Sunday, January 8, 2017

तीन महिनामा साढे ४ अर्ब रुपैयाँ सरकारी ऋण बढ्यो



नेपालमा व्यवसाय गर्न झनै गाह्रो

दक्षिण एसियामा भने भुटानपछि नेपालकै सम्भावना राम्रो

काठमाडौंः पछिल्लो समयमा नेपालको व्यावसायिक वातावरण झनै खस्किएको छ । विश्व बैंक समूहले सार्वजनिक गरेको व्यापार गर्दा (डोइङ बिजनेस–डीबी) २०१७ मा नेपालको स्थिति विगत वर्षभन्दा खस्किएको हो । तर, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकभित्र भने नेपालको अवस्था अन्यको तुलनामा राम्रो छ । 
प्रतिवेदनले नेपाल व्यावसायिक वातावरणको हिसाबले विश्वमा १०७ औं स्थानमा रहेको उल्लेख गरेको छ । गत वर्ष नेपाल एक सयौं स्थानमा थियो । विश्व बैंकले अध्ययनमा समेटेका विभिन्न १० क्षेत्रमध्ये एउटा क्षेत्रमा सुधार भएको र अर्को एक गत वर्षकै स्थितिमा रहेको देखिएको छ । गत वर्ष ५९.३६ अंक प्राप्त गरेको नेपालले यस वर्ष ५८.८८ अंक पाएको छ । 
सूचक एक सय अंकनजिक हुँदा सम्बन्धित मुलुकको व्यावसायिक वातावरण राम्रो भएको र शून्य नजिक हुँदा स्थिति खराब हुँदै गएको भन्ने बुझिन्छ । यसले पनि नेपालको व्यावसायिक वातावरण सहज नभएको देखाउँछ । 
नेपाल सिमापार व्यापारमा मात्रै तीन स्थानले सुधारिएको छ भने अन्य परिसूचकहरु सबैमा घटेको छ । तर, दक्षिण एसियाली मुलुकहरुमा भने नेपालको स्थिति अन्य मुलुकको तुलनामा राम्रो छ ।
दक्षिण एसियामा व्यावसायिक वातावरणमा भुटानमा सबैभन्दा राम्रो छ भने त्यसपछि नेपाल छ । अघिल्लो वर्ष पनि नेपालभन्दा अगाडि व्यावसायिक वातावरणमा भुटान अग्रस्थानमा थियो । समग्र श्रेणीमा भुटान ७३ औं स्थानमा छ भने उसले ६५.३७ अंक पाएको छ । 
नेपाल र भुटानसहित श्रीलंका (११० श्रेणी), भारत (१३० श्रेणी) र माल्दिभ्स (१३५ श्रेणी) सार्क औसतभन्दा राम्रो स्थितिमा छन् । सार्क क्षेत्रको डोइङ बिजनेस औसत (१३२ श्रेणी) छ । 
सार्क क्षेत्रमा अफगानिस्तान सबैभन्दा कमजोर अवस्थामा छ । ऊ समग्रमा १८३ औं स्थानमा छ । अफगानिस्तानलाई पछ्याउँदै बंगलादेश (१७६ औं स्थान) र पाकिस्तान (१४४औं स्थानमा) छन् । छिमेकी मुलुक चीन ७८ औं स्थानमा छ ।
विश्व बैंकले व्यवसाय सुरु, निर्माण अनुमतिसम्बन्धी काम, विद्युत् प्राप्ति, सम्पत्ति दर्ता, ऋण प्राप्ति, अल्पसंख्यक लगानीकर्ताको संरक्षण, कर तिर्नुपर्ने, सीमापार व्यापार, करार लागू र टाट पल्टिएको समाधान (रिसल्भिङ इन्सल्भेन्सि)जस्ता १० विषयवस्तुमाथि अध्ययन गरी १४ औं प्रतिवेदन सार्वजनिक गरेको हो । 
सबैका लागि समान अवसरको नाराका साथ विश्व बैंक समूहले विश्वका १ सय ९० मुलुकको व्यवसाय गर्न आवश्यक नीति नियम कार्यान्वयनको स्थिति र सम्पत्ति अधिकारको सुरक्षालाई समेटेर प्रतिवेदन सार्वजनिक गरेको हो ।

चौधौँ योजना पारित, सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

काठमाडौँः राष्ट्रिय योजना आयोगले ७ दशमलव २० प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित चौधौँ आवधिक योजना पारित गरेको छ ।
आयोगको पूर्ण बैठकबाट ३२ खर्ब ३ अर्ब ४२ करोड रुपैयाँ सरकारी खर्च गर्ने गरी ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित चौधौं योजना पारित भएको हो । 
आयोगको आइतबार बसेको पूर्ण बैठकले आर्थिक वर्ष सुरु भएको करिब ६ महिनापछि चालू आर्थिक वर्षदेखि लागू हुने गरी चौधौं योजना पारित गरेको हो । 
बैठकले आधारपत्रमा केही परिमार्जनसहित योजना पारित गरेको छ । पारित योजनाले ७ दशमलव २० प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । 
गत आर्थिक वर्ष आर्थिक वृद्धिदर शुन्य दशमलव सात सात प्रतिशतमा सीमित भएको थियो । योजनामा सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य हुँदै मध्यम आय भएका मुलुककोस्तरमा पुग्ने लक्ष्य लिइएको छ ।
बैठकपछि आयोगका सदस्य डा. स्वर्णिम वाग्लेले लक्ष्य पूरा गर्नका लागि पूर्वाधार विकास, सामाजिक सुरक्षा र उत्पादनमूलक उद्योगमा जोड दिइने बताएका छन् । 
उनले लक्ष्य पूरा गर्नका लागि आधारपत्रमा समावेश कार्यक्रममा केही हेरफेर गरिएको जानकारी पनि दिएका छन् । 
‘१४ औं योजनाले गरिबीको रेखामुनी रहेको जनसंख्या १७ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ’, उनले भने, ‘गरिबीको रेखामुनी रहेको जनसंख्या हाल २१ दशमलव छ शुन्य प्रतिशत छ ।’

औसत आयु ७२ वर्ष 
योजनामा औसत आयु ७२ वर्ष पुर्‍याउने, खानेपानी सेवा पाउनेको संख्या ८३ प्रतिशतबाट ९० प्रतिशत पुर्‍याउने र विद्युत उत्पादन २ हजार ३ सय १ मेगावाट पु¥याउने लगायतका लक्ष्य लिइएको छ । 
मुलुकमा हालसम्म जम्मा ८ सय ५१ मेगावाट विद्युत उत्पादन हुन सकेको छ । तीन वर्षे योजनाको अवधिमा ३२ खर्ब ३ अर्ब ४२ करोड रुपैयाँ सरकारी खर्च हुने अनुमान गरिएको छ । 
त्यसमध्ये १७ खर्ब ९० अर्ब २ करोड चालू खर्च र ९ खर्ब ५४ अर्ब ४२ करोड रुपैयाँ पुँजीगत खर्च हुने अनुमान गरिएको पारित योजनामा उल्लेख छ ।

Thursday, January 5, 2017

अदुवापछि जुटमा भारतको अवरोध, १० हजारलाई रोजगारी दिएको नेपाली उद्योग संकटमा

अदुवा निर्यातको दु:खबाट उन्मुक्ति नपाउँदै भारतले नेपालको जुट उद्योगमा पनि 'शनि दृष्टि' लगाएको छ। विश्व व्यापार संगठन (डब्लुटिओ) को मर्म विपरीत एन्टी डम्पिङ ड्युटी (अतिरिक्त कर) लगाएर भारतले नेपालको जुट उद्योगलाई रसातलमा पुर्याएको छ।
 
भारतले बंगलादेशसँग जोडेर गत कात्तिक ४ गतेबाट नेपाली उद्योगको लागत नै नउठ्ने गरी जुटमा अतिरिक्त कर लगाइदिएको छ। १०२ पृष्ठको 'डाइरेक्टिभ' जारी गर्दै भारतीय पक्षले डब्लुटिओको व्यवस्था   अन्तर्गत नेपालले पाउँदै आएको सुविधा खोसिदिएको हो
 
नेपालको निर्यात व्यापारमा जुटको महत्वपूर्ण योगदान छ। तीन महिनाअघि बार्षिक ५२ करोड १९ लाख रुपैयाँको निर्यात हुने अदुवामा अवरोध आउँदा प्रधानमन्त्री प्रचण्डले त्यसलाई महत्वपूर्ण मुद्दा बनाएर भारतीय समकक्षीसँग कुराकानी गरे र समस्या पनि समाधान भयो।
 
अदुवाभन्दा आठ गुणा बढी निर्यात हुने जुटका बारेमा भने सरकारी पक्षको तदारुकता कम देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षमा चार अर्ब २४ करोड रुपैयाँको जुट भारत निर्यात हुने गरेको छ।
'सामान्य मूल्यभन्दा अधिक सस्तो मूल्यमा सामान बिक्री गरेर स्वदेशी उद्योगलाई नोक्सानी पुगेमा  आयातित वस्तुमा अतिरिक्त कर लगाउन सकिन्छ।'
 
भारतीय पक्षले एन्टी डम्पिङ ऐनको यही बुँदालाई टेकेर नेपालको जुटमा अतिरिक्त कर थोपरेको हो।
 
भारतीय पक्षको तर्क छ-  सस्तो मूल्यमा नेपाली र बंगलादेशी जुट आएर प्रतिस्पर्धा गर्न नसकी भारतको १९ वटा जुट कारखाना बन्द भयो। आफ्ना उद्योगलाई जोगाउन अतिरिक्त कर लगाउनु परेको हो। भारतले कम्पनी र उत्पादन अनुसार प्रति मेट्रिक टन ३९ अमेरिकी डलरसम्म अतिरिक्त कर लगाएको छ।
 
भारतले जुन तर्क दिएर नेपाली जुटमा कर थोपरेको छ, त्यसलाई मात्र हेर्ने हो भने भारतले आफ्नो देशको हित हेरेको जस्तो लाग्छ।
 
यहीँनेर भारतीय पक्षले डब्लुटिओअन्तर्गतको व्यवस्थालाई अपब्याख्या गरेको छ।
 
भारतले अतिरिक्त कर लगाउनुअघि नेपाली उत्पादनले  पारेको असर देखाउनु पर्छ। उसले बंगलादेशलाई समेत मिसाएर भारतीय उद्योग बन्द भएको तर्क दिएको छ।
 
अर्थात नेपाल र बंगलादेशको उत्पादनलाई उसले छुट्याएको छैन। नेपाल र बंगलादेशको उत्पादनले भारतीय जुटलाई असर पार्यो र कारखानाहरु बन्द भए भन्ने मात्र उसको तर्क छ।
 
अन्तर्राष्ट्रिय व्यापार कानुन विज्ञ अपुर्व खतिवडाले डब्लिटिओअन्तर्गतको एन्टी डम्पिङ व्यवस्था अनुसार भारतले अतिरिक्त कर लगाउनु परेमा नेपालको उत्पादनले पारेको असर स्पष्ट रुपमा देखाउनसक्नुपर्ने बताउँछन्।

'भारतले कुनै कारण नदेखाइ अतिरिक्त कर लगाएको हो।उसले १०२ पृष्ठको निर्देशनमा बंगलादेशलाई समेत मिसाएर नेपाललाई मूल्यांकन गरेको छ, उनले बिजमाण्डूसँग भने, 'नेपालको मात्र मूल्यांकन गरेर कर लगाउनुपर्छ।'
 
नेपाल र बंगलादेशको जुटका कारण आफ्ना उद्योग बन्द भएको भारतको तर्कमा 'दम' नभएको अर्को एक तथ्यांकले पनि देखाउँछ।
 
ढाका चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज (डिसिसिआइ) ले गरेको एक अध्ययन अनुसार भारतको कुल जुट मागमध्ये ३.५ प्रतिशत मात्र नेपालले पुरा गरेको छ। अर्थात नेपालको जुटका कारणले भारतीय उद्योग बन्द हुनुपर्ने कारणै छैन।  
 
एन्टी डम्पिङ ड्युटी बजारलाई असर गर्ने गरी सस्तोमा बेच्दा लगाउन सकिन्छ। तर सस्तोमा बेचेको आधारमा नै भने यस्तो कर लगाउन पाइँदैन।
 
कुल मागको साढे तीन प्रतिशत मात्र पुरा गर्ने उद्योगले बजारमा असर गर्दैन भन्ने एन्टी डम्पिङको सर्वमान्य सिद्धान्त हो। युरोपियन युनियनले २५ प्रतिशत माग धान्ने क्षमता राखेमा मात्र त्यसले बजारलाई प्रभाव पार्ने मान्यता छ।
 
भारत आँफैले निर्यात गरेको जुटको तथ्यांक हेर्दा पनि नेपालको उत्पादनले उसलाई अप्ठेरो नपर्ने देखाउँछ। कोलकोत्तास्थित वाणिज्य विभागले सार्वजनिक गरेको पाँच वर्षको निर्यात तथ्यांक अनुसार, भारतको जुटको निर्यात व्यापार हरेक बर्ष झरिरहेको छ।
 


उसको आफ्नै तथ्यांक अनुसार, सन् २०१३/१४ मा भारतले ३५ करोड १० लाख अमेरिकी डलर बराबरको जुट निर्यात गरेको थियो। सन् २०१४/१५ मा उसले २९ करोड ७० लाख डलरको मात्र निर्यात गर्न सक्यो। हरेक बर्ष नै उसको जुट निर्यात घटिरहेको छ।
 
यसको मतलव हो,  भारतको आफ्नै आन्तरिक समस्या छ जसले गर्दा उसको निर्यात खस्किरहेको छ। नेपालले बिक्री गरेको कारणले भारतलाई अप्ठेरो पर्यो भन्ने तर्कलाई उसैको तथ्यांकले खण्डन गर्छ। अर्थात नेपालको जुटका कारणले उसको निर्यात घटेको होइन।
 
११ वटा जुट उद्योगमध्ये नेपालमा अहिले चार वटा जुट उद्योग सञ्चालनमा छ। अरिहन्त, श्री  रघुपति, स्वस्तिक र बाबा जुट मिल्स सञ्चालमा छन्। चार उद्योगमा १० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिए ।
 
उनका अनुसार भारतीय जुट उद्योगले सरकारी अनुदान पाएका छन्। त्यस्ता उद्योगसँग प्रतिस्पर्धा चलिरहेका बेला भारतले एन्टी डम्पिङ ड्युटी लगाइदिँदा झनै समस्या भएको बताए।
 
नेपालको प्रयास नै छैन
भारतले डब्लुटिओ विपरित नेपाललाई अतिरिक्त कर लगाउँदासमेत सरकार र व्यवसायी दुबै निरीह देखिएका छन्। नेपाली व्यवसायीहरुले सरकारसँग यस बारेमा धेरै पटक कुराकानी गरे पनि भारतीय पक्षसँग केही भन्न सकेका छैनन्।
 
सरकारले पनि भारतसँग कुराकानी गरेको छैन। जुट निर्यातमा सरोकार राख्ने वाणिज्य मन्त्रालयले दुई देशको सम्बन्धको कारण देखाउँदै परराष्ट्र मन्त्रालयलाई कुटनीतिक पहल गरिदिन आग्रह गरेको छ।
 
'हामीले जुटको निकासी सहज बनाउन परराष्ट्रलार्इ पत्र पठाइसकेका छौ' वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले भने, 'तत्कालका लागि निकासी सहजीकरणका लागि आग्रह गरेका हौ।'
 
भारतले जारी गरेको १०२ पृष्ठको निर्देशनमा पुनरावेदन गर्न पाउने सुविधा दिए पनि सरकार र व्यवसायी दुवै यसलाई प्रयोग गर्न चाहिरहेका छैनन्। अन्तिम पृष्ठमा निर्देशनमाथि चित्त नवुझे पुनरावेदन गर्ने बाटो दिइएको छ।
 
अदालती प्रकृयाबाट हुने विषयलाई नेपालले कुटनीतिक माध्यमलाई रोज्दा जुट निकासी तीन महिनादेखि ठप्प छ।
 
नेपाली उत्पादनलाई भारतले लगाएको अतिरिक्त कर
बस्तुको नामउत्पादकनिर्यातकर्ताअतिरिक्त कर
(प्रति मेट्रिक टन डलर)
जुटको धागोअरिहन्त मल्टीफायवर्सअरिहन्त हल्टीफायवर्स२४.६१
बोराअरिहन्त मल्टीफायवर्सअरिहन्त मल्टीफायवर्स३५.२५
तयारी जुटअरिहन्त मल्टीफायवर्सअरिहन्त मल्टीफायवर्स
फ्याब्रिकरघुपति जुट मिल्सरघुपति जुट मिल्स२४.६१
बोरारघुपति जुट मिल्सरघुपति जुट मिल्स३५.२५
फ्याब्रिकरघुपति जुट मिल्सरघुपति जुट मिल्स
जुटको धागोस्वस्तिक जुट मिल्सस्वस्तिक जुट मिल्स१५.३६
फ्याब्रिकस्वस्तिक जुट मिल्सस्वस्तिक जुट मिल्स८.१८
बोरास्वस्तिक जुट मिल्सस्वस्तिक जुट मिल्स३४.२०
जुटको धागोनेपालनेपाल२६.०७
जुटको धागोवावा जुट मिल्सवावा जुट मिल्स२६.०७
बोरावावा जुट मिल्सवा जुट मिल्स३३.७३
फ्याब्रिकवावा जुट मिल्सवावा जुट मिल्स६.३
जुटको बोराअन्य देशनेपाल२८.७२
फ्याब्रिकअन्य देशनेपाल८.१८
बोराअन्य देशनेपाल

आर्थिक नीति निर्माणमा जुट्दै सरकार

निरु अर्याल 
काठमाडौंः सरकारले पहिलोपटक स्पष्ट परिभाषा सहितको आर्थिक नीति ल्याउने भएको छ  । मुलुकको अर्थतन्त्रको दिगो विकास गर्न तथा यसलाई चलायमान बनाउन ठोस र मूर्त परिभाषा सहितको आर्थिक नीति नभएको भन्दै सरकारले यस्तो नीति ल्याउने तयारी गरेको हो । चालू आवको चैत मसान्तभित्रै नीतिको मस्यौदा तय गर्ने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । 
आर्थिक नीतिले सरकारले अपेक्षा गरेको आर्थिक समृद्धिलाई कुन रूपबाट अघि बढाउने भन्ने मार्गसमेत निर्धारण गर्ने बताइएको छ । अन्तरराष्ट्रिय प्रचलनअनुसार ठूला र विकसित मुलुकहरूले समेत राजनीतिक परिवर्तनपछि आर्थिक घोषणा गर्दछन् । सोही नीतिअनुुसार ती मुलुकको अर्थ व्यवस्था सञ्चालन हुने गरेको पाइन्छ । 
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपालमा ठोस आर्थिक नीति नभएको भन्दै उचित व्याख्या र विश्लेषण सहितको आर्थिक नीतिको आवश्यकता सरकारले महशुस गरेको बताए ।
“नेपालमा अहिलेसम्म पनि मुलुकको आर्थिक नीति के हो भन्ने अन्योल रहेछ,” अर्थमन्त्री महराले भन्छन्, “मुलुकको समग्र आर्थिक विकासका लागि वृहत् राजनीतिक सहमतिसहितको ठोस आर्थिक नीति अपरिहार्य छ ।” 
नेपालमा प्रजातन्त्रको उदय भएपछि भएका ठूला राजनीतिक परिवर्तनले समेत आर्थिक नीतिको मुर्त परिभाषा दिन सकेका छैनन् । जसले गर्दा आर्थिक मुद्दाहरू समेत ओझेलमा परेको मन्त्री महराको भनाइ छ । गत बर्ष जारी भएको नेपालको संविधानको प्रस्तावनामा पनि नेपालको समाजबादउन्मुख आर्थिक नीति हुने उल्लेख छ । 
तर, समाजवादी अर्थतन्त्र भनिए पनि कस्तो खालको नीति आवश्यक छ भन्ने विषय अहिले पनि बहसकै बिषय बनेको छ । “नेपालमा ठूला राजनीतिक परिवर्तन भए तर आथिक नीतिबारे स्पष्ट परिभाषा अहिलेसम्म भएका ऐन कानुनहरूले गर्न सकेका छैनन्,” अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्राध्यापक डा. पुण्यप्रसाद रेग्मीले भने । उनले त्यही आवश्यकतालाई महसुस गरेर नै आर्थिक नीतिको तर्जुमा गर्न खोजिएको बताए । उनका अनुसार नीतिले मुलुकको स्पष्ट खाका र भिजनसहितको अर्थतन्त्रलाई दिशाबोध गर्नेछ । 
अर्थमन्त्रीको अध्यक्षतामा गतसाता बसेको बैठकले आर्थिक नीतिको क्यालेन्डर तयार गरेर निर्धारित समयमै नीतिको मस्यौदा तय गर्ने निर्णय गरेको छ । सोही निर्णयका आधारमा अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार रेग्मीको अध्यक्षतामा प्राविधिक समिती गठन भइसकेको छ । समितिमा अर्थ सहित उद्योग, वाणिज्य, कृषि बिकास मन्त्रालयका सचिवहरु सहभागि छन् । 
यसैगरी, राष्ट्रिय योजना आयोगका सचिव, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर पनि उक्त समितिमा सहभागि छन् । समितिले अर्थमन्त्रालयको आर्थिक नीति तथा विश्लेषण महाशाखालाई हालसम्म भएका नीतिको अध्ययन अनुसन्धान गर्न निर्देशन दिइसकेको छ ।
स्पष्ट परिभाषा सहितको आर्थिक नीतिको लागि विभिन्न मन्त्रालय, बिभाग, निजी क्षेत्र तथा सरोकारवालाहरुसँग राय सुझाव लिने रेग्मीले जानकारी दिए । उनका अनुसार के कसरी मस्यौदा तयार गर्ने भन्ने बिषयमा प्राविधिक समितिले अध्ययन गरिरहेको छ । “यी बाहेक हाम्रो कमिटिले टिओआर समेत तयार गरिसकेको छ, त्यो पनि एक साताभित्रै पेश गर्ने तयारीमा छौं,” उनले भने । 
समितिले हाल प्रचलित ऐन नियम र अन्तरराष्ट्रिय प्रचलनमा रहेका नीतिहरुको पनि अध्ययन गर्नेछ । छिमेकी मुलुक चीन, भारतदेखि शक्तिशाली मुलुक अमेरिका र बेलायतले पनि ठूला राजनीतिक परिवर्तनपछि  आर्थिक नीति अवलम्बन गरेको र त्यसबाट नै ती मुलुकहरु समृद्ध बनेको उनको भनाइ छ ।

स्वरोजगार कोषबाट ५ लाखसम्म ऋण पाइने

निरु अर्याल 
काठमाडौंः सरकारले युवा स्वरोजगार कोषमार्फत प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गर्ने भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको नियमावली संशोधन गर्दै ऋण सीमा बढाउन लागिएको हो । 
हाल स्वरोजगार कोषमार्फत प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था छ । यस्तै, कोषमार्फत प्रदान गरिने ऋणको व्याजदर साविकको १२ प्रतिशतबाट घटाएर १० प्रतिशत पुर्‍याइने तयारी भएको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा. डा. पुण्यप्रसाद रेग्मीले जानकारी दिए ।
“कोषमार्फत धेरैभन्दा धेरै बेरोजगार युवाले सुविधा उपयोग गर्न सकुन् भनेर नियमावली संशोधन गर्न लागेका हौं,” कोषमा उपाध्यक्षसमेत रहिसकेका रेग्मीले भने, “आम बेरोजगार युवा उद्यमी बनुन्, आयआर्जनमा लागुन् भन्ने नै सरकारको उद्देश्य हो ।” 
पहिलो संविधानसभा निर्वाचनपछि बनेको पुष्पकमल दहाल नेतृत्वको सरकारका अर्थमन्त्री बाबुराम भट्टराईले युवा स्वरोजगार कार्यक्रम ल्याएका हुन् । अर्थमन्त्री कृष्णबहादुर महराको अध्यक्षतामा हालै बसेको कोषको बोर्ड बैठकले आवश्यक खाकासहित नियमावली संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । 
संंशोधित नियमावलीको मस्यौदा कानुन मन्त्रालय लैजाने तयारी भएको कोषले जनाएको छ । कोषका अनुसार, सरकारले घोषणा गरेका युवालक्षित कार्यक्रम कार्यान्वयनलाई विशेष प्राथमिकतामा राखिएको छ । ‘एक इलाका एक नमुना व्यवसाय’ लगायतका कार्यक्रम कार्यान्वयनका लागि कोषले सहकारी संस्थालाई प्रदान गर्ने सहुलियत ऋणको सिमा समेत बढाउने तयारी भएको छ । 
संशोधित व्यवस्थाअनुसार वित्तीय संस्था र सहकारीहरूले युवा स्वरोजागर कोषमार्फत एक करोड रुपैयाँसम्म बिनाधितो ऋण पाउनेछन् । हाल बेरोजगार युवालाई दुई लाख रुपैयाँसम्म दिनसक्ने प्रावधानसहित वित्तीय संस्थालाई ५० लाख रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउँदै आएको छ । अब यस्ता संस्थाले पनि एक करोड रुपैयाँ ऋण पाउनेछन् । 
नियमावली संशोधन भएपछि बेरोजगार युवालाई काम गर्न  सहज हुने र युवा पलायनको समस्या न्यूनीकरण हुने अर्थमन्त्रालयको दाबी छ । “यो व्यवस्थाले बेरोजगार युवालाई स्वरोजगार बन्न प्रेरित गर्नेछ र विदेसिएका युवाहरू स्वदेशमै फर्केर पनि सहुलियत ऋण लिएर उद्यमी बन्न सक्नेछन्,” रेग्मीले भने । 
कोषका अनुसार नियमावली संशोधन भएसँगै स्थानीय तहको निर्धारणपछि प्रत्येक तहमा नमुना व्यवसाय सञ्चालनका लागि स्थानीयस्तरको वित्तीय संस्थालाई एक करोड रुपैयाँ ऋण सहुलियत दिइनेछ  । 
यस्ता नमुना व्यवसाय स्थानीय वित्तीय संस्था वा सहकारीमार्फत सञ्चालन हुनेछन् ।  प्रत्येक स्थानीय तहमा नमुना कार्यक्रम सञ्चालन गर्दा करिब ७ अर्ब ५० करोड रुपैयाँ खर्च हुने कोषको अनुमान छ । 
युवाहरूलाई स्वदेशमै आयआर्जनमा लगाउने र स्वरोजगार बनाउने उद्देश्यसहित ०६५ सालमा कोषको स्थापना भएको थियो । कोष स्थापना भएको आठ वर्षसम्म पनि प्रभावकारी बन्न नसकेपछि नयाँ रणनीति बनाउन लागिएको हो । कोषबाट ऋण लिएर नियमित व्याज भुक्तानी गर्दै आएका ऋणीलाई सरकारले ६० प्रतिशतसम्म व्याज अनुदान दिँदै आएको छ । 
ऋणको किस्ता र नियमित व्याज भुक्तानी गरे ऋणीले चार प्रतिशतमात्रै ऋण तिर्नुपर्ने उनले बताए । करिब चार अर्ब रुपैयाँ लगानी गरिसकेको कोषले यस कार्यक्रमबाट ३० हजार युवा उद्यमी बन्न सफल भएको दाबी गरेको छ ।  
कोषले यसवर्ष २५ अर्ब रुपैयाँ लगानी गर्ने र  ५० हजारलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । रेग्मीले प्रत्येक जिल्लाबाट ‘फास्ट ट्र्याक’मा ऋण उपलब्ध गराउने बताए । संशोधित प्रावधानअनुसार प्रत्येक जिल्लाबाटै कम्तिमा दुई लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र त्यसभन्दा बढी चाहिए केन्द्रबाट उपलब्ध हुनेछ । “त्यसरी दिने ऋणमा भने धितो राखिनेछ,” उनले भने ।
स्वरोजगार कार्यक्रम संचालनका लागि बेरोजगारले आवश्यक ऋण लिन आफ्नो व्यावसायिक योजनाको आधारमा कार्यविधि बनाई जिल्ला संयोजन तथा अनुगमन समितिमार्फत वित्तीय संस्थामा निवेदन दिन सक्नेछन् । 
त्यस्तो निवेदन परेपछि सम्बन्धित बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाले आफ्नो प्रक्रियाअनुसार बढीमा दुई लाख (कार्यबिधि संशोधन भएपछि पाँच लाखसम्म) ऋण स्वीकृत गर्न सकिने कार्यविधिमा उल्लेख छ । ऋण स्वीकृत भएपछि सम्बन्धित व्यक्तिले गर्ने स्वरोजगारमूलक व्यवसाय पूर्ण रुपमा ऋणको साँवा, व्याज भुक्तानी नगरुन्जेल ऋणको सुरक्षणको रुपमा सम्बन्धित बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाले धितो राख्नेछन् । 
बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाले ऋण स्वीकृत गरेपछि प्रत्येक १५ दिनमा त्यसको शोधभर्नाका लागि तोकिएको विवरणसहित कोषमा निवेदन दिनुपर्नेछ । कोषले त्यसैको आधारमा ऋणको सोधभर्ना सम्बन्धित बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई नक्सा दिनेछ ।

Sunday, January 1, 2017

विदेशी लगानी प्रतिबद्धतामा कमी


काठमाडौं: गत वर्ष प्रत्येक्ष वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । लगानी बोर्डमा विदेशी लगानी प्रतिबद्धता शून्य रह्यो । उद्योग विभागमार्फत आउने प्रतिबद्धता पनि आधा घटेको छ । वर्षभरि १७ अर्ब ८७ करोड रुपैयाँमात्र लगानी प्रतिबद्धता आएको छ । अघिल्लो वर्ष उद्योग विभाग र लगानी बोर्डमार्फत दुई खर्ब ४४ अर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । विदेशी लगानीका लागि २०१६ शुभ रहेन ।
सरकारले लगानीमैत्री वातावरण बनेको दाबी गर्दै आएको छ । तर, विदेशी लगानी भने बर्सेनि ओरालो लाग्दैछ । सन् २०१४ मा झन्डै तीन खर्ब ४६ अर्ब लगानी गर्ने प्रतिबद्धता आएको थियो । त्यसयता उद्योग विभाग र लगानी बोर्डमा लगानी प्रतिबद्धता घट्दै गइरहेको देखिन्छ । सन् २०१५ भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीले अशान्त रह्यो । प्रतिकूल अवस्थामा पनि लगानी बोर्डमा तीनवटा ठूला परियोजनामा विदेशी लगानीको प्रस्ताव आएको थियो । उद्योग विभागमा पनि ३३ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको थियो । तर, २०१६ शान्त रहँदा पनि बोर्डले कुनै परियोजनामा लगानी तान्न सकेन । लगानी बोर्ड शिथिल भएको भन्दै गत साता संसद्को अर्थ समितिमा व्यापक आलोचना भएको थियो ।
नेपालमा विदेशी लगानी भित्र्याउन उपयुक्त वातावरण तयार नभइसकेको विज्ञको बुझाइ छ । लगानी भित्र्याउन नीतिगत सुधारसँगै राजनीतिक स्थिरता आवश्यकपर्ने उनीहरूको तर्क छ । मुलुकले नयाँ संविधान पाए पनि राजनीतिक उतारचढाब जारी छ । लगानीकर्ता 'पर्ख र हेर' को अवस्थामा छन् । तर, उद्योगमन्त्री नवीन्द्रराज जोशी मुलुकमा लगानीको वातावरण बन्दै गइरहेको दाबी गर्छन् । 'सरकारका तर्फबाट नीतिगत सुधार भइरहेको छ', स्वदेशी विदेशी उत्साहित देखिएका छन्, एक्कासी लगानी भित्रिने होइन, छिट्टै नतिजा देख्न पाइनेछ', उनले अन्नपूर्णसँगको कुराकानीमा भने । उद्योग विभागका अनुसार २०१६ मा सातवटा क्षेत्रमा १७ अर्ब ८६ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ । तीन सय ७१ परियोजनामार्फत भित्रिने लगानीले १२ हजार तीन सय ६० जनालाई रोजगारी दिनेछ । सबैभन्दा ठूलो लगानी सेवा क्षेत्रमा आएको छ । सेवा क्षेत्रमा आठ अर्ब २४ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।
यस अवधिमा कृषि तथा वनजन्य परियोजनामा २२ करोड रुपैयाँ, निर्माण क्षेत्रमा एक करोड, ऊर्जामा एक अर्ब ८२ करोड रुपैयाँ, उत्पादनमूलक परियोजनामा तीन अर्ब रुपैयाँ, खनिजमा तीन करोड रुपैयाँ र पर्यटनमा चार अर्ब ५० करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ ।
बोर्डमा आएको प्रतिबद्धता
लगानीको वातावरण बनाएर ठूला परियोजनामा स्वदेशी र विदेशी लगानी जुटाउने उद्देश्यसहित २०११ मा लगानी बोर्ड गठन भएको थियो । तर, उद्देश्यअनुरुप प्रगति भएको देखिँदैन । बोर्ड गठन भएको दुई वर्षपछि २०१३ मा नाइजेरियाको डंगोटे कम्पनीले सिमेन्ट उत्पादनमा ५५ करोड अमेरिकी डलर लगानी गर्ने प्रस्ताव गर्‌यो । त्यतिबेला उद्योग विभागमा २४ अर्ब ५४ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको थियो ।
बोर्डले २०१४ मा पाँचवटा ठूला कम्पनीलाई लगानीको स्वीकृति दियो । तीनवटा भारतीय र एउटा फिनल्यान्डको कम्पनीबाट तीन खर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको थियो । भारतको रिलायन्स कम्पनीले सिमेन्टमा ४० करोड डलर, एसजेवीएनले अरुण तेस्रोमा एक अर्ब ४० करोड डलर, जीएमआरले अपर कर्णालीमा एक अर्ब १६ करोड डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै, फोहोर व्यवस्थापनमा भारतीय कम्पनीले ८० लाख डलर र फिनल्यान्डको कम्पनीले चार करोड ९० लाख डलर लगानी स्वीकृति लिइसकेका छन् ।
लगानी बोर्डमा २०१५ मा तीनवटा कम्पनीले लगानीको प्रस्ताव गरे । चीनको होङ्सीले सिमेन्ट उद्योगमा ३६ करोड ९० लाख डलर, चीनकै हुवाजीनले सिमेन्ट उद्योगमा १४करोड डलर, चीनकै थ्री गोर्जेज इन्टरनेसनलले पश्चिम सेती जलविद्युत् परियोजनामा एक अर्ब ६० करोड डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । होङ्सी कम्पनीले नेपालको शिवम् सिमेन्टसँग सहकार्य गरेर लगानी भित्र्याइसकेको छ । होङ्सी र शिवमको संयुक्त लगानीमा नवलपरासीमा ठूलो सिमेन्ट उद्योग निर्माण सुरु भइसकेको छ । अरु कम्पनीको लगानी भित्रिने प्रक्रियामा छ ।
तीव्र आर्थिक विकास गरेको चीन लगानी गर्ने ठाउँ खोजिरहेको छ । भारतीय पनि विभिन्न मुलुकमा ठूलो लगानी गर्न थालेका छन् । नेपालमा सबैभन्दा बढी लगानी आउने भारत र चीनबाटै हो । कहिले भारत अगाडि हुन्छ, कहिले चीन अगाडि हुन्छ । तर, २०१६ मा दुवै मुलुकबाट लगानी प्रतिबद्धता घट्यो । चीनबाट आएको अधिकांश प्रतिबद्धता साना होटेल तथा रेस्टुरेन्टमा केन्द्रित छ ।
नेपाल भर्खरै विकासको बाटोमा अगाडि बढेको छ । प्राकृतिक स्रोतमा धनी नेपालमा लगानीको सम्भावना उच्च छ । लगानीका लागि नेपाल भर्जिन मुलुक मानिन्छ । ऊर्जा, कृषि, पर्यटन, पूर्वाधार, सूचनाप्रविधिलगायतमा लगानीको सम्भावना छ । उपयुक्त वातावरण बनाएर विदेशी लगानी भित्र्याउनुपर्ने विज्ञ सुझाउँछन् । नेपालमा प्रशस्त भारतीय र चिनियाँ लगानी बढी भित्र्याउन सकिने सम्भावना छ ।
नेपालमा फागुनको १९ र २० गते लगानी सम्मेलन हुँदैछ । सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता सहभागी हुने मन्त्री जोशीले बताए । सम्मेलनमार्फत नेपालमा लगानी सम्भावना र वातावरणको बारेमा लगानीकर्तालाई जानकारी गराइने भएको छ । सोही अवसरमा लगानीका लागी आह्वान गरिने उनले जानकारी दिए ।
नेपालमा सबैभन्दा बढी लगानी आउने भारत र चीनबाट हो । कहिले भारत अगाडि हुन्छ, कहिले चीन अगाडि हुन्छ । तर, २०१६ मा दुवै मुलुकबाट लगानी प्रतिबद्धता घट्यो ।

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...