Sunday, April 19, 2020

एसियाली अर्थतन्त्रमा मन्दी

कोरोना भाइरसले एसियाली अर्थतन्त्रमा मन्दीकोराना भाइरसको संक्रमणबाट उत्पन्न समस्याले एशियाली अर्थतन्त्रमा ठूलो पहिरो जान सक्ने एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघ इ–एस–सि–ए–पी (स्क्याप) ले मंगलबार सार्वजनिक गरेको एसिया प्यासिफिक इकोनोमिक सर्वेक्षण २०२० ले कोरोना महामारीले एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र सिथिल बनेको भन्दै यस वर्ष अर्थात सन् २०२० मा अर्थतन्त्रमा पहिरो जान सक्ने बताएको छ ।



उसले भनेको छ, “सन् २०१८ मा ५.३ प्रतिशत रहेको एसियाली अर्थतन्त्र सन २०१९ मा १ प्रतिशतले कमि आई ४.३ प्रतिशतमा सिमित भएको थियो, सन् २०२० मा एसियाली अर्थतन्त्र झनै सिथिलता आउने देखियो ।
उसले एसिया प्रशान्त क्षेत्रका सबैजसो मुलुकहरुले उद्देश्य अनुरुपको काम गर्न नसकेको उल्लेख गर्दै वर्तमान आर्थिक चुनौतिसँग जुध्न लचिलो हुन सुझाएको छ । प्रतिवेदनमा उसले भनेको छ, “यो सर्वेक्षण गरिरहँदा एसिया प्रशान्त क्षेत्रमा विकासोन्मुख देश र क्षेत्रहरू अपेक्षा भन्दा कमजोर देखिए कोभिड १९ को अनिश्चित विश्वव्यापी असरले पनि यी देशको अर्थतन्त्र सिथिल देखियो ।” उसले पछिल्ला दुई वर्ष सन् २०१८ र २०१९ मा अर्थतन्त्रमा देखिएको उतारचढाव सन् २०२० मा झनै धिमा गतिमा हुने उल्लेख गरेको छ ।प्रतिवेदनमा भनिएको छ, “वर्तमान आर्थिक चुनौतीसँग जुध्न सबै मुलुकहरु लचिलो हुन सकेमा आगामी वर्ष २०२१ मा  सामान्य परिवर्तन हुन सक्छन् ।”
“एसिया प्रशान्त क्षेत्रहरुको व्यापार पर्यटनर वित्तीय अवस्थालाई निक्कै कठिन अवस्थामा पु-याएको छ” उसले भनेको छ, “आधारभूत रूपमा नीति निर्माताले आर्थिक समग्र आर्थिक व्यवस्थाका लागि उपयुक्त समष्टि आर्थिक नीति कायम गर्नुपर्दछ ।” प्रतिवदनले महामारी, वित्तीय र मौद्रिकताको आधारमा नीति प्रभावित उद्यम र परिवारहरुलाई केन्द्रित गर्न र आर्थिक संकुचन रोक्न सुझाएको छ ।
“वित्तीय खर्चले पनि क्षमताको वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ” उसले भनेको छ । प्रतिवेदनले नीति निर्माताले लामो अवधिको स्थिरता बिर्सन नहुने र हालको आर्थिक आघातलाई महामारीको पाठको रूपमा सिकेर काम गर्न सक्ने उल्लेख गरेको छ ।
“दीर्घकालीन दर्शनको अभावले आपतकालीन तत्परता, छोटो अवधिको वृद्धिमा मात्र चोट पुग्दैन” प्रतिवेदनमा भनिएको छ, “यसले भविष्यको समग्र प्रगतिलाई पछाडि पार्न सक्छ, त्यसैले विकास र समष्टि आर्थिक नीतिहरू डिजाइन गर्दा सबैमा लचिलोपना आवश्यक छ ।” .
उसले देशहरूले यी चुनौतीपूर्ण समयहरूको सामना गर्ने अवसरको रुपमा लिनुपर्ने, पर्यावरणीय, आर्थिक प्रणाली र एक अधिक दिगो समर्थनमा प्रेरणा उपायहरुको संरचना गर्न पनि सुझाएको छ

समावेशी अर्थव्यवस्थ र वर्तमान आर्थिक कमजोरीहरूको बाबजुद पनि नीति निर्माताले संक्रमणमा ढिलो गर्न नहुने भन्दै दिगो विकासमा लक्ष्यहरु भेटिने गरी काम गर्न भनेको छ ।
महामारीको जटिल अवस्थाले व्यापार, उत्पादन, उपभोगसँगै पर्यटनमा अस्थिरता पैदा गरेको बताउँदै हरितगृह कार्वन उत्सर्जनमा वृद्धि गरेर जलवायु परिवर्तनलाई आपतकालमा पु-याएको स्पष्ट पारेको छ ।
आर्थिक घाटा, वित्तीय स्थिरता बाधक बनेको बताउँदै उसले भनेको छ, “नीति र बजार असफलताले सरोकारवालालाई दिगो पथमा अगाडि बढ्न बाध्य पार्छ ।”
उसले अहिलको चुनौतीको समाना गर्न पहिलो चरणमा प्रतिस्पर्धी प्राथमिकताको किटान गरेर छोटो अवधिको बढावाका लागि खण्डित नीति ल्याउन सुझाएको छ ।
उसले सन २०३० को दिगो विकासका एजेण्डालाई वर्तमान आर्थिक मन्दीले रोक्न नहुने पनि स्पष्ट पारेको छ । यसका लागि दिगो विकासको दिशामा सरकारले डिजाइन गर्ने नीतिको रूपमा ठूलो स्तरका हस्तक्षेप आवश्यक रहेको उल्लेख गर्दैै प्रतिवेदनले दीर्घकालीन योजना र आन्तरिक बाध्यताको माध्यमबाट यस कदमलाई पनि व्यवसाय र उपभोक्तासँग संलग्न हुन आवश्यक रहेको औल्याएको छ । जलवायु परिवर्तनका लागि बढी महत्वकांक्षी क्षेत्रव्यापी समाधानहरू समन्वय गर्न क्षेत्रीय सहयोग आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

फोर्बस्को प्रभावशाली युवा सूचीमा ६ नेपाली

फोर्बस्को प्रभावशाली युवा सूचीमा ६ नेपाली
विश्व प्रसिद्ध अमेरिकी म्यागजिन फोर्बस्को सन् २०२० को लागी जारी गरेको वर्षका प्रभावशाली युवाहरूको सूचीमा ६ नेपाली युवा परेका छन् ।
एसियाका तीन सय प्रभावशाली युवाहरूको सूचीमा नेपालका य्ुवाहरु परेका ह्न् ।

फोर्बस्ले उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी भूमिका र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका ३० वर्षभन्दा कम उमेरका एसियाली युवाको नाम बिहीबार सार्वजनिक गरेको हो ।
फोर्बस्को प्रभावशाली युवाको सूचीमा पर्ने नेपालका पाँच जना युवा प्रतीमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना, शुभांगी राणा र जेस्सेलिना राणा तथा रोहित तिवारी हुन् । छजनानै आफ्ना कार्यक्षेत्रअनुसारका विभिन्न विधाका ३० प्रभावशाली युवाको सूचीमा परेका हुन् । फोर्बस्का अनुसार यस वर्षको प्रधावशाली युवाको सूचीमा सूचीकृत हुन ३५०० को ’नोमिनेसन’ भएको थियो । जसमध्ये तीन सय जना छानिए सूचीकृत भएका छन् ।
गल्फ खेलाडी प्रतीमा शेर्पा ’इन्टरटेन्मेन्ट तथा स्पोर्ट्स’ विधामा सूचीकृत छन् । ११ वर्षको उमेरमा खेल्न सुरू गरेकी उनको पहिलो गल्फ क्लब रूखको हाँगाबाट बनाइएको फोर्ब्सले लेखेको छ । उनी नेपालकी उत्कृष्ट गल्फ खेलाडी हुन् ।
यस्तै, निकिता आचार्य र किरण तिम्सिना ’अर्बान गर्ल’ अनलाइन कम्पनीका संस्थापक हुन् । ’रिटेल एन्ड इकमर्स’ विधामा सूचीकृत भएका उनीहरुले सन् २०१२ मा करिब २० हजार रूपैयाँमा व्यवसाय सुरू गरेका थिए । उनीहरुको कम्पनीले विभिन्न डिजाइनका गरगहना, ’कस्टमाइज्ड’ लुगा, पानीको बोतल, मेकअप, घर सजावटका र विद्युतीय सामान बिक्री गर्ने फोर्बस्ले जनाएको छ ।
यसैगरि, ’सोसल अन्ट्रपे्रनर’ विधामा सूचीकृत इञ्जिनियर शुभांगी राणा र मानवअधिकार अधिवक्ता जेस्सेलिना राणा ’प्याड टु गो’ संस्थाका संस्थापक हुन् । सन् २०१८ मा स्थापना भएको उनीहरको संस्थाले महिनावारी स्वास्थ्य र यसबारे समाजमा विद्यामान भ्रम हटाउन काम गर्छ । साथै, उनीहरुले देशैभर करिब ८० वटा ’प्याड भेन्डिङ मेसिन’ राखिसकेको छ ।
यस्तै, घरमा नै बनाएको खाना सप्लाई गर्ने रोहित तिवारी फुडमारियोका सहसंस्थापक हुन् ।

https://www.karobardaily.com/news/economy/30729

कोरोनासँग लडन डेढ अर्ब निकासा

कोरोनासँग लडन डेढ अर्ब निकासा
अर्थ मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ ।
अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको हो । स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्न बजेट उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । गत आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले रकमान्तर गरेरै भएपनि स्वास्थ्य मन्त्रालयलाई थप बजेट निकासा गर्ने निर्णय भएको बताएका थिए ।
सोही निर्णय अनुरुप स्वास्थ्य मन्त्रालयलाई बजेट निकासा गरिएको बजेट महाशाखा प्रमुख धनिराम शर्माले जानकारी दिए । उनका अनुसार यो रकम मेडिकल उपकरणहरु किनेर अस्पतालहरुको स्तरोन्नति गर्नमा खर्च हुने छ । अर्थले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पनि ५० करोड रुपैयाँ बजेट निकासा गरेको जनाएको छ । गत आइतबार श्रमिक र विपन्न वर्गका लागि राहात प्याकेज ल्याएको सरकारले कोरोना महामारीबाट लड्न थप कार्याक्रम ल्याउने तयारीमा छ ।



कोरोना नियन्त्रणमा खर्च जुटाउन १४ शीर्षकका बजेट रोक्का

कोरोना नियन्त्रणमा खर्च जुटाउन १४ शीर्षकका बजेट रोक्का
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले विभिन्न १४ शीर्षकमा उपलब्ध बजेट रोक्का गर्न परिपत्र गरेको छ । अर्थ मन्त्रालयले कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्रोत परिचालन गर्नुपर्ने भएपछि ती शीर्षकका बजेट रोक्का गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भन्दै सामान्य प्रशासन मन्त्रालयले आफू मातहतका निकायलाई परिपत्र गरेको हो ।
यसअघि अर्थमन्त्री डा.युवराज खतिवडाले फागुन मसान्तसम्म काम सुरु नगर्ने आयोजनाको बजेट रोक्का गर्ने बताएका थिए । कोरोना महामारीका कारण सर्वत्र असर देखिन थालेपछि स्रोत जुटाउन सरकारले विभिन्न १४ शीर्षकको बजेट रोक्का गर्ने निष्कर्षमा पुगेको अर्थले जनाएको छ ।
अर्थसचिव शिशिरकुमार ढुंगानाका अनुसार सेवा तथा परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अत्यावश्यकबाहेक अनुगमन तथा मूल्यांकन खर्च र भैपरी आउने चालू खर्च रोक्का हुनेछ । महालेखा नियन्त्रकलाई पत्र लेख्दै सचिव ढुंगानाले सवारीसाधन खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्यरटर सफ्टवेयर निर्माण तथा खरिद खर्च रोक्का गर्न भनेका छन् ।

जसअनुसार बौद्धिक सम्पत्ति प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति खर्च र भैपरी आउने पुँजीगत खर्चसमेत रोक्का हुने छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायमा विनियोजित बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रणलगायतका प्राथमिकताप्राप्त अन्य क्षेत्रमा समेत उपयोग गरी स्रोत व्यवस्थापन गर्नुपर्ने भएकाले रोक्का गरिएको पत्रमा उल्लेख छ ।
अर्थले पत्रमार्फत कोरोनाको महामारीले मुलुकको आर्थिक गतिविधिसमेत प्रभावित भएको भन्दै विनियोजन ऐन २०७६ बमोजिम चालू आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम हालका लागि स्थगित गर्ने निर्णय गरेको स्पष्ट पारेको छ । उसले आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन, २०७६ को दफा २१ (१) मा रहेको व्यवस्था बमोजिम यही चैत २० सम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको बाहेक बाँकी रहेको बजेट तत्काल लागु हुनेगरी रोक्का गर्ने निर्णय गरेको बताएको छ ।
अर्थ मन्त्रालयको निर्देशनलाई परिपत्रका रूपमा लिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि आफु मातहतका निकायलाई बजेट रोक्का गर्न निर्देशन दिएको छ ।
सामान्य प्रशासन मन्त्रालयले पनि विनियोजन ऐन २०७६ बमोजिम चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय गरेको स्पष्ट पारेको छ । बजेट रोक्का राख्नेसम्बन्धी अर्थ मन्त्रालयको च. नं. ६८७ को निर्णयअनुसार पालना गर्न र गराउन पनि आफू मातहतका निकायलाई परिपत्र गर्दै उसले उल्लेखित १४ वटा शीर्षकमा बजेट रोक्का गर्न भनेको छ । यी शीर्षकमा उपलब्ध बजेट स्थानीय सरकार प्रदेश सरकारहरूले समेत गर्न पाउने छैनन् ।
सरकारले आइतबार कोरोनाबाट प्रभावितहरूका लागि राहत प्याकेज ल्याएको थियो । त्यसमा श्रमिकदेखि उद्योगी र व्यवसायीसम्मलाई राहत दिने उल्लेख छ । कोरोना नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यकताअनुसार रकम निकासा गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण पछिल्लो समय मुलुकका आर्थिक क्रियाकलापहरू ठप्प भएपछि सरकारले आर्थिक दायित्व बढ्ने सक्ने आकलन गर्दै यी क्षेत्रको खर्च कटौतीमा लागेको छ ।
karobardaily.com/news/economy/30772


कोरोनासँग जुध्न विकास साझेदारको सहयोगको ओइरो

कोरोनासँग जुध्न विकास साझेदारको सहयोगको ओइरो

कोरोना नियन्त्रणका लागि स्वदेशभित्रै करिब २ अर्ब सहायताको प्रतिबद्धता आएको नेपाललाई विकास साझेदारबाट ठूलो धनराशिको ओइरो लागेको छ । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको स्थापना गरेसँगै स्वदेशी संघ–संस्थासँगै विकास साझेदारले समेत सहयोगको घोषणा गरेका छन् । अर्थ मन्त्रालयका अनुसार विकास साझेदारसँग सरकारले ऋण र अनुदान दुवैमा हस्ताक्षर गर्ने काम सुरु गरिसकेको छ भने कतिपय सहायताका लागि हस्ताक्षरको तयारीसमेत भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषबाट उपलब्ध हुने ब्याज तिर्न नपर्ने गरी ८७.५ मिलियन एसडीआर अर्थात् १३ अर्ब ९ करोड ऋण सुविधा लिने निर्णय भएको छ । यस्तै, विश्व बैंकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्राप्त हुने २९ मिलियन अमेरिकन डलर अर्थात साढे ३ अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ ।
विश्व बैंकले नेपाललाई दिने थप सहयोगका लागि आगामी मंगलबार सम्झौता गर्ने कार्यक्रम छ । यस्तै एसियाली विकास बैंकले पनि ५० मिलियन अमेरिकन डलर अर्थात् ६ अर्ब रुपैयाँ अनुदान सहयोग नेपाललाई दिने घोषणा गरेको छ । एडीबीले घोषणा गरेको ५० मिलियन अमेरिकी डलरको सहयोग कार्यक्रम पनि स्वीकार गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए । एडीबीले उपलब्ध गराउने यो रकम नेपालले अनुदानमार्फत पाउनेछ । यी बाहेक अन्तर्राष्ट्रिय निकायहरूले स्थापना गर्ने कोषबाट पनि नेपालले रकम प्राप्त गर्ने निश्चित जस्तै बनेको छ ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरूलाई दिइने राहातको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय गरेकोे अर्थमन्त्री डा. खतिवडाले बताए । उनका अनुसार सरकारले अन्य सम्भावित विकास साझेदारबाट परिचालित हुनेसक्ने स्रोतका लागि पनि पहल गर्ने निर्णय नेपाल सरकारले गरिसकेको छ । हालसम्म तीनवटा विकास साझेदारको सहयोग आए पनि अन्य सहयोग आउने निश्चित छ । सार्क मुलुकका लागि स्थापना भएको सार्क क्षेत्रीय कोषको रकम पनि नेपालले प्राप्त गर्न सक्ने छ भने नेपालले विदेशबाट लिएको ऋणमा ब्याज छुट हुनेदेखि विदेशमा स्थापना भएका विभिन्न कोषमार्फतको पैसा पनि नेपालले नै पाउनेछ । यी बाहेक विकसित देशले स्थापना गरेका अन्तर्राष्ट्रिय कोषहरूमार्फत पनि आवश्यक शर्तका आधारमा नेपालले रकम प्राप्त गर्न सक्ने अर्थ मन्त्रालयको दाबी छ ।
कोरोना नियन्त्रणका लागि तत्काल आउन लागेको यो रकम सरकारले उनीहरूले तोकेका केही मापदण्डका आधारमा मात्रै खर्च गर्न पाउनेछ । अर्थ मन्त्रालयका अनुसार विश्व बैंकले प्रदान गर्ने सहायता रोग सर्ने जोखिम नियन्त्रणका लागि खर्च गर्ने गरी सम्झौता गरिएको छ । तत्काल खर्च गर्नुपर्ने गरी आएको रकम कोरोना नियन्त्रणका लागि नै खर्च गर्नुपर्ने र पछि आउने कुनै महामारीको जोखिम तयारीका लागि समेत यो रकम खर्च गर्न पाइनेछ । यदि यो रकम नेपालले खर्च गर्न सकेन भने ६ वर्षपछि आधा रकम नेपाललाई अनुदानमा रूपान्तरण गरी आधा रकम विश्व बैंक आफैंले फिर्ता लानेछ । यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आउने रकम पनि सरकारले कोरोना रोकथामकै शीर्षकमा खर्च गर्नुुपर्ने उल्लेख छ । सामान्यतयाः नेपाललाई स्रोत अपुग भए मात्र ऋण सहायता खर्च गर्ने प्रचलन छ । एडीबीले शीर्षक तोकेरै खर्च गर्ने भनिएकाले उसले दिने सहायता रकम अन्य शीर्षकमा खर्च गर्न पाइने छैन ।
सरकारले विश्वव्यापी महामारीका रूपमा देखिएको (कोभिड–१९) सँग जुध्न राहात कोष स्थापना गरिसकेको छ । हालसम्म राहात कोषमा देश भित्रैबाट करिब २ अर्ब रकमको प्रतिबद्धता प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सरकारले राहात कोषमार्फत राहात प्याकेजका लागि वार्षिक बजेटको रकमबाट रकमान्तर गर्ने, स्थानीय तह प्रदेश र संघको कोरोना उपचार कोषमा जम्मा हुने रकम, विपद् व्यवस्थापन र प्रधानमन्त्री दैवीप्रकोप राहात कोषमा जम्मा भएको रकम पनि खर्च गर्न सकिने गरी सरकारले व्यवस्था मिलाएको छ । राहात कोषमा जम्मा भएको रकम हाल सरकारले ल्याएको राहात प्याकेज र छिट्टै ल्याउन लागेको आर्थिक प्याकेजमा समेत खर्च गर्नेछ । अर्थ मन्त्रालयले नेपालको उद्योगी व्यवसायीलाई दिने सहयोग, श्रमिकहरूलाई गरिने खर्च, आर्थिक क्षेत्र सुधार गर्ने विभिन्न कार्यक्रममा यो खर्च गर्न मिल्ने गरी खाका तयार गरिरहेको जनाएको छ । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री खतिवडाका अनुसार सार्वजनिक संस्थानबाट दिइने छुटको हिस्सा संस्थानहरूले नै बेहोर्ने व्यवस्था मिलाइनेछ । हालसम्म बिमा समितिबाट ५ करोड, बनेपाल धितोपत्र बोर्डले ३ करोड, कर्जा तथा निक्षेप सुरक्षण कोषले ३ करोड रुपैयाँ सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने बताएका छन् । यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ३ करोड ५१ लाख, सीडीएस कम्पनीले ३५ लाख, राष्ट्रिय बिमा कम्पनी लिमिटेड २ करोड, राष्ट्रिय बिमा संस्थानले १ करोड र नेपाल पुनर्बिमा कम्पनीले १ करोड ११ लाख रकम सहयोग गर्ने घोषणा गरेका छन् । यस्तै नागरिक लगानी कोषले २ करोड, कर्मचारी सञ्चयकोष ५ करोड र २० भन्दा बढी बैंकहरूबाट २२ करोड योगदान गर्ने घोषणा गरेका छन् ।

यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड, नेपाल टेलिकमले १२ करोड, नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । रकम सहयोग गर्ने घोषणा जारी रहे पनि प्रतिबद्धताअनुरूप कोषमा सरकारले जम्मा गरेको ५० करोड रुपैयाँ मात्रै छ ।
https://www.karobardaily.com/news/economy/30812

वैकल्पिक आयश्रोत भएका मजदुरले राहत नपाउने



वैकल्पिक आयश्रोत भएका मजदुरले राहत नपाउनेवैकल्पिक आयश्रोत भएका मजदुरले राहत नपाउनेगरिव, असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहाय नागरिक र साना व्यवसायीले राहात पाउने भएका छन् । कोरोना प्रभावित विपन्न वर्गका लागि राहात दिने उद्देश्यले गत आइतबार घोषणा गरेको प्याकेजको कार्यान्वयनका लागि मापदण्डआएसँगै उनीहरुले पाउने राहात निश्चित भएको हो । यस्ता मजदुरले राहातस्वरुप लकडाउन अवधिभरका लागि ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नुन र २ लिटर खाने तेल पाउने छन् । यस्तै ४ वटा साबुन र २ किलो चिनी पनि राहातस्वरुप पाउने अर्थमन्त्रालयले जनाएको छ । राहातका लागि श्रमिकका परिवारले वडा कार्यालयले उपलब्ध गराएको फारमका आधारमा आवेदन दिन सक्नेछन् । सोही आधारमा स्थानीय सरकारले तीन दिनभित्र लगत संकलन गरेर राहत वितरणको काम सुरु गर्ने मन्त्रालयले जनाएको छ ।
सरकारले गत आइतबार कोरोनाको सम्भावित संक्रमणका कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक, असायह नागरिक र साना तथा मझौला व्यवसायीहरुलाई दैनिक जीवनयापनका लागि स्थानीय तहबाट राहत उपलब्ध गराउने घोषणा गरेको थियो ।
घोषणाअनुसार तत्काल राहात दिने उद्देश्यले मापदण्ड तयार गरी स्वीकृत गरिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव उत्तरकुमार खत्रीले जानकारी दिए । “राहात वितरण प्रणालीलाई व्यवस्थित गर्न मापदण्ड तयार गरिएको हो” उनले भने, “यो मापदण्ड अर्थमन्त्रालयले स्वीकृत गरिसकेको छ, यसैका आधारमा स्थानीय सरकारहरुबाट राहात वितरण हुनेछ ।” मापदण्ड अनुसार स्थानीय तहबाट दिइने राहतमा न्युन आर्थिक अवस्था, असहाय र असंगठित क्षेत्रका श्रमिक सरकारको प्राथमिकतामा छन् ।
गत आइतबार सरकारका प्रवक्ता समेत रहेका सूचना सञ्चार एवम्ं अर्थमन्त्री डा. युवराज खतिवडाले परिचयपत्र हेरेर लकडाउन अवधीभर स्थानीय तहले खाद्यान्य वितरण गर्ने निर्णय गरेको बताएका थिए । उनले राहातका लागि स्थानीय तह र प्रदेश कोष बनाउनुपर्ने र कोषमा रकम नपुगेमा केन्द्र सरकारले पैसा दिने र प्रदेश र स्थानीय तहले समन्वयन गरेर परिवारलाई खाद्यान्य वितरण गर्ने घोषणा गरेका थिए । सरकारको यही निर्णयलाई कार्यान्वयनका लागि असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहात सम्बन्धी मापदण्ड २०७६ तयार गरिएको अर्थको दावी छ ।
मापदण्डअनुसार पसलबाट ग्राहकको घरसम्म सामान लैजाने श्रमिक, पर्यटक भरिया, निर्माण सामग्री भरिया तथा सवारी साधन नचल्ने क्षेत्रमा आवश्यक वस्तु ओसार पसार गर्ने व्यक्ति र ट्रक, ट्रिपर, भ्यानबाट सामान लोडअनलोड गर्ने श्रमिकले यस्तो राहात पाउने छन् । यस्तै अन्य व्यक्तिको खेतबारीमा ज्यालादारी काम गर्ने मजदुर, शिशु वा जेष्ठ नागरिकको हेरचाहा गर्ने श्रमिक, गिट्टी कुट्ने बालुवा चाल्ने तथा इटा भट्टामा काम गर्ने श्रमिकलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । यस्तै निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक, नाङलो पसले, फुटपाथमा व्यवसाय गर्ने व्यवसायी तथा साइकल व्यापार गर्ने अन्य व्यक्तिको मालबाहक सवारी तथा डेलभरी भ्यान चलाउने सवारी चालक र सहचालकले पनि रहात पाउने छन् । मापदण्डअनुसार दैनिक ठेक्का वा ज्यालामा ट्याक्सी वा टेम्पो चलाउने सवारी चालक, रिक्सा तथा ठेलागाडा चालक, ग्यारेजमा काम गर्ने मजदुरले पनि राहात पाउने सूचीमा सूचिकृत छन् ।
यस्तै सरकारले गार्मेन्ट, कार्पेट, टेलरिङ, गलैंचा, बुट्टा जर्ती भर्ने र कपडा पसलमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, स्थानीय तहमा दैनिक ज्यालादारीमा काम गर्ने अन्य व्यक्तिका साथै मन्दिर, आश्रम, धर्मशाला, गुम्बा, मस्जिद, गुरुद्वार, चर्च वा वृद्धाश्रममा बस्ने व्यक्तिलाई राहात वितरण गर्नेछ । यद्यपि मापण्दडमा लेखिएबमोजिम योग्यता पुगे पनि वैकल्पिक आयस्रोत भएका मजदुरले भने राहत पाउने छैनन् । मापदण्डअनुसार राहत दिन वडा कार्यालयले अभिलेख राख्ने र हरेक एक साताभित्र सबै विवरण सार्बजनिक गर्ने गरी मापदण्ड बनाइएको छ । स्थानीय तहले तीन दिनभित्र अभिलेख टुंग्याएर राहत वितरण सुरु गर्नुपर्ने मापदण्डमा उल्लेख छ । राहात वितरणका लागि वडाले अभिलेख राख्दा एक परिवारलाई एक एकाई मानेर कायम गर्ने र एक परिवारमा दुई जना मात्र भएमा राहत सामग्रीको आधार र सोभन्दा बढी सदस्य भएमा भने पूरै राहत पाउने गरी मापदण्ड बनाइएको छ । एक परिवारमा एक मात्र सदस्यले राहत पाउने गरी बनाइएको मापदण्ड अनुसार राहत वितरणको अभिलेख वडाले स्थानीय तहलाई पठाउने उल्लेख छ ।

महालेखाले भन्यो : अत्यावश्यकीय सेवाको भुक्तानी नरोक्नु

महालेखाले भन्यो  : अत्यावश्यकीय सेवाको भुक्तानी नरोक्नु

विश्वव्यापी कोरोनाको महामारी बढ्दा अत्यावश्यक सेवाको भुक्तानी नरोक्न सरकारले सबै निकायलाई निर्देशन दिएको छ । सरकारी निकायको आय ब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरू सञ्चालनमा बाधा नपर्ने गरी आलोपालो मिलाई खुला राख्न निर्देशन दिएको हो । उपमहालेखा नियन्त्रक निरज केसीले लकडाउनको अवधिमा समेत कार्यालय सञ्चालनमा असर नपर्ने गरी व्यवस्थापन मिलाउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन मसान्तसम्म ठेक्का रद्ध भएका कम्पनीको म्याद एक महिना थपेको छ । यसअघि अर्थमन्त्री आफैले फागुनभित्र ठेक्का सम्पन्न नगर्ने आयोजनाको बजेट रोक्का गर्ने निर्णय गरेका थिए ।
केसीका अनुसार महालेखाले सबै कार्यालय प्रमुखलाई निर्देशन दिँदै स्वास्थ्य सेवा तथा अत्यावश्यकीय सेवासँग सम्बन्धित भुक्तानीलाई प्राथमिकताका साथ निकासी दिन आग्रहसमेत गरेको छ । गत मंगलदबारदेखि लकडाउन गरेकोे सरकारले मुलुकलाई कोरानाबाट जोगाउन लकडाउनको समय बढाएर आज (मंगरबार)देखि पुनः चैत्र २५ गतेसम्म कायम गरेको छ । जसका कारण मुलुकको सबै आर्थिक क्रियाकलाप प्रभावित भएका छन् । खर्च प्रणाली बिग्रिएको छ । कोरोनाका कारण विकास आयोजना प्रभावित हुँदा सबै खर्च प्रणाली प्रभावित भएको छ । सोमबारसम्म ५ खर्ब ६६ अर्ब ३० करोड रुपैयाँ राजस्व सरकारी सञ्चित कोषमा जम्मा भएको महालेखाले जनाएको छ । कोरोनाकै कारण सीमानाका ठप्प भएकाले राजस्व निकै कमजोर बनेको छ भने उद्योग कलकारखाना सबै बन्द हुँदा खर्च बढ्न सकेको छैन । कोरोनाकै कारण देशभित्रका उद्योग, कलकारखाना पनि ठप्प प्रायः छन् । भारतले पनि लकडाउनको नीति अवलम्बन गरेपछि नेपालको अर्थतन्त्रमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ । भारत सरकारले लकडाउन लगाएको दिन नेपालमा १ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो, जसमध्ये करिब ५० प्रतिशत भन्सार राजस्वको हिस्सा रहेको छ । भारत सरकारले पनि लकडाउन गरेपछि अहिले आयात निर्यात ठप्पप्रायः रहेको भन्सार विभागले जनाएको छ ।

सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने गरी बजेट ल्याएकामा साढे ८ महिनाको अवधिमा ५० प्रतिशत राजस्व उठेको छ । अहिलेसम्मको आधार मान्दा ८ खर्बभन्दा बढी राजस्व उठ्ने देखिएको छैन । तर, वर्ष अन्तिममा हुने खर्च र त्यसले राजस्वमा पार्ने प्रभावको कारण १ खर्ब रुपैयाँसम्म बढ्न सक्दा पनि ९ खर्ब रुपैयाँ हाराहारीमा मात्र राजस्व उठ्ने देखिएको छ । यद्यपि भारत र नेपालमा १ महिना लकडाउन अवधि लम्बिएमा राजस्वमा थप ५० अर्ब रुपैयाँभन्दा कमी आउने देखिएको छ ।
सरकारले चालूू आर्थिक वर्षलाई सार्वजनिक गरेको १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटमा ९ खर्ब ५७ अर्ब रुपैयाँ चालू तलब भत्ता र प्रशासनिक खर्चलाई विनियोजन गरिएको थियो । तर, ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकामा ९ खर्ब रुपैयाँ पनि चुनौतीपूर्ण देखिएको छ । सरकारले आइतबारमात्रै मुलुकलाई कोरोनाबाट बचाउन लकडाउनको समय एक साता थप गर्दैै गरिब, असंगठित क्षेत्रका मजदुर र साना तथा मझौला व्यवसायीहरूलाई लक्षित गरी राहात प्याकेजको घोषणा गरेको छ ।

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...