Monday, March 16, 2020

राहत घोषणा गर्ने होडबाजी

निरु अर्याल
राहत घोषणा गर्ने होडबाजीचीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासले विश्व अर्थतन्त्र नै संकटमा पर्ने देखिएपछि विभिन्न मुलुकले १ सय ५८ अर्बको राहत प्याकेज घोषणा गरेका छन् । कोरोनाले विकासोन्मुख र विकासशील देश मात्र नभएर उदीयमान शक्तिशाली मुलुक चीनदेखि सर्वशक्तिमान मानिने अमेरिका र यूरोपियन मुलुकहरूको अर्थतन्त्रलाई समेत ठूलो धक्का लागेको छ । जसले गर्दा विश्व अर्थतन्त्र नै खुम्चिने अवस्था आएपछि यतिबेला अधिकांश मुलुकबीच कोरोनाविरुद्ध लड्न राहत प्याकेज घोषणा गर्ने होडबाजी चलेको छ । कतिपय मुलुकले आफ्नो अर्थतन्त्र संकटतर्फ जान नदिन र लगानीकर्तालाई आश्वस्त पार्न भन्दै ब्याजदरमा समेत कटौती गरेका छन् ।
अर्थतन्त्रलाई चलायमान बनाउन र कोरानाविरुद्ध लड्न भन्दै राहत प्याकेज घोषणा गर्ने क्रम जारी रहे पनि यो समाचार तयार पार्दासम्म दर्जनभन्दा बढी मुलुकले घोषणा गरेको यस्तो रकम १५८ अर्ब ६२ करोड ९१ लाख अमेरिकी डलर पुगेको छ । हालसम्मको तथ्यांकअनुसार आन्तर्राष्ट्रिय मुद्रा कोषले सबैभन्दा धेरै ५० अर्ब अमेरिकी डलर राहत प्याकेजको घोषणा गरेको छ ।
युरोपियन युनियन (२८ अर्ब यूरो ) अर्थात ३१ अर्ब २० करोड अमेरिकी डलरको राहत कार्यक्रम ल्याउने घोषणा गरेको छ भने विश्व बैंकले कोरोनाविरुद्ध लड्न र अर्थतन्त्रलाई चलायमान बनाउनमा खर्च गर्ने भन्दै १२ अर्ब डलर सहायता रकमको घोषणा गरेको छ । यस्तै, एसियाली विकास बैंक एडिबीले पनि २ सय मिलियन अमेरिकी डलरको घोषणा गरेको छ । एडिबीले एक प्रतिवेदन सार्वजनिक गर्दै आन्तरिक आपूर्तिमा कमी, पर्यटन प्रवद्र्धन, व्यावसायिक क्षेत्रमा संकुचन र व्यापार तथा उत्पादन, आपूर्ति प्रणालीमा अवरोध र स्वास्थ्यमा देखिएको प्रभावले विश्व अर्थतन्त्रमा तीन खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुनसक्ने आकलन गरेको छ । यस्तो क्षति विश्व अर्थततन्त्रको आकारको ०.४ प्रतिशत हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अहिलेसम्म कोरोनामुक्त भएको बताए पनि दुई ठूला छिमेकी मुलुक भारत र चीन कोरोनासँग लडिरहँदा त्यसबाट नेपालको अर्थतन्त्र कमजोर बनेको छ । जसको सीधा असर विप्रेषण आप्रवाह, रोजगारी, पर्यटन र पुर्वाधारको क्षेत्रमा परेको बताइएको छ । एडिबीको प्रतिवेदन अनुसार सन २०२० को जनवरीयता विश्वव्यापी क्षति १५६ अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । यो विश्व अर्थतन्त्रको ०.२ प्रतिशत हो । चीनले मात्र १०३ अर्ब अमेरिकी डलर अर्थात चीनको अर्थतन्त्रको ०.८ प्रतिशतको क्षति बेहोरेको अनुमान गरिएको छ ।
कोरोनाकै कारण तीन वर्षसम्म ६ प्रतिशत माथि रहेको आर्थिक वृद्धिको लक्ष्य खुम्चिने, पुँजीगत खर्च झन कमजोर हुने तथा राजस्व असुलीमा समेत गम्भीर धक्का लाग्न सक्ने भन्दै नेपाली अर्थशास्त्रीहरूले यथाशक्य छिटोराहत प्याकेज घोषणा गर्न सुझाएका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मा भन्छन्, “यस्तो जटिल परिस्थितिमा नेपाल सरकारले अर्थतन्त्रलाई जोगाउन संयमता अपनाउनु जरुरी देखिन्छ त्यसैले नेपाल सरकारले पर्याप्त पैसा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउनु तिर लाग्नु पर्छ ।” उनले कतिपय योजना आयोजनाहरू स्थानीय निकायबाटै सम्पन्न हुने भएकोले यस्ता कामलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । “सिँचाई, खानेपानी, स्मार्ट सिटीजस्ता कार्यक्रमहरू स्थानीय निकयबाटै हुन्छन्,” उनी भन्छन्, “त्यस्ता काममा पैसा खर्च गर्न सरकार डराउनु हुँदैन भने ठूला व्यवसायीलाई लक्षित गरेर राहतका प्याकेज र साना व्यवसायीलाई दिने सहुलियत प्याकेज सरकारले तुरुन्तै ल्याउनु पर्छ ।”
एडिबीको ‘द इकोनोमिक इम्प्याक्ट अफ द कोभिड–१९ आउटब्रेक अन डेभलपिङ एसिया’ नामक प्रतिवेदनले नोभेल कोरोना भाइरसको प्रकोपले विकासशील एसियाली अर्थतन्त्रलाई उल्लेख्य रूपमा प्रभावित पार्ने बताएको छ । नोभेल कोरोना भाइरसको प्रकोप सुरु भएपछि सन २०२० को जनवरी अन्त्यतिरबाट विश्वका अधिकांश मुलुकले यात्रामा प्रतिबन्ध लगाइसकेका छन् भने सवै नागरीकलाई सचेत रहन आग्रह गर्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरसमेत रहेका अर्थशास्त्री दीपेन्द्र बहादुर क्षेत्री भन्छन् “अहिले संसारभर कोरोनाको त्रास छ, अधिांश मुलुकले आफ्नो अर्थतन्त्र बचाउन राहतको प्याकेज घोषणा गरिसकेका छन्, नेपालले राहत प्याकेजको घोषणा गरेर अर्थतन्त्रलाई गतिशिल बनाउन ढिला गर्नु हुँदैन ।” उत्पादन, उपभोग, आपूर्ति सँगै यसको असर पर्यटन पुर्वाधारमा परको भन्दै उनले नेपालको अर्थतन्त्रमा संकुचन हुन थालेको बताए । एडिबीले सार्वनिक गरेको प्रतिवेदनले एसियाली मुलुकमा २२ अर्ब अमेरिकी डलरको क्षति पुगेको अनुमान गरिएको बताएको छ । एसियाली विकास बैंकका प्रमुख अर्थशास्त्री यासुयुकी सावदाले नोभेल कोरोना भाइरसको प्रकोपले विश्व अर्थतन्त्रमा पुग्ने क्षति अझै अनिश्चित रहेको भन्दै सबै देशका सरकारले अत्यावश्यक कदम चाल्नुपर्ने उल्लेख गरेका छन् ।

 
राहत घोषणा रकम (डलरमा)
अमेरिका
८ अर्ब ३० करोड
अष्ट्रेलिया
११ अर्ब ४०
बेलायत
३६ अर्ब ५७ करोड
अन्तर्राष्टिय मुद्रा कोष
५० अर्ब
विश्व बैंक
१२ अर्ब
चीन
१५ अर्ब ११ करोड
इटाली
८ अर्ब ३३ करोड ८३ लाख
जापान
३ अर्ब
जर्मनी
१३ अर्ब ८१ करोड ९१ लाख
एसियाली विकास बैंक
२०० मिलियन
एडिबीले नोभेल कोरोना भाइरसको प्रकोप नियन्त्रणमा सहयोग गर्न भन्दै चीनको वृहत्तर मेकोङ क्षेत्रमा २० लाख अमेरिकी डलरको सहायता घोषणा गरिसकेको छ । आफ्ना सदस्य देशका लागि पहिचान, रोकथाम र नियन्त्रणका लागि अर्को २० लाख डलरको सहायता घोषणा गरेको एडीबीले आपत्कालीन सहायता, नीतिगत सहायता, निजी क्षेत्रमा लगानी जस्ता विभिन्न सहायता विधिका साथै ज्ञान र प्राविधिक सहयोगका लागि समेत तत्पर रहेको उल्लेख गरेको छ । यसैबीच, विश्व बैंकले कोरोना भाइरसको समाना गरिरहेका सदस्य मुलुकको सहायताका लागि प्रारम्भिक सहयोगस्वरूप १२ अर्ब अमेरिकी डलर (करिब १४ खर्ब रुपैयाँ) आर्थिक प्याकेज घोषणा गरेको छ ।
यो सहायता प्याकेज ‘फास्ट ट्रयाक’ माध्यमबाट विकासशील मुलुकको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन प्रयोग गरिने बैंकले जनाएको छ । अमेरिकाबाट प्रकाशित हुने द न्यूरोर्क टाईम्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध लड्न ८ अर्ब ३० करोड डलरको आपतकालीन खर्च विधेयकमा हस्ताक्षर गरेका छन् । उनले कोरोना भाइरस नियन्त्रण र यसको खोप पत्ता लगाउनका लागि सो रकम खर्च गर्न दिने निर्णय गरेका हुन् । अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भ बैंकले पनि अर्थतन्त्रलाई टेवा दिन ब्याजदर ०.५ प्रतिशत अंकले घटाउने निर्णय गरेको छ । साथै अमेरिकाले साना व्यवसायमा परेको असर कम गर्न ५० अर्ब डलरको ऋण दिने निर्णय गरेको छ । अर्को शक्तिशाली मुलुक क्यानडाले पनि आर्थिक सहायतामा कुनै कमी आउन नदिने र ब्याजदर ०.५ प्रतिशत घटाउने निर्णय गरेको छ भने अष्ट्रेलिया ११ अर्ब ४० करोड डलरको आर्थिक साहायता कोष स्थापना गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
कोरोना भाइरस संक्रमणको घरेलु मुलक चीनले १५ अर्ब ११ करोड डलरको राहत प्याकेज सार्बजनिक गरेको छ भने ब्यवसायिक बातावणका नितीहरूमा परिमार्जन गरको छ । यस्तै जर्मनीले १२ अर्ब ४० करोड यूरो अर्थात अर्थात १३ अर्ब ८१ करोड ९१ लाख डलर खर्च गर्ने घोषणा गरेको छ भने बेलायतले ३० अर्ब पाउण्ड अर्थात ३६ ७ अर्ब ५७ करोड डलर को राहत कार्यक्रम घोषणा गरेको छ । कोरोनाबाट घरेलु मुलुक चीनपछि सबैभन्दा प्रभावित बनेको इटलीले ७ अर्ब ५० करोड युरो अर्थात ८ अर्ब ३३ करोड ८३ लाख डलर खर्च गर्न बताएको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरूका अनुसार जापानले कोरोना बिरुद्ध लडन ३ अर्ब डलरको कार्यक्रम घोषणा गरेको छ ।

Wednesday, March 11, 2020

असारे विकासमा लगाम

निरु अर्याल
असारे विकासमा लगाम
आर्थिक वर्षको अन्तिममा आएर खर्च गर्ने प्रवृत्तिलाई रोक्न सरकार सक्रिय देखिएको छ चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत फागुन मसान्तसम्म काम सुरु नगर्ने आयोजनाको सबै बजेट खोस्ने बताएको सरकारले फेरि त्यसतर्फ सचेत गराउँदै १४ बुँदे निर्देशन जारी गरेको छ ।
अर्थले आफ्नो सहमतिबिना कसैले खर्च गरेमा त्यसको जिम्मेवार आफू नहुने चेतावनी दिँदै बजेट खर्च गर्ने उद्देश्यले हुने सभा, सेमिनार, अवलोकन, भ्रमण, गोष्ठीजस्ता कार्यक्रमसमेत तेस्रो चौमासिकमा नगर्न सुझाएको छ । चालू आर्थिक वर्षमा कूल ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले लक्ष्य अनुसार पुँजीगत खर्च हुन नसकेपछि गत माघमा मध्यावधि समीक्षामार्फत बजेटको आकार राजस्वको लक्ष्यमा संशोधन गरेको छ ।
संशोधित लक्ष्यअनुसार पनि कुल विनियोजनको ८०.१ प्रतिशत अर्थात ३ खर्ब २६ अर्ब ८१ अर्ब रुपैयाँ खर्च गर्नु पर्ने बाध्यतामा रहेको सरकारलाई कोरोनाको माहामारीले संशोधित लक्ष्य भेटाउनसमेत कठिन छ । अर्थको निर्देशन सही मानेमा पालना भएमा चालू आर्थिक वर्षदेखि वर्षको अन्तिममा आएर खर्च हुने परिपाटीमा ब्रेक लाग्ने छ । तर प्रवृत्ति र उद्देश्य फरक फरक देखिँदा पुरानै प्रवृत्ति हावी हुने अर्थशास्त्रीहरू बताउँछन् । अर्थशास्त्री डा. चन्दमणी अधिकारी भन्छन्, “आठ महिनासम्म पनि विकास खर्चको अवस्था नाजुक छ, यसलाई हेर्दा पनि वर्षको अन्तिममा आएर खर्च हुने प्रवृत्तिले निरन्तरता पाउने देखियो ।”
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको फागुन सकिन ५ दिन बाँकी रहँदासम्म ३८ प्रतिशत खर्च भएको छ । त्यसमध्ये चालूतर्फ ४५.७६ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ २२.६५ प्रतिशत र वित्तीयतर्फ ३२.९९ प्रतिशत बजेट खर्च भएको छ । चालू आर्थिक वर्षमा पुँजीगत खर्चको अवस्था अघिल्ला वर्षहरूमा भन्दा कमजोर देखिए पनि अर्थमन्त्रीले भने त्यसमा सत्यता नभएको दावी गर्दै आएका छन् । अर्थले दोस्रो चौमासिकमै काम सम्पन्न भएपनि अनेक बाहना झिकेर भुक्तानी रोक्ने प्रवृत्तिका कारण अर्थमन्त्रालय बदनाम भएको र प्रगति हुँदाहँुदै पनि कतिपय अवस्थामा आलोचना खेप्नु परेका भन्दै अर्थले वित्तीय सुसासनमा सक्रिय देखाएको अर्थको दावी छ । अर्थले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार दोस्रो चौमासिकसम्म खर्च नभएको वा बाँकी अवधिमा खर्च हुन नसक्ने आयोजना र कार्यक्रमको बजेट फागुन मसान्तभित्र यस मन्त्रालयमा सरेण्डर गर्ने भनेको छ । यसअघि नै अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजना र कार्यक्रमको हाल सम्पन्न कार्यको सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिइ बजेट व्यवस्थापन गर्न तथा सुशासन र परदर्शिता ल्याउन भन्दै फागुन मसान्तभित्र काम सुरु नगर्ने आयोजनाको बजेट खोस्ने बताइसकेका छन् ।
यस्तै, अर्थले आयोजना कार्यान्वयनलाई तीव्रता दिने जिम्मेवार सवै निकायले स्पष्ट कार्ययोजना बनाई कार्य सम्पादन गर्न निर्देशन दिएको छ । आयोजना र कार्यक्रमको हाल सम्पन्न कार्यबाट सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिन र चालू आर्थिक वर्षमा सिर्जित दायित्व अर्को वर्षलाई जिम्मेवारी नसार्न सुझाउँदै अर्थले यसै वर्ष भुक्तानी दिने व्यवस्था मिलाउन सबै विकासे निकायलाई निर्देशन जारी गरेको छ । अर्थले आर्थिक दायित्व तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार सम्पन्न भएको कामको भुक्तानी रितपूर्वक कागजात तयार भएको १५ दिनभित्र गर्ने व्यवस्था मिलाउन र स्वीकृत कार्यक्रम तथा खरीद योजना बमोजिम फागुन मसान्तभित्र सबै प्रक्रिया पूरा गरी बाँकी रहेका ठेक्का सम्झौता सम्पन्न गरी कार्यदेश दिन भनेको छ ।
यस्तै, खर्चको लेखांकन र प्रतिवेदन प्रणालीलाई यथार्थपरक बनाउन वैदेशिक सहायता अन्तर्गत सोझै भुक्तानी हुने र वस्तुगत सहायताको खर्चको विवरण सम्बन्धित आयोजना र दातृ निकायबाट लिई नियमित रुपमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रतिवेदन गर्ने व्यवस्था मिलाई त्यसको अनुगमन गर्ने पनि निर्देशन जारी गरेको छ । अर्थले अनुगमनलाई प्राथमिकता नदिएको र विकास खर्चमा उदासीन देखिएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ । अर्थले शोधभर्ना लिन बाँकी रहेको रकम महालेखा नियन्त्रक कार्यालय र सम्बन्धित मन्त्रालयको समन्वयमा फागुन मसान्तभित्र शोधभर्ना लिने व्यवस्था मिलाउन र मन्त्रालय, निकाय र आयोजनाभित्र स्वीकृत बजेटभन्दा बाहिर विभिन्न कारणले सिर्जित दायित्व सम्भव भएसम्म आन्तरिक रुपमा बचत हुने रकमबाट व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
आवश्यकताअनुसार रकमान्तर र स्रोतान्तरणको प्रस्ताव गर्न र अत्यावश्यक बाहेक सभा, गोष्ठी, सेमिनार, भ्रमण, अध्ययन, अवलोकन, तालीमजस्ता कार्यक्रम तेस्रो चौमासिकमा सञ्चालन नगर्न अर्थले निर्देशन जारी गरेको छ । दोस्रो चौमासिकम्म पनि सम्झौता गरी निकासा नलिएका आयोजनालाई दिने अनुदान तेस्रो चौमासिकमा निकासा नदिने पनि चेतावनी दिएको छ । बजेट कार्यान्वयनको अनुगमन तथा मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाई कार्यानवयनमा देखिएका समस्या तत्काल समाधान गर्ने र बजेट कार्यान्वयनमा अन्तर निकाय समन्वय, सहजीकरण र सहयोग सुनिश्चित गर्ने अर्थको दावी छ । अर्थले आफ्नो पूर्वसहमति बीना कुनै पनि निकायले थप आर्थिक दायित्व सिर्जना नगर्न सचेत गराउँदै सहमतिबिना निकासा दिन अर्थ मन्त्रालय बाध्य नहुने चेतवनी दिएको छ । यस्तै आयोजनाको लागि प्राप्त हुने जग्गा अधिक मूल्यांकन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने, आवश्यक परिणाममा मात्र जग्गा प्राप्त गर्ने र लिने व्यवस्था गर्ने अर्थको दावी छ 

आर्थिक वृद्धि खुम्चिने

आर्थिक वृद्धि खुम्चिने
निरु अर्याल
कोरना भाइरस (कोभिड–१९) को त्रासले नेपाली अर्थतन्त्र संकटमा पर्ने देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अहिलेसम्म कोरोनामुक्त भएको बताएपनि दुई ठूला छिमेकी मुलुक भारत र चीन सँग नेपालको अर्थतन्त्र निर्भर रहेको र ती मुलुकहरूमा कोरोना महामारी फैलिदा त्यसको असर नेपाली अर्थतन्त्रमा देखिएको हो । कोरोनाको त्रास लामो समयसम्म रहे नेपालको अर्थतन्त्र थेग्नै नसक्नेगरीथला पर्ने विश्लेषकहरू बताउँछन् । उनीहरूका अनुसार कोरोनाकै कारण विगत तीन वर्षदेखि ६ प्रतिशत माथि रहेको आर्थिक वृद्धिखुम्चिने, पुँजीगत खर्च झन कमजोर हुने तथा राजस्व असुलीमा समेत गम्भीर धक्का लाग्ने देखिएको छ ।
नेपाली अर्थतन्त्र दुई छिमेकी मुलुक चीन र भारतमा निर्भर रहेको र ती देशमा कोरोनाको सन्त्रास फैलिँदा त्यसको असर नेपाली अर्थतन्त्रमा देखिन सुरु भइसकेको पूर्वप्रशासक डा.शान्तराज सुवेदीको भनाइ छ । उनले एडीबी आईएमएफजस्ता दातृ निकायले अनुमान गरेको र नेपालले पनि अध्ययन सुरु गरिसकेकोले अहिले यत्तिनै भन्न नसकिने बताए । हालसम्म विश्वभर १ लाख १ हजार ९५४ जनालाई कोरोना संक्रमण भएकोमा ५६ हजार १ सय २३ जना उपचारपछि घर फर्किएका छन् भने ३ हजार ४ सय ६६ जनाको ज्यान गएको छ । ४२ हजार ३ सय ६५ जना अझै पनि संक्रमित रहेको र उनीहरूमध्ये ३५ हजार ९ सय ६४ जना सामान्य अवस्थामा रहेका र ६ हजार ४ सय १ जनाको अवस्था गम्भिर रहेको बताईएको छ । अहिलेसम्म ९७ देशसहित जापानको योकोहामा रहेको डायमण्ड प्रिन्सेस क्रुजमा कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ ।

“कोरोनाको त्रासले नेपालको औद्योगिक क्षेत्र, सेवा पर्यटन लगायतका क्षेत्रमा असर पर्न थालेको छ,”डा.सुवेदीले भने,“यसबाट अर्थतन्त्र मात्रै नभएर यसको असर सामाजिक, मनोवैज्ञानिक हुँदै साथै स्वास्थ्य, शिक्षा रोजगारीको क्षेत्रमा पनि सुरु भइसकेको छ ।”पर्यटन पूर्वाधारको क्षेत्रमा काम गर्ने मजदुरहरूचिनियाँ नागरिक भएको र आयोजनकालागि चाहिने सबैजसो कच्चा पदार्थहरू चीन भारतलगायत तेस्रो मुलुकबाट आयात गरिने भएकोले पनि त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा परेको छ ।जसका कारण निर्माणाधिन आयोजनाहरू लम्बिने र उपभोग्य बस्तुको आयातमा समस्या बढदा कालाबजारी फस्टाउने र रोजगारी गुम्दा गरिबी बढ्न सक्ने संकेत देखिएको छ ।
“५० प्रतिशत छुट दिँदापनि हाम्रा होटलको बुकिङहरू धमाधम रद्द हुन थालेका छन्, पर्यटन पूर्वाधारमा ठूलो समस्या देखिन थालेको छ,”सुवेदीले भने,“मानसिक र सामाजक मनोवैज्ञानिक त्रास बढेको छ, यसले हाम्रो अर्थतन्त्र संकुचन हुने खतरामा परेको छ ।”अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रको वृद्धिदर ०.५ प्रतिशतले खुम्चिने देखिएको छ । आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले कोरोना भाइरसकै कारण विश्व अर्थतन्त्रको वृद्धिदर २.९ प्रतिशतबाट २.४ प्रतिशतमा खुम्चिने बताएकी छन् ।
नेपालले यस बर्ष ८.५ प्रतिशतको लक्ष्य हासिल गर्ने बताएपनि आईमएफले दक्षिण एसियाली मुलुकको उत्पादनमा आएको कमी र भारतीय अर्थतन्त्रमा आएको मन्दीले सन २०२० मा नेपालले ६.४ प्रतिशतको लक्ष्य हासिल हुने बताएको थियो ।

यसैलाई आधार मान्ने हो भने पनि यस बर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा कम हुने देखिएको छ । केही समयअघि विश्व बैंक एडिबीले पनि आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै नेपालले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बताइसकेका छन् ।
सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पनि कोरोनाले अर्थतन्त्रमा थप चुनौती पैदा भएको बताए । उनले त्रास कम गर्न र बजारमा कालबजारी र कृत्रिम अभाव हुन नदिन सरकारले पहल कदमी सुरु गरिसकेको बताए । कोरोना भाइरस संसारभर फैलिए पनि एडीबीद्वारा सार्वजनिक गरिएको ‘द इकोनोमिक इम्प्याक्ट अफ द कोभिड–१९ आउटब्रेक अन डेभलपिङ एसिया’ प्रतिवेदन सार्वजनिक गर्दै नोभेल कोरोना भाइरसको प्रकोपले विकासशील एसियाली अर्थतन्त्रलाई उल्लेख्य रूपमा प्रभावित पार्ने बताएको छ ।
आन्तरिक आपूर्तिमा कमी, पर्यटन प्रबद्र्धन, व्यावसायिक क्षेत्रमा संकुचन र व्यापार तथा उत्पादन, आपूर्ति प्रणालीमा अवरोध र स्वास्थ्यमा देखिएको प्रभावले विश्व अर्थतन्त्रमा ३ खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुनसक्ने आकलन गरिएको छ । यस्तो क्षति विश्व अर्थततन्त्रको आकारको ०.४ प्रतिशत हो । नोभेल कोरोना भाइरसको प्रकोप सुरु भएपछि सन २०२० को जनवरी अन्त्यतिरबाट विश्वका अधिकांश मुलुकले यात्रामा प्रतिबन्ध लगाउने र सचेत रहन आफ्ना नागरिकलाई आग्रह गर्न थालेका छन् ।
नेपाललेपनि कोरोना भाइरसको प्रकोपका कारण नेपाल भ्रमण वर्ष २०२०, सगरमाथा संवाद, २०२० लगायतका महत्वपूर्ण कार्यक्रम स्थगित गरेको छ । “कोरोनाको त्रासमा मानिस, मनी र मेसिनमा देखा परेको छ,”अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी भन्छन्,“यो मनोबैज्ञानिक रूपमा फैलिएकोले लामो सम्म रहयो भने यसले नेपालको अर्थतन्त्रलाई मात्रै नभएर विश्वको अर्थतन्त्रलाई सखाप पार्ने देखिन्छ ।” उनले कोरोनाकै कारण मूल्यवृद्धि उच्च हुने कालाबजारी फस्टाउने र गरिबी बढ्ने बताए । “उत्पादन, उपभोग, आपूर्तिसँगै यसको असर पर्यटन पूर्वाधारमा देखिन थालेको छ यसले हाम्रो अर्थतन्त्रमा संकुचन आउने खतरापनि त्यतिकै बढेको छ भने आर्थिक वृद्धि खुम्चिने अवस्थामा छ,” उनले भने । एडीबीका अनुसार जनवरीयता विश्वव्यापी क्षति १५६ अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । यो विश्व अर्थतन्त्रको ०.२ प्रतिशत हो । चीनले मात्र १०३ अर्ब अमेरिकी डलर अर्थात चीनको अर्थतन्त्रको ०.८ प्रतिशतको क्षति बेहोरेको अनुमान गरिएको छ।
अधिकारीले चीनले अबको तीन महिनासम्म यही अवस्था झेल्नु परे हालको वृद्धिदरको ४२ प्रतिशत नोक्सानी हुने प्रतिवेदन सार्वजनिक भएको बताए । प्रतिवेदनले एसियाली मुलुकमा २२ अर्ब अमेरिकी डलरको क्षति पुगेको अनुमान गरिएको बताएको छ । एसियाली विकास बैंकका प्रमुख अर्थशास्त्री यासुयुकी सावदाले नोभेल कोरोना भाइरसको प्रकोपले विश्व अर्थतन्त्रमा पुग्ने क्षति अझै अनिश्चित रहेको भन्दै सबै देशका सरकारले अत्यावश्यक कदम चाल्नुपर्ने उल्लेख गरेका छन् ।
एडीबीले नोभेल कोरोना भाइरसको प्रकोप नियन्त्रणमा सहयोग गर्न भन्दै चीनको बृहत्तर मेकोङ क्षेत्रमा २० लाख अमेरिकी डलरको सहायता घोषणा गरिसकेको छ । आफ्ना सदस्य देशका लागि पहिचान, रोकथाम र नियन्त्रणका लागि अर्को २० लाख डलरको सहायता घोषणा गरेको एडीबीले आपत्कालीन सहायता, नीतिगत सहायता, निजी क्षेत्रमा लगानी जस्ता विभिन्न सहायता विधिका साथै ज्ञान र प्राविधिक सहयोगका लागि समेत तत्पर रहेको उल्लेख गरेको छ । एसियाली महादेशमा समृद्ध, समावेशी, उत्थानशील र दिगो विकासलाई प्राथमिकता दिँदै आएको बहुपक्षीय दातृ निकाय एडीबीका ६८ सदस्य राष्ट्रमध्ये ४९ सदस्य एसियाली मुलुक छन् ।
यसैबीच, विश्व बैंकले कोरोना भाइरसको समाना गरिरहेका सदस्य मुलुकको सहायताका लागि प्रारम्भिक सहयोगस्वरूप १२ अर्ब अमेरिकी डलर (करिब १४ खर्ब रूपैयाँ) आर्थिक प्याकेज घोषणा गरेको छ । यो सहायता प्याकेज ‘फास्ट ट्रयाक’ माध्यमबाट विकासशील मुलुकको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन प्रयोग गरिने बैंकले जनाएको छ । हालै घोषणा गरिएको यो सहायता रकमकम आयस्रोत भएका मुलुकलाई अनुदान र सहुलियतपूर्ण कर्जाका रूपमा उपलब्ध गराइने उल्लेख छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउन तथा निजी क्षेत्रको व्यापार–व्यवसायलाई जीवित राख्न अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) मार्फत सहायता रकम उपलब्ध गराउने पनि जानकारी दिएको छ ।कोरोना भाइरस पुष्टि भएका ५६ हजारभन्दा धेरै मानिस उपचार पछि निको भएका छन् ।
नेपाल राष्ट्र बैकले पनि गत साता मौद्रिक नीतिको मध्यावधि समिक्षामा अर्थतन्त्रमा कोरोनको प्रभाप पर्ने भएकोले विभिन्न उपया अपनाउन सरकारलाई सुझाव दिएको छ ।

https://www.karobardaily.com/news/economy/29804

अर्थतन्त्रमा कोरोना प्रभावबारे अध्ययन सुरु

निरु अर्याल
अर्थतन्त्रमा कोरोना प्रभावबारे अध्ययन सुरु
कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रसँगै नेपालमा असर देखिन थालेपछि अर्थमन्त्रालयले अध्ययन सुरु गरेको छ । अर्थ एवम् सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने क्रममा कोरोना भाइरसले अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा अर्थमन्त्रालले अध्ययन अघि बढिसकेको जानकारी दिए । कोरोनाले बजारमा कृतिम अभाव देखिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको बताउँदै मन्त्री खतिवडाले भने, “कोरोनाकै कारण बजारमा यतिबेला कृतिम अभाव हुन थाल्यो भन्ने अफवाह फैलिएको छ, त्यसतर्फ पनि सरकार सचेत छ कोरोनाको प्रभाव नेपाली अर्थतन्त्रमा पनि छ, त्यसमा सरकारले अध्ययन सुरु गरिसकेको छ” सरकारका प्रवक्ता समेत रहेको मन्त्री डा. खतिवडाले भने “कोरोना भाइरसको लक्षणजस्तै यसले अर्थतन्त्रमा पार्ने लक्षण अहिले देखिएको छ, पर्यटन, व्यापार, लगानीको अवसर, जहाँ विदेशी कामदार छन् ती निर्माण क्षेत्र, बजारको आपूर्ति विषयमा लक्षण देखिएको छ ।”
बुधबार दोश्रो पटक मन्त्री भएर पदभार सम्हालेलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दैै मन्त्री खतिवडाले कोरोनाबाट अर्थतन्त्रमा क्षति भएको भन्दै अध्ययन गर्ने बताएका थिए । मन्त्री खतिवडाले कोरोनका कारण विश्व अर्थतन्त्र पनि प्रभावित हुन थालेको र त्यसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने बताए । सो अवसरमा उनले भ्रमण वर्षका सबै कार्यक्रम स्थागित नभएको दावी गरे । उनले भने, “विश्व समुदायमा देखिएको प्रतिकुल स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै देश बाहिरका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हो, देश भित्रका कार्यक्रम यथावत नै छन् ।” कोरोनाको प्रभावले नेपालको सेवा क्षेत्रलाई असर गर्न थालेको भन्दै नेपाल राष्ट्र बैंकले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पर्यटन र व्यापारिक गतिविधि प्रभावित हुने जोखिम बढेको प्रतिवेदन नै सार्वजनिक गरिसकेको छ ।

उसले विश्वका केही देशहरुमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा पर्ने सक्ने असर तथा वर्षे बाली धानको उत्पादनमा आएको कमीले आर्थिक वृद्धि नै प्रभावित हुने देखिएको प्रक्षेपणसमेत गरेको गरेको छ । अर्थमन्त्री खतिवडाले विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण अर्थतन्त्रलाई प्रभाव पार्ने संकेत देखिएको यसतर्फ सचेत र सावधानी हुन सबैलाई आग्रह गरेका छन् ।
उनले कच्चा पदार्थ उत्पादन नहुँदा भोलिको आपूर्ति व्यवस्था प्रभावित भएर समग्र विश्वको आर्थिक प्रणाली प्रभावित हुँदा नेपालमा यसको प्रभाव बढी पर्ने बताए । यो हाम्रो अर्थतन्त्रका लागि चुनौती बनेर आएको भन्दै मन्त्री खतिवडाले सबै मिलेर सामाना गर्नुपर्ने बताए । पछिल्लो समय कोरोनाका कारण विदेशी कामदार रहेका परियोजना त्यसमा पनि चीनका कामदार रहेका परियोजनाका कामहरु प्रभावित हुन थालिसकेको छ ।
त्यहाँको अर्थतन्त्रमा प्रभाव देखिएलगत्तै रेमिटेन्स आय घटेर विदेशी विनिमय सञ्चितिमा कमी आउने देखिएपछि राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत प्रभावित हुन सक्ने उद्योगका लागि राहत प्याकेज ल्याउने घोषणा गरिसकेको छ । जसमा सेवा तथा उद्योग क्षेत्रको असरलाई मध्यनजर गर्दै पुनर्कर्जा दिनेदेखि ऋण पुनर्संरचना र पुनर्तालिकीकरण गर्नेसम्मको घोषणा उल्लेख गरिएका छन् तथापि दुई महिनाअघि चीनबाट फैलिएको कोरोनाले निजी क्षेत्रमा त्रास बढेको छ ।
अहिलेसम्म संसारभरका करिव ८० मुलुकमा कोराना फैलिएको छ भने विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई संवेदनशिल सूचिमा राखेको छ । कोरोनाबाट त्रास फैलिन नदिन र सचेतना अपनाउन भन्दै सरकारले प्रत्येक दिन ताजा जानकारी दिने तयारी पनि गरेको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले त्रास फैलिन नदिन मन्त्रालयले हरेक दिन अपडेट सार्वजनिक गर्ने र हरेक साता पत्रकार सम्मेलन गर्ने जानकारी दिए । सरकारले अर्थमन्त्रालय आन्तरिक राजस्व विभागअन्तर्गतका कार्यालयहरूको कार्य क्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने पनि निर्णय गरेको छ ।

खतिवडा फेरी अर्थमन्त्री

खतिवडा फेरी अर्थमन्त्री
“२४ घण्टा क्वारेन्टाइनमा बसेर नयाँ उर्जाका साथ फर्किए”

निरु अर्याल
मन्त्री पदबाट राजीनामा दिएको भोलीपल्टै डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनर्नियुक्ति भएका छन् । राजिनामा दिएको ठिक २४ घण्टापछि अर्थमन्त्रालयको जिम्मेबारी सम्हालेका खतिवडाले वितेको २४ घण्टालाई उनले क्वारेनटाइन बसाईको अवधिको रुपमा गणना समेत गरेका छन् ।
पुर्न नियूक्ति भए लगत्तै मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्न दोस्रोपटक सिंहदरबार प्रवेश गरेका खतिवडाले मन्त्रालयका कर्मचारीको स्वागतपछि सम्बन्धीत निकाय र मन्त्रालयका कर्मचारीहरुसँग भने “२४ घण्टा क्वारेन्टाइनमा बसेर थप नयाँ उर्जाका साथ फर्किएको छु” मेरो ध्यान ब्यवसायीक वाताबारण र बित्तिय सुसासनमै हुने छ ।” उनको हसिलो मुहाँरले धेरै सन्देश दिएको थियो । फूलमालाले सजिएका नयाँ मन्त्रीकै जस्तो गरी स्वागतमा बधाई खाइरहेका खतिवडाले दोस्रो इनिङमा आफूलाई रोग, भोक, अशिक्षा र असमानताका विरुद्धमा लड्ने लडाकुको रुपमा लिएका छन् ।
आफ्नो पार्टी भित्रैबाटै चर्को राजनीतिक दाउपेचका बीच दोर्होयाएर मुलुकको ढुकुटीको साँचो सम्हाल्न अर्थमन्त्रीमा नियुक्त भएका खतिवडाले आफू प्रधानमन्त्रीले चाहेको दिनसम्म यही पदमा रहने प्रष्ट संकेत पनि गरेका छन् । बुधबार अपरान्ह राष्ट्रपति बिद्यादेबी भण्डारीबाट शपथ लिएर शितलनिवासबाट सिधै मन्त्रालय पुगेका खतिवडाले आफू मुलुकको गरिबी अन्त्य गर्दै विकास समृद्धिको लडाइँमा लागेको सिपाही भएको भन्दै त्यो यात्रा पूरा नभएसम्म लडिरहने पनि उदघोष गरे ।
“यो मुलुकको गरिबी, अभाव, अशिक्षा र अन्यायको विरुद्धमा लडिरहेको विकासे योद्धा ती समस्या हल नहुँदासम्म लडिरहन्छ” मन्त्री खतिवडाले भने, “मेरो समय त्यही बेलासम्म हो जुन बेला कमाण्डरले लडाइँ सकियो अब फर्क भनेर भन्दैन ।” उनले सो अवसरमा आर्थिक विकासको एजेण्डालाई प्रभावकारी ढङले अगाडी बढाउन मातहतका निकायलाई निर्देशन दिए ।
अर्थ र सुचना तथा संचार मन्त्रालयको जिम्मेबारी सम्हालेका खतिवडाले भने “प्रेसका साथीहरुसँग निरन्तर सहकार्य हुन्छ नै निजी क्षेत्रलाई बिश्वाँसमा राखेर मुलुकले चाहेको बिकास र सुसासन सामाजिक न्याय र समानताको ऐजेण्डा एउटै तहसम्म नपुगेसम्म म लडिरहन्छु ।” दुई वर्षअघि अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक गर्दै आफ्ना पूर्ववर्ती सरकारमाथि कडा आक्रमण गरेका खतिवडाले दोस्रो कार्यकालको पहिलो दिनमै त्यसैको बचाउ समेत गरे । “दुई वर्षअघि श्वेतपत्रमा भनिएका कुराहरुमा के पुगे के पुगेननन् केमा सुधार हुँदैछ, के भएनन् त्यसको लेखाजोखा यहाँहरुले गर्नु नै हुनेछ, उनले भने “मेरो पहिलो र दोश्रो कार्याकालको समिक्षा गर्ने बेला अहिले भएको छैन ।” उनले भने “मैले त्यतिबेला अर्थतन्त्रको संरचनागत समस्या छन् भनेको थिएँ, उत्पादनको संरचना, आयातको संरचनासँगै जोडिने राजस्वको संरचना, विप्रेषणको संरचनासँगै जोडिने उपभोगको संरचनामा पार्ने प्रभावमा कसरी सुधार गर्न सकिन्छ भनेर दुई वर्षमा काम गर्न खोजिएको हो ।”
आयातमा आधारित अर्थतन्त्र आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा परिवर्तन हुने क्रममा रहेको पनि उनले बताए । मन्त्री खतिवडाले दुई वर्षमा अर्थतन्त्रको सम्पूर्ण संरचना अर्थमन्त्रीले उथलपुथल ल्याउन नसक्ने भन्दै आफ्नो पहिलो कार्यकालको भने खुलेरै बचाउँ गरे । उनले भने “दुई वर्षमा अर्थमन्त्रीले अर्थतन्त्रको सम्पूर्ण संरचनामा उथलपुथल ल्याउन सक्छ भने त्यो कोरा कल्पनामात्रै हो ।” उनले निजी क्षेत्र र अन्तराष्ट्रिय समुदायको बिश्वाँस जितेर सरकार सम्बृद्धि तर्फ अघि बढ्ने उदघोष पनि बताए ।
कोरोना भाइरसको समस्याबाट विश्वव्यापी संकटले नेपाली अर्थतन्त्रमा पनि दवाब बढाइरहेको र चुनौती खेप्नु परेको उनको भनाई थियो । “अहिले हामी उच्च आर्थिक वृद्धिको बाटोमा रहँदा रहँदै, अर्थतन्त्रका परिसूचकहरु ठीक ठाउँमा रहँदा रहँदै पनि केही बाह्य चुनौतिको सामना गर्नुपरेको छ, उनले भने, “हामी त्यसलाई सामना गर्न सक्छौँ ।” नवनियुक्त अर्थमन्त्री खतिवडाले आर्थिक नीतिको स्वरुप कस्तो हुन्छ भनेर वहस गर्न आवश्यक नरहेको भन्दै धेरै कुरामा निरन्तरता दिने दाबी समेत गरे । खर्चको प्रभावकारीता, जवाफदेहिता र आर्थिक अनुशासन पालना गर्ने गराउने र सुशासन कायम गर्दै विकासका समपूर्ण संजाललाई अगाडी बढाउने प्रयास रहने पनि बताए । अर्थ मन्त्रालयको पदभार सम्हालेर कर्मचारीहरुलाई निर्देशन दिए लगतै नवनियुक्त अर्थमन्त्री खतिवडा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका छन् ।
खतिवडालाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रिय सभा सदस्य पद मंगलबार स्वतः सकिने भएपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका थिए । खतिवडाको राजिनामा राष्ट्रपति भण्डारीले स्वीकृत गरी मंगलबार नै उनले सम्हालेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकेकी थिईन । प्रधानमन्त्री ओली अस्वस्थ भएर उपचारको क्रममै रहेको बेला खतिवडा मन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा नबित्दै पुनः मन्त्री पदमा फर्केका छन् ।
संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधानअनुसार खतिवडालाई पुनर्नियुक्ति दिइएको हो । विसं २०७४ साल फागुन १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा पहिलो रोजाईमा परेका ब्यक्ति हुन् । सबिधात तह अर्थमन्त्रीको रुपमा निरन्तरताका लागि खतिवडाले अबको ६ महिनाभित्रमा सांसद पदको शपथ लिनुपर्ने प्राबधान छ ।

कस्तो रह्यो अर्थमन्त्रीको पहिलो इनिङ ?

निरु अर्याल
कस्तो रह्यो अर्थमन्त्रीको पहिलो इनिङ ?२०७४ फागुन २५ गते राष्ट्रियसभा सदस्यको शपथ लिएका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल आज (मंगलबार) राति १२ बजे सकिँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त भएका खतिवडाले सांसद पदको शपथ लिनुअघि नै अर्थमन्त्रीको शपथ ग्रहण गरेका गरेका थिए ।
पार्टी संरचनाको पर्याप्त सहयोगबिना खतिवडाले अर्थमन्त्रीको दुई वर्षे कार्यकाल सम्पन्न गरेका छन् । यसबीचमा उनले दुईवटा बजेट ल्याए । अलोकप्रिय बजेट ल्याएको भन्दै पार्टीबाट उनको चौतर्फी आलोचना पनि भयो । अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिनामा देशको आर्थिक अवस्थाबारे निकालेको श्वेतपत्रबाट उनी एकदमै आलोचित बने । तर, श्वेतपत्र निकालेको २२ महिनापछि पनि त्यसमा उल्लिखित अर्थतन्त्रका आधारभूत नापनक्शामा कुनै फेरबदल आएको छैन । अर्थतन्त्र झन्झन् जर्जर बन्दै गयो ।

कारोबारसँग कुरा गर्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतले भने, “त्यतिको मान्छे अर्थमन्त्री हुनु देशको लागि राम्रो कुरा थियो तर जसरी श्वेतपत्र निकालेर अर्थतन्त्रको खराब चित्रण गरियो, त्यो बिल्कुल गलत थियो । अहिले त अर्थतन्त्रको झन् विकराल अवस्था छ ।”
डा. खतिवडाले सार्वजनिक समारोहमा पनि डा. महतलाई आफ्ना गुरुको नामले सम्बोधन गर्छन् । अर्थमन्त्रीले श्वेतपत्रमा बजेट कार्यान्वयनमा सुस्तता, विकास आयोजनाको नाजुक अवस्था, रेमिट्यान्समा आधारित उपभोगको चक्र, व्यावसायिक वातावरणको अभाव, सार्वजनिक सेवा प्रवाहको कमजोर अवस्था तथा सुशासनको अभावलाई प्राथमिकता दिएर उल्लेख गरेका थिए । खतिवडाले प्रस्तुत गरेको पहिलो बजेट (आर्थिक वर्ष ०७५÷०७६) कार्यान्वयन प्रभावकारी नभएपछि उनले पहिलो आधार वर्ष भएकाले छुट दिनुपर्ने मत राख्दै दोस्रो बजेटको कार्यान्वयनमा सुधारको प्रतिबद्धता जनाएका थिए । तर, दोस्रो वर्षको बजेटले पनि सत्ताधारी पार्टीलाई रिझाउन सकेनन् । अर्थतन्त्रका संरचनागत समस्याको नाडी छामिसकेका र समाधान गर्न सक्ने भनी विश्वास गरेर रोजिएका व्यक्ति खतिवडा प्रधानमन्त्री ओलीद्वारा रुचाइएका र विश्वास पात्र हुन् । जसका कारण उनलाई पुनः अर्थमन्त्री बन्ने अवसर पैदा भएको छ ।
पहिलो वर्ष संघीय सरकार र प्रदेश तथा स्थानीय तहबीच विवाद बढेको भए पनि दोस्रो वर्षसम्म आइपुग्दा ती विषय समाधान भइसकेका छन् । आर्थिक क्षेत्रसँग सम्बन्धित कानुन निर्माणमा खतिवडाले मेहनत गरेका छन् । निजी लगानी, सरकारी बजेटको व्यवस्थापन र प्रभावकारी खर्च प्रणाली स्थापना गर्ने तथा वित्तीय संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा उनले तीव्र गतिमा काम गरेका छन् । तरपनि खतिवडा यो दुई वर्षमा अर्थतन्त्रको संरचनागत र बृहत् परिवर्तनका लागि योगदान दिनबाट भने चुके । पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला पनि खतिवडाले अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्छन् । कोइराला अर्थमन्त्री हुँदा खतिवडा नेपाल राष्ट्र बैंकका गभर्नर थिए । “मलाई अर्थमन्त्री हुँदा निकै सहयोग गर्नुभएको हो, उहाँ काम गर्न सक्षम मान्छे हो तर यत्रो ठूलो अवसर हुँदाहुदै पनि उहाँले अपेक्षा अनुसारको काम गर्न नसकेकै हो,” कोइरालाले भने । उनले भनेजस्तै खतिवडाले जिम्मेवारी सम्हालेलगत्तै सरकारी खर्चको दर परम्परागतभन्दा कमजोर भयो । पछिल्लो ३ वर्षयता ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल भए पनि बजेटको प्रभावकारी कार्यान्वयन भएन । केही वस्तुको आयातमा गरिएको नियन्त्रणका कारण व्यापार घाटा न्यून गर्न केही सहज भए पनि उच्च मूल्य अभिवृद्धि गरी वस्तु निर्यात वृद्धि गर्न सरकार सफल देखिएन । निजी क्षेत्र सरकारप्रति विश्वस्त हुन सकेनन ।
मौद्रिक अर्थशास्त्री खतिवडाको बजेट तर्जुमाको पाटोमा पनि केही कमजोरी देखिएको उनीसँगै काम गरेका सरकारी अधिकारीहरू बताउँछन् । अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यसमेतको मिहीन जानकारी राख्ने खतिवडाले वित्तीय क्षेत्र पूर्णरूपमा आफ्नो नियन्त्रणमा राखे, राजस्वमा केही कमजोरी देखियो भने बजेट खर्चमा सरकार असफल रह्यो । दुई वर्षमा खतिवडा सबैभन्दा सफल देखिएको वित्तीय संघीयताको कार्यान्वयन र व्यवस्थापनमा मात्रै हो तर पनि वित्तीय अराजकता र पार्टीभित्रै सन्तुलन मिलाउन भने खतिवडाले सकेनन् ।
अर्थमन्त्रीकै कारण सेयर बजार ओरालो लागेको भन्दै पुँजी बजारका केही लगानीकर्ता आन्दोलनमा उत्रिए, उनीविरूद्ध अनसन नै बसे । पुँजी बजारलाई अनुत्पादक भन्दै खतिवडाले गरेको टिप्पणीले लगानीकर्तामाझ उनी अलोकप्रिय बने । एकात्मक शासन प्रणाली र केन्द्रिकृत अर्थव्यवस्थाबाट गुज्रिएको मुलुकमा वित्तीय संघीयता कार्यान्वयनको चुनौतिपूर्ण जिम्मेवारीको नेतृत्व गरेका खतिवडाले यो गह्रौँ भारी दुई वर्षमा सजिलैसँग बिसाएका छन् । आलोचनाबीच प्रधामन्त्रीका विश्वासपात्र भएकै कारण खतिवडा पुनः अर्थमन्त्री हुने निश्चित देखिएको छ ।

 
राजीनामा स्वीकृत
अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । मन्त्री खतिवडाले मंगबार दिउँसो पदबाट राजीनामा दिएका थिए ।
खतिवडाको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उनले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने गरी तोकेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकिएको जनाएका छन् ।
राजीनामा दिनुअघि मन्त्री खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए । राष्ट्रियसभामा डा. खतिवडासहित १९ जना सांसदको पदावधि मंगलबार राति १२ बजेबाट सकिँदै छ । गोला प्रथाबाट दुई वर्षे कार्यकाल पाएका १९ जनामध्ये राष्ट्रपतिबाट मनोनित खतिवडा पनि एक हुन् । कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री खतिवडाले राजीनामा दिएका हुन् । तर, सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्ति गर्ने बुझिएको छ । प्रधानमन्त्रीले खतिवडालाई पुनः नियुक्ति गरेमा बुधबार राष्ट्रपति समक्ष शपथ खानेछन् ।
गत बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडाले २१ गते शपथ ग्रहणको दिन तोकिएको र त्यो दिन भेट हुने प्रतिक्रिया दिएका थिए ।
https://www.karobardaily.com/news/economy/29674

संघीयताको ढाँचा परिवर्तन नगरे देशको विकास सम्भव छैन

संघीयताको ढाँचा परिवर्तन नगरे देशको विकास सम्भव छैन
विनोद न्यौपानेसंघीयता विज्ञबि.स २०७२ असोज ३ गते जारी भएको संविधानसँगै देश यतिबेला संघीयता कार्यान्वयनको दौरानमा छ । संघीयता कार्यान्वयनमा आइसकेपछि सरकारले संघीय बजेटसँगै तीनवटा बजेट सार्वजनिक गरेको छ । तर, संघीयताको मर्मअनुरूप राजनीतिक दलहरूले काम नगर्दा संघीयता राज्यका लागि बोझमात्रै होइन, दलहरूको कमाइ खाने भाँडो बनेको संघीयताका जानकार विनोद न्यौपाने बताउँछन् ।

रामपुर कृषि क्याम्पसबाट कृषि विज्ञानमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानुन र सामाजिक विज्ञानमा स्नातक गरेका न्यौपानेले इटलीस्थित पादोवा विश्वविद्यालयबाट समेत स्नातकोत्तर गरेका छन् । ब्रेन ड्रेन स्कलरसिपको उपाधि हासिल गरेका न्यौपाने नेपालले अवलम्बन गरेको संघीय अभ्यासमात्रै नभएर अन्य मुलुकले अवलम्बन गरेको संघीयताबारे पनि विशेष दक्खल राख्छन् । नेपालले संघीयता कार्यान्वयन गर्दै गर्दा बाटो बिराएको र आर्थिक ढाँचा छोडेर राजनीतिक ढाँचालाई केन्द्रमा राख्दा संघीयता खतरामा परेको उनको बुझाइ छ । दुईतिहाइको सरकारले अर्थतन्त्रमा उल्लेखनीय रूपमा काम गर्न नसक्दा मुलुकको अर्थतन्त्र संकुचन हुने अवस्थामा गएको तर्क गर्छन् उनी ।
अध्ययन र अनुसन्धानलाई मुख्य पेसा बनाएका न्यौपाने पर्दापछाडि बसेर नेपालको अर्थतन्त्र र विकेन्द्रीकरणको विषयमा सेतुको काम गरिरहेका छन् । धेरै नेपालीहरूले संघीयता र विकेन्द्रकीकरणको गलत व्याख्या गरेको भेटिएपछि त्यसलाई विभिन्न तरिकाहरू बुझाउने प्रयासमा छन् । उनै न्यौपानेसँग नेपालले अवलम्बन गरेको संघीयताको सिद्धान्त संघीयता कार्यान्वयनमा सरकारले गरेको प्रयास र अर्थतन्त्रको अवस्थाबारे कारोबारकर्मी निरु अर्यालले गरेको कुराकानीको सार :


कोरोना भाइरसको त्रासलाई मध्यनजर गर्दै सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थागित ग-यो, यो कत्तिको जायज हो ?
संसारभर यतिबला कोरोना भाइरसको त्रास छ, यसले नेपली अर्थतन्त्रलाई कसरी असर गर्छ ?
यो समस्याको तुरुन्तै नियन्त्रण गर्ने अवस्था छैन । यसमा हामीले सावधानी अपनाउने हो । हाम्रो अर्थतन्त्रको मूल कुरो भनेको हामी भारतसँग निर्भर छौं । हाम्रो पूरै अर्थतन्त्र भारतमा निर्भर छ । आर्थिक आधारको ढाँचा हेर्दा हामी धेरै उत्पादनभन्दा उपभोगमुखी छौं । उपभोगमुखी हुँदा निर्यात गर्ने अवस्था छँदै छैन । हामीले ल्याएर खाने हो । हाम्रो आफंै उत्पादन भनेको केही छैन । मुरली मकै इटलीबाट आउँछ । फापर पनि बाहिरबाट ल्याएर खाइरहेका छौं, आयात निर्यातमा असर परेको छ । अहिले लसुनको हाहाकार छ ।
कोरोना भाइरसकै कारणले चीनबाट लसुन आएको छैन । अर्को कुरा, हाम्रो अर्थतन्त्र उपभोगमुखी दातामुखी र रेमिट्यान्समुखी छ । हामीले आएको रेमिट्यान्सलाई उद्योग व्यवसायमा परिणत गरेका छैनौ । श्रीमान् दाजुभाइले पठाएको पैसा श्रीमती, परिवार राखेर पढ्ने मात्रै व्यवस्था मिलाएको छ । कोरोनाकै कारणले भारतले पनि मानिसहरू पठाउन कडाइ गरेको छ । अन्य मुलुकले पनि कामदार कटौती गरेका छन् । यसले हाम्रो आर्थिक अवस्थालाई झन् थिलोथिलो पार्ने देखिएको छ । पशुपतिनाथको कृपामा निर्भर छांै । हामीले केही तयारी गरेका छैनौं । आर्थिक मन्दी आउन सक्छ । भारत चीनले आफ्नो नाका बन्द गरी नै हाल्यो । भारतले पनि सावधानी अपनाएको छ । हामी उपभोक्तावादीहरू हौं । उत्पादनमुखी नभएकाले यसले झनै ठूलो असर गर्छ ।

यसमा यस्तो छ । सरकारले भ्रमण वर्ष– २०२० घोषणा ग-यो । तर, कसरी भ्रमण वर्ष मनाउने भन्ने आधारहरू भएनन् । मै आफैं पनि १४ राष्ट्रका २० वटा सहर घुमेको छु । उनीहरूले सानो आश्चार्यलाग्दो कुरा देखे भने त्यसलाई न्यूनतम मूल्यका आधारमा प्रवद्र्धन गरेको देखिन्छ । हाम्रो परिप्रेक्ष्यमा हेर्दा हामीले ३० वर्षका लागि केही पर्यटनको क्षेत्रमा केही पनि आधारहरू तयार गरेका रहेनछौं । कोरोना भाइरसले हाम्रो चिनियाँ पर्यटकहरू रोकिहाल्छन् । मजदुरहरू रोकिए हाम्रा कामहरू रोकिए । हाम्रो अर्थतन्त्रको मेरुदण्ड भनेको पर्यटन नै हो । यो भ्रमण वर्ष तयारीबिना नै घोषणा गरिएको थियो, स्थगित गर्नु राम्रो कुरा हो, पर्याप्त तयारी गरेर मात्रै यतातिर जानुपर्छ ।

सरकार यतिबेला बजेट कार्यान्वयनको चरणमा छ । बजेट कार्यान्वयनको दोस्रो चौमासिक सकिन लागेको छ । यो अवस्थासम्म आउँदा सरकारको विकास खर्चको अवस्था एकदमै कमजोर देखियो । यहाँलाई थाहा नै छ, केही दिनअघि सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार र राजस्वको लक्ष्य घटायो । बजेट खर्च गर्न सरकार असक्षम भएकै हो ?
बजेट खर्च गर्न सरकार असक्षम भएकै हो । किनभने, पछिल्लो ३० वर्षमा संस्थागत संरचना बनाउने केही काम भएनछ । जुन बजेट ल्याइएको छ, त्यो केन्द्र सरकारको बजेट हेर्दा छरिएको छ । त्यसलाई कार्यान्वयन गर्ने जुन मेकानिजम हो त्यो भनेको एक त कर्मचारीको समायोजन हो । समयमा समायोजन गर्ने संयन्त्र भएन । अर्को भनेको हाम्रो कर्मचारी तन्त्र सक्षम देखिएन ।
यो कर्मचारी तन्त्र राणाशासनदेखि आएको हो, सन् १९९० को दशकदेखि कर्मचारीतन्त्रमा राजनीतीकरण हाबी भयो । यसले धेरैजसो गुट उपगुट भयो । त्यसपछि कुन पाटीको भन्नेमै भयो । एक त स्टकचरल पद्धतिको अभाव हो । यसमा संरचनागत अभाव, कुन बजेट कता–कति पठाउने भन्ने मेलो मेसो नै भएन । हाम्रो संयन्त्र एकजना नेताले भनेको आधारमा आयोजना बनाउने चलन छ आर्थिक नीति आयोजना चक्र बनाउने जुन आधार छ त्यो नै गलत भएपछि कार्यान्वयन कसरी गतिलो हुन्छ ? हो, त्यही प्रभाव हाम्रो अर्थतन्त्रमा देखिएको छ । र सरकारले जुन घटाएको छ त्यो पनि हासिल गर्न सक्ने अवस्था छैन । किनभने रातदिन यिनीहरू एकआपसमा खिचातानी छ, विकासमा राजनीतिक दलको ध्यान नै छैन भने पनि खर्च हुने कुरा धेरै परको कुरा हो ।
यसका बाबजुत पनि सरकारले मध्यावधि समीक्षामार्फत बजेटको आकार र राजस्वको लक्ष्य घटाउन आर्थिक वृद्धि यथावत् राखेको छ । यस वर्ष ८.५ प्रतिशतको लक्ष्य सम्भव होला ?
असम्भव । एक त यिनीहरूले हाम्रो डाटा तथ्यांकहरू हो । यो आफंै कलेक्सन गरेको अवस्था छैन । हाम्रो ढाँचा अन्तर्राष्ट्रिय मोडलमा छ । यो नवउदारबादी कन्सेप्टमा छ । चिलीको कन्सेप्टमा छ । आजभन्दा ४६ वर्षअघि एप्लाई गरेको अभ्यास हो । त्यो त्यहाँ फेलियर भयो । अर्जेन्टिनामा पनि फेलियर भयो । हाम्रो विकासको पद्धति गलत हो । यो डाटा तथ्यांक हेर्दा मोथोडोलोजी हेर्नुपर्छ । अर्कोले भनिदिएको डाटाका आधारमा ८.५ भन्ने र उनीहरूले घटाए घटाउने बढाए बढाउने अवस्था छ । अहिले दाताहरूले होइन भनेका छन्, यिनीहरू पनि त्यही घटाउनतिर लागेका छन् । यो जीडीपी भनेको नवउदारवादको ह्विम हो । वेब हो । ठग्ने, ढाँट्ने र सत्ता टिकाउने हो । एउटा पुँजीपतिहरूको कुरा आउँछ । यो पुग्दै पुग्दैन । यो ल्याउनका पछाडि दिगो विकासको लक्ष्य हो । त्यसैलाई आधार मानेर गरेको हो । आधारभूत आधार छैन । त्यसो हुँदा यो लक्ष्य हासिल गर्छु भन्ने, त्यो भनेको जनतालाई सीधा ठग्ने काम हो । यो वर्ष यो लक्ष्य हासिल हुन सक्दैन ।

यतिबेला हामी संघीयताको अभ्यास गर्दैछौं । संघीयता कार्यान्वयनमा आएको पनि दुई वर्ष भए यसबीचमा आशालाग्दा कामहरू भए वा भएनन् ?
संघीयताले जनताका इच्छा आकांक्षाहरू भोटका लागि हाई बनाउने काम भयो । २०७४ मा प्रदेशहरूले पहिलो बजेट ल्याए । यसमा केन्द्रको हुबहु नक्कल गरे । स्थानीय तहमा उद्यमशीलताका आधारहरू के–के छन् भन्नेतिर काम गरिएन । यो अभ्यासमा केही कानुन बनाए । नाम संघीयता काम केन्द्रीयता भयो । केन्द्रीयता पाराको संघीयताले कसरी काम होस्, अर्को कुरा, ऐन–कानुनहरू केही बनाए तिनैको नारा पिटेका छन् । त्यसैलाई चलाउने जुन मेकानिजम बनाउनुपर्ने थियो त्यो भएन, किनकि संघीयता चलाउने अर्थ र अर्थसम्बन्धी सबै कुरा र वित्तीय क्षेत्रहरू बनाउने काम भएन । भएका काम पनि शंखेकीराका आधारमा भएका छन् । यो शंखेकीराको पारामा संयन्त्र छ । तर भन्ने बेलाचैं अझै आकांक्षा, महŒवाकांक्षाहरू भने ठूलो–ठूलो गरिएको छ । यही बीचमा राजनीतिक संरचना आर्थिक बनाउन बनाउन पुँजीपतिहरूले गरिरहेका छन् ।

यहाँले भनेजस्तै अहिले प्रदेश स्थानीय सरकार र संघीय सरकारबीच करको विषयमा ग्यापजस्तो देखिन्छ । यसका बाबजुत पनि स्थानीय सरकारहरू आर्थिक क्रियाकलापभन्दा राजनीतिक गतिविधिमा बढी केन्द्रित भएको भन्ने अरोप छ, यसमा कत्तिको सत्यता छ ?
सबैभन्दा पहिले संघीयता भन्ने व्यवस्था बुझ्नुपर्छ । संघीयतालाई सही रूपमा ल्याएको भए राजनीतिक दलका मान्छेहरू हुन् या कार्यकर्ता हुन्, यतिविघ्न गन्हाउने थिएनन् । अहिले गन्हाइरहेका छन् । हामीसँग स्रोत र साधन कम छ । जति पैसा गयो आफूलाई महाराज बनाउनतिर लागे । जनताभन्दा भिन्न कसरी देखिने भन्नतिर लागे । जनता भोटर हुन्, यिनीहरूलाई हामीले जे भने पनि हुन्छ भन्नेतिर ध्यान आयो । आर्थिक रूपमा ध्यान दिए ऐस–आराम गर्न, सुविधा बढाउन ध्यान दिए । प्रदेशले गर्नुपर्ने करका कुराहरू संविधानले तोकेको छ । ऐन–कानुन आएका छन् । विकेन्द्रीकरणको अभ्यास हामीले लिच्छवि कालदेखि गर्दै आएको हो, अहिले होइन । आफ्नो लागि सबै योजना बनाउने तर जनताको विषयमा भने कामै नगरेको अवस्था आयो । करको अवस्था पनि पहिले समाधान गर्न खोजिएको हो । तीन सदस्यीय टोली बन्यो, सुझाव पनि दिएको छ, तर खोइ त कार्यान्वयन ? विधेयकको जस्तो संघीयता योजना बनाउने कामहरू सबै विदेशी दाताले गरिदिएको भरमा निर्भर भयौं । प्रदेश नं. १ को आर्थिक नीति हेर्दा हुन्छ ।

यसको मतलब स्थानीय सरकार असक्षम भए भन्ने तपाईको बुझाइ हो ?
सबैभन्दा तल्लो निकाय हो । यसमा व्यक्ति चरित्र राजनीतिक दलसँग जोडिन्छ । हामी कसरी जाने भन्ने कुरा उनीहरूले थाहा पाएनन् । कसरी काम गर्ने भन्ने देखिएन । कसरी खाने भन्नेमा केन्द्रित भयो । जुन हामीले सोचेका छौं, उनीहरूले पाएका जुन अधिकारहरू छन् । ती अधिकारमाथि पनि केन्द्रको हस्तक्षेप भयो, यस्तो खालको प्रवृत्ति देखियो । यसमा इमानदारिता, उत्तरदायित्व र पारदर्शिता भन्ने देखिएन । यो शासकीय पद्धति र सुशासनमा कमजोरी देखियो ।

त्यसो भए संघीयताबाट ब्याक हुने अवस्था छ त ?
ब्याक हुने अवस्था छैन । तर, यसमा एउटा चिजमा सुधार गर्नुपर्ने अपरिहार्यता छ । यो पार्टीगत समझदारीमा बनेका छन् । अहिले ३५ हजार ९ सय २४ जना जनप्रतिनिधि छन् । यसको ढाँचामा परिवर्तन गर्नु जरुरी छ । १७७९ मा संघीयताको ढाँचा अमेरिकामा बन्यो, उनीहरूले आर्थिक ढाँचा हेरेर राजनीतिक ढाँचा हेरे, हामीकहाँ राजनीतिक ढाँचा हेरेर आर्थिक ढाँचा हेरियो । यो कर्मचारी ढाँचा हेरिएन । मूल आर्थिक हो । यसलाई राजनीतिक ढाँचा नघटाउने हो र हाम्रो आर्थिक ढाँचाको आधारभूत धरातल जुन छ त्यसमा नल्याउने हो भने यो संघीयता जतिसुकै गफ गरे पनि अगाडि जानेवाला छैन ।

स्थानीय सरकारहरूले यो ढंगले काम गर्ने र संघीय सरकारले सही रूपमा कार्यान्यनन गर्न नसक्दा अहिले हाम्रो अर्थतन्त्र कमजोर भयो भनिन्छ । यसले हाम्रो अर्थतन्त्र संकुचन हुने अवस्था कत्तिको छ ?
यो अवस्थाले हामी राम्रो अवस्थातिर जाने होइन, हामी झन्–झन् बिग्रिने अवस्थामा जाने अवस्था छ । हामीकहाँ आर्थिक र सामाजिक पार्ट छोडेर हरेक चिजलाई राजनीतिक आँखाबाट हेरिएको छ । राजनीतिक चेतनाको स्तर धेरै माथि पुग्यो तर आर्थिक र सामाजिक स्थिति हेरिएन । आर्थिक संकुचन त छँदै छ । रेमिट्यान्स र दातासँग जोडेर हेर्न सकिन्छ । तिनै दाता सरकारलाई सहयोग गर्छन्, तिनै दाता साझेदारी कार्याक्रममार्फत गैरसरकारी सस्थालाई सहयोग गर्छन् । दाताको दुईतर्फी रोल देखिएको छ । अस्थिरताको प्रयोग दाताहरूले नै गरेका छन् । राजनीतिक खेल मैदान मात्रै भएको छ । दुईतिहाइको सरकार छ । यसलाई केले रोक्या छ र ? तर, हामी कमजोर छौं, हामीसँग स्रोत छैन, दातामा निर्भर हुनुपर्ने अवस्था छ । संसारका सबैजसो मुलुकले नीति र कार्यक्रम बनाउँछन्, तिनैका आधारमा देश चलाउँछन् तर हामीकहाँ नीति तथा कार्यक्रम पनि दाताले नै बनाउँछन् ।

हामीकहाँ उत्पादन छैन र उत्पादन बढाउने आधारहरू पनि छैनन् । व्यापारघाटा कहालीलाग्दो अवस्थामा छ । पछिल्लो समय रेमिट्यान्स घट्दो छ । यस्तो अवस्थामा सरकारले कस्तो नीति लिनु उपयुक्त होला ?
आर्थिक रूपमा हामी फेलियर छौं । जति पनि राजनीतिक दलहरू छन्, यिनीहरूले आ आफ्नो रणनीतिमा प्ले गरिरहेका छन् । मूलतः दाताहरूसँग हात थाप्नुपर्ने अवस्थाले होला सरकार अप्ठ्यारोमा छ । यो सरकारले चेन्ज गर्न नसक्नुको कारण पनि यही नै हो । यसको समाधानका लागि सबै राजनीतिक दल एक भएर समृद्धि र विकासतिर लाग्ने आधारभूत धरातलतिर लाग्ने काम गर्नु पर्छ । औपचारिक र अनौपचारिक संरचनालाई सुधार गर्नुपर्ने टड्कारो अवस्था छ । यति धेरै भ्रष्टाचार छ, यसमा सबै संस्थालाई सुशासनको माध्यमबाट बलियो बन्नुपर्छ । यो एक्काइसौं शताब्दीको संघीयता हो । यो एकदमै बलियो हो, तर जनप्रतिनिधि छान्ने बेलादेखि नै ख्याल गर्नुपर्छ । राजनीति र व्यापार संसारमा सँगै जाँदैन, यो बुझ्नुपर्छ ।

यहाँले भनिहाल्नुभयो । हामीले लिच्छवि कालदेखि नै विकेन्द्रीकरणको सिद्धान्त अपनायौं । आधुनिक कालसम्म र एक्काइसौं शताब्दीसम्म आउँदा पनि हामीले विकासलाई आत्मसात् गर्न सकेनौं, हामी कहाँनिर चुक्यौं ?
हामीले अहिलेसम्म आठवटा विकासका अवधारणा अवलम्बन गरेका छौं । अहिले बटम टु टप एप्रोज हो । नीति बनाएर तल लाने एप्रोज हो, यसमा पनि हामी फेल भएका छौं । किनकि कतिपय स्थानीय सरकारले अहिलेसम्म पनि कार्यविधि नियम कानुन केही बनाएका छैनन् । मनोमानी ढंगबाटै काम भएको छ, यो संघीयताको मर्मविपरीत हो ।

तपाईं भूमण्डलीकरणको विकास र प्रभावबारे विशेष दक्खल राख्नुहुन्छ । खासमा भूमण्डलीकरण भनेको के हो, बुझ्ने गरी बुझाइदिनुस् न ?
भूमण्डलीकरण भनेको विश्वव्यापीकरण हो । यो खुला बजारको अर्थतन्त्रको नीति हो । बजार एउटैबाट नियन्त्रित हुँदैन । राजनीतिक–आर्थिक कुराहरू सँगै आउँछन् । यसले फाइदा पनि छ । भूमण्डलीकरणको उदयसँगै यसले हाम्रो दार्शनिक र विचारधारात्मक विषयहरूमा वैचारिक दरिद्रता र सैद्धान्तिक स्खलन ल्यायो । राजनीतिलाई स्रोत र साधनको अभावमा बनियाँगिरितर्फ डो-यायो । पर्यावरणीय क्षेत्र व्यापारीकरण भएको छ । स्थानीय तहमा डोजर र डम्फर दौडिएका छन् । ढुंगा–गिट्टीको व्यापार बढेको छ अर्थात् प्राकृतिक स्रोतसाधनको अन्धाधुन्ध दोहन भइरहेको छ । आर्थिकस्तरलाई बजारीकरणसँग जोड्नुले हाम्रो दिवालियापन उजागर भएको छ । भूमण्डलीकरणले दातामुखी अर्थतन्त्र, व्यापारघाटादेखि संस्कार, संस्कृति हुँदै हाम्रो पारिवारिक संरचनासम्म बदलिएको छ । भूमण्डलीकरणको उल्लेखनीय पक्ष भनेको दुवै विकासशील र विकसित देशहरूमा सार्वजनिक बहसमा जातीय प्रश्नहरूको पुनःरुत्थान हो । जातीय दृष्टिकोणबाट परिभाषित बाल्कन र मध्यअफ्रिकाका युद्धहरूको बीच क्युबेक र बेल्जियममा राष्ट्रवादी जन्मिए । नेपालमा पनि यो बहाव आयो, आन्दोलनहरू भए । जसले गर्दा निर्वाचन प्रणालीमा समानुपातिक प्रतिनिधित्व र दलित शब्द संविधानमै लेखियो । जातजातिबीच खाडल खनियो, जुन पुस्तौँ जाने देखिन्छ ।

सन १९९० को दशकदेखि नेपालमा उदारीकरणको सुरुवात भयो । त्यसपछि हाम्रा युवाहरूको जमात कामको खोजीमा विभिन्न खाडी मुलुकमा जाने क्रम बढ्यो । अहिले पनि औसत १६ सय युवा नेपालबाट वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन्, ती युवालाई स्वदेशमै रोजगारीको प्रबन्ध मिलाउन राज्यले के गर्नु पर्ला ?
हाम्रो राज्यको आर्थिक राजनीति विचौलियाको हातमा छ । हाम्रो देशमा उत्पादन छैन । उदाहरणका लागि पाम आयल छ । अर्को मुलुकबाट ल्याएर निर्यात गर्ने अनि जीडीपीमा देखाउने गरेका छौं । बिचौलिया हाबी छ । डाटा तथ्यांकहरू पनि बिचौलियाकै हातमा छन् । नेपालीत्व नेपालीलाई नै क्याच गर्नुपर्छ । बाहिर गएका ५०-६० लाख युवा छन् । ती युवालाई रोक्नुप-यो, रोजगारी दिनुप-यो । यसका लागि हामीले साना तथा घरेलु उद्यमहरूलाई, कृषि जडिबुटी उद्योगहरूलाई प्राथमिकतामा राख्नुपर्छ । युवा वर्गलाई सही र व्यावहारिक आधारभूत चित्रसहितको शिक्षा दिनुपर्ने देखिन्छ । यसका लागि हामीकहाँ अध्ययन–अनुसन्धानकै खाँचो छ ।


सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...