Saturday, December 17, 2016

लगानीमैत्री करनीति



Thursday, December 8, 2016

मझौला उद्योगलाई सुलभ ब्याजदरमा कर्जा

मुलुकमा बेरोजगारी अन्त्यका लागि सरकारले साना तथा मझौला उद्योगलाई सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउन नीतिगत व्यवस्था गर्ने भएको छ । वाणिज्य बैंक तथा विकास बैंकलाई साना तथा मझौला उद्योगमा अनिवार्य लगानीको न्यूनतम सीमा तीन प्रतिशत तोक्ने र यसको ग्यारेन्टी आफैं लिने सरकारको तयारी छ । 
उद्योगमन्त्री नवीन्द्रराज जोशीका अनुसार सरकारले यस्तो क्षेत्रमा प्रवाह भइरहेको कर्जा असुल नभएमा निश्चित प्रतिशतसम्म आफैं बेहोर्ने गरी नीतिगत व्यवस्था गर्ने तयारी गरिरहेको छ । 
“अन्य क्षेत्रको तुलनामा साना तथा मझौला खालका उद्योगमा प्रवाह गरिएको कर्जा दुरुपयोगको जोखिम निकै कम हुन्छ,” मन्त्री जोशी भन्छन्, “त्यसैले सम्भावित ‘डिफल्ट’लाई निश्चित प्रतिशतसम्म सरकारले नै ग्यारेन्टी गर्ने गरी बैंकहरूलाई साना तथा मझौला उद्योगमा लगानी गराउने तयारी भएको छ ।” बैंकहरूको लगानीका लागि साना तथा मझौला उद्योग आफैंमा ठूलो र दीर्घकालीन क्षेत्र भएको उनको भनाइ छ । 
मन्त्री जोशीका अनुसार साना तथा मझौला उद्योगका क्षेत्रमा बैंकहरूलाई न्यूनतम लगानीको सीमा तोक्ने तयारी भइरहेको छ । गाउँ–गाउँमा उद्यमशीलता विकास गरी वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउने लक्ष्यका साथ वाणिज्य तथा विकास बैंकहरूलाई लगानीको सीमा तोक्न लागिएको हो । उद्योग मन्त्रालयले उद्यमशीलता तालिम दिने र सोही क्षेत्रमा बैंकहरूले आफ्ना लगानी विस्तार गरी देशमै रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ । 
उद्योग मन्त्रालयले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि बैंकहरूले कुल लगानीको ३ प्रतिशत अनिवार्य छुट्याउनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकमा पठाएको छ । मंगलबार उद्योग मन्त्रालयमा आयोजित कार्यक्रममा अधिकांश वाणिज्य तथा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले सरकारले लगानीको वातावरण बनाए आफूहरू लगानी गर्न तयार रहेको बताएका छन् । 
“उचित प्रतिफल प्राप्त हुने क्षेत्रमा बैंकहरू सधैं लगानी गर्न तयार छन्, साना तथा मझौला उद्यम तुलनात्मक रूपमा कम जोखिम भएको क्षेत्र हो,” जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले भने । सरकारले १० वर्षभित्र रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्न गर्न पहिलो चरणमा ५० हजारलाई ६ महिनाभित्र रोजगारी सिर्जना गर्ने कार्यक्रम अगाडि सारेको छ । 
बैंकहरूको लगानी उद्यमशिलतामा केन्द्रित भएपछि रोजगारीका अवसर बढ्दै जाने सरकारको आँकलन छ । साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्नेे उद्देश्यका साथ सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन मन्त्रालयले छलफल अगाडि बढाएको हो । साना तथा घरेलु उद्योग सञ्चालनका लागि ऋण लिन कतिपय किसानले धरौटीसमेत राख्न नसक्ने अवस्था भएकाले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन गृहकार्य भएको मन्त्री जोशीले बताए । 
उद्यमीहरूलाई प्रोत्साहित गर्न परियोजना धितो राखेर ऋण दिने व्यवस्था गर्न पनि सरकारले बैंकर्सहरूलाई आग्रह गरेको छ । नेपालमा उद्योग दर्ताको अवस्था सुधारोन्मुख रहे पनि निरन्तरताको भने अभाव छ ।   
बैंकहरूलाई लगानीको २० प्रतिशत उत्पादनशील क्षेत्रमा अनिवार्य गरिएको छ । साना तथा मझौला उद्योगमा कति लगानी छ बैंकहरूको भन्ने कुनै तथ्यांक छैन । “उत्पादनशील क्षेत्रमा लगानीको सीमा तोकिएको छ, तर लघु, घरेलु तथा साना उद्योगमै भनेर किटान भएको अवस्था छैन,” नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले भने, “वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई पुनर्कर्जाको व्यवस्था छ ।” छलफलमा अधिकांश वाणिज्य बैंक तथा विकास बैंकका प्रमुखहरूको उपस्थिति थियो । 

बजेट कार्यान्वयनका लागि ६० बुँदे निर्देशन

निरु अर्याल 
काठमाडौंः चालू आर्थिक वर्ष डेढ महिना पहिल्यै बजेट आए पनि कार्यान्वयनमा पुरानै प्रवृत्ति दोहोरिए पछि अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि मातहतका निकायलाई ६० बुँदे निर्देशन दिएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयन यस वर्ष पनि चुस्त हुन नसकेको भन्दै मन्त्रालय मातहतका विभागीय प्रमुखहरूलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । 
अर्थले तत्कालीन तथा दीर्घकालीन रूपमा सुधार गर्नुपर्ने आफ्नो क्षेत्राधिकारमा रहेका विषयमा निर्देशन दिएको मन्त्रालयका आर्थिक सल्लाहकार प्रा. डा. पुण्यप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार सरकारले बजेट खर्चको अवस्था सुधार्न भन्दै ‘सम्वृद्ध आर्थिक विकासका लागि दिगो आर्थिक विकास’को नारा अघि सारेको छ । 
समयमै बजेट ल्याएर प्रभावकारी कार्यान्वयन गर्ने योजना बनाएको सरकारले लक्षित खर्च निराशाजनक देखिएको भन्दै नयाँ कार्यक्रम अघि सारेको हो । 
दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न मन्त्रालयबाटै तत्कालीन रूपमा पहल गर्नुपर्ने देखिएकोले समृद्ध आर्थिक विकासको नारा अघि सारिएको अर्थ मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रमलाई कार्ययोजना बनाएर अनुगमनलाई सशक्त बनाउन उच्चस्तरीय अनुगमन टोली गठन गर्ने अर्थको तयारी छ । 
जसमा बजेटले सम्बोधन गरेका अधिकांश कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ ।  “यसले अब बजेट खर्च नगर्ने निकायहरूमाथि कडा रूपमा अनुगमन हुने र यसबाट बजेट कार्यान्वयन हुने हाम्रो अपेक्षा छ,” रेग्मीले भने ।  विकास खर्च न्यून देखिएकाले आफ्नो भूमिकामा गम्भीर भएर लागेको उनको भनाइ छ । 
“बजेट विनियोजन गर्ने, खर्च गर्ने गराउने विषयमा मन्त्रीज्यू गम्भीर हुनुहुन्छ र मन्त्रालय र मातहतका अधिकारीहरू पनि सशक्त भएर लागेको अवस्था छ,” उनले भने । अर्थमन्त्रीले ल्याएको नयाँ कार्यक्रमअनुसार उच्चस्तरीय अनुगमन टोली बनाएर  द्रुत रूपमा अनुगमन गर्ने उल्लेख छ । 
अनुगमन टोलीले काम नगर्नेलाई कारबाही गर्ने, काम सुरु गर्नेलाई सशक्त बनाउन सहज बनाउने, निर्धारित समयअघि  काम गर्नेलाई प्रोत्साहन गर्ने बताइएको छ । यस्तै, समृद्धि नेपालका लागि दिगो आर्थिक विकास, वित्तीय पहुँचको विस्तार, पुनर्निर्माणलाई प्राथमिकता, स्वरोजगार कार्यक्रमको विस्तार, सामाजिक काममा विस्तारलगायतका कार्यक्रममा पनि जोड दिन निर्देशन दिइएको छ । 
आन्तरिक रोजगारीलाई लक्षित गरेर ठूला आयोजनामा अनुगमन गर्ने, वैदेशिक लगानी भित्र्याउन विशेष पहल गर्ने स्वदेशी पुँजीलाई प्रभावकारी ढंगले लगाउन विशेष पहल गर्ने लगायतका कार्यक्रम छन् । “कतिपय नयाँ कार्यक्रम पनि छन्, तर बजेटमा भएका कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न खोजिएको हो,” उनले भने । 
अर्थमन्त्रीले दिएको ६० बँुदे निर्देशनअनुसार बेरोजगार युवालाई लक्षित गर्ने भन्दै एक इलाका एक नमुना व्यवसाय स्थापना गर्ने पनि उल्लेख छ । यस्तै युथ सेन्टरको स्थापना गर्न कार्यक्रम तय गर्ने तथा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम थप प्रभावकारी बनाउने उल्लेख छ । 
“हामीले लक्ष्य लिएको साढे ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न पुँजीगत खर्चमा निक्कै नै मेहनत गर्नुपर्ने देखिएको छ,” उनले भने, “त्यसलाई आवश्यक पर्ने वातावरण संयन्त्र जे जस्तो आवश्यक पर्छ त्यसका लागि गृहकार्य गरेर जिम्मेवारीसमेत तोकिनेछ ।” यसअघि नै अर्थले हरेक मन्त्रालयको जिम्मेवार सचिव तथा विभागीय प्रमुखहरूलाई बोलाएर बजेट खर्च नगर्नुको कारण माग गरेको थियो । 
सम्बन्धित निकायबाट चित्तबुझ्दो जवाफ नआए पुसको पहिलो सातादेखि नै अनुगमन सुरु गर्ने तयारी अर्थको छ । बजेटको अख्तियारी समयमै पठाए पनि कार्यान्वयन सन्तोषजनक नभएपछि अर्थले एक साताअघि मात्रै बजेट खर्च गर्न अधिकतम विकास आयोजना अरूको काम सुचारु गर्न निर्देशन दिइसकेको छ । 
“पु“जीगत खर्च बढाउ“दा त्यसले अर्थतन्त्रको गतिलाई नै चलायमान गर्ने भए पनि विकासे मन्त्रालयहरूले काम गर्न सकिरहेका छैनन्,” अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, “बजेटको अधिकतम कार्यान्वयन होस भनेर हामीले स्पष्टीकरण माग गरिसकेका छौं ।”  
सरकारले चालू आवका लागि भन्दै नियमित समयभन्दा ४५ दिन पहिले नै १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको छ । तर, सोमबारसम्ममा १९ अर्ब ६६ करोड मात्रै पुँजीगत बजेट खर्च भएको छ । यस वर्ष पुँजीगत बजेट ३ खर्ब ११ अर्ब ९४ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

Sunday, December 4, 2016

संस्थान सञ्चालनका मोडल

राज्यले खुला बजार अर्थनीति लिएको सन्दर्भमा राज्यनियन्त्रित संस्थानहरूको औचित्य र उपादेयतामाथि पटक–पटक प्रश्न उठ्ने गरेको छ । समान प्रकृतिका निजी कम्पनीहरू व्यापक नाफामा सञ्चालित भइरहँदा हरेक वर्ष घाटाको वासलात मात्र देखाउने सरकारी संस्थानहरू बन्द गरिनु नै उपयुक्त हुन्छ भन्ने धारणा पनि बारम्बार आउने गरेको छ । 
अस्तित्वमा रहेका ३७ मध्ये ३४ संस्थान मात्र हाल सञ्चालनमा छन् । सञ्चालनमा भएका अधिकांश संस्थान पनि अत्यधिक घाटाका कारण मर्नु न बाँच्नुको दोसाँधमा परिरहेका छन् । संस्थानहरू घाटामा जानुमा प्रायःजसो उत्पादनले बजार नपाउनु वा बजार प्रतिस्पर्धामा टिक्न नसक्नु तथा अत्यधिक सञ्चालन लागतलाई कारक ठह¥याउने गरिन्छ । यी त मुख्य कारक हुन् नै, सबैभन्दा ठूलो कारण भने व्यवस्थापकीय कौशलताको अभाव नै देखिएको छ । यसको पछिल्लो उदाहरण नेपाल विद्युत् प्राधिकरण, साझा यातायात, नेपाल टेलिकमलगायतका संस्थान बनेका छन् । 
केही वर्षअघिसम्म अत्यधिक घाटामा गएर बन्दै गर्नुपरेको साझा यातायातलाई सहकारी मोडलमा लगियो । उसले आफ्नो जग्गा बेचेर पुराना कर्मचारीको वक्यौता भुक्तानी ग¥यो । सुरुमा केही नयाँ बस ल्याएर प्रयोगका रूपमा पुनः सञ्चालनमा आएको साझाले अहिले लगानी थपेर थप आधुनिक र सुविधासम्पन्न बसहरू सञ्चालनमा ल्याएको छ । 
सरकारी स्वामित्वमा रहेकोमध्ये केही सेयर विनिवेश गरी कम्पनी मोडलमा लगेर सुधार थालिएको नेपाल टेलिकम अहिले पनि अग्रणी दूरसञ्चार कम्पनीमा पर्छ । उक्त कम्पनीले सरकारलाई बुझाउने कर र लाभांशले अरू सरकारी संस्थानहरूको घाटा पूर्तिमा समेत योगदान पु¥याइरहेको छ ।
यो शृङ्खलामा भर्खरै जोडिएको नेपाल विद्युत् प्राधिकरण अहिलेसम्म करिब २५ अर्ब रुपैयाँबराबरको नोक्सानीमा भए पनि त्यहाँ थालिएको व्यवस्थापकीय सुधारले आउँदा केही दिनभित्रै घाटा कम हुने आशा गर्न सकिन्छ ।
विद्युत् प्राधिकरणको घाटा उच्च हुनुमा खिम्तीजस्ता केही ठूला आयोजनासँग गरिएको डलरमा विद्युत् खरिद सम्झौता (पीपीए), उच्च वक्यौता, उच्चदरकै चुहावट रहेको बताउने गरिए पनि प्राधिकरणकै व्यवस्थापकीय कमजोरी पनि मुख्य थियो भन्ने अहिले खुल्न थालेको छ । २०६५ सालयता उच्च अनुपातमा विद्युत् कटौती हुन थालेपछि हामीले बारम्बार ऊर्जा अडिटको विषय औंल्याउँदै आएका छौं । 
ऊर्जा अडिट त्यस्तो प्रक्रिया हो, जसबाट आयोजनाहरूको जडित क्षमता, वास्तविक उत्पादन, प्रसारण लाइनमा उपलब्धता, औद्योगिक क्षेत्रहरूमा जडित क्षमता र त्यसको वास्तविक उपयोगलगायतका विषयहरूबारे अंकगणितीय हिसाब निकालिन्छ । प्रत्येक क्षेत्रगत रूपमा गरिने यस्तो अडिटले औद्योगिक र गार्हस्थ्य क्षेत्रको वास्तविक माग कति हो र त्यसको आपूर्तिका लागि के गर्न सकिन्छ भन्ने उपायसमेत सुझाउँछ । 
काठमाडौं उपत्यकामा प्रयोगका रूपमा विगत डेढ महिनादेखि थालिएको ऊर्जा व्यवस्थापनको मोडललाई अब समग्र देशभरि नै विस्तार गर्ने हो भने एकातिर आमउपभोक्ताले लोडसेडिङको मार खेप्नुपर्ने छैन भने अर्कातिर त्यसले प्राधिकरणकै कार्यकुशलता बढाई यसलाई घाटाबाट नाफामुखी कम्पनीमा रूपान्तरित गर्न भूमिका खेल्नेछ । घाटा व्यवस्थापनका लागि नेपाल आयल निगमले अपनाएको संस्थागत मोडल पनि अहिले चर्चायोग्य बनेको छ ।
अत्यधिक घाटामा गएर कर्मचारीकै तलबभत्ता खुवाउनसमेत सरकारबाट सेयर वा ऋण लगानीमात्र अपेक्षा गरेर हरेक वर्ष राज्यकोषमा बोझ बढाउँदै लगेका सार्वजनिक संस्थानहरूको पुनर्संरचनाको आवश्यकता बढ्दो छ । एउटा संस्थानमा सफल भएको मोडल अर्कोका लागि प्रयुक्त नहुन पनि सक्छ । त्यसैले सरकारले अब हरेक संस्थागत समस्याको चुरो पत्ता लगाएर संस्थान सुधारका रणनीति अवलम्बन गर्नैपर्छ ।

अस्थिरताले बन्धक विकासचक्र

करिब एक दशकयता औसतमा एउटा सरकारको आयु एक वर्ष पनि नहुने र त्यसको प्रभावले समग्र विकास प्रक्रिया नै बाधित हुने समस्याबाट नेपाल गुज्रिरहेको छ । दलीय राजनीतिक खिचातानीले गर्दा मुलुक गम्भीर अस्थिरताको चक्रमा फसेको छ । 
०६२/६३ को जनआन्दोलनपछि देशले अवलम्बन गरेको संघीयताको विषय यतिखेर जटिल बन्दै गएको छ । विशेष गरी प्रदेशहरूको निर्माण र त्यसको सीमांकनसम्बन्धी मुद्दाले दलहरूबीचको ध्रुवीकरण तीव्र भएको छ । 
जसरी राजनीतिक परिवर्तनपछि संविधान निर्माणमा करिब आठ वर्षको समयावधि लाग्यो, त्यसरी नै संघीयतासम्बन्धी विषयको निर्णयमा समेत अन्तरराष्ट्रिय अभ्यासहरूको अध्ययन गरेर संघीयताका अनुकूल र प्रतिकूल परिणामहरूबारे पहिल्यै सचेत हुन सक्ने हिसाबले निर्णय लिइएको भए सम्भवतः अहिलेको समस्या उत्पन्न हुने थिएन । 
पाँचौं आवधिक योजनादेखि नेपाललाई सुरुमा चार विकासक्षेत्रमा विभाजित गरिएकोमा पछि पाँच विकासक्षेत्र कायम गरियो । २०१९ सालदेखि अभ्यास गरिँदै आएको १४ अञ्चल, ७५ जिल्ला अनि २०३२ सालदेखि अहिलेसम्म अभ्यास गरिँदै आएको पाँच विकासक्षेत्रको प्रशासनिक संरचनामा नै आमनेपाली अभ्यस्त भइसकेका छन् । 
नेपालको संविधान–२०७२ ले ७ प्रदेशको खाका प्रस्तावित गरेको छ । ती प्रदेशहरू प्रस्तावित गर्दा अपवादमा बाहेक जिल्लाहरूलाई टुक्र्याइएको छैन । प्रदेश निर्माणका सवालमा २ नं. प्रदेशबाहेक अन्यमा खासै विवाद पनि नभएको अवस्थामा सरकारले अघि बढाएको संविधान संशोधन विधेयकले बुटवलपश्चिमका क्षेत्रमा असन्तुष्टि बढाएको छ । 
मुख्य विपक्षी दलको असन्तुष्टि र अर्को सरोकारवाला मधेसी मोर्चाले समेत स्वामित्व नलिएको संविधान संशोधन प्रस्तावले राजनीतिक दलहरूबीचको ध्रुवीकरण पनि तीव्र भएको छ । यसले संघीयतासम्बन्धी निर्णयको कार्यान्वयन विलम्ब हुने संकेतहरू देखिएका छन् ।
जतिजति राजनीतिक अन्योल र अस्थिरता बढ्दै जान्छ, त्यसको पहिलो र गम्भीर प्रभाव देशको विकास–प्रक्रियामा परि नै रहन्छ । विगत एक दशकको देशको औसत आर्थिक वृद्धिदर हेर्ने हो भने ४ प्रतिशतभन्दा मुनि नै देखिन्छ । यो पनि औसतमा स्वाभाविक मात्रको (नेचुरल) वृद्धिदर भएको अर्थशास्त्रीहरूले टिप्पणी गर्ने गरेका छन् । 
यसबीचमा हरेक वर्षको वार्षिक बजेटमा औसतमा ६ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको देखिन्छ । मौसमअनुकूल भएर कृषिक्षेत्रको वृद्धिदर उत्तम भएको अवस्थामा ४.५ देखि ५ प्रतिशतको वृद्धिदर हासिल गरिए पनि औसत ३.५ देखि ४ प्रतिशतको वृद्धिदरमा देशको विकासचक्र खुम्चिएको छ । 
राजनीति अस्थिर भएको समयमा सरकारले विकासका लागि विनियोजित खर्च गर्न सक्दैन, प्रशासनतन्त्रमा पनि विनियोजित बजेट खर्च गर्ने इच्छाशक्ति र जाँगर हुँदैन ।
अर्कातिर यसको असरले बजारमा मनपरीतन्त्र हाबी हुन्छ । राज्यका निकायहरू कमजोर हुँदा कालोबजारी, आर्थिक अनियमितता र भ्रष्टाचारलाई बढावा दिन्छ । 
यसले आमनागरिकको सेवासम्बन्धी पहुँच त कमजोर तुल्याउँछ नै, बजारमा कालोबजारी हाबी हुँदा त्यसले आमनागरिकको जीवनयापन दुरुह बनाउँछ ।
नेपालका लागि विकेन्द्रीकरणको अभ्यास लामो छ । २०१३ सालदेखि हालसम्म विकेन्द्रीकरण सम्बन्धमा सातवटा आयोग तथा समिति र प्रशासन सुधारसम्बन्धमा छवटा आयोग तथा समिति गठन भएर तिनले विभिन्न तहगत सुझाव दिएका छन् । 
प्रदेश निर्माणका सम्बन्धमा पनि छुट्टै आयोग गठन भएकै हो । संविधान संशोधनमा सबैका लागि सर्वस्वीकार्य हुने मध्यमार्गी बाटो खोजेर प्रदेश वा विकेन्द्रीकरणसम्बन्धी मुद्दाहरू उच्चस्तरीय आयोगमार्फत सम्बोधन गरिनु नै उपयुक्त विकल्प हो ।

उद्योग मन्त्रालयकै १० संस्थान बन्द अवस्थामा

काठमाडौंः उद्योग मन्त्रालयले बन्द रहेका सरकारी उद्योग सञ्चालनको घोषणा गरिरहेका बेला मन्त्रालय मातहतका १४ संस्थानमध्ये दुई उद्योग मात्रै सञ्चालनमा रहेको पाइएको छ । मन्त्रालय मातहतमा हेटौंडा र उदयपुर सिमेन्टबाहेक कुनै पनि उद्योगहरू सञ्चालनमा छैनन् । 
जनकपुर चुरोट कारखाना र कृषि औजार कारखाना खारेजीमा गइसकेका छन् भने बाँकी १० संस्थान बन्द अवस्था छन् । यसले बन्द रहेका उद्योग पुनः सञ्चालनमा ल्याउने उद्योगमन्त्री नवीन्द्रराज जोशीको घोषणा कार्यान्वयन चुनौतीपूर्ण रहेको देखिएको छ । 
सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धाका लागि नभई उनीहरूलाई सिन्डिकेट तथा मूल्यमा कार्टेलिङ गर्न नदिन उद्योग स्थापना गरे पनि सञ्चालन नहुँदा उद्देश्य पूरा हुन सकेको छैन । यसले अर्बाैंबराबरको सरकारी लगानीसमेत खेर गएको छ । बन्द भएका संस्थानमा रहेका कर्मचारीको तलब–भत्ता तथा अन्य लागतलगायत अन्य खर्चको भार सरकारले बेहोर्दै आएको छ । 
उद्योगमन्त्री जोशीले मन्त्रालयको कार्यभार सम्हाले लगत्तै बन्द उद्योगहरू सञ्चालन गर्ने कार्ययोजना सार्वजनिक गरेका थिए । उनले पहिलो पटक नेपाल औषधि लिमिटेड र हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।  उद्योग मन्त्रालयका प्रशासन तथा संस्थान महाशाखा प्रमुख यमलाल भुसाल बन्द रहेकामध्ये केही उद्योग सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँछन् । 
कतिपय उद्योग रुग्ण भए पनि सञ्चालनका लागि सरकारले अध्ययन गरिरहेको उनले बताए । गत असोज पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले औषधि लिमिटेड सञ्चालनका लागि १४ करोड ६५ लाख रुपैयाँ ऋण लगानी गर्ने निर्णयसमेत गरिसकेको छ । 
यस्तै, हेटौंडा कपडा उद्योगमा सेना, प्रहरी तथा निजामती सेवाका लागि पोसाक तयार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याउन लागिएको छ । हेटौंडा कपडालाई पहिलो चरणमा सरकारी पूर्वाधारमै उद्योग सञ्चालन गर्ने र पछि निजी लगानीकर्तालाई सहभागी गराउने लक्ष्य राखिएको छ । 
उद्योगमन्त्री जोशीले विगतमा जुनसुकै कारणले बन्द भए पनि अब त्यस्ता उद्योगले पुनर्जीवन पाउने बताएका छन् । साना उद्योगको संरक्षण र ठूला उद्योगमा लगानीका लागि प्रोत्साहन गर्ने उनको कार्ययोजना रहे पनि लगानीको स्रोत जुटाउन भने गाह्रो पर्ने जानकारहरू बताउँछन् । 
औषधि लिमिटेडपछि, कृषि औजार कारखाना, वीरगन्ज चिनी कारखाना, ओरिण्ड म्याग्नेसाइट, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने तयारी सरकारको छ । सञ्चालनमा रहेका हेटौंडा र उदयपुर सिमेन्टमध्ये उदयपुर सिमेन्ट पनि पटक–पटक बन्द हुँदै आएको छ । 
बन्द उद्योगबाट सरकारलाई बर्सेनि करोडौं रुपैयाँ घाटा थपिँदै आएको छ भने भएका पूर्वाधारहरू पनि काम नलाग्ने भएका छन् । बन्द भएका अधिकांश उद्योग राजनीतिक भर्तीकेन्द्र बनेपछि घाटा थेग्न नसकेर बन्द भएका हुन् । 
 
देशको सबैभन्दा जेठो उद्योग विराटनगर जुट मिल २०७१ असोज तेस्रो सातादेखि बन्द छ । विराटनगर–२२ स्थित ६० विघामा स्थापित यो उद्योग पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा बन्द भएको हो । उद्योगको आफ्नै विद्युत् टर्वाइन हाउस, जोगवनी रेल्वे स्टेसनलाई जोड्ने यार्ड पनि छ । 
पटक–पटक बन्द हुँदै सञ्चालन हँुदै आएको यो उद्योग २०४६ पछि राजनीतिक भर्ती केन्द्र बनाइएको थियो । सरकारले पटक–पटक सञ्चालनका लागि विज्ञ समिति गठन गरे पनि प्रयास सफल हुन सकेन । यस्तै, वीरगन्ज चिनी उद्योग २०५९ देखि बन्द छ भने गोरखकाली रबर उद्योग ०७२÷७३ मा उत्पादन शून्य अवस्थामा छ । बुटवल धागो उद्योग पनि ०६६ बाटै बन्द भएको छ । 
हेटौंडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ । यो उद्योग नेपाल र चीन सरकारको सयुक्त लगानीमा २०३२ मा स्थापना भई २०३५ देखि कपडा उत्पादन गर्दै आएको थियो । 
०५६ फागुनबाट बन्द यस उद्योगको वार्षिक क्षमता २३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन थियो । ०६९ माघ १२ को मन्त्रिपरिषद् बैठकले हेटौंडा कारखानाको सम्पत्ति सेयर लगानीका रूपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो । 
बन्द उद्योगहरू
  • नेपाल ओरिण्ड म्याग्नेसाइट
  • नेपाल मेटल कम्पनी
  • नेपाल औषधि लिमिटेड
  • विराटनगर जुट मिल्स
  • बुटवल धागो कारखाना
  • गोरखकाली रबर 
  • वीरगन्ज चिनी कारखाना
  • हेटौंडा कपडा उद्योग

एक खर्बको पूरक बजेट पुस पहिलो साता

काठमाडौंः 
सरकारले पुस पहिलो सातामा करिब एक खर्ब रुपैयाँ बराबरको पूरक बजेट ल्याउने भएको छ । गत भदौमा प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसद्मा घोषणा गरेका नयाँ कार्यक्रमका लागि स्रोत जुटाउन सरकारले पूरक बजेट ल्याउने भएको हो । तर राजनीतिक सहमति भए मात्रै बजेट ल्याउने सरकारको तयारी छ ।  
“राजनीतिक सहमति भएमा पुसको पहिलो सातासम्म पूरक बजेट आउनेछ,” अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. पुण्यप्रसाद रेग्मीले कारोबारसँग भने, “बजेटको आकार १ खर्ब रुपैयाँसम्मको हुनेछ ।” उनले सबै रकम प्रधानमन्त्रीले घोषणा गरेका कार्यक्रममा खर्च हुने जानकारी दिए । 
प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनर्निर्माणमा ठूलो रकम खर्च हुने घर पुनर्निर्माण अनुदानका लागि दाहालले एक लाख रुपैयाँले बढाएर प्रतिपरिवार तीन लाख रुपैयाँ दिने घोषणा गरेका थिए । “नियमित बजेटमा प्रधानमन्त्रीले घोषणा गरेका राहातका कार्यक्रमहरू परेका छैनन्,”  रेग्मीले भने, “नयाँ कार्यक्रमका लागि थप बजेटको आवश्यकता परेको हो ।” 
सरकारले चालू आवका लागि भन्दै नियमित समयभन्दा ४५ दिन पहिले नै १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये चालू खर्च ६ खर्ब १७ अर्ब १६ करोड र पुँजीगत ३ खर्ब ११ अर्ब ९४ करोड रुपैयाँ छुट्याइएको छ । बजेटको सबैभन्दा ठूलो हिस्सा १ खर्ब ४० अर्ब रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणका लागि विनियोजन भएको छ । 
अघिल्लो सरकारले घोषणा गरेको घर पुनर्निर्माण अनुदान र पुनर्निर्माणका अन्य कार्यक्रममा दाहालले थप नयाँ कार्यक्रम घोषणा गरेपछि थप स्रोतको आवश्यकता जुटाउन पूरक बजेटको आबश्यकता परेको उनले बताए । “पूरक बजेट पनि बिकास निर्माणमा खर्च हुने हो, भएको पैसा यत्तिकै थन्किएर बस्नुभन्दा विकास निर्माणमा खर्च गर्दा राज्यलाई नै फाइदा हुन्छ बेफाइदा हुने केही छैन,” रेग्मीले भने ।
दाहालले गरेको घोषणासहित भूकम्पपीडितका लागि पटक–पटक घोषणा गरेका अन्य कार्यक्रम कार्यान्वयन गर्न साढे दुई खर्ब रुपैयाँ रकम आवश्यक पर्ने अनुमान छ । यसमध्ये ठूलो रकम यसै वर्ष घर पुनर्निर्माण अनुदान वितरणका लागि आवश्यक पर्छ ।  
यद्यपि घोषणा भएका सबै कार्यक्रमलाई थप कति बजेट आवश्यक भन्ने अध्ययन भैसकेको छैन । अर्थ मन्त्रालय, योजना आयोगका अधिकारीहरूले प्रधानमन्त्री दाहालले संसद्मा सम्बोधन गरी ल्याएका नयाँ कार्यक्रमका लागि अहिलेकै बजेटले असम्भव रहेको जनाउँदै आएका छन् । मन्त्रालयका अनुसार राजनीतिक रूपमा सहमति बने पनि पूरक बजेटका लागि कम्तीमा एक महिनाको समय आवश्यक पर्नेछ । 
“अहिलेसम्म पूरक बजेटको विषयमा उल्लेख्य गृहकार्य भने भएको छैन” अर्थ मन्त्रालयका एक अधिकारीले भने । राजनीतिक सहमति बने पनि पूरक बजेटका कार्यक्रमहरूको एकिन विवरण संकलन गरेर बजेट ल्याउन समय लाग्ने उनले बताए । “नियमित बजेट खर्च हुन नसकिरहेका बेला पूरक बजेटको खासै औचित्य देखिँदैन,” उनले भने ।
 
संविधानको धारा १२१ मा पूरक बजेटको व्यवस्था छ । यो धाराको उपधारा १ मा पूरक अनुमान ल्याउनसक्ने दुई आधार दिइएको छ । चालू आवका लागि विनियोजन ऐनले कुनै सेवाका लागि खर्च गर्न अख्तियारी दिएको रकम अपर्याप्त भएमा वा त्यस वर्षका लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ सेवामा खर्च गर्न आवश्यक भएमा वा चालू आवको विनियोजन ऐनले अख्तियारी दिएको रकमभन्दा धेरै खर्च हुन गएमा पूरक अनुमान ल्याउन सकिने व्यवस्था छ । 
यस्तै, पूरक अनुमानमा राखिएको रकम सम्बन्धित शीर्षकमा उल्लेख गरी पूरक विनियोजन विधेयकमा राखिने संविधानमा उल्लेख छ । अर्थ मन्त्रालयका अधिकारीका अनुसार अहिलेसम्म अर्थ मन्त्रालयले नियमितभन्दा बाहेकका उल्लेख्य काम गर्न सकिरहेको छैन । साविकभन्दा ४५ दिन पहिले बजेट आएपछि बजेट खर्च भने न्यून छ । 
चालू आवको पहिलो ४ महिनासम्म जम्मा ४.७६ प्रतिशत  पुँजीगत खर्च भएको छ । पटक–पटक ताकेता गर्दा पनि खर्च हुन नसकेपछि अर्थ मन्त्रालयले बजेट खर्च गराउने विकासे मन्त्रालयहरूलाई परिपत्र गरिसकेको छ ।

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...