने हुनैपर्छ । 
राजनीतिज्ञ र विशेषज्ञको प्रकृति पनि फरक छ भने जिम्मेवारी तथा भूमिका पनि फरक–फरक भएकाले एकले अर्को पक्षको क्षेत्राधिकार नाघेर हस्तक्षेप गर्नेे प्रवृत्ति राम्रो होइन । राजनीतिज्ञहरूले राज्यसत्तामा पुगेर नीति–नियमहरू बनाउनु हाम्रो सामु चुनौती खडा भएको छ । त्यसका अतिरिक्त हाम्रो प्रशासनिक वृत्त चित्रमा परम्परागत सोच हाबी छ । 
उनीहरूले ल्याएका नीति–नियम तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सार्वजनिक प्रशासनले गर्ने हो । नीति तथा कार्यक्रमहरू सार्वजनिक प्रशासनले एकल कार्यान्वयन गर्न सक्दैन । यसका लागि राजनीतिक वातावरण सहज, सरल र सहयोगी बनिनु आवश्यक छ ।
होइन भने कार्यक्रमहरूको कार्यान्वयन प्रभावकारी बन्न सक्दैन । सार्वजनिक प्रशासनलाई समावेशी, योग्यतामूलक, दक्ष, जवाफदेही र परिणाममुखी हुनु अहिलेको आवश्यकता पनि हो ।
यसका लागि निरन्तर सुधार विधि, छरितो व्यवस्थापन, विद्युतीय शासन प्रणाली, उद्देश्यमूलक व्यवस्थापन, सुशासन, सेवामैत्री प्रशासन, द्वन्द्व व्यवस्थापन, एकीकृत सेवा प्रवाह, नतिजामूलक व्यवस्थापन, परिवर्तन व्यवस्थापन, व्यवस्थापन सूचना प्रणालीजस्ता आयाम अनुसरण गर्नुपर्छ । 
उद्यमशीलताको विकास र अवसर
सरकार र निजी क्षेत्रले विगत १२ वर्षदेखि नयाँ उद्यमी जन्माउने, भएका उद्यमीको क्षमता विकास गर्नेजस्ता विषयमा संस्थागत पहल गर्न सकेका छैनन् । 
नेपालको आफ्नो बजार र क्षमताअनुसार साना तथा मझौला उद्योग नै औद्योगीकीकरणका आधार हुन सक्छन् र तिनलाई महिला उद्यमीले समेत सबल ढंगले नेतृत्व गर्न सक्छन् भन्ने घरेलु तथा साना उद्योगहरूको अनुभवबाट प्रमाणित भइसकेको छ । 
यस्ता साना उद्यमीलाई मझौला उद्योग स्थापनाका लागि पुँजी जुटाउन ठोस नीतिगत पहल हुनुपर्ने खाँचो रहेको बैंकबाट प्रवाहित कर्जा विवरणले नै देखाउँछ । केवल ८ प्रतिशत महिला उद्यमीले मात्र बैंकबाट ऋण पाउन सकेको आँकडाले हाम्रो बैंकिङ प्रणाली र महिला उद्यमी दुवैको कमजोरी उजागर गर्छ ।
लघुवित्त र सहकारी संस्थाबाट ऋण लिएर घरेलु तथा साना उद्योग सञ्चालन गर्नेहरूमा महिलाको अनुपात उल्लेख्य छ, जसको ऋण भुक्तानी दरसमेत उच्च छ ।
त्यसको ठीक उल्टो मझौला तथा ठूला उद्योगमा ठूला बैंकबाट महिला उद्यमीले अति नै न्यून रूपमा ऋण पाउनुले बैंकहरूमा विश्वासकै कमी भएको देखाउँछ ।
उद्यमशीलताको क्षमता अभिवृद्धिका कार्यक्रमसहित महिला उद्यमीलाई उद्योग–व्यवसाय खोल्न र सञ्चालन गर्ने वातावरण तयार पार्न सरकार र नेपाल राष्ट्र बैंक मिलेर ठोस नीति बनाउनुपर्ने बेला भइसकेको छ । 

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...