Tuesday, November 29, 2016

लगानीको आवश्यकता : वातावरण कि दाता ?




संविधान निर्माणपछि नेताहरूले राजनीतिक क्रान्ति सकिएकाले आर्थिक क्रान्ति र प्रगतिमा ध्यान दिने प्रतिबद्घता जाहेर गर्थे । उत्पादनको युग सुरु भएको बताउने नेता आज देशको प्रधानमन्त्री छन् । तर, देशको आर्थिक अवस्थामा कुनै परिवर्तन आएको छैन ।
संविधानका पानामा लेखिँदैमा नागरिकका अधिकार स्थापित हुँदैनन् । आर्थिक अवस्था सबल भएमा अन्य भेदभावहरू स्वतः न्यूनीकरण हुन्छन् । लेखिका इलेनोभ क्यान्ट्रोभ आर्थिक सशक्तीकरण नै वास्तविक स्वतन्त्रताको पासपोर्ट भएको बताउँछिन् ।
हामी जात, लिंग, सामाजिक रीतिरिवाजका आधारमा विभेद हुने सम्झन्छौँ । यद्यपि भेदभावको मुख्य आधारचाहिँ आर्थिक हुन्छ । अतः नागरिकको पहिलो र मुख्य आशा पनि देश तथा आफ्नो आर्थिक अवस्थामा द्रुततर सकारात्मक वृद्धि हो । 
देशको वास्तविक सफलता÷असफलता भनेको आर्थिक हो । त्यो आर्थिक सम्पन्नता समाजका हरेक आर्थिक गतिविधिको सघन औद्योगीकरण र आक्रामक व्यापारबाट मात्र सम्भव छ । यसका लागि अथाह लगानी चाहिन्छ ।
हामी आर्थिक सम्पन्नता चाहन्छौँ भने लगानीयोग्य व्यावसायिक परियोजनाहरूको व्यापक खोजबिन गर्नुपर्छ । परियोजनामा लगानी गर्न प्रशस्त तरलताको व्यवस्था गर्नुपर्छ । 
अनुपम अभ्यास
लगानी अभिप्रेरित गर्ने प्रयोजनका लागि सरकारले निकट भविष्यमा नै सम्भाव्य वैदेशिक लगानीकर्ताहरूको अन्तरराष्ट्रिय सम्मेलन गर्न लागेको सुनिँदैछ । लगानी गर्न तत्पर समूहहरू भए व्यापारिक गतिविधिहरूको उच्च अभिवृद्धि हुन्छ ।
समाजका सबै क्षेत्रमा सकारात्मक परिणामहरू आउन सक्छन् । सन् २००३ मा अर्थनीतिसम्बन्धी एक अन्तरराष्ट्रिय सम्मेलनका प्रस्तोता गोल्डम्यान स्याक्सले चीन २०५० सम्ममा संसारको प्रथम अर्थतन्त्र हुने अनुमान सुनाएका थिए । २०१५ मा नैै चीन पहिलो शक्ति भइसक्यो ।
अनुसन्धानहरूमा निरन्तर सक्रिय अमेरिकी शोधार्थीद्वय इयान होलिडे र पल वेल्डिङले एसियाका थुप्रै देशलाई ‘बाघ अर्थतन्त्र’ भन्छन् ।
अक्सफोर्ड विश्वविद्यालयको सहजीकरणमा एस एसुफले गरेको अनुसन्धानमा एसियाका थुप्रै देशले एकाइसौं शताब्दीको सुरुमा चमत्कार नै गरेको व्याख्या छ । ती देशहरू ‘किटन इकोनोमी’बाट ‘टाइगर इकोनोमी’ भएको बताइन्छ । आज उनीहरू संसारका सामरिक शक्ति भएका छन् ।
हामीचाहिँ थोरै जनसंख्या वा कम क्षेत्रफल भएर हेपिएका होइनौं । संसारमा हामी ९४ औं ठूलो देश हौँ । दक्षिण कोरिया, ताइवान, डेनमार्क, स्विट्जरल्यान्ड पनि हामीभन्दा साना छन् । सिंगापुर ६ सय ३७ र हङकङ १ हजार ४१ वर्गकिमि मात्र छन् ।
यद्यपि उनीहरू सफल र सबल छन्, किनकि उनीहरू आर्थिक हिसाबले सशक्त छन् । त्यो आर्थिक सफलतापछाडिको मुख्य कारण उनीहरूले गर्न सकेको सशक्त लगानी हो । हामी भने उच्च लगानी र आक्रामक व्यापार प्रवद्र्धन गर्नमा निकै पछि प¥यौँ ।
तत्कालीन सरकारले सन् २०१२ लाई पनि लगानी वर्षका रूपमा घोषणा गरेको थियो । तर, खासै सन्तोषजनक परिणाम भने प्राप्त भएन ।
लगानीको परिणाम र परिमाणसँग देशमा हुने बेरोजगारी, गरिबी, आर्थिक अभाव अनि अन्यायका आधारमा हुने अपराधजन्य घटना न्यूनीकरण गर्ने विशेष सामथ्र्य रहन्छ ।
तसर्थ लगानी गर्ने समूह वा मानिसहरूलाई आकर्षित गर्नु राम्रो अभ्यास हो । लगानीका अन्य पक्षलाई ध्यान दिने हो भने देशभित्रैबाट प्रशस्त लगानी उठाउन सकिन्छ, बाहिर गएर कसैलाई गुहार्नै पर्दैन । 
खड्किएका आवश्यकता 
लगानीकर्ताभन्दा लगानीमैत्री वातावरण अहिलेको प्रमुख आवश्यकता हो । विश्वसनीय वातावरण भए नेपालमा नै मानिसहरूसँग अधिक तरलता अनि लगानी गर्ने चाहना पनि छ । कुनै पनि सेयर खुल्दा मागको ३० देखि ३ सय गुणा बढीसम्म आवेदन पर्छ ।
घरजग्गा कारोबारको वृद्घि यति आक्रामक छ, उपत्यकामा मात्र दैनिक २ सय घरजग्गा खरिद÷बिक्री र मासिक लगभग ६० अर्ब रुपैयाँको कारोबार भएको देखिन्छ । 
आप्रवासी नेपालीहरूसमेत प्रशस्त लगानी गर्न चाहन्छन् । राम्रा योजना तथा विश्वसनीयता खोज्दै छन् । तर, सरकारले लगानीयोग्य राम्रा योजनाहरू दिन सकेको छैन । उच्च लगानी गरेर व्यापार÷व्यवसाय गर्दा वा उद्योगधन्दा सञ्चालनमा ल्याउँदा गर्नुपर्ने आवश्यक सहजीकरण गर्न सकेको छैन । 
विद्युत् अभावले अधिकांश उद्योगमा क्षमताको ४० प्रतिशत मात्र उत्पादकत्व हुने गरेको छ । मजदुर संगठन र ट्रेड युनियनका नाममा हुने अराजकताले पनि नेपालका थुप्रै व्यवसाय तथा उद्योगहरूलाई रुग्ण बनाउँदै छ । 
राजनीतिक अस्थिरता र बन्द–हड्तालजस्ता गतिविधिले लगानीकर्ताहरूको मनोबलमा उच्च गिरावट ल्याएको छ । कुनै पनि विषयको उठान वा बैठान गर्नुपरेमा हड्ताललाई माध्यम बनाइन्छ अनि उद्योग तथा कलकारखानाहरू प्रमुख निशाना बन्छन् ।
बन्द/हड्तालसँगै दल तथा विभिन्न संगठनलाई चन्दाबापत दिनुपर्ने ठूलो रकम अर्को असहज पक्ष छ । अरू देशहरूको राजनीतिसँग आर्थिक विकासका योजनाहरू गाँसिएका देखिन्छन् । ४५ वर्षपहिले हामीभन्दा कमजोर दक्षिण कोरिया आज सशक्त अर्थतन्त्र बन्दै छ ।
स्यामसुङ फोन कम्पनी एक्लैले कुल गार्हस्थ्य उत्पादनमा झन्डै ४० प्रतिशतको योगदान गर्छ । सिंगापुर, जापान, भियतनाम, ताइवान, मलेसिया, हङकङजस्ता छिमेकीहरू उच्च गतिको आर्थिक वृद्धिमा छन् ।
उनीहरूमा पछिल्ला १० वर्ष कुनै आन्दोलन, धर्ना, जुलुस, बन्द/हड्तालजस्ता आर्थिक प्रगतिलाई प्रभाव पार्ने गतिविधि भएको सुनिँदैन ।
तर, हाम्रोमा विगत १० वर्षमा लभगभ १५ सयवटा विभिन्न प्रकारका बन्द/हड्ताल, आन्दोलन, चक्काजाम भएको देखिन्छ । राजनीति उद्योग तथा व्यापार/व्यवसायको विकासप्रेमीभन्दा विनाशपे्रमी बन्दै गर्दा लगानीकर्ता किमार्थ आकर्षित हुँदैनन् ।
कर्मचारीतन्त्रका अधिकांश मानिस कतै कुनै परियोजना लागू हुने वा लगानी सम्भाव्यताको पत्तो पाएमा पनि त्यसका पछाडि के कसरी आर्थिक गलत लाभ लिन सकिन्छ भनेर राम्रै प्रयास गर्छन् । अव्यावहारिक कानुनका कतिपय कुरा देखाएर व्यवधान र अड्चन तेस्र्याउने काम पनि हुन्छ ।
समस्या लगानीका लागि  पुँजी अभाव होइन, तर विश्वासको वातावरण अनि त्यस्तो लगानीका लागि सरकारी तहबाट प्रदान गरिने यथेष्ट र आवश्यक मात्राको राष्ट्रिय सुरक्षाको अभाव रहेको छ । हामी सहयोग र दाताका भरमा देश विकासको आस गर्छौं ।
ड्याम्सिया मोयोको ‘डेड एड’, जोनथान क्वार्जको ‘द बिग ट्रक द्याट वेन्ट बाई’ अनि विलियम गोल्डिङको ‘लर्ड अफ द फ्लाइज’ जस्ता पुस्तकहरूले के देखाउँछन् भने दान र सहयोगले देश धनी बन्दैन ।
यदि बन्ने भए आज पूरै अफ्रिका संसारको सबैभन्दा धनी देश बनिसक्थ्यो । वैदेशिक भनिने लगानी वा सहयोग कागजमा बढी र परिमाणमा कम हुन्छन् ।
नागरिक विश्वास जगाउने क्षमता नेतृत्वमा भए लगानी देशभित्रै सम्भव हुन्छ र छ । महाशक्ति अमेरिकाको कठोर नाकाबन्दीबीच क्युवाको समृद्घि सफलताको साक्षी छ । तर, हामी गन्तव्यमा कम र मन्तव्यमा मात्र बढी सचेत छौँ ।
पछिल्ला दशक आन्तरिक लगानीको प्रचुर प्रवद्र्धन गर्दै चीन संसारको पहिलो अर्थतन्त्र, सबैभन्दा धेरै विश्व धनाढ्यहरू बस्ने देश अनि सबैभन्दा अधिक संख्यामा विद्युतीय सवारी प्रयोगमा ल्याउने देश बन्दै छ ।
दोस्रो विश्वयुद्घले दिएको गरिबीका कारण कतिपय लेखकले जापानलाई एसियाको भिखारी भने । तर, सघन लगानी अनि दु्रत व्यापारबाट उनीहरूले आफ्नो अवस्थालाई बदले ।
स्विकार्नुपर्ने सत्य 
तर, हामीले बनाएको लगानी वातावरण कसैलाई हात÷खुट्टा दुवै बाँधेर पौडी खेल्न पोखरीमा जर्बजस्त धकेलिदिएजस्तो बबुरो छ । पौडन पठाएपछि कम्तीमा सहज वातावरण बनाउनुपर्छ । हातखुट्टा खोलिदिनुपर्छ ।
असहज अवस्थामा कसैले पौडी–कौशल देखाउन सक्दैन । हामी यहीं अल्झिएका छौँ । लगानी गर्न तत्पर मानिस खोज्न होइन, लगानीमैत्री वातावरण बनाउनचाहिँ सरकारको ध्यान जानुपर्छ । लगानी देशभित्रैबाट यथेष्ट मात्रामा प्राप्त हुन्छ ।

बजेट खर्च गर्न अर्थ मन्त्रालयको ताकेता, समयमै काम गर्न ९ बुँदे निर्देशन

काठमाडौंः समयमै बजेट आए पनि खर्च हुन नसकेपछि अर्थ मन्त्रालयले नै खर्च बढाउन दबाब दिन थालेको छ । धेरै पुँजीगत खर्च गर्नुपर्ने विकासे मन्त्रालयको कामको गति सुस्त भएपछि अर्थ मन्त्रालयले नै खर्च बढाउन अनुगमन थालेको हो । 
उसले विकासे मन्त्रालयले बजेट खर्च गर्न नसकेपछि खर्च गर्न र समयमै काम सम्पन्न गर्न भन्दै ९ बुँदे निर्देशनसमेत दिएको छ । मन्त्रालयले नयाँ कार्यक्रमका लागि थप बजेट माग नगरी विनियोजित बजेट कार्यान्वयन गर्न/गराउन तथा २०७३ फागुन मसान्तसम्ममा काम सुरु नभएका कार्यक्रमको सम्पूर्ण बजेट २०७३ चैत १ गते फिर्ता गर्न निर्देशन दिएको छ ।
यसैगरी कार्यक्रम स्वीकृतिमा ढिलाइ भएका वा पूर्ण अख्तियारी नदिएको भए तत्काल दिन, बजेट खर्च गर्ने निकाय र अधिकारीलाई थप जिम्मेवार बनाउने गरी निर्देशन दिइएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
अर्थले पुँजीगत खर्च बढाउन मातहतका निकायमा अनुगमन बढाउने, स्वीकृत बजेट तथा कार्यक्रममा रहेका बाहेकका वैदेशिक भ्रमण र सवारी साधनका लागि थप बजेट माग नगर्न पनि निर्देशन दिएको छ । यसैगरी वैदेशिक सहायतामा सञ्चालित आयोजनाको शोधभर्ना लिन बाँकी भए तत्काल लिन र सोझै भुक्तानीका सम्बन्धमा लेखांकन विवरण नियमित रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा दाखिला गराउन निर्देशन दिएको छ । 
चालू बजेटलाई अनुत्पादक क्षेत्रमा खर्च नगर्न र मितव्ययी ढंगले खर्च गर्न र समय तालिकासहित पुँजीगत खर्चमा जोड दिन सम्बन्धित मन्त्रालयलाई भनिएको छ । 
अर्थ मन्त्रालयका अधिकारीले समयमै गुणस्तरीय काम गर्न, जवाफदेही बनाउन, संघीयता कार्यान्वयनका लागि दरबन्दी मिलान र आवश्यक परे नयाँ दरबन्दी माग गर्न पनि सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको जानकारी दिए । यसअघि पनि अर्थले विकास आयोजनाका प्रमुखलाई नै मन्त्रालयमा बोलाएर अहिलेसम्म भएको प्रगति र हुन नसकेको कारण माग गरिसकेको थियो । 
बजेटको अख्तियारी समयमै पठाएको भए पनि कार्यान्वयन सन्तोषजनक नभएपछि अर्थले बजेट खर्च गर्न अधिकतम विकास आयोजनाहरूको काम सुचारु गर्न ताकेता सुरु गरेको हो । 
पुँजीगत खर्च बढाउँदा त्यसले अर्थतन्त्रको गतिलाई नै चलायमान गर्ने भए पनि विकासे मन्त्रालयले काम गर्न आनकानी गरेको भन्दै अर्थमन्त्री कृष्णबहादुर महराले खर्च नगर्नेमाथि कारबाही गर्ने पनि चेतावनी दिइसकेका छन् । उनले मंसिर मसान्तभित्रमा आयोजनाको ठेक्का प्रक्रिया सकेर पुसदेखि कार्यान्वयनमा जाने गरी काम गर्नसमेत निर्देशन दिइसकेका छन् ।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा कुल बजेटको ३२ प्रतिशत खर्च गर्ने सरकारी लक्ष्य भए पनि त्यो पूरा भएको छैन । सरकारी लक्ष्यको आधा पनि खर्च हुने सम्भावना नदेखिएपछि अर्थ मन्त्रालयले खर्च बढाउन दबाब दिन थालेको हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर १२ गतेसम्म जम्मा १६.९४ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
 

सार्क हस्तकला विकास केन्द्र स्थापनाको अन्तिम तयारी

काठमाडौंः सार्कस्तरीय हस्तकला विकास केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौंमा स्थापना गर्न लागिएको केन्द्रका लागि सरकारले चालू आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरेपछि काम अघि बढेको नेपाल हस्तकला महासंघले जनाएको छ ।
सरकारले हस्तकला विकास केन्द्रका लागि जग्गा उपलब्ध गराएपछि भवन निर्माण गर्न आवश्यक छलफल भइरहेको महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए । “केन्द्रको हब बनाउन घरेलु तथा साना उद्योग विभागकै परिसरमा २ रोपनी १५ आना जग्गा सरकारले उपलब्ध गराएको छ,” उनले भने, “सुविधासम्पन्न भवन बनाउन सार्क सचिवालयसँग सहकार्य गर्दैै छौं ।” उनले यसै महिनाभित्र भवनको शिलान्यास गर्ने तयारी भइरहेको जानकारी दिए । 
त्रिपुरेश्वरस्थित घरेलु तथा साना उद्योग विभाग परिसरमा बन्ने केन्द्रको कुल लगानी २१ करोड रुपैयाँ हुनेछ । यसमा लाग्ने ९० प्रतिशत लगानी सार्क सचिवालयले र बाँकी नेपाल सरकार तथा नेपाल हस्तकला महासंघले गर्ने सम्झौता भएको छ । 
महासंघका अध्यक्ष शाक्यका अनुसार जग्गाको स्वामित्व सरकारको हुने भए पनि स्वामित्वमार्फत विभागलाई दिने भाडाका बारेमा भने टुंगो लागेको छैन । सार्क सचिवालयले सदस्य राष्ट्रका हस्तकलाको विकास गर्ने उद्देश्यले अन्तरराष्ट्रिय सार्क हस्तकला विकास केन्द्र स्थापना गर्न लागेको हो । महासंघका अध्यक्ष शाक्यले सार्कस्तरीय हस्तकला डिजाइन सेन्टरको स्थापनाले नेपाली हस्तकलाका सामानको प्रवद्र्धनमा थप सहयोग पुग्ने बताए । 
सार्वजनिक निजी साझेदारीबाटै केन्द्र स्थापना गर्न लागिएको भन्दै उनले यसका लागि छिटोभन्दा छिटो काम सम्पन्न गर्न महासंघ प्रयासरत रहेको जानकारी दिए  । नेपाली हस्तकलाका सामानको माग बढी भएकाले निर्यात बढाउने खालका कार्यक्रमहरू ल्याउनु अनिवार्य रहेको भन्दै सरकारले ३ वर्षअघि हस्तकला डिजाइन सेन्टर स्थापना गर्ने घोषणा गरेको थियो ।
हस्तकला विकास केन्द्रको स्थापनापछि नेपाली कला र सिपको प्रवद्र्धन हुने र  नेपालीवस्तु आन्तरिक तथा बाह्य बजारमा प्रतिस्पर्धी हुने अपेक्षा सरकारको छ । वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाली उत्पादनको आन्तरिक बजार प्रवद्र्धन तथा निर्यात अभिवृद्धिका लागि एकीकृत पहल आवश्यक रहेको बताए । “सार्कस्तरीय हस्तकला ग्रामको निर्माण अन्तिम चरणमा पुगेको छ,” उनले भने “यो निर्माण भएलगत्तै हाम्रा वस्तुको बजार प्रवद्र्धनमा सघाउ पुग्नेछ ।”

हस्तकलाका सामग्रीको निर्यात बढ्दो

काठमाडौंः नेपालमा उत्पादित हस्तकलाका सामग्रीहरूको निर्यात बर्षेनि बढ्दै गएको छ । छिमेकी मुलुक चीन र भारत तथा तेस्रो मुलुकमा समेत हस्तकलाका सामग्रीहरूको माग बढेको छ । गत आर्थिक वर्ष ०७२/७३ मा ७५ करोड १२ लाख रुपैयाँबराबरको हस्तकलाका सामग्री निर्यात भएको छ । आयतीत वस्तुको बाहुल्यता भएको स्वदेशी बजारमा पनि हस्तकलाका सामग्रीमा उपभोक्ताको रुचि बढ्दो छ । 
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा २३.२ प्रतिशतले निर्यात बढेको छ । हस्तकला सामग्री नेपाल भ्रमणमा आएका विदेशीहरूले ह्याण्डक्यारीमा पनि उत्तिकै मात्रामा लैजाने गरेका छन् । ४२ प्रकारका नेपाली हस्तकलाका सामग्री संसारका ६० भन्दा धरै देशमा निर्यात हुन्छ । 
अमेरिका, जर्मनी, चीन, भारत, जापान, बेलायत र क्यानाडा नेपाली हस्तकला निर्यात हुने मुख्य देश हुन् । हस्तकलाका सामग्रीको बजार वार्षिक १५ प्रतिशतको हाराहारीमा बढेको महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए । हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले बर्सेनि मेला आयोजना गर्छ । महासंघको तथ्यांकअनुसार हस्तकलामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ११ लाखले रोजगारी पाएका छन् । 
मुलुकभित्रै पनि सजावटका लागि हस्तकलाका सामान प्रयोग गर्ने प्रवृत्ति बढेको छ । नेपाल घुम्न आउने पर्यटकहरूले चिनोका रूपमा हस्तकलाकै सामग्री रोज्ने गर्छन् । कतिपय विदेशी राष्ट्रप्रमुख तथा महत्वपूर्ण व्यक्तिलाई दिइने उपहारमा पनि हस्तकलाकै सामान पर्ने गरेका छन् । 
सरकारले पनि नेपाली उत्पादनलाई बढावा दिने उद्देश्यले सार्वजनिक खरिदमा १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाली हस्तकलाका सामान उत्पादनका लागि दक्ष कालिगढको अभाव छ । काष्ठकला, धातुकला, मूर्तिकला, पश्चिना, ऊन रेशम, कटन, अल्लो ढलोट, हातेकागज जस्ता समान विदेशमा मुख्य रूपमा निर्यात हुन्छन् । 
विदेशी बजार सरह नेपालमा पनि हस्तकलाका समानको खपत बर्सेनि बढ्दो छ । महासंघका अनुसार ७ सयभन्दा धेरै हस्तकलाका उद्योग दर्ता भएका छन् ।
सवा लाखद्वारा अवलोकन 
शुक्रबारदेखि राजधानीको भृकुटीमण्डमा सञ्चालित हस्तकला व्यापार मेलामा सोमबारसम्म १ लाख २० हजारले अवलोकन गरेका छन् । मेला मंगलबारसम्म सञ्चालन हुनेछ । वाणिज्य मन्त्रालय तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघले मेला आयोजना गरेको हो । 
मेलामा ७ वटा पेभिलियनसहित १ सय ७८ वटा स्टल छन् । अन्तरराष्ट्रिय जगतबाट बंगलादेश, पाकिस्तान, चीनको स्वाशासित क्षेत्र तिव्बत र भुटानका प्रदर्शनकर्ताले भाग लिएका छन् । 
व्यापार मेलाकै अवसरमा आयोजना भएको १२ औं हस्तकला प्रतियोगितामा यस पटक धातुपत्रकला र ऊनी बुनाई विधामा प्रतियोगीहरूले प्रदर्शनीस्थलमै बसेर आफ्नो कला प्रदर्शन गरिरहेका छन् ।

Tuesday, November 22, 2016

औद्योगिक व्यवसाय विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक व्यवसाय विधेयक, २०७३ लाई प्रमाणीकरण गरेकि छिन् । 
राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालका अनुसार व्यवस्थापिका–संसद्ले गत असोज १३ गते पारित गरेको सो ऐन मंगलबार प्रमाणीकरण गरेकि हुन् । 
नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको हो ।

अर्थतन्त्रका लागि अस्थिरताको दशक

नेपालमा शान्ति प्रक्रियाले औपचारिकता पाएको एक दशक पूरा भएको छ । एक दशकसम्म सशस्त्र द्वन्द्वमा होमिएको पक्ष राष्ट्रिय राजनीतिको मूलधारमा आउनु नै मुख्य उपलब्धि हो । नेपालको शान्ति प्रक्रियालाई अन्तरराष्ट्रिय बहुपक्षीय संस्थाहरूले पनि सराहना गरेका छन् ।
एसियाली विकास बैंक (एडीबी) ले हालै प्रकाशित गरेको ‘एसिया प्रशान्त क्षेत्रका जोखिमयुक्त तथा द्वन्द्वप्रभावित मुलुकहरूको मापन’ सम्बन्धी प्रतिवेदनमा नेपाललाई जोखिमयुक्त (फ्राजाइल) मुलुकको सूचीबाट झिकिएको छ । यसले पनि नेपालको शान्ति प्रक्रियाको सफलतालाई इंगित गर्छ ।
जनप्रतिनिधिद्वारा लेखिएको संविधान कार्यान्वयनमा आएको छ, तर पनि देश राजनीतिक संक्रमणकालमै रुमल्लिइरहेका कारण देशको आर्थिक विकास पूर्णतः प्रभावित भएको छ ।
एडीबीले नेपालको कमजोर संरचनागत र शासकीय क्षमता, प्रणालीमा रहेका समस्या, गत वर्षको भूकम्पको असरजस्ता कारणले यहाँको संक्रमणकाल दशकौं लम्बिन सक्ने चेतावनी दिएको छ । जतिजति संक्रमणकाल लम्बिँदै जान्छ, उति नै त्यसको प्रतिकूल प्रभाव अर्थव्यवस्थामा फैलँदै जान्छ ।
संक्रमणलकालको फाइदा उठाउँदै सीमित वर्ग र समूहले राज्यका स्रोतसाधनको आफूमा मात्रै निहित पार्दै जाने जोखिम एकातिर हुन्छ भने अर्कातिर कानुनको शासन बहाली नहुँदा तल्लो तहका नागरिकसम्म विकासका प्रतिफलहरू नपुग्ने, देशभित्र भ्रष्टाचार र अन्य आर्थिक अराजकता बढ्ने जोखिम पनि उत्तिकै कायम रहन्छ ।
यसको पछिल्लो उदाहरण– दुई वर्षअघि सांसदहरूले आफ्नो स्वविकेकीय आधारमा खर्च गर्न पाइने सांसद विकास कोष/निर्वाचन क्षेत्र विकास कोषको रकम ५ करोड पु¥याउन माग गरे ।
विभिन्न अध्ययनले त्यो कोषको रकम चरम दुरुपयोग भइरहेको प्रतिवेदन दिइरहँदासमेत सांसदहरूले त्यसको अनुपात ३ करोड ५० लाख पु¥याइछाडे । यो प्रकरण सेलाउन नपाउँदै भर्खरै मात्र सर्वसम्मतबाट सांसदहरूको तलब, भत्ता र अन्य सुविधा गरी मासिक १ लाख रुपैयाँबराबर पाउने गरी सेवासुविधामा वृद्धि गरिएको छ ।
यस हिसाबले अब सांसदको तलबसुविधामात्र मासिक ६ करोड रुपैयाँ छुट्याउनुपर्नेछ । यसअनुसार औसत नेपालीको वार्षिक प्रतिव्यक्ति आयभन्दा सांसदहरूको आय २१ गुणा बढी हुन आउँछ । अहिले औसत नेपालीको वार्षिक प्रतिव्यक्ति आय ७९ हजार ३ सय ७० रुपैयाँ छ ।
गुमेको दशक
नेपालको अर्थव्यवस्थाका लागि माओवादी सशस्त्र विद्रोहका एक दशक (०५२–०६२) गुमेको दशक नै साबित भयो । सशस्त्र द्वन्द्वका कारण करिब ३९ अर्ब रुपैयाँबराबरको भौतिक क्षति पुग्यो भने करिब ८ लाख मानिस विस्थापित भए ।
द्वन्द्वप्रभावित क्षेत्रमा कुनै पनि विकास आयोजना सञ्चालन नै हुन पाएनन् । त्यो अवधिमा करिब १ हजार ठूला तथा मझौला उद्योगहरू पूर्ण रूपमा बन्द हुन पुगे ।
सन् १९९५ देखि २००० का बीचमा औसत आर्थिक वृद्धिदर ४.६ रहेकोमा द्वन्द्व चरम उत्कर्षमा पुगेको २००० देखि २००५ का बीचमा ३.४ प्रतिशतमा खुम्चियो ।

कोलकाता बन्दरगाहमा हजारौं कन्टेनर अलपत्र

भारतको कोलकाता बन्दरगाहमा नेपाली व्यवसायीका हजारौं मालवाहक कन्टेनर रोकिएका छन् । जाम हुने समस्या देखाउँदै भारत कोलकाताका पुलिस कमिसनरले लोड भएका कन्टेनर बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म बजार क्षेत्र हुँदै निकाल्न नदिएपछि कन्टेनरहरु अलपत्र परेका हुन् । पटकपटकको अवरोधबाट ठूलो नोक्सानी बेहोरेका नेपाली आयातकर्ताहरु अहिले फेरि मारमा परेका छन् ।
विभिन्न देशबाट आयात गरिएका वस्तुहरु कोलकातामै अलपत्र परेपछि व्यवसायीहरुले यस वर्ष पनि ठूलो क्षती बेहोर्नु पर्ने देखिएको छ । गत वर्ष भारतको नाकाबन्दीले पनि यस्तै समस्या देखिएको थियो । वीरगञ्जको सुख्खा बन्दरगाहसम्म रेलमार्फत आउने मालवाहक कन्टेनर खाली गरेर समयमा पुर्‍याउन नसक्दा विलम्ब शूल्क तिर्न बाध्य भएका छन् । 
नेपाली उद्योगी व्यवसायीहरुले अहिले खाली कन्टेनर कोलकाता बन्दरगाहसम्म पु¥याईएका खाली कन्टेनरको पनि जरिवाना तिर्नु परिरहेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले बताए । 
उनका अनुसार कोलकाता बन्दरगाहमा मालवाहक कन्टेनरको जामले गर्दा खाली कन्टेनर समेत राख्ने ठाउँ छैन । सिपिङ कम्पनीहरुले पनि प्रति कन्टेनर एक सय रुपैयाँ अमेरिकी डलर सर्ट चार्ज बढाएको छ ।
कतिपय कन्टेनरहरु हल्दिया बन्दरगाहमा पनि लगेर राखिदिएको छ । बन्दरगाहभित्र यताउता गाडी चलाउने ठाउँ समेत नरहेकोले लोड अनलोड गर्न समेत समस्या भएको छ । कार्गो समेत अस्तब्यस्त रहेको केडियाको भनाई छ । 
कोलकातास्थित नेपाली वाणिज्य दूतावासले समेत समस्या समाधानको लागि पहल गरिरहेको छ । तर, कुनै उपलब्धी भने भएको छैन । अध्यक्ष केडियाले भने, “वाणिज्य दूतावासबाट पहल भईरहेको छ । तर, समस्या समाधान हुन सकिरहेको छैन । 
यो समस्या धेरै दिन रहे गतवर्ष मधेस आन्दोलनमा नेपाली व्यावसायीहरुले बेहोर्नु परेको नोक्सानी भन्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था छ,” उनले अगाडि भने, “यसलाई नेपाल सरकारले भारतको केन्द्रीय सरकारसँग कुटनीतिक रुपमा वार्ता गरेर राज्य सरकारलाई दबाव दिनुपर्छ ।” होईन भने स्थिति भयावह नै हुन्छ । 
केडियाका अनुसार २ हजार मालवाहक कन्टेनरहरु कोलकाता बन्दरगाहमा रोकिएका छन् । नेपाल आउने मालवाहक कन्टेनर मात्र नभै भारतकै विभिन्न स्थानमा जाने कन्टेनरहरु समेत जामका कारण रोकिएका छन् । खाली कन्टेनरहरु समेत असंख्य रहेको अध्यक्ष केडियाको भनाई छ । 
अहिले पुलिस कमिसनरले लोड भएका कन्टेनरहरु दिउँसो १२ बजेदेखि ४ बजेसम्म र कहिले १ बजेदेखि ४ बजेसम्म मात्र निकाल्न नपाउने भनिए पनि त्यो अवधिको समेत कुनै यकिन छैन । बन्दरगाह प्राधिकरणलाई दबाब दिएर भए पनि यो समस्या चाँडै समाधान गर्नुपर्ने  नेपाली आयातकर्ता बताउँछन् ।

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...