Tuesday, April 24, 2012

८० अर्ब लगानी गर्न सतलज जलविद्युत्को प्रस्ताव

उद्योग विभागले लगानी बोर्डमा पठायो
निरु अर्याल
काठमाडौं, १० वैशाखwww.karobardaily.com
भारतको सतलज जलविद्युत् निगम लिमिटेडले अरुण तेस्रो जलविद्युत् आयोजना बनाउन उद्योग विभागमा साढे ८२ अर्ब रुपैयाँ लगानी प्रस्ताव दर्ता गरेको छ । सतलजले ९ सय मेगावाटको अरुण तेस्रो हाइड्रोपावर इलेक्ट्रोसिटी प्रोजेक्टमार्फत आयोजना बनाउन लागेको हो ।
सतलज भारत सरकारको स्वामित्व भएको कम्पनी हो । उसले चैतको पहिलो साता उद्योग विभागमा लगानीका लागि आवेदन दिएको हो । कम्पनीले भारत बिजुली निकासी गर्ने उद्देश्यसहित आयोजना बनाउन लागेको हो ।
प्रत्यक्ष वैदेशिक लगानीमध्ये सतलजको प्रस्ताव अहिलेसम्मकै ठूलो भएको विभागले जनाएको छ । सरकारले यो आर्थिक वर्षभित्र ८० अर्ब रुपैयाँ विदेशी लगानी ल्याउने लक्ष्य राखेको छ । सतलजको यो प्रस्ताव स्वीकृत भए सरकारको लक्ष्य पूरा हुनेछ ।
स्थिर पुँजी १० अर्ब रुपैयाँ वा त्योभन्दा बढी लागत भएको आयोजना बनाउन लगानी बोर्डबाट स्वीकृति लिनुपर्ने भएपछि विभागले सतलजको प्रस्तावलाई अन्तिम टुंगो लगाउन चैतको अन्तिम साता बोर्डमा पठाएको छ । विभागका अनुसार बोर्डले ३० दिनभित्र यो फाइलको सबै काम टुंगो लगाउनुपर्ने प्रावधान छ ।
कम्पनीको प्रस्ताव अध्ययन गर्न बोर्डले प्राविधिक समिति गठन गर्नेछ । समितिले लाइसेन्सका लागि सिफारिस गर्नेछ ।
सरकारले चार महिनाअघि मात्रै ल्याएको लगानी बोर्ड ऐनअनुसार १० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने कम्पनीलाई विभागले सीधै अनुमति दिन पाउँदैन । बोर्डले ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने विद्युत् गृह र १० अर्ब रुपैयाँभन्दा बढीको लगानी गर्ने स्वदेशी तथा विदेशी कम्पनीको नियमन र रेखदेख गर्ने व्यवस्था छ ।
सरकारले बाहय लगानीमार्फत मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सन् २०१२÷१३ लाई लगानी वर्ष मनाउने घोषणा गरेलगत्तै ठूलो लगानीको प्रस्ताव आएको हुनसक्ने विभागको अनुमान छ । सरकारले लगानी वर्षलाई सफल पार्न, ठूला स्वदेशी तथा विदेशीको लगानी सुरक्षा गर्न र समृद्ध नेपालको सपना साकार पार्न चार महिनाअघिमात्रै बोर्ड गठन गरेको हो ।
प्रतिस्पर्धाबाट सबैभन्दा बढी निःशुल्क बिजुली दिन प्रस्ताव गरेपछि सरकारले सतलजलाई २०६५ असारमा विद्युत् सर्वेक्षण लाइसेन्स दिएको थियो । उसले २१.९ प्रतिशत निःशुल्क बिजुली दिने सहमति जनाएको छ ।
कम्पनीले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । ४ सय २ मेगावाटको अनुमति पाए पनि सतलजले आयोजनाको क्षमता वृद्धि गरी ९ सय मेगावाट पु¥याएको छ । आयोजनाबाट नेपालले १ सय ९७ सय मेगावाट निःशुल्क बिजुली पाउनेछ । यो बराबरको आयोजना बनाउन २० अर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक हुन्छ ।
कम्पनीले आयोजना विकास सम्झौता (पीडीए) का लागि ऊर्जा मन्त्रालयमा आवेदन दिएको छ । सरकारसँग पीडीए गरेपछि मात्र कम्पनीले आयोजना अघि बढाउनेछ । आयोजना अध्ययन गर्दा लागेको कुल ४५ करोड १४ लाख रुपैयाँ कम्पनीले सरकारलाई बुझाइसकेको छ ।
निर्माण, सञ्चालन, स्वामित्व र हस्तान्तरण (बुट) नीतिअन्तर्गत आयोजना बन्न लागेको हो । विद्युत् ऐनअनुसार सतलजले ३० वर्षका लागि अरुण तेस्रोबाट विद्युत् उत्पादनको लाइसेन्स पाउनेछ । डीपीआरअनुसार आयोजनाबाट वार्षिक ४ करोड ३ लाख युनिट बिजुली उत्पादन हुनेछ ।
कम्पनीले संखुवासभाको नम्र पाथिभरा गाविसबाट जलविद्युत् उत्पादनको प्रस्ताव गरेको छ । आयोजना तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पालामा सतलजलाई दिइएको हो ।

Wednesday, March 14, 2012

सेयर र घरजग्गा क्षेत्रका कम्पनी नचल्दै खारेजीमा

६५ खारेज, २ सयभन्दा बढी प्रक्रियामा
 निरु अर्याल
काठमाडौं, ३० फागुन
घट्दो सेयर बजार र घरजग्गा व्यवसायमा मन्दीका कारण यो क्षेत्रमा दर्ता भएका केही कम्पनी कारोबारै सुरु नगरी खारेजीमा गएका छन् ।
कम्पनी रजिस्टारको कार्यालयका अनुसार चालू आवको फागुन तेस्रो सातासम्म खारेज भएका ६५ उद्योगमध्ये अधिकांश सेयर र घरजग्गा व्यवसायसँग सम्बन्धित छन् । लगानीमैत्री वातावरण अभाव र उच्च ब्याजदरजस्ता समस्याले कारोबार सुरु नै नगरी कम्पनीले व्यवसाय छाडेका हुन् ।
कार्यालयको तथ्यांकअनुसार यो अवधिमा ६५ कम्पनी खारेज भइसकेका छन् । थप २ सयभन्दा धेरै कम्पनीका फाइल खारेजीको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । गत वर्ष सोही अवधिमा ८७ कम्पनीले लाइसेन्स खारेज गरेका थिए ।
“अहिले खारेज गरिपाऊँ भनी निवेदन दिनेमा अधिकांश सेयर कारोबार गर्ने र रियल इस्टेट बिजनेस गर्ने कम्पनी छन्,” रजिस्टार लवराज श्रेष्ठले भने ।
गत वर्ष कार्यालयमा निवेदन दिएका मञ्जु बजु हाउजिङ, रवीन्द्र ल्यान्ड एन्ड हाउजिङ, इजी रियल इस्टेट, किरण भवन रेसिडेन्सी, वल्र्ड प्रपर्टी डिलर्स तथा धाम्पुस रियल इस्टेट खारेज भइसकेका छन् । मनास्लु स्टक ब्रोकरेज, हारिती जेएमएस सेक्युरिटिज, बागमती ब्रोकरेज, सुखी क्लियरिङ हाउसलगायत सेयर कारोबार गर्ने कम्पनीको समेत लाइसेन्स खारेज भइसकेको कार्यालयले जनाएको छ ।
ठूलो रकमको कारोबार गर्दै आएका कम्पनी लिक्विडेटर नियुक्त गरेर मात्र खारेज हुनुपर्ने कानुनी व्यवस्था छ । श्रेष्ठका अनुसार चालू आवमा होटल तथा रेस्टुराँ, हाउजिङ, रियल इस्टेट, स्टक मार्केट, कोल्डस्टोर, टे«डिङ हाउसजस्ता करिब २ सयभन्दा धेरै कम्पनीले विभिन्न समस्या देखाएर लाइसेन्स खारेजीका लागि निवेदन दिएका छन् ।
खारेजको मागसहित कार्यालयमा परेका निवेदनलाई आवश्यक प्रक्रियाका आधारमा अघि बढाइने श्रेष्ठले बताए । उनका अनुसार चालू आवका प्रारम्भिक चार महिनामा ३७ कम्पनीले यस्तो निवेदन दिएका थिए, अहिले २ सयभन्दा बढी भइसकेका छन् ।
महालक्ष्मी ग्यास, बासुलिंग ट्राभल्स एजेन्सी, वल्र्ड प्रपर्टिज डिलर्स, शक्ति शिव फेसन वेयर, यूएमआर ओभरसिज, गंगा साबुन उद्योगलगायतले लाइसेन्स खारेजीको माग गरेका छन् । लिब्रा इन्टरनेसनल प्रालिलगायत विदेशी साझेदारीमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले समेत खारेजीको माग गरेको श्रेष्ठले बताए ।
कम्पनी ऐन २०६३ अनुसार कुनै कम्पनी खारेज हुनुअघि सबैखाले कारोबार गरिएका कागजात पेस गर्नुपर्छ ।
“केही वर्षदेखि हाम्रो सेयर बजार उकालो लाग्न सकेको छैन, त्यसैले खारेजीको माग गर्ने धेरै सेयर कारोबार गर्ने कम्पनी छन्,” श्रेष्ठले भने, “मुख्य समस्या घरजग्गा कारोबार र सेयरबजार हो, यिनको कारोबार बन्द हुनेबित्तिकै सबै क्षेत्रमा असर परेको छ ।”
घरजग्गा व्यवसाय तथा ठूलो धनराशिको कारोबार गर्ने सेयरबजार झन्डै चार वर्षदेखि उँभो लाग्न नसकेकाले यी क्षेत्रका कम्पनीले दर्ता भएर पनि कारोबार सुरु गर्न नसकेको उनको भनाइ छ ।
कार्यालयको तथ्यांकअनुसार पछिल्लो समय होटल, रेस्टुराँ, टुर्स एन्ड ट्राभल्स, कन्स्ट्रक्सन, वनस्पति घ्यु, तेल, जडिबुटीजन्य कम्पनीले पनि लाइसेन्स खारेजीको माग गरेका छन् । यीमध्येका अधिकांश कम्पनीले दर्ता भएदेखि नै कारोबार गरेका छैनन् । यस्ता कम्पनीलाई निवेदनका आधारमा खारेज गरिनेछ ।
 

Saturday, March 10, 2012

उद्योग नवीकरण शुल्कभन्दा जरिवाना धेरै

 निरु अर्याल
काठमाडौं, २४ फागुन
एक लाख रुपैयाँ अधिकृत पुँजीमा दर्ता भएको कम्पनीले ४ वर्षसम्म बिबरण बुझाउन सकेन भने त्यो कम्पनीलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना लाग्ने कम्पनी ऐन २०६३ ले गरेको छ ।
यसअघि कम्पनी ऐन २०५३ ले फाइलिङ्को लागि भनेर जरिवाना लिने गरेको थिएन । कम्पनी रजिष्ट्रारको कार्यालयमा हालसम्म ९२ हजार ४ सय वटा मात्रै यस्तो प्रकृतिका कम्पनी दर्ता छन् । यीमध्ये अधिकाँश कम्पनीको अधिकृत पुँजी १ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म छ । यस्ता कम्पनीको जरिबाना २ महिनासम्म २ सय रुपैयाँबाट हरेक महिना २ सयका दरले थपिने गर्दछ । यद्यपि समयमै नविकरण गर्दा सामान्य खर्चबाहेक केही लाग्दैन ।
“प्राय ठूलो लगानीका कम्पनीहरु ऐन नियमको बारेमा जानकार पनि हुन्छन् र त्यस्ता कम्पनीले कानुन अधिकृत नियुक्त गर्नुपर्ने प्राबधान छ,” कार्यालयका सहायक रजिष्ट्रार सूर्यमणी गौतम भन्छन्, “सानो पुँजीमा दर्ता हुने कम्पनीका शेयरधनीहरु ऐन नियमसँग जानकार राख्दैनन र मर्कामा पर्छन् ।” गौतमका अनुसार दार्चुलादेखि पाँचथर सम्मका कम्पनी र तिनका शेयरधनीहरु जरिवानाबाट प्रताडित छन् । उनीहरुलाई ऐन र नियमावलीको बारेमा जानकारी  नभएको र दुरीको हिसाबले समेत समस्या पर्ने भएकोले जरिवाना बढि तिर्नु परेको छ ।
 कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा तोकिएको समयमा पेशगर्ने कागजात बिवरणहरु पेशगर्न नसक्दा जरिवानाबापत ठूलो रकम तिर्नु परेको हो । त्यस्ता कम्पनी वा सञ्चालकले जरिवाना वा दायित्व नतिरे नयाँ कम्पनी स्थापना समेत गर्न नपाइने र निजहरुलाई कम्पनी ऐनको दफा १६० को ज बमोजिम ५० हजार  रुपैयाँसहित २ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । अधिवक्ता बासुदेव आचार्यका अनुसार एउटा बिद्यालय सञ्चालन गर्न १ लाख रुपैयाँ अधिकृत पुँजी उल्लेख गरिएको अबस्थामा उसको ३÷४ वर्षको वार्षिक विवरण समयमा नबुझाएको भन्दै जरिवाना स्वरुप १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाउनु पर्दछ । उनले भने “अन्य अवस्थामा त्यस्तो प्रकृतिको कम्पनी नविकरण हुन सक्दैन ।”  कम्पनी ऐन २०६३ को दफा ८१ मा कतिपय कागजातहरु निश्चित समयमा फाइलिङ नगरे जरिवाना लाग्ने ब्यवस्था छ । कसैले कुनै कम्पनी दर्ता गरेर प्रमाणपत्र लिइसकेपछि त्यसको दुई महिनाभित्र कम्पनीको कार्यालय कहाँ खुल्यो त्यसको पत्राचार ठेगाना के हो भन्ने जानकारी पनि फाइलिङ गर्नु पर्दछ ।
आचार्यले तोकिएको समयसीमाभित्र यदि त्यो फाइलिङ भएन भने तेश्रो महिनादेखि हरेक महिना २ सय र बार्षिक २ हजारका दरले जरिवाना शुल्क लाग्ने बताउँछन् । “कम्पनीको संस्थागत सुशासन सुदृढ होस भनेर यस्तो व्यवस्था गरिएको भनिए पनि यो ऐन व्यवसायीको हित बमोजिम छैन,” उनले भने, “यसको यथासिघ्र परिमार्जन गर्नु जरुरी छ ।” लगानीकर्ताहरु सचेत नभएकोले जरिवानाको समस्या देखिएको कार्यालयका रजिष्ट्रार लवराज श्रेष्ठले बताए । उनी भन्छन् “तोकिएको समयसिमाभित्र कुनै कम्पनीले आफ्नो विवरण बुझाउँछ भने त्यस्तो कम्पनीलाई कुनै कारबाही हुँदैन तर नियम नमान्नेलाई कारबाही हुनु स्वभाविक नै हो ।”
कार्यालयको काम पारदर्शी बनाउने बिषयमा आफु लागिपरेको बताउँदै श्रेष्ठले कम्पनी ऐन २०६३ अनुसार दर्ता भएको कुनै कम्पनीले नियमित रुपमा पेश गर्नुपर्ने कागजातहरु समयमै पेश नगर्दा लाग्ने जरिवानाको सिमा घटाउने लगायतका हाल सञ्चालित ऐनलाई संसोधनको गर्न लागिएको जानकारी दिए । उनका अनुसार कार्यालयले हाल सञ्चालित कम्पनी ऐन २०६३ को विषयमा कानुन व्यवसायी, लगानीकर्तालगायतका सरोकारवालाहरुको छलफलबाट आएका सुझाब समेटेर तयार पारेको ड्राफ्ट उद्योग मन्त्रालयमा पठाइसकेको छ । “लगानीकर्ता र शेयरधनीबाट आएका सुझाब र गुनासाका आधारमा कम्पनी ऐनलाई परिमार्जन गर्ने तयारीमा छौं,” उनले भने, “यसबाट लगानीकर्ता वा शेयरधनीका गुनासाहरु केही कम हुनेछन् ।”

Wednesday, February 22, 2012

गोरखकाली र औषधिलाई १० करोड

 काठमाडौं, फागुन १० - अर्थमन्त्रालयले खराव अवस्थाका संस्थानलाई राज्यको ढुकुटीबाट पैसा दिने क्रमलाई निरन्तरता दिएको छ। पछिल्लो निर्णयअनुसार गोरखकाली रबर उद्योगले पाँच करोड रुपैयाँ ऋण पाएको छ। नेपाल औषधि लिमिटेडलाई पनि पाँच करोड रुपैयाँ दिने निर्णय भएको अर्थ मन्त्रालयका सहसचिव खुमराज पुँजालीले मंगलबार नागरिकलाई बताए।
गत मंसिरमा सात करोड लगिसकेको औषधिले यो वर्ष सरकारबाट १२ करोड रुपैयाँ पाएको छ। पछिल्लो पटक पाउने रकम औषधि उत्पादनमा लगाउने योजना उद्योगको छ। औषधिले सरकारसँग १० करोड रुपैयाँ मागेको थियो। 
गोरखकालीले पाएको पाँच करोड रुपैयाँले कच्चा पदार्थ खरिद गरी उत्पादन बढाउने जानकारी अर्थले दिएको छ। औषधी उद्योगले अल्पकालिन योजनाका लागि भनेर १० र औषधि उत्पादनका लागि करिब ५० करोड रुपैयाँ सरकारसँग मागेको छ। गोरखकाली रबर उद्योगले १ सय ८० करोड रुपैयाँ माग्दै अर्थमा प्रस्ताव पेश गरेको थियो। 
बन्द रहेको नेपाल ओरेन्ट म्याग्नेसाइट पुनः चलाउने विषयमा मन्त्रालयले छलफल सुरु गरेको छ। पुनः सञ्चालन गर्न करिब ३३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। खरी पाउडरको उत्पादन र बिक्री गर्ने यो संस्थाको गत आर्थिक वर्षसम्मको सञ्चित नोक्सानी साढे तीन अर्ब रुपैयाँ छ। यो संस्थानलाई कामदार कर्मचारीको तलब खुवाउनसमेत समस्या पर्दै आएको छ। यो संस्थानमा ६७ कर्मचारी करारमा छन्।
सरकारको ६८ प्रतिशत सेयर रहेको नेपाल मेटल कम्पनी पनि पुनः चलाउने विषयमा छलफल सुरु भएको छ। निजी क्षेत्रलाई सेयर बिक्री गरिए पनि सञ्चालन हुन नसकेको यो संस्थानले १८ करोड रुपैयाँको मागसहित अर्थमन्त्रालयमा प्रस्ताव पेस गरेको छ। 
२०६६ मा सरकारले सबै कर्मचारीलाई अवकास दिने निर्णय गरेको विराटनगर जुट मिलले पनि पुनः सञ्चालनको प्रस्ताव पेस गरेको छ। यसका कर्मचारीलाई अवकाश दिइए पनि वर्षौदेखि कारखानाकै जग्गामा बसोबास गर्दै आएका केही कर्मचारीले भने अहिलेसम्म जग्गा छोडेका छैनन्। 
जनकपुर चुरोट कारखानालाई भने सरकारी ढुकुटीबाट पैसा नदिई ऋण खोजेर सञ्चालन गरिने भएको छ। व्यवस्थापन र उद्योग मन्त्रालयले सरकारसँगै पुँजीको अपेक्षा गरेपनि अर्थमन्त्रीले दिन नसक्ने बताउँदै आएका छन्। ऋणका लागि उद्योग मन्त्रालयबाट प्रस्तावको अपेक्षा गरिएको पुँजालीले बताए। 
यो कारखानाका लागि कच्चा पदार्थ खरिदमा १२ करोड, मेसिन मर्मतमा २ करोड ५० लाख, पुरानो सुर्तीको भुक्तानीमा ७ करोड ७४ लाख, राजस्व तिर्न ३ करोड, फागुनसम्मको कर्मचारी तलब १३ करोड, घरभाडा र बिजुली पानीको १ करोड र अवकाशप्राप्त कर्मचारीहरूको लागि २० करोड ६० लाख गरी ७४ करोड भएमा उद्योग सञ्चालनमा ल्याउन सकिने जानकारी व्यवस्थापनले मन्त्रालयलाई दिएको छ। 
हाल कारखानमा ८ सय ३३ जना मजदुर छन्। २५ करोडको कच्चा पदार्थ कुहिने अवस्थामा छ। ३६ बिघा जमिन भएको र अर्बाैंको मेसिन रहेको कारखाना सञ्चालन गर्नुपर्ने प्रस्ताव व्यवस्थापनको छ। 
तत्कालिन, अल्पकालिन र दीर्घकालिन योजनासहित एक सय ९२ करोड माग गरेको यो कारखानाले दुई वर्ष अघि काठमाडौंमा रहेको जग्गा बिक्रीको ७२ करोड रुपैयाँ पनि तलव सुविधामा नै खर्च गरेको छ। जनकपुर चुरोटसहित अरु चार संस्थान चलाउने निर्णय गर्ने हो भने सरकारले पाँच अर्ब रुपैयाँ भन्दा बढी निकासा गर्नुपर्छ। अहिले सञ्चालनको योजनासहित अर्थमा संस्थानले करिब पाँच अर्ब रुपैयाँ मागसहित प्रस्ताव पेस गरेका छन्। 
प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले चुरोट र मदिरा उद्योग सरकारले चलाउन आवश्यक नभएको बताउँदै आएका छन्। कारखानाका कर्मचारीहरु र यसको तालुक उद्योग मन्त्रालयले भने चलाउर्ने योजनासहित अर्थमा पुगेको छ। जनकपुर चुरोटले गएको असोजमा चार करोड रुपैयाँ रकम ऋणको रुपमा लिएर कर्मचारीलाई तलब खुवाएको थियो। अहिले फेरि तलब नदिएको पाँच महिना भइसकेको छ। कारखानालाई चार करोड सहित यो वर्ष सरकारी ढुकुटिबाट खराब अवस्थाका सार्वजनिक संस्थानलाई २१ करोड रुपैयाँ दिईएको छ। 
समयमै निजीकरणको निर्णय गर्न नसक्दा यो कारखाना मात्रै होइन सरकारको स्वामित्वमा रहेका ३६ मध्ये अधिकांश कारखाना सरकारलाई वर्षेनी भार बन्दै गएका छन्। अरु संस्थानले पनि तलव सुविधाको माग सहित रकम माग्ने क्रम रोकिएको छैन। बन्द भैसकेका कारखानालाई खारेजीमा लग्न र खराव अवस्थामा पुगेकालाई निजीकरणमा लैजाने निर्णय सरकारले लिन सकेको छैन। यसले राज्यको ढुकुटीमा अझै भार थप्दै जानेछ। 

लागनीको वातावरण सुधार गर ः दाता

कारोबार संवाददाता
काठमाडौं, ७ फागुन
नेपालको विकासमा सहयोग गर्दै आएका दातृ निकायहरूले लगानीको वातावरण र सुशासनको अवस्था सन्तोषजनक नभएको भन्दै यसमा सुधार गर्न सुझाव दिएका छन् । उनीहरूले मुलुकको विकास खर्च प्रवृत्ति पनि कमजोर भएको टिप्पणी गरेका छन् ।
शुक्रबार अर्थमन्त्री वर्षमान पुन, गभर्नर युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, अर्थसचिव कृष्णहरि बाँस्कोटालगायतका उच्च सरकारी अधिकारीसँग दाताहरूले यस्तो चासो व्यक्त गरेका हुन् । उनीहरूले विकास योजनामा जाने पुँजीगत खर्चलाई सुधार गर्न, यस्ता परियोजना प्रमुखको छिटो–छिटो सरुवा रोक्न पनि सुझाएका छन् ।
स्वास्थ्य र शिक्षातर्फको बजेट बढाउन, दाताहरूको सहयोगमा सञ्चालित परियोजनाहरूको लेखापरीक्षण प्रतिवेदन समयमै पेस गर्न पनि उनीहरूले सुझाव दिएका छन् । उनीहरूले शान्ति–प्रक्रियामा मेलमिलापको नीति अवलम्बन गर्न, वैदेशिक सहायता सम्बन्धमा बुसान सम्मेलनले घोषणा गरेका प्रतिबद्धता पूरा गर्न र सम्पत्ति शुद्धीकरणविरुद्धको विश्वव्यापी अभियानमा सहयोग गर्नेतर्फ समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
वैदेशिक सहायतालाई प्रभावकारी बनाउन र सम्बन्धित मुलुककै स्वामित्वमा विकास परियोजनालाई परिचालन गर्ने सम्बन्धमा सन् २००५ मा इटालीको रोममा भएको सम्मेलन चौथो बुसान सम्मेलन हो । यसमा विश्वका दातृ निकाय र सहयोग पाउने मुलुकहरूको सहभागिता थियो । यो सम्मेलनले सहायताको प्रभावकारी परिचालन, नतिजामूलक खर्च प्रणाली र विश्वव्यापी सञ्जालमा आबद्धतामा जोड दिएको छ । सम्मेलनले पेरिस घोषणापत्र, आक्रा एजेन्डा लागू गरी वैदेशिक सहायताको प्रभावकारितामा जोड दिँदै आएको छ ।
छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, जापानी सहयोग नियोग (जाइका), डीएफआईडी, संयुक्त राष्ट्रसंघ, युरोपेली युनियनलगायतका दातृ निकायको उपस्थिति थियो ।
छलफलका क्रममा अर्थमन्त्री वर्षमान पुनले शान्ति–प्रक्रिया निकै अगाडि बढिसकेको जनाउँदै लडाकु व्यवस्थापनको काम सम्पन्न भएकाले अबको प्राथमिकता विकास निर्माणमा हुने बताए । उनले लगानीको वातावरण र पूर्वाधार विकासमा सरकार लागिपरेको बताउँदै सहयोगका लागि सबै दातृ निकायलाई अनुरोधसमेत गरेका छन् । दाताहरूले राखेको सुशासनको चासोबारे अर्थमन्त्रीले सरकारले भर्खरै सुशासन कार्ययोजना ल्याई कार्यान्वयन बढाइरहेको समेत जानकारी गराएका थिए ।
सरकारका तर्फबाट उनले लगानी बोर्डले लगानीको वातावरण तयार गर्न चौतर्फी पहल गरिरहेको जानकारी दिए । बोर्डले लगानीमा देखिएका समस्या निराकरण गरी तत्काल लगानी गर्न सक्ने व्यवस्था गर्न र लगानीकर्तालाई सहुलियत दिन छलफल निकै अगाडि बढाइरहेको पनि पुनले बताए । सरकारले आगामी आर्थिक वर्षलाई लगानी वर्ष घोषणा गरी प्रचार–प्रसारसमेत गर्न लागेको उनको भनाइ थियो ।
अर्थसचिव कृष्णहरि बाँस्कोटाका अनुसार दाताहरू नेपालको अवस्थाप्रति सकारात्मक नै रहे पनि केही विषयमा भने गम्भीर छन् । “सुशासन र लगानीको वातावरण उनीहरूको चासो हो,” उनले भने, “त्यसमा सरकारका तर्फबाट पछिल्लो समय राम्रो प्रयास भएको बारे अवगत गरायौं ।” बुसान सम्मेलनले गरेको घोषणाअनुसार नेपालले विश्वव्यापी सञ्जालमा रहेर काम गर्नुपर्ने उनले बताए ।
सहयोग रकम खर्चमा पारदर्शिता कायम गर्न र सहयोगको प्रभावकारी कार्यान्वयनमा पनि दाताहरूले चासो राखेका छन् । यसका लागि अर्थमन्त्रालय, योजना आयोग र दातृ निकाय मिलेर ‘राष्ट्रिय नतिजा खाका’ बनाई काम गर्नेबारे पहल भइरहेको सचिव बाँस्कोटाले जानकारी दिए ।
चालू आवको ६ महिनामा ५२ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता आएको छ । सरकारले ६० अर्ब रुपैयाँ वैदेशिक सहायता प्ररिचालन गर्ने लक्ष्य लिएकोमा ६ महिनामा ८ अर्ब खर्च भएको छ । ३० अर्ब वैदेशिक ऋण लिने लक्ष्यमा ८० करोड खर्च भएको छ ।
६ महिनामा वैदेशिक सहायताको शोधभर्नामा उल्लेख्य प्रगति भएको अर्थमन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष ३२ अर्ब रुपैयाँ वैदेशिक शोधभर्ना लिन बाँकी रहेकोमा ६ महिनामा सरकारले ३० अर्ब शोधभर्ना लिइसकेको छ ।

संस्थानको अवस्था दिनदिनै गम्भीरः अर्थमन्त्री

कारोबार संवाददाता
काठमाडौं, ७ फागुन
अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक संस्थानको अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको बताएका छन् । उनले सार्वजनिक संस्थान अहिलेकै तरिकाले चलाउने हो भने राम्रा भनिएका नेपाल टेलिकम र बैंकहरू पनि केही वर्षपछि जनकपुर चुरोट कारखानाकै हालतमा पुग्ने दावी गरे ।
बन्द रहेको जनकपुर चुरोट कारखाना सञ्चालनका लागि आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री, अर्थराज्यमन्त्री र अर्थमन्त्रालयका प्रतिनिधिलाई भेट्न पुगेका जनकपुर चुरोट कारखाना सम्बद्धरूसँग अर्थमन्त्रीले उद्योग सञ्चालनबारे सरकार गम्भीर भएको जानकारी दिए ।
 मन्त्री पुनले सञ्चालनका लागि विभिन्न उपायहरूको खोजी भइरहेको जानकारी दिए । उनले सार्वजनिक संस्थान सञ्चालनका लागि सार्वजनिक संस्थान निर्देशक बोर्ड गठन गरिएकाले त्यो बोर्डले लिने नीतिअनुसार सबै सार्वजनिक संस्थान सञ्चालन गरिने बताए ।
बोर्डले लिने नीतिले सार्वजनिक संस्थान सञ्चालनको तरिकामा सुधार आउने भन्दै उनले सार्वजनिक संस्थान सञ्चालनका लागि बोर्ड नीति बनाउने काममा लागिसकेको जानकारी दिए । चालू आवमा सरकारसँग जम्मा ८ करोड रुपैयाँ मात्र भएको बताउँदै मन्त्री पुनले भने, “कारखाना जसरी भए पनि सञ्चालन गर्नुपर्छ भन्नेमा सरकार लागि परेको छ, तर कारखानाले मागे जति रकम दिने क्षमता सरकारसँग छैन ।” छलफलमा चुरोट कारखाना सञ्चालक समिति र प्रशासनले कारखाना सञ्चालनका लागि तत्काललाई ६० करोड ६४ लाख रुपैयाँ माग गरेका थिए ।
तत्कालीन शोभियत संघको प्राविधिक सहयोगमा २०२१ सालमा स्थापना भएको जनकपुर चुरोट कारखाना सुरु गर्दाको बेलामा अधिकृत पुँजी ८ करोड, जारी तथा चुक्ता पुँजी ४ करोड ८ लाख ३७ हजार थियो । कारखानाले याक फिल्टरसहित देउराली, गैंडा, उपहार ब्रान्डका चुरोट उत्पादन गर्दै आएको थियो । कारखाना पूर्णक्षमतामा सञ्चालनमा ल्याउन २ अर्ब ५० करोड रुपैयाँ आवश्यक रहेको भन्दै कारखानाले गत वर्षको फागुनदेखि उत्पादन बन्द गरेको छ ।
कारखानाका निमित्त महाप्रबन्धक रामस्वरथी यादवले उद्योग खुलाउन राजनीतिक दल, मजदुर, नागरिक समाजलगायत सबै सकारात्मक भएको बताउँदै बजेटका कारण उद्योग सञ्चालन हुन नसकेको गुनासो गरे ।

Wednesday, February 15, 2012

ऐनको मस्यौदामाथि क्षेत्रीयस्तरमा छलफलको तयारी

कारोबार संवाददाता
काठमाडौं, १ फागुन
उद्योग मन्त्रालयले औद्योगिक नीति २०६७ लाई कार्यान्वयन गरी औद्योगिक व्यवसाय ऐन २०४९ को मस्यौदालाई संशोधन गर्न क्षेत्रीयस्तरमा छलफल गर्ने तयारी गरेको छ ।
स्थानीयस्तरका व्यवसायीको राय सुझाव लिन सहज हुने र औद्योगिक व्यवसाय ऐनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउने भन्दै मन्त्रालयले क्षेत्रीयस्तरका उद्योगी  व्यवसायीसँग छलफल गरी राय सुझाव लिने भएको हो । यही फागुन १५ देखि राजधानीबाट सुरु हुने छलफल चैतको पहिलो सातासम्म पोखरा, नेपालगन्ज, वीरगन्ज र विराटनगरमा सम्पन्न हुने मन्त्रालयले जनाएको छ । केही व्यवसायीले नयाँ ऐनको मस्यौदाले आफूहरूको माग सम्बोधन नगरेको भन्दै ऐनको मस्यौदालाई परिमार्जन गर्न सुझाव दिएपछि मन्त्रालयले क्षेत्रीय स्तरको छलफल अघि बढाएको हो ।
ऐनको मस्यौदा तयार भइसके पनि स्थानीयस्तरमा विभिन्न प्रकारका विवाद उठ्न थालेकाले ऐनमै स्थानीयस्तरको समस्या समाधानको उपाय राख्न सहज हुने भन्दै छलफल गर्न लागिएको उद्योग मन्त्रालय औद्योगिक प्रवद्र्धन महाशाखाका प्रमुख सहसचिव अनिलकुमार ठाकुरले जानकारी दिए । “पछिल्लो समयमा उद्योग भएको क्षेत्र र औद्योगिक करिडोरमा स्थानीय बासिन्दा र उद्योगीबीच विभिन्न समस्या देखिए, ठाकुरले भने यही समस्याले गर्दा हामीले ऐनमै गर्नुपर्ने व्यवस्थाको खोजी सुरु गरेका हौं ।”
“औद्योगिक नीति २०६७ अनुसार ऐनको मस्यौदा तयार भइसकेको छ तर गुनासा धेरै आएकाले पुनः एक पटक छलफल गर्ने तयारी गरिएको हो,” उनले भने । चैतको पहिलो सातासम्ममा काठमाडौंलगायत देशभरका पाँच ठाउँमा क्षेत्रीय स्तरमा हुने छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले सहयोग गर्ने छन् यसैगरी छलफलमा स्थानीय स्तरका उद्योगी व्यवसायीलाई पनि सहभागी गराइनेछ । “ऐन परिमार्जन गर्दा स्थानीय स्तरका समस्या पनि सम्बोधन होस् स्थानीय समस्या पनि समाधान होस्  भन्ने उद्देश्यले छलफल गर्न लागिएको हो,” ठाकुरले भने । उद्योगीहरूले उद्योगकै कारण बस्ती विकास भएको दाबी गर्ने र स्थानीय बासिन्दा उद्योगलाई प्रदूषणको कारण मान्ने हुन थालेपछि ऐनमै यसलाई व्यवस्थित गर्ने तयारी गरेको उनले बताए । कुनै पनि उद्योग स्थापना भएपछि त्यसलाई निर्वाध चल्न सक्ने वातावरण सरकारले बनाउनुपर्ने दायित्वलाई ध्यान दिएर छलफल गर्न लागिएको हो । मन्त्रालयका अनुसार  ऐनमा राखिने विभिन्न प्रावधानका लागि अर्थमन्त्रालय र गृहमन्त्रालयको पनि स्वीकृति लिनुपर्ने भएकाले छलफलबाट निस्केका निष्कर्षलाई समावेश गरेर सम्बन्धित (गृह र अर्थ) मन्त्रालयको स्वीकृति लिइनेछ  ।
छलफलमा आएका सुझाव कार्यान्वयन गर्दा आर्थिक दायित्व बढ्न सक्ने र औद्योगिक नीतिले समेत विभिन्न सहुलियतको व्यवस्था गरेकाले त्यसको कार्यान्वयनका लागि अर्थमन्त्रालयको सहमति अनिवार्य भएको हो । यसका लागि औद्योगिक नीतिले समेत अर्थ मन्त्रालयको सहमति अनिवार्य देखाएको भन्दै ठाकुरले ऐन परिमार्जनका लागि गृहमन्त्रालयको स्वीकृतिसमेत अनिवार्य भएको जानकारी दिए । “नीतिमा सुरक्षालगायतका सुविधा पनि दिने उल्लेख भएकोले गृह मन्त्रालयको सहमति पनि लिनुपर्र्ने छ ।”
छलफल र सम्बन्धित मन्त्रालयको सहमतिपछि मन्त्रालयले ऐन संशोधनको मस्यौदा कानुन मन्त्रालयमा पठाउनेछ । त्यहाँबाट मन्त्रालयले ऐनको रूप दिएर पठाएपछि मस्यौदा मन्त्रिपरिषद्मा पेस हुने र मन्त्रिपरिषद्ले पारित गरेपछि मस्यौदा विधेकको रूपमा संसद्मा पेस हुने जानकारी ठाकुरले दिए । “संसद्ले पारित गरेपछि सो मस्यौदाले कानुनको रूप लिने हो उनले भने छलफलपश्चात् कार्यान्वयन प्रक्रिया अघि बढ्छ ।”

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...