Friday, May 25, 2012

पूर्वाधार विकासको खर्च सेजमा

थप चार स्थानमा सेज स्थापना गर्न अध्ययन

निरु अर्याल
काठमाडौं, ११ जेठ- उद्योग मन्त्रालयले थप चार विशेष आर्थिक क्षेत्र (सेज) निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ । औद्योगिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आएको बजेटलाई कार्यान्वयन गर्न भन्दै मन्त्रालयले गोरखा, रौतहट, धनुषा र सिराहामा विशेष आर्थिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । यसअघि स्थापना गर्ने निर्णय भएका नौवटा सेजको निर्माण पूरा नहुँदै मन्त्रालयले नयाँ अध्ययन सुरु गरेको हो ।
सरकारले औद्योगिक पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको रकम सेज परियोजनामा दिन नमिल्ने भएपछि थप चार ठाउँको सम्भाव्यता अध्ययन गरिएको मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले बताइन् । उनका अनुसार सरकारले चालू आवको बजेटमा औद्योगिक पूर्वाधार विकास कार्यक्रम शीर्षकमा ६० लाख रकम छुट्याएको थियो । त्यही रकमलाई उपयोग गर्नका लागि मन्त्रालयले संभाव्यता अध्ययन सुरु गरेको मन्त्रालयले जनाएको छ ।
“पूर्वाधार विकास कार्यक्रममा आएको रकम आयोजनामा दिन मिल्दैन,” खतिवडाले भनिन्, “रकम सदुपयोग गर्न मन्त्रालयले नै सम्भाव्यता अध्ययनको काम सुरु गरेको हो ।”
रकमलाई मन्त्रालयले पूर्वाधार विकास कार्यक्रममा खर्च गर्नुपर्ने भएकाले नयाँ विशेष आर्थिक क्षेत्रको सम्भाव्यतामा खर्च गर्न खोजेको मन्त्रालयले जनाएको छ । यो रकम औद्योगिक क्षेत्रको पूर्वाधार बिजुली र सडक विस्तारमा शीर्षकमा खर्चका लागि विनियोजन गरिएको थियो ।
स्रोतका अनुसार मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन नै नगरी गोरखा, रौतहट र सिराहाको सम्भाव्यता अध्ययन सुरु गरेको हो । यसअघि पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रहेको बजेटले पूर्वसम्भाव्यता अध्ययन भइसकेको धनुषा झापामा सम्भाव्यता अध्ययन गर्ने र सिराहाको पूर्वसम्भाव्यता अध्ययन गर्ने  कार्यक्रम तय भएको थियो ।
गोरखा र रौतहट जिल्ला विशेष आर्थिक क्षेत्र सम्भाव्यता अध्ययनका लागि पछि थपिएका जिल्ला हुन् । यी सबै ठाउँमा मूल्यांकनको कार्यक्रम भइरहेको जानकारी दिँदै खतिवडाले मन्त्रालयले सम्भाव्यता अध्ययनपछि अन्य सबै कामको जिम्मा आयोजनालाई दिइने बताइन् । सरकारले यसअघि नै सुरु गरेको भैरहवा र सिमराको विशेष आर्थिक क्षेत्रको निर्माण काम १० वर्ष पुग्दासमेत पूरा हुन सकेको छैन ।
यी बाहेकका पाँचखाल, धनगढी, विराटनगर कपिलवस्तु र जुम्लामा सम्भाव्यताको (फिजिबिलिटी) काम यसै वर्ष सकिने भनिए पनि प्राविधिक समस्याले कतिपय ठाउँको सम्भाव्यता अध्ययनको काम ओझेलमा परेको सेज आयोजना प्रमुख देवीनाथ सुवेदीले बताए ।
सरकारले सेजमार्फत निकासीजन्य वस्तुहरूको उत्पादनलाई प्रतिस्पर्धात्मक क्षमताबाट विस्तार गर्ने र विदेशी मुद्रा आर्जन गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले सेज निर्माणको अवधारणा ल्याएको हो ।
जसका लागि ०५६/०५७ देखि बजेट विनियोजन गरे पनि ६० सालमा सेजको आवधारणालाई कार्यान्वयन गर्न उद्योग मन्त्रालयको संयोजकत्वमा सेजको गठन गरेको थियो । “५ ठाउँको सम्भाव्यताको अध्ययन कार्य यसैवर्ष सकिने अन्तिम  चरणमा छ,” सुवेदीले भने ।  नुवाकोट धनुषा र नेपालगन्जको पूर्वसम्भाव्यताको अध्ययन सक्ने योजना छ ।”
भैरहवा र सिमराको निर्माण कार्य गत आव भित्रै सकिनुपर्ने  भनिए पनि  ती ठाउँको निर्माण कार्य पूरा नहुँदै  नुवाकोट, पाँचखाल, झापामा पूर्वसम्भाव्यता भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी धनगढी, जुम्ला, कपिलवस्तु र विराटनगरमा पनि विशेष आर्थिक क्षेत्रको सम्भाव्यता अध्ययन भइरहको मन्त्रालयले जानकारी दिएको छ । सुवेदीले भने, “जुम्लाको सम्भाव्यता अध्ययनको रिर्पोेट आइसकेको छ, अन्य ठाउँबाट पनि ड्राफ्ट आउने अन्तिम तयारीमा छ ।”

Thursday, May 24, 2012

हस्तकला निर्यात ४० प्रतिशत बढ्यो

निरु अर्याल
काठमाडौं, १० जेठ- चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म हस्तकला निर्यात ४० प्रतिशत बढेको छ । नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार यो अवधिमा २ अर्ब  ९६ करोड ७३ को हस्तकला सामान निर्यात भएको छ ।
गत वर्षको सोही अवधिमा २ अर्ब ११ करोड ३१ लाख रुपैयाँबराबरको सामान निर्यात भएको महासंघका महानिर्देशक दिलीप खनालले जानकारी दिए । नेपाली हस्तकलाका सामानको अमेरिका तथा युरोपियन मुलुकमा माग बढेकाले निर्यातमा सुधार आएको हो ।
यो अवधिमा अमेरिकामा ८६ करोड रुपैयाँको हस्तकलाका सामान निर्यात भएको छ । निर्यात बढी हुने दोस्रो मुलुकमा जर्मनी छ । जर्मनीमा २६ करोडको हस्तकलाका सामान निर्यात भएका छन् । नेपालबाट विभिन्न डिजाइनमा तयार गरिएका ४२ प्रकारका हस्तकलाका समान ८२ मुलुकमा निर्यात हुन्छ । अन्तर्राष्ट्रिय रूपमा हुने व्यापार मेलामा नेपाली हस्तकलाका सामान आकर्षक रोजाइमा पर्ने गरेकाले निर्यात बढेको व्यवसायी बताउँछन् । पछिल्लो समय नेपाली मुद्राको तुलनामा डलरको मूल्य बढेकाले पनि व्यसायीलाई फाइदा भएको छ ।
महासंघका अनुसार यो अवधिमा टेक्सटाइलतर्फ १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँबराबरका वस्तु निर्यात भएका छन् । यो गत वर्षको तुलनामा ३९.४३ प्रतिशतले बढी हो ।
गत वर्षको सोही अबधिमा ९७ करोड ४३ लाख रुपैयाँका वस्तु निर्यात भएका थिए । टेक्सटाइलअन्तर्गत पस्मिना, ऊनी, फेल्ट, सिल्क, कटन, अल्लो, ढाका, हेम्पलगायतका रेसाबाट बनाइने वस्तुहरू पर्छन् । महानिर्देशक खनालले विगतमा नयाँ डिजाइनमा गरिएको मेहनत, लगाव, अन्तर्राष्ट्रिय डलरको उतार चढाबले गर्दा हस्तकलाको निर्यातमा सकारात्मक प्रभाव परेको बताए । महासंघका अनुसार यो अवधिमा टेक्सटाइल बाहेकका अन्य वस्तुको निर्यात १ अर्ब १३ करोड ८७ लाख रुपैयाँबाट बढेर १ अर्ब ६० करोड ८८ लाख पुगेको छ । यो रकम गत वर्षभन्दा ४१.२८ प्रतिशतले बढी हो । रेशादार वस्तुबाहेक चाँदीका गरगहना, धातुजन्य वस्तु, हातेकागज, प्लास्टिकका सामान, पौवा, बाँस, ढुंगाका मूर्तिलगायतका सामान निर्यात हुने गरेका छन् ।
खनालले गत वर्षभन्दा यो वर्ष हस्तकलाको निर्यातमा केही सकारात्मक संकेत देखिएको बताए । उनले भने, “पछिल्लो नौ महिनामा टेक्साटाइलतर्फ ३९.४३ र टेक्सटाइल बाहेकका वस्तुको निर्यातमा ४१.२८ प्रतिशतले  बढेको छ ” ।
चालू आवको ९ महिनासम्म नेपालबाट उलन, फेल्टका वस्तु सिल्क, अल्लो, धातुका सामान, ढाकालगायतका वस्तुहरू निर्यात हुने मुख्य वस्तुको सूचीमा परेका छन् । मूर्ति पौवा, हातकागजजन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा अत्याधिक रुचाइने र ती वस्तुुको माग उच्च रहेको महासंघले जनाएको छ ।  “अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकला जन्य वस्तुको उच्च मागले गर्दा नेपाली वस्तुको निर्यात बढेको हो,” खनालले भने । उनका अनुसार समीक्षा अवधिमा धातुजन्य वस्तु, काँचका वस्तु तथा पौवा, थान्का हातेकागजका लगायतका वस्तुको निर्यातमा समेत उच्च वृद्धि भएको छ  । पछिल्लो समयमा विदेशीहरूले समेत नेपाली हस्तकलाको क्षेत्रमा विशेष ध्यान दिन थालेको जानकारी दिँदै खनालले हस्तकलाका सामान डिजाइनमा गरिएको अथक मिहेनतले गर्दा नेपाली वस्तुको निर्यातमा वृद्धि भएको बताए ।
नेपाली हस्तकलाको सम्भावनालाई मध्यनजर गर्दै  चालू आवमा ५० प्रतिशत वृद्धि गर्ने लक्ष लिइको जानकारी दिँदै उनले भने हस्तकलाको निर्यात बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय वस्तुसँग प्रतिस्पर्धा गर्नु हो खनालले भने, “विगतका वर्षहरूमा भन्दा यसपटक यो वर्ष ५० प्रतिशतसम्म बढाउने लक्ष्य  लिएका छांै ।”
नेपाली उद्यमी व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुलाई प्रतिस्पर्धी बनाउन महासंघले विभिन्न देशका विज्ञहरूलाई बोलाएर तालिमहरू दिने गरेको जानारी दिँदै खनालले विभिन्न विज्ञहरूको सहयोगमा महासंघले निर्यातजन्य वस्तुलाई विशेष ध्यान दिएका बताए । सरकारले एक वर्षअघि सार्वजनिक गरेको व्यापार एकीकृत रणनीति २०१० (एनटीआईएस) मा निर्यात व्यापारमा नेपाललाई फाइदा हुने १९ प्रकारका वस्तु समावेश गरेको थियो । यसैअनुरूप महासंघले  निर्यातको प्रमुख सम्भवना भएका वस्तुलाई विशेष प्रोत्साहन दिन थालेको हो  उनले भने,  “पछिल्लो समयमा भ्यालु प्रोडक्टमा धेरै फोकस गरेका छौं, यसबाट व्यवसायी तथा हाम्रो मुलुकलाई तुलनात्मक लाभ हुन्छ । ”
निर्यात हुने मुख्य मुलुक    निर्यात रकम (रु. करोडमा)
अमेरिका                            ८६   
जर्मनी                                २६   
तिब्बत                               २४   
जापान                               २१   
नेदरल्यान्ड                         १९    

Wednesday, May 23, 2012

औद्योगिकबाहेक उद्योग एक महिनाभित्र हटाइने

औद्योगिक क्षेत्रमा सेवाप्रदायक उद्योग धेरै
निरु अर्याल
काठमाडौं, ९ जेठ
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको सेवा प्रदायक उद्योगलाई हटाउने भन्दै आन्तरिक परामर्श सुरु गरेको छ ।
औद्योगिक क्षेत्रमा उत्पादनशील उद्योगभन्दा व्यापारिक कम्पनीहरू धेरै भएको गुनासाहरू आउन थालेपछि लिमिटेडले यस्ता कम्पनीहरूलाई हटाउने सम्बन्धमा आन्तरिक गृहकार्य सुरु गरेको हो ।
“व्यापारिक उद्योगलाई राख्न दिएको भन्दै धेरै साथीहरूबाट गुनासा आएका छन् यी उद्योगलाई राख्न दिने वा हटाउने विषयमा आन्तरिक गृहकार्यमा छौं,” औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक गौतममान श्रेष्ठले कारोबारसँग भने ।
उनका अनुसार लिमिटेडले उद्योगी व्यवसायीका साथै अन्य सरोकारवाला संघसंस्थाहरूसँग छलफल गरेर यो विषयमा एक महिनाभित्र अन्तिम टुंगो लगाउनेछ ।
औद्योगिक क्षेत्रभित्र उत्पादनमूलक उद्योग मात्र स्थापना गर्ने भनिए पनि केही वर्षयता अटोमोबाइल्सका सोरुम, रेकर्डिक स्टुडियो, कोल्ड स्टोरेज कम्पनी तथा सेक्युरिटिजी कम्पनी (ग्रुप फोर) लगायत सेवा प्रदायक कम्पनी र बहुराष्ट्रिय कम्पनीका सम्पर्क कार्यालय छन् ।
औद्योगिक क्षेत्रको प्रावधानअनुसार यस्ता कम्पनीहरू औद्योगिक क्षेत्र परिसरमा राख्न पाइँदैन । श्रेष्ठले भने, “औद्योगिक क्षेत्रभित्र व्यावसायिक उद्योग राख्न पाइँदैन धेरै उद्योगले उत्पादन गर्ने निहुँमा यस्ता उद्योग राखेका छन् ।” औद्योगिक क्षेत्र स्थापनाको समयमा व्यवस्थापन बोर्डले औद्योगिक क्षेत्रभित्र हल्का पेयपदार्थ, मैदा, बिस्कुट, निर्माण सामग्री, दुग्ध पदार्थलगायतका उद्योगहरू स्थापना गर्न पाउने व्यवस्था गरेको थियो ।
आइसक्रिमको उत्पादन, रबर उद्योग, पशुपन्छी दाना, प्लास्टिकका सामान, फुटवेयरजस्ता उत्पादनमूलक उद्योग चलाउन पाउने गरी औद्योगिक क्षेत्रको स्थापना भएको थियो । महाप्रबन्धक श्रेष्ठले मुलुकलाई  औद्योगिकीकरणको माध्यमबाट देशको आर्थिक विकास गर्न मोटर मर्मत, इन्जिनियरिङ ल्याबजस्ता तालिम केन्द्रहरू स्थापना गर्न दिने व्यवस्था गरिएकाले ठूला र बहुराष्ट्रिय कम्पनीहरूले सम्पर्क कार्यालयको स्थापना गरेको बताए ।
बालाजु औद्योगिक क्षेत्रमा विश्वमा लोकप्रिय मानिएको निसान महिन्द्राजस्ता गाडीका सोरुम स्थापना भएका छन् । यस्ता सोरुमले हालसम्म उत्पादनमूलक उद्योग सरहको सेवा सुविधा उपभोग गर्दै आएका छन् ।
बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले केही महिना अघिसम्म सो क्षेत्रमा म्यानपावर कम्पनीलाई अनुमति दिए पनि व्यवसायी र स्थानीयको विरोधले म्यानपावर कम्पनीलाई परिसरबाट हटाइएको थियो । दैनिक लाखौंको व्यापार गर्ने गाडीका सोरुम, संगीत उद्योग, मोबाइल सोरुम, कोल्डस्टोरेज लगायतलाई हटाउन सकिएको छैन ।
सरकारले औद्योगिकीकरणको विकासका लागि औद्योगिक क्षेत्रभित्र रहने उत्पादनमूलक उद्योगलाई विशेष सुविधा दिँदै आएको छ । उत्पादनमूलक उद्योगको नाममा व्यावसायिक वा व्यापारिक कम्पनीले सुविधा लिँदा उत्पादनमूलक उद्योगले पाउने सुविधा कटौती भएको व्यवसायीको गुनासो छ ।
सरकारले औद्योगिक क्षेत्रभित्र स्थापना भएका उद्योगलाई आवश्यक भौतिक पूर्वाधार, विकसित जमिन, भवन, बिजुली, पानी, सडक ढलका साथै हुलाक, गोदाम, दिवा शिशु स्याहार केन्द्र, खेलकुद गृहजस्ता सेवाहरू दिँदै आएको छ ।
औद्योगिक क्षेत्रमा अहिले ८८ वटा उद्योग सञ्चालनमा छन् । व्यवस्थापन कार्यालयले दिएको जानकारीअनुसार २४ वटा उद्योग निर्माणाधीन अवस्थामा छन् । ११ वटा उद्योग उत्पादन हुन नसकेर बन्द भएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार यो क्षेत्रभित्र १० वटा सेवामूलक उद्योग छन् ।
औद्योगिकीकरणको माध्यमबाट देशको आर्थिक विकास गर्न निजी क्षेत्रको भूमिकालाई उद्योग धन्दामा रूपान्तरण गर्न नेपाल सरकारले अमेरिकी सरकार युरोपियन सहयोग नियोगको सहयोगमा २०१६ सालमा यस क्षेत्रको स्थापना भएको हो । ६ सय ७० रोपनी जमिनमा फैलिएको बालाजु औद्योगिक क्षेत्र नेपालमा स्थापित ११ वटा औद्योगिक क्षेत्रमध्येको पुरानो औद्योगिक क्षेत्र हो ।

Tuesday, May 22, 2012

एकदिनमा ५० करोड घाटा

बन्दले औद्योगिक क्षेत्रको उत्पादन ठप्प
निरु अर्याल
काठमाडौं, ८ जेठ- सरकारले औद्योगिक क्षेत्रलाई ‘शान्ति क्षेत्र’ घोषणा गरे पनि लगातारको बन्दले उत्पादन ठप्प छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार मुलुकरभर सञ्चालनमा रहेका १० औद्योगिक क्षेत्रमा एकदिनको बन्दले ५० करोडभन्दा बढीे घाटा हुन्छ ।
औद्योगिक क्षेत्रमा विभिन्न खाद्य सामग्री, प्लास्टिकका सामान, लत्ताकपडा, सिमेन्ट रड, साबुन, पेयपदार्थलगायत दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीका उद्योग छन् ।
सरकारले गत वर्षमात्रै औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरी बन्द–हड्तालका कार्यक्रमबाट अलग राख्ने बताएको थियो । बन्द संस्कृतिले प्रश्रय पाउँदै गएपछि औद्योगिक क्षेत्रभित्र राखिएका उद्योगसमेत प्रभावित भएको लिमिटेडका महाप्रबन्धक गौतममान श्रेष्ठले बताए ।
लिमिटेडका अनुसार राजधानीस्थित तीन औद्योगिक क्षेत्रका उद्योगसमेत बन्द छन् । राजधानीबाहिरका औद्योगिक क्षेत्रमा समेत चन्दा आतंक र लुटपाटजस्ता समस्याले उद्योग बन्द भएका छन् । बन्दकर्ताको पहिलो निसानामा उद्योग पर्ने गरेको श्रेष्ठले बताए ।
“औद्योगिक क्षेत्र खम्बा हुन् तर बन्दकर्ताको पहिलो निसानामा यातायातका साधनपछि उद्योगधन्दा र कलकारखाना पर्ने गरेका छन्,” उनले भने । लिमिटेडले जोखिमलाई ध्यान दिँदै औद्योगिक क्षेत्रभित्रका उद्योग स्वविवेकमा चलाउन उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ ।
कच्चा पदार्थको अभाव, बजार र श्रमसमस्याले औद्योगिक क्षेत्रका उद्योग समस्यामा परेको श्रेष्ठले बताए । मुलकभर स्थापना भएका ११ औद्योगिक क्षेत्रभित्रका उद्योग–व्यवसायमा १३ अर्ब निजी र २० करोड सरकारी लगानी छ । “१० वटै औद्योगिक क्षेत्रमा ४ सय ९ वटा उद्योग स्थापना भएका छन्, बन्दले गर्दा सबैको उत्पादन ठप्प छ ।”
बालाजु औद्योगिक क्षेत्रमा सञ्चालित हिसी पोलिथिन इन्डस्ट्रिजका सञ्चालक शरद शर्माले एक ठाउँमा मात्रै बन्द भएमा त्यसको प्रत्यक्ष असर उद्योगधन्दालाई पर्ने बताए । “मुलुकको कुनै एक नाका वा ठाउँमा मात्रै बन्द भयो भने पनि दैनिक उत्पादन ५० प्रतिशत कटौती हुन्छ, लगातारको बन्दले हामी मर्माहित भएका छौं,” उनले भने ।
एकदिनको बन्दले ६० हजार रुपैयाँ ब्याजभार थपिने शर्माले बताए । “उद्योग चलाउँदा आन्दोलनकारी नै आएर कारखानामा ढुंगामुढा गर्छन्,” उनले भने, “त्यसको क्षतिपूर्ति कसले दिन्छ ?”
औद्योगिक क्षेत्रको सुरक्षा र सञ्चालनमा सरकारले ध्यान नदिएको गुनासो शर्माको छ । “उद्योग चलाउन बिजुली, पानी, कच्चा पदार्थ र औद्योगिक वातावरण चाहिन्छ, सरकारले कुनै क्षेत्रमा ध्यान दिएको छैन,” उनले भने ।
बन्दले मोटर आयात, चुरोट, बियर उत्पादनमा पनि असर परेको छ । यसबाट गत साता सरकारको अन्तःशुल्क समेत घटेको अर्थमन्त्रालयले जनाएको छ ।

Thursday, May 17, 2012

२ अर्ब लगानी जोखिममा

विकास निर्माण नहुँदा इँटा उद्योगमा समस्या
 निरु अर्याल
काठमाडौं, ३ जेठ- बजारीकरण र श्रम समस्याका कारणले मुलुकभर सञ्चालनमा रहेका २ सय इँटा उद्योग बन्द हँुदा करिब एक अर्ब लगानी डुबेको छ ।
राजनीतिक अस्थिरताका कारण विकास निर्माणका काम ठप्प भएपछि इँटा उद्योगमा गरिएको थप दुई अर्ब लगानी जोखिममा रहेको नेपाल इँटा उद्योग महासंघले जनाएको छ ।
महासंघका अनुसार चालू आवको चैत मसान्तसम्म देशभरका दुई सय इँटा उद्योग बन्द भएका छन् । यी उद्योगबाट एक अर्बबराबरको लगानी नोक्सान भएको महसघंका अध्यक्ष महेन्द्र चित्रकारले कारोबारलाई जानकारी दिए । उनका अनुसार विकास निर्माणका काममा भएको अन्योलता र राजनीतिक बन्द हड्तालले गर्दा अन्य पाँच सय उद्योगमा गरिएको साढे २ अर्ब लगानीसमेत जोखिममा परेको छ ।
“निर्माणका काम ठप्प भएपछि इँटाको बजारीकरण साँघुरिँदै गएको छ, अध्यक्ष चित्रकारले भने चैतसम्ममा दुई सय उद्योग खुल्न नसक्ने गरी बन्द भएका छन् ।” “यस्तै हो भने नेपालमा इँटा उद्योगको भविष्य अन्योलमा छ,” उनले भने । पछिल्लो समयमा राजनीतिक अस्थिरता र बन्द र हड्तालले गर्दा भएका उद्योगको व्यापार पनि ठप्प भएको उनको भनाइ छ ।
“उत्पादन गरिएका इँटाको व्यापार छैन, अध्यक्ष चित्रकारले भने लगानी थप गर्ने अवस्था व्यवसायीसँग छैन ।” उनले केही महिनायता विकास निर्माणका काम नभएकाले इँटाको व्यापार नै ठप्प भएको बताए । “कत्ति उद्योग त बजारकै कारणले बन्द भएका छन् चलेका उद्योगका पनि उस्तै समस्या छ,” उनले भने ।
निर्माणका काममा आएको मन्दी नै बजारीकरणको मुख्य समस्या भएको बताउँदै चित्रकारले माघ महिनादेखि कुल क्षमताको २० प्रतिशतसम्म बजारीकरण गरेको बताए  । केही समययता राजनीतिक अस्थिरता, बन्द र हड्तालसँगै मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेकाले विकास निर्माणका काम हुन सकेका छैनन् । चित्रकारले भने, “विकास निर्माणका काम ठप्प छन् त्यसको प्रत्यक्ष असर हामी व्यवसायीलाई परेको छ ।” नेपालमा हालसम्म ३५ जिल्लामा सात सय इँटा उद्योग सञ्चालनमा छन् । जसमध्ये उपत्यका लगायतका बारा, पर्सा, रौतहट, नवलपरासी, कपिलवस्तु दमौली लगायतका ठाउँका अधिकांश उद्योगहरू बन्द भएको महासंघले जनाएको छ । महासंघका अनुसार मंसिरदेखि जेठसम्मको समय इँटा उत्पादन र बजारका लागि उत्तम समय मानिन्छ । इँटा व्यवसाय मौसमी खेती जस्तै हुने गरेको र सो समयमा लगानीको प्रत्याभूति गर्न नसके व्यवसाय जोखिममा रहने व्यवसायीहरू बताउँछन् ।
पछिल्लो राजनीतिक कारणले केही दिनयता हुने गरेको बन्दले गर्दा कोइलाको अभावले गर्दा सञ्चालनको क्षमता भएका उद्योग  ठप्प भएको  इँटा व्यवसायी सत्य नारायण प्रजापतिले  बताए । उनका अनुसार नेपालमा इँटा उत्पादनका लागि चाहिने कोइला भारतको आसामबाट आयात गर्नुपर्छ ।
“जातीयताको नाममा दैनिकजसो हुने बन्दले कोइला आउन सकेको छैन उनले भने यसको प्रत्यक्ष असर हामी व्यवसायीलाई परेको छ ।” उनका अनुसार सामान्य अवस्थामा इँटा उद्योग सञ्चालन गर्न ५० लाख रुपैयाँ आवश्यक पर्छ । ठूलो लगानीको आवश्यकता पर्ने र खुला आकाशमुनी उद्योग सञ्चालन गर्नुपर्ने बाध्यताले गर्दा इँटा व्यवसायी दोहोरो मारमा परेको उनले बताए ।

Monday, May 14, 2012

भाडा बढाएकोमा व्यवसायीको विरोध

 निरु अर्याल
काठमाडौं, ३१ वैशाख- 
सञ्चालित औद्योगिक क्षेत्र १०

  • लगानी १३ अर्ब निजी, २० करोड सरकारी
  •  ५१२८ रोपनी जग्गा भाडामा
  •   प्रतिवर्ष आम्दानी ३ करोड
  •   रोपनीको वार्षिक ३० हजार भाडा प्रस्ताव

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चालू भाडादर बढाउने प्रस्ताव गरेपछि उद्योगी व्यवसायीले यसको आपत्ति जनाएका छन् ।
प्रत्येक वर्ष लिमिटेडले भाडामा वृद्धि गर्दै जाने तर सुविधा कटौती गर्ने भन्दै व्यवसायीले असन्तुष्टि जनाएका हुन् । लिमिटेडले २०५४ साल यता भाडा नबढाएको जनाएको छ ।  औद्योगिक क्षेत्रमा निर्माण भएका पूर्वाधार मर्मतका लागि तत्काल ६० करोड रुपैयाँ चाहिने र भाडा बढाउनुबाहेक अन्य आयस्रोत नभएकाले भाडा बढाउन लागिएको महाप्रबन्धक गौतममान श्रेष्ठले बताए ।
लिमिटेडले बढाउने तयारी गरे पनि व्यवसायीको विरोधले कुनै टुंगो नलागेको श्रेष्ठले बताए । लिमिटेडका अनुसार बालाजु औद्योगिक क्षेत्रमा एक रोपनी जग्गाको मासिक भाडा दर ४ सय रुपैयाँ मात्र छ । राजधानीकै पाटन र भक्तपुर औद्योगिक क्षेत्रमा एक रोपनीको भाडादर २ सय ८० रुपैयाँ छ । यीबाहेक हेटौंडा, धरान, बुटवल, पोखरा, वीरेन्द्रनगर नेपालगन्ज र  गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा प्रति रोपनी २ सय ११ रुपैयाँ भाडा व्यवसायीले तिरिरहेका छन् । लिमिटेडले चालू भाडादरमा केही वृद्धि गरी  मर्मतसम्हार गर्न लागेको श्रेष्ठले जानकारी दिए । व्यवस्थापन लिमिटेडले अहिलेको मूल्यले औद्योगिक पूर्वाधारका विषयमा कुनै काम गर्न नसक्ने भएपछि भाडा बढाउने तयारी गरेको हो ।
“व्यवसायी भाडा बढाउने विषयमा सहमत छैनन्, औद्योगिक पूर्वाधारको मर्मतसंहारका लागि भाडा बढाउनुको विकल्प छैन,” उनले भने ।  
मुलुकभर सञ्चालनमा आएका १० औद्योगिक क्षेत्रमा १३ अर्ब निजी लगानी र २० करोड रुपैयाँ सरकारी लगानी छ । भाडामा दिएको कुल ५ हजार १ सय २८ रोपनी जमिनबाट ३ करोड रुपैयाँ आम्दानी हुने गरेको छ ।
श्रेष्ठले भने, “हाम्रो अहिलेको आम्दानी जमिनबाट १ करोड र औद्योगिक भवनबाट दुई करोड मात्र छ, यसले कर्मचारीको तलब र कार्यालय सञ्चादन गर्न पनि गाह्रो छ । ”
“रकम नभएकै कारण औद्योगिक क्षेत्रले दिने भनिएको सेबा सुविधा पनि दिन सकेको छैन,” उनले भने, “व्यवसायीले सेवा सुविधा खोज्ने तर भाडा बढाउन नमान्नु उचित होइन । ”
बजेट अभावकै कारण केही समययता औद्योगिक परिसर भित्रका भवनको मर्मत सम्हार गर्न नसकिएको बताउँदै उनले बिजुली, पानी, सडक, फोहोरमैलाको व्यवस्थापन गर्न नसकेको जानकारी दिए । व्यवसायीले भने चौतर्फी समस्यामा पार्ने गरी मनपरी रूपमा भाडा बढाउन लागेको गुनासो गरेका छन् । लिमिटेडले ०५४ सालमा त्यतिबेलाको भाडादरअनुसार अहिले पनि भाडा लिइरहेको छ ।
औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले भने, “सामान्य अवस्थामा भाडा बढाउनु नराम्रो होइन तर लिमिटेडले प्रस्ताव गरेको भाडादर बढाउन हामी तयार छैनौं ।” उनका अनुसार लिमिटेडले हालको भाडादरलाई ८ सय प्रतिशत बढाउने प्रस्ताव गरेको छ । लिमिटेडलले उपत्यकाका पाटन र भक्तपुर औद्योगिक क्षेत्रमा प्रतिरोपनी वार्षिक ३० हजार भाडा लिने प्रस्ताव अघि सारेको छ । “यो रकम हाल चालू रकमभन्दा करिब ८ सय प्रतिशत हुन आउँछ,” प्रधानले भने । श्रेष्ठले भने रकम न्यून भएकाले व्यवसायीले प्रतिशतमा हिसाब गर्दा धेरै देखिएको बताए । “हामीले लिने रकम न्यून भएकाले त्यसलाई समय अनुकूल बढाउनु अन्याय होइन, व्यवसायीसँग पुनः छलफल अघि बढाउने छौं,” महाप्रबन्धक श्रेष्ठले भने ।
कुल ५ हजार १ सय २८ रोपनीको जमिनमा मुलुकभरका ४ सय ९ वटा उद्योग स्थापना भएका छन् । राजविराज बाहेकका ९ वटा औद्योगिक क्षेत्रमा ८० वटा उद्योग निर्माणाधीन र ७२ वटा उद्योग बन्द भएको व्यवस्थापन लिमिटेडले जानकारी दियो । लिमिटेडका अनुसार औद्योगिक क्षेत्र परिसरभित्र सरकारी वा अन्य कार्यालय, हुलाक, दिवा सिसु स्याहार केन्द्र चिकित्सालय, चमेनागृह, विभिन्न संघसंस्था गरी ३४ वटा अन्य निकाय पनि स्थापना भएका छन् । जसबाट ११ हजार १ सय ९ जनाले रोजगार पाएका छन् ।

Sunday, May 13, 2012

स्वामित्व विवादले औद्योगिक क्षेत्रका भवन जीर्ण


  • लिमिटेड भन्छ : मर्मत सम्हार गर्ने पैसा छैन
  • उद्योगी भन्छन्  : मर्मत सम्हार गर्ने जिम्मा लिमिटेडको हो
निरु अर्याल
काठमाडौं, २८ वैशाख- स्वामित्व विवादले मर्मत सम्हार हुन नसकेर औद्योगिक क्षेत्रभित्रका दुई सय सरकारी भवन जीर्ण बन्दै गएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र औद्योगिक क्षेत्रभित्रका उद्योगी व्यवसायीबीच हुने गरेको आन्तरिक किचलोले औद्योगिक क्षेत्रभित्रका भवनको मर्मत सम्हार ठप्प भएको हो ।
केही समययता औद्योगिक परिसरभित्रका भवनबाट पानी चुहिने, मेसिनमा बाधा पु¥याउने, सडक छेउको बाटोमा पानी जम्ने, फोहोरमैलाको उचित व्यवस्थापन नहँुदा समस्या बढ्दै गएको छ । मुलुकभर सञ्चालनमा रहेका १० औद्योगिक क्षेत्रमा १ सय ९५ सरकारी भवन । यी सबै भवन निजी उद्योगी व्यवसायीलाई भाडामा दिइएको छ ।
लिमिटेडले भवनको स्वामित्व मात्रै दिने र व्यवसायीले जमिन पनि पाउनुपर्ने माग राखेपछि व्यवसायी र लिमिटेडबीच स्वामित्वको विवाद बढेको हो । 
लिमिटेडले औद्योगिक क्षेत्रभित्र स्थापित उद्योगलाई विकसित जमिन, भवन, विद्युत्, पानी, सडक, ढल, तथा अन्य पूर्वाधारहरू उपलब्ध गराउने र तीनको रेखदेख नियन्त्रण, मर्मत, सम्हार गर्ने जिम्मा लिएको छ ।
पुराना भवनको मर्मत हुन नसक्नुको मुख्य कारण स्वामित्व विवाद भएको औद्योगिक क्षेत्र उद्योग महासंघले जनाएको छ । उद्योगको क्षमता विस्तार गर्ने, भवन मर्मतका लागि पुँजी जुटाउने, सडक मर्मत, पानीको समस्या बढ्दै गएको औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बताए ।
“स्वामित्व विवादले मर्मत ठप्प छ,” प्रधानले कारोबारसँग भने, “यसले औद्योगिक भवन जीर्ण बन्दै गएका छन् ।” उनका अनुसार औद्योगिक क्षेत्रमा १ सय ९५ वटा औद्योगिक भवन सरकारी लगानीमा बनेका छन् । यसको मर्मतसम्हार सरकारले नै गर्ने भनिएको छ । लिमिटेडले बजेट नभएकाले मर्मत गर्न नसकेको जनाएको छ । औद्योगिक भवनको मर्मतमा  संवेदनशील भएको बताउँदै व्यवस्थापन लिमिटेडका महाप्रबन्धक गौतममान श्रेष्ठले आवश्यकताअनुसार मर्मत गर्न नसकेर स्वामित्व नै हस्तान्तरण गर्न लागिएको बताए । उनका अनुसार औद्योगिक क्षेत्रका सरकारी भवनको पूर्ण मर्मत गर्न तत्काल ६० करोड रुपैयाँ जुटाउनुपर्छ । उनले भने, “औद्योगिक भवन मर्मतका लागि पाँच वर्षमा ६० करोड रुपैयाँ चाहिन्छ त्यो रकम  जुटाउने अवस्था लिमिटेडसँग छैन ।”
श्रेष्ठका अनुसार लिमिटेडले जमिनबाट १ करोड रुपैयाँ र औद्योगिक भवनबाट २ करोड रुपैयाँ आम्दानी गर्छ । उनी भन्छन्, “स्वामित्वबाहेक अरू विकल्प छैन हामीले यस विषयमा अन्तिम गृहकार्य गर्दैछौं ।”
उनका अनुसार औद्योगिक क्षेत्रभित्र जमिन भाडामा लिएर भवन निर्माण गर्नेहरूले भने जमिनको स्वामित्व पाउने छैनन् । सरकारले औद्योगिक क्षेत्र स्थापना गर्दा २० वर्षसम्म उपभोग गरिएको जमिन वा भवनलाई उद्योगको स्वामित्वमा दिइने तथा निजीकरण गरी त्यसबाट आएको पैसाले अर्को औद्योगिक क्षेत्र निर्माण गर्ने नीति अघि सारेको थियो ।
औद्योगिक क्षेत्र स्थापनाको मुख्य उद्देश्य उद्योग सञ्चालनका लागि जग्गा–जमिन उपलब्ध गराउने तथा उद्योग स्थापना गरेको जमिन २० वर्षपछि निजीकरण गराउने हो । पछिल्लो समयमा औद्योगिक क्षेत्रभित्र राजनीतिक भ्रातृसंगठनमा कार्यकता पालन पोषण गर्ने तथा चन्दा उठाउने आन्दोलनको थलो बनेको व्यवसायीको गुनासो छ ।
१३ अर्ब निजी र २० करोड रुपैयाँ सरकारी लगानीमा हालसम्म मुलुकभर ११ वटा औद्योगिक क्षेत्र स्थापना भएका छन् जसमध्ये १० वटा क्षेत्र सञ्चालनमा छन् । धनकुटा औद्योगिक क्षेत्र ०४४ सालदेखि निर्माणाधीन अवस्थामा छ । भारतीय लगानीमा स्थापना भएको गजेन्द्र नारायण औद्योगिक क्षेत्रमा सुरक्षाको बिग्रँदो स्थितिले उद्योग पलायन हुने र बन्द हुने क्रम बढ्दो छ ।
कुल ५ हजार १ सय २८ रोपनीको जमिनमा मुलुकभरका ४ सय ९ वटा उद्योग स्थापना भएका छन् । राजविराज बाहेकका नौवटा औद्योगिक क्षेत्रमा ८० वटा उद्योग निर्माणाधीन र ७२ वटा उद्योग बन्द भएको लिमिटेडले जनाएको छ । औद्योगिक क्षेत्र परिसरभित्र सरकारी वा अन्य कार्यालय, हुलाक, दिवा शिशु स्याहार केन्द्र चिकित्सालय, चमेनागृह, विभिन्न संघसंस्था गरी ३४ निकाय स्थापना भएका छन् । यसबाट ११ हजार १ सय ९ जनाले रोजगारी पाएका छन् ।

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...