Thursday, January 5, 2017

आर्थिक नीति निर्माणमा जुट्दै सरकार

निरु अर्याल 
काठमाडौंः सरकारले पहिलोपटक स्पष्ट परिभाषा सहितको आर्थिक नीति ल्याउने भएको छ  । मुलुकको अर्थतन्त्रको दिगो विकास गर्न तथा यसलाई चलायमान बनाउन ठोस र मूर्त परिभाषा सहितको आर्थिक नीति नभएको भन्दै सरकारले यस्तो नीति ल्याउने तयारी गरेको हो । चालू आवको चैत मसान्तभित्रै नीतिको मस्यौदा तय गर्ने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । 
आर्थिक नीतिले सरकारले अपेक्षा गरेको आर्थिक समृद्धिलाई कुन रूपबाट अघि बढाउने भन्ने मार्गसमेत निर्धारण गर्ने बताइएको छ । अन्तरराष्ट्रिय प्रचलनअनुसार ठूला र विकसित मुलुकहरूले समेत राजनीतिक परिवर्तनपछि आर्थिक घोषणा गर्दछन् । सोही नीतिअनुुसार ती मुलुकको अर्थ व्यवस्था सञ्चालन हुने गरेको पाइन्छ । 
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपालमा ठोस आर्थिक नीति नभएको भन्दै उचित व्याख्या र विश्लेषण सहितको आर्थिक नीतिको आवश्यकता सरकारले महशुस गरेको बताए ।
“नेपालमा अहिलेसम्म पनि मुलुकको आर्थिक नीति के हो भन्ने अन्योल रहेछ,” अर्थमन्त्री महराले भन्छन्, “मुलुकको समग्र आर्थिक विकासका लागि वृहत् राजनीतिक सहमतिसहितको ठोस आर्थिक नीति अपरिहार्य छ ।” 
नेपालमा प्रजातन्त्रको उदय भएपछि भएका ठूला राजनीतिक परिवर्तनले समेत आर्थिक नीतिको मुर्त परिभाषा दिन सकेका छैनन् । जसले गर्दा आर्थिक मुद्दाहरू समेत ओझेलमा परेको मन्त्री महराको भनाइ छ । गत बर्ष जारी भएको नेपालको संविधानको प्रस्तावनामा पनि नेपालको समाजबादउन्मुख आर्थिक नीति हुने उल्लेख छ । 
तर, समाजवादी अर्थतन्त्र भनिए पनि कस्तो खालको नीति आवश्यक छ भन्ने विषय अहिले पनि बहसकै बिषय बनेको छ । “नेपालमा ठूला राजनीतिक परिवर्तन भए तर आथिक नीतिबारे स्पष्ट परिभाषा अहिलेसम्म भएका ऐन कानुनहरूले गर्न सकेका छैनन्,” अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्राध्यापक डा. पुण्यप्रसाद रेग्मीले भने । उनले त्यही आवश्यकतालाई महसुस गरेर नै आर्थिक नीतिको तर्जुमा गर्न खोजिएको बताए । उनका अनुसार नीतिले मुलुकको स्पष्ट खाका र भिजनसहितको अर्थतन्त्रलाई दिशाबोध गर्नेछ । 
अर्थमन्त्रीको अध्यक्षतामा गतसाता बसेको बैठकले आर्थिक नीतिको क्यालेन्डर तयार गरेर निर्धारित समयमै नीतिको मस्यौदा तय गर्ने निर्णय गरेको छ । सोही निर्णयका आधारमा अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार रेग्मीको अध्यक्षतामा प्राविधिक समिती गठन भइसकेको छ । समितिमा अर्थ सहित उद्योग, वाणिज्य, कृषि बिकास मन्त्रालयका सचिवहरु सहभागि छन् । 
यसैगरी, राष्ट्रिय योजना आयोगका सचिव, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर पनि उक्त समितिमा सहभागि छन् । समितिले अर्थमन्त्रालयको आर्थिक नीति तथा विश्लेषण महाशाखालाई हालसम्म भएका नीतिको अध्ययन अनुसन्धान गर्न निर्देशन दिइसकेको छ ।
स्पष्ट परिभाषा सहितको आर्थिक नीतिको लागि विभिन्न मन्त्रालय, बिभाग, निजी क्षेत्र तथा सरोकारवालाहरुसँग राय सुझाव लिने रेग्मीले जानकारी दिए । उनका अनुसार के कसरी मस्यौदा तयार गर्ने भन्ने बिषयमा प्राविधिक समितिले अध्ययन गरिरहेको छ । “यी बाहेक हाम्रो कमिटिले टिओआर समेत तयार गरिसकेको छ, त्यो पनि एक साताभित्रै पेश गर्ने तयारीमा छौं,” उनले भने । 
समितिले हाल प्रचलित ऐन नियम र अन्तरराष्ट्रिय प्रचलनमा रहेका नीतिहरुको पनि अध्ययन गर्नेछ । छिमेकी मुलुक चीन, भारतदेखि शक्तिशाली मुलुक अमेरिका र बेलायतले पनि ठूला राजनीतिक परिवर्तनपछि  आर्थिक नीति अवलम्बन गरेको र त्यसबाट नै ती मुलुकहरु समृद्ध बनेको उनको भनाइ छ ।

स्वरोजगार कोषबाट ५ लाखसम्म ऋण पाइने

निरु अर्याल 
काठमाडौंः सरकारले युवा स्वरोजगार कोषमार्फत प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गर्ने भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको नियमावली संशोधन गर्दै ऋण सीमा बढाउन लागिएको हो । 
हाल स्वरोजगार कोषमार्फत प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था छ । यस्तै, कोषमार्फत प्रदान गरिने ऋणको व्याजदर साविकको १२ प्रतिशतबाट घटाएर १० प्रतिशत पुर्‍याइने तयारी भएको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा. डा. पुण्यप्रसाद रेग्मीले जानकारी दिए ।
“कोषमार्फत धेरैभन्दा धेरै बेरोजगार युवाले सुविधा उपयोग गर्न सकुन् भनेर नियमावली संशोधन गर्न लागेका हौं,” कोषमा उपाध्यक्षसमेत रहिसकेका रेग्मीले भने, “आम बेरोजगार युवा उद्यमी बनुन्, आयआर्जनमा लागुन् भन्ने नै सरकारको उद्देश्य हो ।” 
पहिलो संविधानसभा निर्वाचनपछि बनेको पुष्पकमल दहाल नेतृत्वको सरकारका अर्थमन्त्री बाबुराम भट्टराईले युवा स्वरोजगार कार्यक्रम ल्याएका हुन् । अर्थमन्त्री कृष्णबहादुर महराको अध्यक्षतामा हालै बसेको कोषको बोर्ड बैठकले आवश्यक खाकासहित नियमावली संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । 
संंशोधित नियमावलीको मस्यौदा कानुन मन्त्रालय लैजाने तयारी भएको कोषले जनाएको छ । कोषका अनुसार, सरकारले घोषणा गरेका युवालक्षित कार्यक्रम कार्यान्वयनलाई विशेष प्राथमिकतामा राखिएको छ । ‘एक इलाका एक नमुना व्यवसाय’ लगायतका कार्यक्रम कार्यान्वयनका लागि कोषले सहकारी संस्थालाई प्रदान गर्ने सहुलियत ऋणको सिमा समेत बढाउने तयारी भएको छ । 
संशोधित व्यवस्थाअनुसार वित्तीय संस्था र सहकारीहरूले युवा स्वरोजागर कोषमार्फत एक करोड रुपैयाँसम्म बिनाधितो ऋण पाउनेछन् । हाल बेरोजगार युवालाई दुई लाख रुपैयाँसम्म दिनसक्ने प्रावधानसहित वित्तीय संस्थालाई ५० लाख रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउँदै आएको छ । अब यस्ता संस्थाले पनि एक करोड रुपैयाँ ऋण पाउनेछन् । 
नियमावली संशोधन भएपछि बेरोजगार युवालाई काम गर्न  सहज हुने र युवा पलायनको समस्या न्यूनीकरण हुने अर्थमन्त्रालयको दाबी छ । “यो व्यवस्थाले बेरोजगार युवालाई स्वरोजगार बन्न प्रेरित गर्नेछ र विदेसिएका युवाहरू स्वदेशमै फर्केर पनि सहुलियत ऋण लिएर उद्यमी बन्न सक्नेछन्,” रेग्मीले भने । 
कोषका अनुसार नियमावली संशोधन भएसँगै स्थानीय तहको निर्धारणपछि प्रत्येक तहमा नमुना व्यवसाय सञ्चालनका लागि स्थानीयस्तरको वित्तीय संस्थालाई एक करोड रुपैयाँ ऋण सहुलियत दिइनेछ  । 
यस्ता नमुना व्यवसाय स्थानीय वित्तीय संस्था वा सहकारीमार्फत सञ्चालन हुनेछन् ।  प्रत्येक स्थानीय तहमा नमुना कार्यक्रम सञ्चालन गर्दा करिब ७ अर्ब ५० करोड रुपैयाँ खर्च हुने कोषको अनुमान छ । 
युवाहरूलाई स्वदेशमै आयआर्जनमा लगाउने र स्वरोजगार बनाउने उद्देश्यसहित ०६५ सालमा कोषको स्थापना भएको थियो । कोष स्थापना भएको आठ वर्षसम्म पनि प्रभावकारी बन्न नसकेपछि नयाँ रणनीति बनाउन लागिएको हो । कोषबाट ऋण लिएर नियमित व्याज भुक्तानी गर्दै आएका ऋणीलाई सरकारले ६० प्रतिशतसम्म व्याज अनुदान दिँदै आएको छ । 
ऋणको किस्ता र नियमित व्याज भुक्तानी गरे ऋणीले चार प्रतिशतमात्रै ऋण तिर्नुपर्ने उनले बताए । करिब चार अर्ब रुपैयाँ लगानी गरिसकेको कोषले यस कार्यक्रमबाट ३० हजार युवा उद्यमी बन्न सफल भएको दाबी गरेको छ ।  
कोषले यसवर्ष २५ अर्ब रुपैयाँ लगानी गर्ने र  ५० हजारलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । रेग्मीले प्रत्येक जिल्लाबाट ‘फास्ट ट्र्याक’मा ऋण उपलब्ध गराउने बताए । संशोधित प्रावधानअनुसार प्रत्येक जिल्लाबाटै कम्तिमा दुई लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र त्यसभन्दा बढी चाहिए केन्द्रबाट उपलब्ध हुनेछ । “त्यसरी दिने ऋणमा भने धितो राखिनेछ,” उनले भने ।
स्वरोजगार कार्यक्रम संचालनका लागि बेरोजगारले आवश्यक ऋण लिन आफ्नो व्यावसायिक योजनाको आधारमा कार्यविधि बनाई जिल्ला संयोजन तथा अनुगमन समितिमार्फत वित्तीय संस्थामा निवेदन दिन सक्नेछन् । 
त्यस्तो निवेदन परेपछि सम्बन्धित बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाले आफ्नो प्रक्रियाअनुसार बढीमा दुई लाख (कार्यबिधि संशोधन भएपछि पाँच लाखसम्म) ऋण स्वीकृत गर्न सकिने कार्यविधिमा उल्लेख छ । ऋण स्वीकृत भएपछि सम्बन्धित व्यक्तिले गर्ने स्वरोजगारमूलक व्यवसाय पूर्ण रुपमा ऋणको साँवा, व्याज भुक्तानी नगरुन्जेल ऋणको सुरक्षणको रुपमा सम्बन्धित बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाले धितो राख्नेछन् । 
बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाले ऋण स्वीकृत गरेपछि प्रत्येक १५ दिनमा त्यसको शोधभर्नाका लागि तोकिएको विवरणसहित कोषमा निवेदन दिनुपर्नेछ । कोषले त्यसैको आधारमा ऋणको सोधभर्ना सम्बन्धित बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई नक्सा दिनेछ ।

Sunday, January 1, 2017

विदेशी लगानी प्रतिबद्धतामा कमी


काठमाडौं: गत वर्ष प्रत्येक्ष वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । लगानी बोर्डमा विदेशी लगानी प्रतिबद्धता शून्य रह्यो । उद्योग विभागमार्फत आउने प्रतिबद्धता पनि आधा घटेको छ । वर्षभरि १७ अर्ब ८७ करोड रुपैयाँमात्र लगानी प्रतिबद्धता आएको छ । अघिल्लो वर्ष उद्योग विभाग र लगानी बोर्डमार्फत दुई खर्ब ४४ अर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । विदेशी लगानीका लागि २०१६ शुभ रहेन ।
सरकारले लगानीमैत्री वातावरण बनेको दाबी गर्दै आएको छ । तर, विदेशी लगानी भने बर्सेनि ओरालो लाग्दैछ । सन् २०१४ मा झन्डै तीन खर्ब ४६ अर्ब लगानी गर्ने प्रतिबद्धता आएको थियो । त्यसयता उद्योग विभाग र लगानी बोर्डमा लगानी प्रतिबद्धता घट्दै गइरहेको देखिन्छ । सन् २०१५ भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीले अशान्त रह्यो । प्रतिकूल अवस्थामा पनि लगानी बोर्डमा तीनवटा ठूला परियोजनामा विदेशी लगानीको प्रस्ताव आएको थियो । उद्योग विभागमा पनि ३३ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको थियो । तर, २०१६ शान्त रहँदा पनि बोर्डले कुनै परियोजनामा लगानी तान्न सकेन । लगानी बोर्ड शिथिल भएको भन्दै गत साता संसद्को अर्थ समितिमा व्यापक आलोचना भएको थियो ।
नेपालमा विदेशी लगानी भित्र्याउन उपयुक्त वातावरण तयार नभइसकेको विज्ञको बुझाइ छ । लगानी भित्र्याउन नीतिगत सुधारसँगै राजनीतिक स्थिरता आवश्यकपर्ने उनीहरूको तर्क छ । मुलुकले नयाँ संविधान पाए पनि राजनीतिक उतारचढाब जारी छ । लगानीकर्ता 'पर्ख र हेर' को अवस्थामा छन् । तर, उद्योगमन्त्री नवीन्द्रराज जोशी मुलुकमा लगानीको वातावरण बन्दै गइरहेको दाबी गर्छन् । 'सरकारका तर्फबाट नीतिगत सुधार भइरहेको छ', स्वदेशी विदेशी उत्साहित देखिएका छन्, एक्कासी लगानी भित्रिने होइन, छिट्टै नतिजा देख्न पाइनेछ', उनले अन्नपूर्णसँगको कुराकानीमा भने । उद्योग विभागका अनुसार २०१६ मा सातवटा क्षेत्रमा १७ अर्ब ८६ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ । तीन सय ७१ परियोजनामार्फत भित्रिने लगानीले १२ हजार तीन सय ६० जनालाई रोजगारी दिनेछ । सबैभन्दा ठूलो लगानी सेवा क्षेत्रमा आएको छ । सेवा क्षेत्रमा आठ अर्ब २४ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।
यस अवधिमा कृषि तथा वनजन्य परियोजनामा २२ करोड रुपैयाँ, निर्माण क्षेत्रमा एक करोड, ऊर्जामा एक अर्ब ८२ करोड रुपैयाँ, उत्पादनमूलक परियोजनामा तीन अर्ब रुपैयाँ, खनिजमा तीन करोड रुपैयाँ र पर्यटनमा चार अर्ब ५० करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ ।
बोर्डमा आएको प्रतिबद्धता
लगानीको वातावरण बनाएर ठूला परियोजनामा स्वदेशी र विदेशी लगानी जुटाउने उद्देश्यसहित २०११ मा लगानी बोर्ड गठन भएको थियो । तर, उद्देश्यअनुरुप प्रगति भएको देखिँदैन । बोर्ड गठन भएको दुई वर्षपछि २०१३ मा नाइजेरियाको डंगोटे कम्पनीले सिमेन्ट उत्पादनमा ५५ करोड अमेरिकी डलर लगानी गर्ने प्रस्ताव गर्‌यो । त्यतिबेला उद्योग विभागमा २४ अर्ब ५४ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको थियो ।
बोर्डले २०१४ मा पाँचवटा ठूला कम्पनीलाई लगानीको स्वीकृति दियो । तीनवटा भारतीय र एउटा फिनल्यान्डको कम्पनीबाट तीन खर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको थियो । भारतको रिलायन्स कम्पनीले सिमेन्टमा ४० करोड डलर, एसजेवीएनले अरुण तेस्रोमा एक अर्ब ४० करोड डलर, जीएमआरले अपर कर्णालीमा एक अर्ब १६ करोड डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै, फोहोर व्यवस्थापनमा भारतीय कम्पनीले ८० लाख डलर र फिनल्यान्डको कम्पनीले चार करोड ९० लाख डलर लगानी स्वीकृति लिइसकेका छन् ।
लगानी बोर्डमा २०१५ मा तीनवटा कम्पनीले लगानीको प्रस्ताव गरे । चीनको होङ्सीले सिमेन्ट उद्योगमा ३६ करोड ९० लाख डलर, चीनकै हुवाजीनले सिमेन्ट उद्योगमा १४करोड डलर, चीनकै थ्री गोर्जेज इन्टरनेसनलले पश्चिम सेती जलविद्युत् परियोजनामा एक अर्ब ६० करोड डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । होङ्सी कम्पनीले नेपालको शिवम् सिमेन्टसँग सहकार्य गरेर लगानी भित्र्याइसकेको छ । होङ्सी र शिवमको संयुक्त लगानीमा नवलपरासीमा ठूलो सिमेन्ट उद्योग निर्माण सुरु भइसकेको छ । अरु कम्पनीको लगानी भित्रिने प्रक्रियामा छ ।
तीव्र आर्थिक विकास गरेको चीन लगानी गर्ने ठाउँ खोजिरहेको छ । भारतीय पनि विभिन्न मुलुकमा ठूलो लगानी गर्न थालेका छन् । नेपालमा सबैभन्दा बढी लगानी आउने भारत र चीनबाटै हो । कहिले भारत अगाडि हुन्छ, कहिले चीन अगाडि हुन्छ । तर, २०१६ मा दुवै मुलुकबाट लगानी प्रतिबद्धता घट्यो । चीनबाट आएको अधिकांश प्रतिबद्धता साना होटेल तथा रेस्टुरेन्टमा केन्द्रित छ ।
नेपाल भर्खरै विकासको बाटोमा अगाडि बढेको छ । प्राकृतिक स्रोतमा धनी नेपालमा लगानीको सम्भावना उच्च छ । लगानीका लागि नेपाल भर्जिन मुलुक मानिन्छ । ऊर्जा, कृषि, पर्यटन, पूर्वाधार, सूचनाप्रविधिलगायतमा लगानीको सम्भावना छ । उपयुक्त वातावरण बनाएर विदेशी लगानी भित्र्याउनुपर्ने विज्ञ सुझाउँछन् । नेपालमा प्रशस्त भारतीय र चिनियाँ लगानी बढी भित्र्याउन सकिने सम्भावना छ ।
नेपालमा फागुनको १९ र २० गते लगानी सम्मेलन हुँदैछ । सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता सहभागी हुने मन्त्री जोशीले बताए । सम्मेलनमार्फत नेपालमा लगानी सम्भावना र वातावरणको बारेमा लगानीकर्तालाई जानकारी गराइने भएको छ । सोही अवसरमा लगानीका लागी आह्वान गरिने उनले जानकारी दिए ।
नेपालमा सबैभन्दा बढी लगानी आउने भारत र चीनबाट हो । कहिले भारत अगाडि हुन्छ, कहिले चीन अगाडि हुन्छ । तर, २०१६ मा दुवै मुलुकबाट लगानी प्रतिबद्धता घट्यो ।

Saturday, December 31, 2016

बजेट खर्च यस कारण भएन

वास्तवमा भन्नुपर्दा अहिले जुनरुपमा पूँजीगत बजेट (विकास बजेट) खर्च भएको छ, त्यसमा अर्थमन्त्रालय सन्तुष्ट छैन । किनभने पूँजीगत खर्च बढाउन हामी जुन किसिमले प्रयास गरिरहेका छौं, जुन किसिमले लागिरहेका छौं, लाइन मिनिष्ट्रीहरुले सकेसम्म छिटो काम गरिदिए हुन्थ्यो, पूँजीगत खर्च बढाइ दिए हुन्थ्यो, आयोजना कार्यान्वयनलाई प्रभाबकारी बनाइ दिए हुन्थ्यो, क्वालिटी कन्ट्रोल गरिदिए हुन्थ्यो भनेर लाइन मिनिष्ट्रीको जुन किसिमबाट अनुगमनमा हामी लागिरहेका छौं, त्यो हिसाबले हेर्दा राम्रो नतिजा छैन ।
गत मंसिर मसान्तसम्ममा जम्मा साढे ७ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च भएको छ । यस्तै पुस दोस्रो सातासम्ममा ८ प्रतिशतको हाराहारीमा मात्रै पूँजीगत बजेट खर्च भएको छ ।
पूँजीगत बजेट खर्चको यो नतिजा राम्रो होइन । खर्च किन कम भयो भनेर हामी लागिरहेका छौं । लाइन मिनिष्ट्रीहरुसँग हामी छलफलमै छौं । उहाँहरुले भौतिक प्रगति राम्रो छ, तर खर्चको विल नउठाएका कारण भुक्तानीको माग भएको छैन, यो भुक्तानी गएपछि पुस मसान्तसम्ममा वित्तीय प्रगति पनि राम्रो हुन्छ भनेका छन् ।
समयमै लेखा प्रतिवेदन तयार नपार्ने वा लिनुपर्ने शोधभर्ना नलिने आयोजना प्रमुखलाई कारबाही हुन्छ । कारबाही भनेर एक्सनमै जाने, सबैलाई थुन्ने, कारागारै हाल्ने भन्ने कुरा हुदैन । कार्यसम्पादन करार गर्ने प्रक्रिया छ । समयमा सन्तोषजनक काम नगरेमा उसलाई हायर र फायर गर्ने ब्यवस्था पनि छ ।
भौतिक प्रगति साच्चिकै राम्रो छ । गुणस्तरीय बनाएको छ, विल उठाएको छ भने तपाइहरुले चेक जाँच गर्नुस् भनेका छौं । सटिङ्गफाइड प्रमाणिकरणमा जानुस्, भुक्तानी प्रक्रियामा जानुस् भनेका छौं । लाइन मिनिष्ट्रीहरुले यसलाई अलि सिरियस्ली हेर्नुपर्छ । पूँजीगत खर्च बढाउनको लागि अर्थमन्त्रालय र योजना आयोग मात्रै तात्तिएर हुने रहेनछ भन्ने देखियो । सम्बन्धित लाइन मिनिष्ट्री नै तातिनु पर्ने रहेछ भन्ने देखियो ।
पूँजीगत खर्च बढाउने भनेको आयोजनाको कार्यान्वयन नै हो । आयोजना कार्यान्वयन गर्नको लागि योजना आयोगले समयमै योजना स्वीकृत गरिदिएको छ । अर्थमन्त्रालयले केही गर्नै पर्दैन । साउन १ गते नै अख्तियारी गएको छ । अर्थमन्त्रालयबाट गएको अख्तियारी समयमै तल्लो निकायसम्म गयो कि गएन भनेर हामीले त्यसको अनुगमन गरिरहेका छौं । योजना आयोगबाट कार्यक्रम स्वीकृती भयो कि भएन, त्यसको अनुगमन गरिरहेका छौं । हामी प्रोसेस मनिटरिङ गरिरहका छौं ।
केही मन्त्रालयका केही कार्यक्रम योजना आयोगबाट अझै पनि स्वीकृत नभएका देखिए । केही सानातिना र प्राविधिक समस्या योजना आयोगबाट पनि देखियो । धेरै समस्या सम्बन्धित मन्त्रालयहरुकै देखियो । पर्याप्त कागजात नपठाइ दिने, चाहिने सुचना नपठाइ दिने, कतिपय कार्यक्रम स्वीकृतिको लागि नै नपठाउने पनि देखिएको छ ।
केही मन्त्रालय र कार्यालयहरुको अख्तियारी फिल्डस्तरका कार्यालयहरुमा अझै पनि पुगेको छैन । त्यस्तो पनि देखिएकोले त्यो तत्कालै गर्न हामीले स्ट्रङ निर्देशन पनि दिएका छौं । हामी प्रत्येक महिना अनुगमन गर्छौं भनेका छौं ।
लेखा प्रतिवेदन तयारै नभएका ठाउमा निकासा रोक्नु, स्पष्टीकरण सोध्नु पनि कारबाहीको पहिलो चरण नै हो । यस्तालाई गम्भीर रुपमा लिएर कारबाही गर्नुस् भनेर हामीले भनिरहेका छौं ।
अर्काे कुरा हामीले आयोजनाकै फिल्ड अनुगमन गरिरहेका छौं । आयोजना कार्यान्वयन भएको छ कि छैन ? कार्यान्वयन भएको छैन भने किन अड्कियो ? स्थानीयस्तरका समस्या हुन् कि, स्थानीयस्तरका समस्या हुन् र हामीले सहयोग गर्न सक्ने अवस्था भए हामी कोअर्डिनेसन गरिरहेका छौं । स्थानीय प्रशासनसँग समन्वय गरेर हाम्रैस्तरबाट पनि पहल गरिरहेका छौं । कानुनी र वातावरणीय वाधा अड्चन छ भने, जग्गा प्राप्तिको समस्या हो भने सम्बन्धित मन्त्रालयहरुलाई तपाइहरुले सिरियस्ली हेरिदिनुस् भनेर कोअर्डिनेसन गरिरहेका छौं । प्रधानमन्त्री स्वयम्ले नै ठूला आयोजनाहरुको अनुगमन गरिरहनु भएको छ ।
हामीले आफ्नो ठाउँबाट सक्दो प्रयास गरिरहेका छौं । लाइन मिनिष्ट्रीहरु कति तात्छन्, पूँजीगत खर्च त्यसैमा भर पर्छ।
अबण्डामा रकम राख्ने र अलिपछि बाँडफाँड गर्ने पहिलादेखिकै समस्या हो । अहिले यो समस्या केही कम भए पनि अझै त्यस्तै देखिएको छ । कतिपयमा अख्तियारी गए पनि बैदेशिक शोधभर्ना लिनुपर्ने आयोजनाले त्यस्तो शोधभर्ना नलिएको कारण कोष तथा लेखा नियन्त्रण कार्यालयले त्यस्तो रकम रोकिदिएको छ । समयमै शोधभर्ना नलिने समस्या ठूलो रुपमा देखापरेको छ । झण्डै ५०/५१ अर्ब रुपैयाँ बैदेशिक शोधभर्ना लिन बाँकी छ । यसको अनुगमन गर्ने र चाडो शोधभर्ना लिन लगाउने काममा महालेखा नियन्त्रकको कार्यालय लागिपरेको छ ।

अर्काे समस्या भनेको दाताले दिने सोझै भुक्तानीको रकम पनि आइरहेको छैन । असोज मसान्तसम्मा लेखा प्रतिबेदन पेश गर्नुपर्ने र पुस मसान्तसम्ममा लेखापरिक्षण प्रतिबेदन पेश गर्नुपर्छ । पुस मसान्त आउन लागि सक्यो, कतिपय आयोजनाहरुले असोज मसान्तमा पेश गर्नुपर्ने लेखा प्रतिबेदन नै पेश गरेका छैनन् । यसैकारण दातृ निकायबाट सोझै भुक्तानी भएन । यस्तो भुक्तानी नभएपछि काम भए पनि पूँजीगत खर्च कम भएको देखियो । यसमा पनि हाम्रो बैदेशिक सहायता समन्वय महाशाखाले समन्वय गरेर प्रतिबेदन पेश गर्ने र भुक्तानी लिने कार्यमा तीब्रता ल्याउन पहल गरिरहेको छ ।
यी सवै प्रयासको प्रतिफल स्वरुप पुस मसान्तसम्ममा पूँजीगत खर्चका अवस्था आशातित हुन्छ कि भनेर अर्थमन्त्रालयले अपेक्षा गरिरहेको छ ।
समयमै लेखा प्रतिवेदन तयार नपार्ने वा लिनुपर्ने शोधभर्ना नलिने आयोजना प्रमुखलाई कारबाही हुन्छ । कारबाही भनेर एक्सनमै जाने, सबैलाई थुन्ने, कारागारै हाल्ने भन्ने कुरा हुदैन । कार्यसम्पादन करार गर्ने प्रक्रिया छ । समयमा सन्तोषजनक काम नगरेमा उसलाई हायर र फायर गर्ने ब्यवस्था पनि छ । सम्बन्धित मन्त्रालय वा विभागलाई समयमै काम नगर्ने आयोजना प्रमुखलाई कारबाही गर्नुस् भनेर हामीले भनिरहेका छौं ।
कतिपय अवस्थामा प्राविधिक कारण देखाएर काम नगरेका हुन सक्छन् । कतिपय ठाउँमा लेखा तयार भएको तर लेखा प्रमाणित गर्ने निकायहरु हुन्छन् । कतिपयमा दाता र आयोजना प्रमुखले संयुक्त रुपमा काम गर्नुपर्ने हुन्छ । कतिपय लेखा प्रतिवेदन तयारै नभएका ठाउमा निकासा रोक्नु, स्पष्टीकरण सोध्नु पनि कारबाहीको पहिलो चरण नै हो । यस्तालाई गम्भीर रुपमा लिएर कारबाही गर्नुस् भनेर हामीले भनिरहेका छौं । उपप्रधान तथा अर्थमन्त्रीज्यूको अध्यक्षमा बस्ने गरेको सचिब बैठकमा पनि यस्ता कुराहरु कठाइका साथ कार्यान्वयन गर्न निर्देशन दिने गरिएको छ । यसकारणले पुस मसान्तसम्ममा पूँजीगत खर्च बढ्ला कि भन्ने आशा गरेका छौं ।
अनुमान गरे अनुसार हुन्छ कि हुँदैन । सबै कुरा हामीले भने अनुसार हुने भन्ने भएन । पुस मसान्तसम्ममा पूँजीगत बजेट खर्च २५ प्रतिशत पुग्छ कि भन्ने हाम्रो अनुमान छ । अहिलेको प्रबृत्ति हेर्दा यति खर्च पुग्ने देखिदैन । तर आशा गरौं यो पुग्छ ।
अर्थसचिब शान्ताराज सुबेदीसँगको कुराकानीमा आधारित 


रेमिट्यान्स घट्दा अर्थतन्त्रमा दीर्घकालीन असर पर्दैन: अर्थमन्त्री महरा



पूरक बजेटमा अन्योल कायमै

निरु अर्याल  
काठमाडौंः सरकारले राजनीतिक सहमतिबाटै १ खर्ब रुपैयाँबराबरको पूरक बजेट ल्याउने बताए पनि आवश्यक तयारी टर्दै जाँदा बजेट आउने सम्भावना न्यून हुँदै गएको छ । प्रमुख राजनीतिक दलबीच ध्रुवीकरण बढ्दै जाँदा पुसको दोस्रो साता बितिसक्दासम्ममा पनि पूरक बजेट आउने नआउनेमा अन्योलता देखिएको हो । 
राजनीतिक सहमति भएमात्रै पूरक बजेट ल्याउने भनिए पनि सहमति हुन नसकेपछि तयारी गर्न कठिनाइ भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रकम जुटाउन समस्या नदेखिए पनि तयारीका लागि पर्याप्त समय छैन । 
सरकारले सहमति भएमा पुस मसान्तसम्म १ खर्ब रुपैयाँको बजेट ल्याउने बताउँदै आएको छ । मन्त्रालयले बजेट तर्जुमा गर्न कम्तीमा पनि करिब १ महिनाको समय चाहिने बताउँदै आएको छ ।
“पूरक बजेटका विषयमा छलफल भइरहेको छ, तर आउने नआउने निश्चित छैन,” मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार अर्थमन्त्री कृष्णबहादुर महराले मन्त्रालयमा हुने नियमित बैठकमा समेत पूरक बजेटको आवश्यकता औंल्याउँदै राजनीतिक सहमतिको प्रयास जारी रहेको जानकारी दिने गरेका छन् । 
मन्त्री महराले कर्मचारीलाई बजेटको तयारी गर्न निर्देशनसमेत दिँदै आएका छन् ।  ती अधिकारीले पूरक बजेट ल्याउने निर्णय राजनीतिक भए पनि पुसभित्रै सहमति आउन नसके औचित्य नहुने दाबीसमेत गरे ।
“राजनीतिक सहमति भए एक साताको तयारीमा नै पूरक बजेट ल्याउन सकिन्छ, हामी सहमतिको प्रतीक्षामा छौं,” अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा. डा. पुण्यप्रसाद रेग्मीले भने, “प्रधानमन्त्रीले सदनमा सम्बोधन गरेका विषय कार्यान्वयन गर्न पूरक बजेट आवश्यक छ ।” 
सदनबाट घोषणा गरिएका नयाँ कार्यक्रमका लागि पूरक बजेटको आवश्यकता देखिएको र यो सबैको साझा विषय भएकाले ढिलै भए पनि सहमति जुट्ने विश्वास उनले व्यक्त गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा गरेको सम्बोधनमा समेटिएका कार्यक्रमका लागि करिब १ खर्ब २० अर्ब जति बजेट आवश्यक हुने देखिएको छ । प्रधानमन्त्री दाहालले भूकम्प प्रभावितलाई पूर्ववर्ती सरकारले घोषणा गरेको २ लाख अनुदान कम भएको भन्दै थप १ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । 
त्यस्तै, प्राचीन सम्पदा निर्माण तथा विपन्न वर्गका कार्यक्रमका लागि चालू बजेटको खर्चले नधान्ने भएकाले पूरक बजेटबारे छलफल भएको उनको दाबी छ । “प्रधानमन्त्रीले घोषणा गरेका कार्यक्रम नियमित बजेटमा छैनन्,” उनले भने, “ती कार्यक्रम कार्यान्वयनका लागि पूरक बजेट नै चाहिन्छ ।”
मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा. डा. रेग्मीले लक्ष्यभन्दा बढी राजस्व उठिरहेको र नेपालका विकास साझेदारले पनि आफ्ना केही कार्यक्रमका बजेट बचाएकाले स्रोतको समस्या नहुने जिकिर गरे । “राज्यको ढुकुटीमा रहेको पुँजी परिचालन गर्न सकियो भने कसैलाई पनि घाटा हुँदैन, सरकारसँग पैसा भएकाले स्रोतको समस्या पर्दैन,” उनले भने । 
नेपाल राष्ट्र बैंकका अनुसार सरकारको ढुकुटीमा करिब २ खर्ब रुपैयाँ जम्मा भएको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष सुरु हुनुभन्दा ४५ दिन अघि नै चालू आर्थिक वर्षका लागि १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट सार्वजनिक गरेका थिए । 
तर, लम्बिँदो राजनीतिक संक्रमण, अक्षम सरकारी कर्मचारीतन्त्र तथा जटिल कानुनी प्रावधानका कारण चालू आर्थिक वर्षको आधा समय सकिन लाग्दा पनि २० प्रतिशतमात्र खर्च भएको छ ।

Monday, December 26, 2016

ब्राण्ड खोज्दै स्वदेशी जुत्ता


निरु अर्याल
एक दशक अघिसम्म नेपाली जुत्ता भन्नेबित्तिकै आम मानिसमा नाक खुम्च्याउने प्रवृत्ति थियो । अहिले भने स्वदेशी जुत्तामा आर्कषण निकै बढेर गएको छ । स्वदेशी उत्पादनले सुलभ मूल्यमा गुणस्तरीय जुत्ता लगाउने उपभोक्ताको चाहना मात्र पूरा भएको छैन, मुलुकको अर्थतन्त्रमा आयात प्रतिस्थापन गरेर योगदान गर्नसमेत यो क्षेत्र सफल भएको छ ।
 बि.सं. २०२२ मा बाँसबारी छालाजुत्ता कारखाना स्थापना भएसंगै सुरु भएको नेपाली छाला जुत्ता उद्योगको ब्यवसायीक क्षेत्र यतिबेला ब्यवसायमा मात्रै सिमित छैन स्वदेशी उत्पादनलाई बढावा दिन र आत्म निर्भरताको बाटो तर्फ मोडिएको छ ।  त्यति मात्रै होईन, लगानीमैत्री वातावररणको अभाव देखाउदै मुलुकका प्रतिष्ठीत उद्योग र व्यावसायिक प्रतिष्ठानहरू बन्द तथा धराशायी हुँदै गइरहेका बेला जुत्ताको व्यवसाय भने फस्टाउँदै गएको छ ।
केही वर्ष अघिसम्म विदेशी जुत्ताको वर्चस्व रहेको नेपाली जुत्ताले बजारको ६५ प्रतिशत हिस्सा ओगटको व्यवसायीको दाबी छ । स्वदेशी ब्रान्डका जुत्ता–चप्पलले नेपाली बजारमा आफ्नो हिस्सा बढाउँदे गइरहेका छन् । भने आयातीत बजार ओरालो लाग्दै छ  । बर्सेनि १५ देखि २० प्रतिशतले स्वदेशी उद्योेगको बजार बढिरहेको छ । सोही अनुपातमा निर्यातको संभावना पनि त्यतिकै छ रहेको सम्बद्ध ब्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार स्वदेशी उद्योगमै प्रतिस्पर्धा समेत शुरु भएको छ ।  “प्रत्येक वर्ष १५ देखि २० प्रतिशतले बजार हिस्सा बढेको छ,” नेपाल छालाजुत्ता तथा वस्तु उत्पादक संघका निबर्तमान अध्यक्ष होमनाथ उपाध्याय भन्छन्, “पछिल्लो समय विदेशी उद्योगसँग भन्दा स्वदेशी उद्योग उत्पादनसँगै प्रतिस्पर्धा सुरु भएको छ ।”
पछिल्लो दशकमा फस्टाउँदै गएको स्वदेशी छाला जुत्ता उद्योगमा करिब ३० अर्ब रुपैयाँबराबरको लगानी भइसकेको छ । स्वदेशी जुत्तामा उपभोक्ताको आर्कषण बढ्दै जान थालेपछि यस व्यवसायमा लाग्नेहरूको संख्या पनि बढ्दै गएको पाइन्छ । अहिले नेपालमा ठूला साना गरी ५ सयभन्दा बढी व्यवसायीले जुत्ता–चप्पल उत्पादन गर्दै आएका छन् ।  नेपालमा अहिले खासगरी स्पोट्र्स, क्याजुअल, स्यान्डल, स्कुल–कलेजका जुत्ता, पार्टी सुज, बुट उत्पादन हुँदै आएका छन् । नेपाल छालाजुत्ता तथा बस्तु उत्पादक संघका अनुसार यो क्षेत्रमा रोजगारी पाउनेमा महिलाको संख्या उल्लेख्य छ भने यस क्षेत्रमा काम गर्ने मजदुरले मासिक न्यूनतम १८ हजार आम्दानी गर्दछन् । वैदेशिक रोजगारीमा जानेहरुका लागि पनि यो क्षेत्रको सीप र अनुभव उपयोगी हुने ब्यवसायीको दाबी छ । यद्यपि यो ब्यवसायमा ठूला कर्पोरेट घरानाको लगानी नरहे पनि मुलुकको अर्थतन्त्रलाई पु¥याएको लगानी उल्लेख्य छ ।  स्पोटर््स, क्याजुअल, बच्चाहरूले लगाउने साना फेन्सी टाइपका जुत्ता–चप्पलहरू, लेडिज जुत्ता तथा स्यान्डलहरू अझै पनि ठूलो मात्रामा विदेशबाट आयात हुने गरेको छ । नेपाली व्यवसायीहरूले अझै पनि लेडिज आइटममा त्यति चासो दिएको पाइँदैन । एकाध व्यवसायी बाहेक अधिकांशले जेन्स आइटमका जुत्ता तथा चप्पलहरू उत्पादन गरिरहेको पाइन्छ, जसको कारण लेडिज आइटमका जुत्ता, चप्पल र स्यान्डल विदेशबाटै आयात गर्नुपर्ने बाध्यता छ ।
नेपालमा अहिले वार्षिक  ५ करोड जोर जुत्ता–चप्पलको माग रहेको छ, जसमध्ये ३ करोड जोर जुत्ता–चप्पल स्वदेशमै उत्पादन हुने गर्छन् । यी बाहेक स्कुल–कलेजका युनिफर्म जुत्तामा शतप्रतिशत पूरा गर्न भने सफल भएको स्वयं व्यवसायीहरू नै बताउँछन् । त्यस्तै, कर्मचारीले लगाउने काला युनिफर्मका जुत्ताको मागको ७० प्रतिशतभन्दा बढी हिस्सा स्वदेशी उत्पादनले थेगेको छ ।  नेपली जुत्ता–चप्पल राम्रा र गुणस्तरीय भए पनि अझै उपभोक्तामा बानी बसाल्न नसकिएको जुत्ता व्यवसायीहरू स्वीकार्छन् । “हामीले प्राइस, क्वालिटी र ब्रान्डलाई ध्यान दिने हो, अझै पनि उपभोक्ताको मन जित्न सकिएको छैन,” कोसेली जुत्ताका प्रबन्ध निर्देशक रबिनकुमार श्रेष्ठ भन्छन् । विदेशी जुत्ता कमजोर भए पनि नेपालीहरू तिनै जुत्ता खोजी–खोजी लगाउनु भनेको उनीहरूको नेपाली जुत्ताप्रतिको अविश्वास हो । विदेशमा गएर किनमेल गर्ने कतिपय उपभोक्ताहरू अहिलेसम्म स्वदेशी जुत्ता लगाएकै छैनन् । एक पटक स्वदेशमा बनेका जुत्ता लगाउने ग्राहकहरूले भने स्वदेशी जुत्ता खोजी खोजी लगाउने गरेको संघका पुर्ब अध्यक्ष विरमणि बज्राचार्यको बुझाइ छ । पछिल्लो समय व्यवसायीहरू जुत्ताको ब्रान्डिङमा समेत गइसकेका छन् । जसले व्यवसायीलाई प्रतिस्पर्धामा जान सहज हुने व्यवसायीको धारणा छ । व्यवसायीले आफ्ना जुत्ताको गुणस्तर कायम राख्नका लागि नेपाली जुत्ताको सामूहिक व्यापार चिन्न प्रयोगमा ल्याएका छन् । जसले नेपाली जुत्ताको लोकप्रियता बढ्दै गएको छ । त्यसो त नेपाली जुत्ता उद्योगमा चुनौती भने नभएको होइन । स्वदेशी जुत्ता भनिए पनि ८० प्रतिशत कच्चापदार्थ विदेशबाट आयात हुन्छ । त्यसमध्येको ८० प्रतिशत हिस्सा छिमेकी मुलुक चीनले लिएको छ ।  नेपाललाई जुत्तामा आत्मनिर्भर बनाउन कच्चापदार्थमा भन्सार दर घटाउन सकेमा नेपाल छाला जुत्तामा आत्मनिर्भर हुने निश्चित छ । त्यति मात्र होईन, स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर सरकारले प्रयोगशाला, जनशक्ति बिकास केन्द्र र कच्चा पदार्थको प्रयाप्तता उपलब्ध गराउन सकेमा नेपाल जुत्ताको निर्यात गर्न र बिदेशी मुद्रा आर्जन गर्न सहजै सकिन्छ । उद्योगको पूर्वाधार तथा गुणस्तरमा विकास गर्ने, उपभोक्ताको मन जित्नुपर्ने, परिवर्तित मागलाई ध्यान दिन सके नेपाल छिट्टै जुत्तामा आत्ननिर्भर बन्न सक्छ, साथै सरकारले जुत्ता व्यवसायलाई प्रोत्साहन गर्ने खालका सेवासुविधाहरू ल्याउनु सकेमा यो ब्यवसायले मुलुकको अर्थतन्त्रमा थप योगदान गर्न सक्ने निश्चित छ ।

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...